‘हिमालचुली मुन्तिर छैनन् पानी पधेरो’ – कथालिका

‘हिमालचुली मुन्तिर छैनन् पानी पधेरो’

पोखरा महानगपालिका-१२ चापापानीमा रहेको कुवा । 

  • गाउँघर, पाखा पखेराहरु सुनसान मात्र छैनन्, पानी भर्ने सार्वजनिक कुवा, पधेराहरु छैनन् । कैयन ठाउँमा विकासका नाममा सडक खन्दा पानीका मुहान, पधेराको नामनिशाना मेटाइएका छन् भने कति ठाउँमा मुहान आसपासको रुख बिरुवा ढालिदिए पछि सुख्खा खण्डहर बनेका छन् ।

लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो
हिमालचुली मुन्तिर, पानी भर्ने पधेरो

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कैयन वर्ष अघि नेपाली समाज र प्रकृतिबारे वर्णन गर्दै लेखेका यी हरफ अचेल अपत्यारिलो लाग्ने अवस्थामा छन् । गाउँघर, पाखा पखेराहरु सुनसान मात्र छैनन्, पानी भर्ने सार्वजनिक कुवा, पधेराहरु छैनन् । कैयन ठाउँमा विकासका नाममा सडक खन्दा पानीका मुहान, पधेराको नामनिशाना मेटाइएका छन् भने कति ठाउँमा मुहान आसपासको रुख बिरुवा ढालिदिए पछि सुख्खा खण्डहर बनेका छन् । पानी पधेरामा आउने चिसो पानीका बदलामा कोकाकोला फेन्टा डाँडाकाँडा पुगेका छन् भने अधिक घर परिवार अहिले जारको पानीमा निर्भर छन् । नयाँ पुस्ताले त कुवा, धारो, पधेरो नै बिर्सिने खतरा देखिन थालेको छ ।

कुवा, पधेराको पानीको त्यो मिठास स्वाद
गण्डकी प्रदेशको राजधानी पोखरा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट स्थान हो । यहाँ विकासको क्रममा धेरै भौतिक संरचना निर्माण भएका छन् । विकासकै नाममा वर्षौं पुरानो रुख काटिएका छन्, पानीका लागि पहिलेको पुस्ताले प्रयोग गर्दै आइरहेको पँधेरो, कुवा पुरिएका छन् । पर्यटकको पहिलो रोजाइ रहेको पोखरा सहर बनेसंगै यहाँका भौगोलिक विविधता मासिने क्रममा छन्, केही लोप भइसकेको अवस्था छ । सहरको कुनै कुनामा भएका पानीको पँधेरो तथा कुवा औँलामा गन्न सक्ने संख्यामा मात्रै छन् । ती संरक्षणको पर्खाईमा छन् ।

पोखरा महानगपालिका १२ चापापानीका भक्तबहादुर कार्की उमेरले ५५ वर्ष पुगे । उनी यही चापपानीमा रहेको पुरानो पँधेरोको पानी पिएर हुर्किए । उनलाई लाग्छ, यो पँधेरो सयौं वर्ष पुरानो होला । यो पँधेरोको विषयमा उनका आमाबाबा र बाजेले समेत कुरा गर्थे । ‘बाजेदेखि आमाबाबाले यही पँधेरोको पानी पिउनुभएको हो, सायद जिजुबाजेले पनि पिउनुभयो होला,’ उनी भन्छन्, ‘त्यसैले सयौं वर्ष पुरानो पँधेरो होला भन्ने लाग्छ ।’ उनको घरमा खानेपानी संस्थानको माध्यमबाट पानी नआउने होइन । तर, स्वस्थकर, मूलको मिठो स्वादको पानी भएकाले यही पँधेरोको पानी पिउछन् । ‘नाली बनाउने क्रममा पानी फोहोर भएर केही समय पिउन सकिएन, अहिले सफा भइसकेको छ, हाल यही पानी पिउन प्रयोग गर्छौं,’ उनी भन्छन् । प्राकृतिक स्रोतको रुपमा रहेका पानीका मुहान, कुवा, पधेरा इतिहास बनेर लोप हुने र आगामी पुस्ताले देख्न समेत नपाउने हो कि भन्ने चिन्ताले सताउने गरेको उनले बताए ।

मुहान संरक्षणका लागि प्रकृतिको पूजा
चापापानीमै जन्मि हुर्किएका धुव्र कार्कीका अनुसार सुरुमा पँधेरो निकै राम्रो स्थितिमा थियो । अन्य स्थानीयले जस्तै सोही पँधेराको उनको परिवार पनि पधेरोकै पानी पिएर हुर्किए । ‘पछि पहिरो जाने क्रम बढ्यो, पहिरोबाट निस्किएको माटो बाटोमा फालिदिए, त्यसपछि पँधेरो केही गहिरो भयो,’ उनले भने । पँधेरोको पारी पट्टि देखाउँदै उनले पहिले उक्त स्थानमा पोखरी भएको र पँधेरोको पानी सोही पोखरीमा जम्मा हुने गरेको बताए । उक्त पोखरी अहिले झारले भरिएको छ । यो पँधेरोमा धार्मिक आस्था पनि जोडिएको छ । पँधेरामा भएँर र यएँर थान भन्ने मन्दिर छ, जहाँ पहिले–पहिले कार्कीले मात्रै पुजा गर्थे हरेक ६÷६ महिनामा । ‘यहाँ हेरक वर्षको जेठ र मंसिरमा भएँर र यएँर थानको थुमा (भेँडाको भाले प्रजाति) ले पुजा गरिन्छ ।’ उनले भने, ‘कुनै बेला कार्कीले मात्रै पुजा गर्ने भए पनि अहिले सबै जातजातिले मिलेर पुजा गर्छन्, यो त्यो भन्ने छैन ।’ प्रकृति, जंगल र जिउधनको रक्षा हुन्छ भन्ने जनविश्वासले पुजा गरिँदै आएको उनी बताउँछन् । उनका अनुसार अहिले विकासका नाममा यस्ता संरचना मेटिएका र मासिएका छन् । यस्ता महत्व बोकेका प्राकृतिक स्थलको संरक्षण गर्नुपर्छ भन्ने ध्येयले पुजाआजा समेत गर्ने प्रचलनसँग बैज्ञानिक र धेरै कुरा जोडिएको उनी बताउँछन् । यसकारण कुवा, मुहान, पानी पधेरोको संरक्षण गर्न जरुरी भएकाले स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय गाउँघरमा एक घर, एक धारा अभियान सञ्चालनमा छ । जसबाट मुहान संरक्षण र धारा बनाउने अभियान चलेको पनि छ । तर, यस्ता धारा जडान र सञ्चालन मार्फत पहिले निःशुल्क पानी प्रयोग गर्दै आएका गाउँलेले अहिले मासिक महुशुल शुल्क तिर्न बाध्य भइरहेको स्थानीय बताउँछन् ।

कंक्रिटमय पूर्वाधार, सुक्दै पानी स्रोत
डा.अनिल सुवेदीको पुख्र्यौली घर कास्कीकै कास्कीकोट हो । आफूलाई सम्हाल्ने भइसक्नु भन्दा अगाडिदेखि पोखरा आएर बसेका थिए । जैविक विविधता जोगाउनुपर्छ भन्ने हेतुले एकनास लागिरहेका उनले पोखराका पुराना कुवा, पँधेरो, रुख जोगाउनुपर्छ भन्ने पक्षमा काम गर्छन् । पँधेरोसँगै रहेको चाँपको रुखको आफ्नै इतिहास छ । डा.सुवेदीका अनुसार यो रुख करिब २ सयदेखि सवा २ सय वर्ष पुरानो हो । अमेरिकामा रहेको एउटा संस्थाले यस्तै रुखको उमेर पत्ता लगाउँछ, सोही संस्थाको प्रक्रिया तथा सूत्रको प्रयोग गरेर उनले चाँपको रुख २ सयदेखि सवा २ सय वर्ष पुरानो भएको पत्ता लगाएका हुन् । पहाडको फेदबाट मूल फुटेर पानी आउने भएकाले यस्ता पँधेरोको पानी डा.सुवेदीलाई कञ्चन, सफा, स्वस्थकर लाग्छ । उनका अनुसार उक्त पँधेरोको स्वरुप पहिलेदेखि अहिलेकै अवस्था र ढुंगाले छोपिएको थियो ।

अहिले संरक्षण गर्ने हेतुले पँधेरोको वरपर अन्य संरचना निर्माण हुने थालेपछि ढलान भएको र बाहिरी भाग फेरिएको हो । मानिसको जीवनसंग प्रकृति जोडिएको हुन्छ र प्राकृतिक स्रोतलाई जति सक्दो संरक्षण गर्नुपर्छ भन्ने उनलाई लाग्छ । ‘यो एउटा पानीको पँधेरो मात्रै होइन, योसंग यहाँको संस्कृति, परम्परा, जैविक प्रणाली जोडिएको छ, दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत स्रोतका रुपमा छ,’ डा.सुवेदी भन्छन्, ‘यो जीवनशैलीको एक अंग हो, यसको बारेमा हामी सबैले बुझ्नुपर्छ ।’ उनका अनुसार पोखरामा पहिले केही बालधारा बाहेक अन्य पानीको स्रोत थिएन, खोला, पँधेरो तथा कुवाको भर पर्नुपथ्र्यो । पोखरामा विकास हुने क्रम बढेसंगै भौतिक संरचना निर्माण हुने क्रम बढ्यो, धेरै ठाउँ कंक्रिटमय बनाउने लहर चल्यो । कंक्रिटीकरण हुँदै गए पछि जमिनमा पुनः भरण भएन, पानीका स्रोत सुक्दै गए । त्यसैले यस्ता पँधेरो तथा कुवाको संरक्षण र जोगाउन पहल गर्नुपर्ने सुवेदी टड्कारो आवश्यकता देख्छन् ।

संरक्षणको पर्खाइमा पानी पधेरा
संरक्षण पर्खिरहेका लोपोन्मुख मुहान, कुवा, पधेरा संरक्षणमा एकाध स्थानमा मात्रै पहल र प्रयास गरिएको छ । पोखरा महानगपालिका १२ मा रहेको चापापानीमा स्थानीय आमा समूह, सामुदायिक वन उपभोक्ता समूह तथा वडाको पहलमा झण्डै लोप हुने अवस्थामा पुगेको एउटा पुरानो पँधेरो तथा रुखको संरक्षण थालिएको छ । यस स्थानमा टन्नै घर निर्माण भएका छन्, सडक फराकिलो बनेको छ । त्यही भौतिक संरचना निर्माण भएको छेउमा एउटा सानो पँधेरो छ, जहाँको पँधेरोको पानी स्थानीयले प्रयोग गरिरहेका छन् । जुन पानी अहिले आम पोखरेलीले पिउने जारको पानी भन्दा स्वच्छ र स्वादिष्ट हुने स्थानीय बताउँछन् । अहिले यहाँ मुहान पधेरो संरक्षणका लागि पार्क, मृत्युपछि गरिने संस्कारका लागि आवश्यक पर्ने किरिया घर सहित अन्य संरचना निर्माण भइरहेको छ ।

यस स्थानको नाम चाँपपानी किन रह्यो भन्ने विषय पनि रोचक छ । पँधेरो भन्दा माथि अजंगको रुख छ, त्यो रुख चाँपको हो । सोही चाँपको नामसंग जोडिएर उक्त स्थानको नाम चापापानी रहन गएको स्थानीय ६३ वर्षीय मीनकाजी कार्की बताउँछन् । उनका हजुरआमा–हजुरबुबादेखि आमाबाबा सम्मले पिउन त्यही पँधेरोको पानी प्रयोग गर्थे । उक्त पँधेरोमा पहिलेदेखि हिउँदमा पानी आउँथेन, बर्खाको समयमा मात्रै आउँथ्यो । ‘भौतिक संरचना निर्माण हुन थालेपछि बर्खामा आजभोलि छोटो समयमा लागि पानी आउँछ, हिउदमा ठप्पै हो ।’ उनले भने, ‘मलाई याद भए अनुसार यहाँ बाहेक वरपरका स्थानीयले यहीँको पानी प्रयोग गर्नुहुन्थ्यो ।’ मीनकाजीका अनुसार उक्त पँधेरोमा पानी सुकेपछि स्थानीयले काहँखोलाको पानी प्रयोग गर्थे । अहिले त्यहाँका स्थानीयले पिउन सोही पँधेरोको पानी प्रयोग गर्छन् । उक्त पानीको पँधेरो पहिले जुन आकारको हो सोही आकारमा छ । तर, लोप हुने अवस्था सिर्जना भएपछि बाहिरी आवरणको संरक्षणका लागि पहल सुरु गरिएको उनले बताए । उनलाई ठ्याक्कै थाहा छैन तर बाउबाजेले भनेको सुने अनुसार यो रुख करिब २ सय वर्ष पुरानो हो । यो रुखको संरक्षणका लागि गत वर्षको शिवरात्रीमा रुखको हाँगा काँटछाँट गरिएको मीनकाजीले बताए ।

यतिमा मात्रै डा.सुवेदी खुसी छैनन् । विकासका नाममा यस्ता पुरातात्विक स्थानलाई बेवास्ता गरिएकोमा भने उनको चित्त दुखाई छ । उनले पोखरा महानगर क्षेत्रमा यो बाहेक अन्य पँधेरो संरक्षणको पखाईमा रहेको देखेका छन् । ‘सिम्पानीदेखि केही माथि सराङकोटसंग जोडिएको जंगल क्षेत्र भन्दा केही तल, विन्दवासिनीदेखि सराङकोट जाने बाटो छ, त्यहाँ नभइकन सिधै धारापानी जाने स्थानमा छ । त्यस्तै त्यो भन्दा केही पर चिसापानी भन्ने स्थानमा त्यस्तै पँधेरो छ ।’ उनले भने, ‘पोखरा महानगरपालिकाको सबै वडामा हिसाब गर्ने हो भने त यो भन्दा बढी पँधेरा तथा कुवा संरक्षणको पर्खाइमा हुन सक्छन् र संरक्षण गर्नु अति आवश्यक छन् ।’

कार्यान्वयन नभएको ‘वर–पीपल, समी ऐन’
समय क्रमसंगै भौतिक विकास हुनु सामान्य हो । तर विकासका नाममा भइरहेको विनासका विषयमा भने ध्यान नगएको उनको कथन छ । ‘प्रकृतिको संरक्षणका विषयमा सोच्ने कोही भएनन्, ठूला–ठूला कुरा गर्छन्, तर व्यवहारमा उतारेनन्,’ उनले भने । डा.सुवेदीका अनुसार २०७५ सालमा गण्डकी प्रदेशले ‘वर–पीपल, समी ऐन’ बनाएको छ, तर लागू भएको छैन । सो ऐन अनुसार वर–पीपल र समीको रुख काटेमा सजाय हुने उल्लेख भएको तर कस्तो सजाय भन्ने उल्लेख नभएको उनले बताए । ‘पोखरा महानगरमा वर–पीपल ऐनको विषयमा जानकारी गराएँ, तर उहाँहरुलाई थाहा रहेनछ,’ उनी भन्छन्, ‘प्रदेश सरकारले ऐनको प्रचार, कार्यान्वयन गर्न नसकेको हो कि, जानकारी भएर पनि बेवास्ता गरिएको हो, बुझ्न सकिएको छैन ।’ प्रकृति संरक्षणको विषयमा कुनै पनि स्थानीय तह वा राजनीतिज्ञलाई चासो नभएको सर्वसाधारणको गुनासो छ । अहिलेको पुस्ता भौतिक बिलासितामा बढी रमाउने किसिमको भएको डा.सुवेदीले बताए । पुरातात्विक महत्वका स्थान र विषयलाई जोगाउनुपर्छ भन्ने सोच नभएको उनी बताउँछन् । उनलाई लाग्छ, यो सबैको कारक तत्व भनेको जनचेतना, शिक्षा र जिम्मेवारीबोधको अभाव हो । साथै विद्यालय तहबाटै यस्ता महत्वपूर्ण स्थानका विषयमा जानकारी गराउन चुकिएको उनले बताए । ‘विद्यालय तहबाटै स्थानीय तहमा प्राकृतिक स्रोत साधन, यसको उपयोगिताको विषयमा यथेष्ट जानकारी गराएर संरक्षणका विषयमा ध्यान दिन चेतना फैलाउनु पर्छ’ उनले भने, ‘अनि मात्रै नयाँ पुस्ताले आफ्नो स्थानमा भएका महत्वपूर्ण स्थानमा विषयमा जानकारी पाउन सक्छन् ।’

जनप्रतिनिधिको चासो
डा.सुवेदी पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका प्राकृतिक स्रोत र स्थानको खोजी गर्नु जरुरी भएकोमा जोड दिन्छन् । ‘पोखरामा मानव बस्ती यसरी बढ्नु भन्दा पहिले धेरै कुवा, पोखरी थिए, हामीले उक्त कुवामा गाईवस्तु चराउने, हाँस खेलिरहेको देखेका हौं, तर अहिले अतिक्रमण भयो, त्यहाँ घर निर्माण गरिए,’ उनले भने, ‘यस्ता स्थानको संरक्षणको लागि सरकारी निकायबाट बेवास्ता भयो, उहाँहरुलाई जति भने पनि वास्ता गर्नुहुन्न ।’ उनलाई लाग्छ, सायद अलि छेउँमा भएको र स्थानीयले संरक्षणमा ध्यान नदिएको भए चापापानीको पँधेरो पनि लोप हुन्थ्यो । ‘यो अलि भित्तामा च्यापिएर बनेकाले होला बाँकी छ, होइन भने बाटो, घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा बिलाइसक्थ्यो ।’ डा.सुवेदीका अनुसार सिँचाई, पिउन, लुगा धुन, गाईवस्तुका लागि सोही पँधेरोको पानी प्रयोग गरिन्थ्यो ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला चापापानी पँधेरोको पारीपट्टि बस्छन्, जहाँ उनको घर छ । पहिलेदेखि उनलाई पुरातात्विक महत्व बोकेका स्थानको संरक्षण गर्नुपर्छ भन्ने लाग्थ्यो । घर भन्दा विपरित ठ्याक्कै पारिपट्टि रहेको पँधेरोको विषयमा उनलाई थाहा नहुने कुरै भएन । वडाध्यक्ष भइसकेपछि त झन् यो कामका लागि बजेट मात्रै होइन, समय नै छुट्याएका छन् । वडाध्यक्ष बास्तोलाका अनुसार यो वर्ष पँधेराको संरक्षणका लागि ४ लाख खर्च भएको छ । अन्य संरचना उक्त स्थानमा निर्माण भइरहेकाले १४/१५ लाखको काम भइरहेको उनले जानकारी दिए । सबै बजेट वडाबाटै विनियोजन गरिएको वडाध्यक्ष बास्तोलाले बताए । यतिमात्रै होइन, बास्तोलाका अनुसार शितलादेवी मन्दिरनिर रहेको हिटी संरक्षणका लागि पनि वडाले पहल सुरु गरेको छ । ‘शितलादेवी मन्दिरनिर रहेको हिटी संरक्षणका लागि डिपिआर निर्माण भइसकेको छ, सके यो वर्ष नसके आगामी वर्षभित्रमा सम्पन्न गर्ने योजना छ,’ उनले भने । पोखराका केही वडामा मात्रै यस्ता पँधेरा छन्, जसलाई संरक्षण गरिएको छ । विकास निर्माणका लागि भनेर ऐतिहासिक महत्व बोकेका यस्ता संरचना मास्नु उचित नभएको उनले बताए ।

२०८०, १९ श्रावण शुक्रबार ०४:४६
कथालिका नयाँ कथा
कथालिका