घले गाउँः एक ‘स्मार्ट भिलेज’ – कथालिका

घले गाउँः एक ‘स्मार्ट भिलेज’

फोटो सौजन्यः आश गुरुङ

  • पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पना साथ सुरु भएको ग्रामीण पर्यटनले घलेगाउँवासीलाई अहिले सुखी बनाएको छ । गाउँले आफैंले यसका सूचक बनाएका छन् । त्यही सूचकलाई पछ्याउँदै सबै कार्यान्वयन चरणमा पुगेपछि सुखी गाउँ घोषणा गरिएको छ ।

एकै रङले रंगिएका घरका छाना । दन्त लहर जस्तै मिलेका घर वस्ती । २ हजार ७० मिटरको उचाईको अवस्थित छ गाउँ । गाउँमा छ ढुंगा र माटाले बनेका परपम्परागत घर । सफा, चिरिचट्ट छ घर आँगन । पृष्ठभूमिमा सजाएर राखिएको जस्तै देखिने सुन्दर मनोरम हिमाल । गुरुङ संस्कृति, आत्मीय व्यवहार, आतिथ्यता र मीठो खानाका लागि उस्तै प्रख्यात छ गाउँ । घले गाउँ अर्थात् कोइम्ली ।

करिब ८ सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ । घलेराजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले यो गाउँको नाम घले गाउँ रहन गएको स्थानीय बताउँछन् । घलेगाउँमा गुरुङ जातिका अन्तिम घलेराजा ‘क्याल्बोरोजा क्ले’ थिए ।

साविकको उत्तरकन्या गाविसमा पर्छ घलेगाउँ । नयाँ संघीय अभ्यासका क्रममा बागलुङपानी, मालिङ, उत्तरकन्या, भोजे, सिङ्दी, गिलुङ र भुजुङ गाविस मिलाएर क्होंलासोंथर गाउँपालिका बनाइएको छ । गुरुङ समुदायको आदिमभूमि क्होंलासोंथरको नाममा गाउँपालिकाको नामाकरण गरिएको छ ।

यहाँका गाउँलेको मुख्य पेशा पर्यटन, कृषि, पशुपालन हो । गाउँमा खेतीपाती गरेको, गाईभैंसी दुहेको, बाख्रा र कुखुरा पालन गरेको, राडीपाखी, डोकोनाम्लो र भकारी बुन्ने स्थानीयको नियमित दैनिकी हो । गाउँलेमा सामूहिक भावना, मिलेर विकासका काम गर्ने चाहना घले गाउँको विशेषता हो ।

पदमार्गका लागि चर्चित
यो गाउँ पदमार्गका हिसाबले समेत चर्चित छ । घलेगाउँ, घनपोखरा, ठूल्लेक हुँदै सिक्लेस भएर पोखरा निस्कने क्याम्पिङ टे«कका लागि एक हप्ता समय लाग्छ । यस्तै, घलेगाउँबाट थुर्जुलेक हुँदै नामुन भञ्ज्याङ पार गरेर मनाङको तिमाङ पुग्न पनि एक हप्ता क्याम्पिङ टे«क गर्नुपर्छ । घलेगाउँबाट घनपोखरा, भुजुङ, पसगाउँ, पाख्रिकोट हुँदै बेगनास तालसम्म तीन दिने पदयात्रा गर्न पनि सकिन्छ ।

घलेगाउँका होमस्टे तथा होटलमा दाल, भात, तरकारी, कोदोको ढिँडो, अचार, रोटी, कोदोको प्यानकेक, लोकल कुखुराको मासु, सुकटी, नारी–पा (कोदोको रक्सी) आदि पाइन्छ । खाजामा कोदोको सेल रोटी–तरकारी, मकै–भटमास र गुन्द्रुक, झिलिङ्गा आदि हुन्छ । सिजनअनुसारका लोकल तरकारी पाक्छ । होटल तथा रेष्टुराँमा विकासे मदिरा, मम र चाउमिन लगायत परिकार पनि पाइन्छ ।

विदेशबाट फर्किएर होम-स्टे
लमजुङ्ग सदरमुकाम बेंसीसहर, जहाँबाट २७ किलोमिटर उत्तर–पश्चिमको दूरीमा घलेगाउँ पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँमा ८० घर गुरुङ र ४५ घर दलित समुदायका छन् ।

विसं ०५४ सालदेखि होमस्टे कार्यक्रम शुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँका रूपमा विकास गरिएको छ । १२ वटा घरबाट होम स्टे आरम्भ गरिएको थियो । सामुदायिक होमस्टे र होटल ‘घलेज् होम’मा एकै पटक २५० जना बास बस्न सक्छन् । त्यहाँ पारिवारिक वातावरण पाइन्छ । गाउँलेहरू पाहुनालाई फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन् ।

घलेगाउँमा अमेरिका, बेलायत गएका समेत फर्किएर होमस्टे सञ्चालन गर्न थालेका छन् । विक समुदायले सञ्चालन गरेको २ घरसहित घलेगाउँमा ४२ घरमा होमस्टे छ । घलेगाउँमा यो अवधिमा सवा २ लाख बढी पर्यटकले बास बसेका छन् ।

मोहित बनाउने मौलिक संस्कृति र प्रकृति
प्रकृति र संस्कृतिको संगम देख्न सकिन्छ घलेगाउँमा । गाउँबाट माछापुच्छे«, अन्नपूर्ण दोस्रो, बौद्ध, हिमालचुली, लमजुङ, डा. हर्क गुरुङ पिक र मनास्लु लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यले पनि पर्यटकलाई मोहित बनाउँछ । पुस–माघमा गाउँमा हिउँ पनि पर्छ ।

ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदा छन् । छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ ।

स्थानीय नदी एवं खोलाबाट माछा, भेडीगोठका भेडा, च्यांग्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै, मौसम अनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् ।

पूर्खाको सम्मानका लागि स्थानीयवासीले अन्तिम घले राजाको सालिकसहित पार्कको निर्माण गरेका छन् । गाउँमै गुरुङ संस्कृतिको ज्वलन्त चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ । जहाँ पुराना हात हतियार, भाँडाकुँडा, जाँतो, गोलो घर, स्मारकहरु अनि गुरुङ जातिको पुरातन सांस्कृतिक पोशाक हेर्न पाइन्छ । पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिरजस्ता स्थानको अवलोकनमा रमाउने गर्छन् ।

पहिलो स्मार्ट भिलेज
होम-स्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास थालिएको घले गाउँलाई २० वर्ष पश्चात २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरियो ।

दुई दशक अघि सम्म विकासका पूर्वाधार नपुगेको घलेगाउँमा यतिबेला भने आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत् र सडक पुगेको छ । पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पना साथ सुरु भएको ग्रामीण पर्यटनले घलेगाउँवासीलाई अहिले सुखी बनाएको छ । गाउँले आफैंले यसका सूचक बनाएका छन् । त्यही सूचकलाई पछ्याउँदै सबै कार्यान्वयन चरणमा पुगेपछि सुखी गाउँ घोषणा गरिएको छ ।

प्रेमबहादुर घलेको नेतृत्वमा गाउँलेको झन्डै २ दशकको संघर्षपछि घलेगाउँ सुखी गाउँमा परिणत भएको हो । यसमा उनलाई स्याङ्जाको सिरुवारी गुरुमन्त्र बन्यो । ‘हामीकहाँ पाहुनालाई सित्तैमा खुवाउने, बास दिने चलन थियो । पैसा लिनुपर्छ भन्ने कुरा सिरुबारीबाट सिकें,’ उनले भने, ‘अथक प्रयासपछि सार्क भिलेज, स्मार्ट भिलेज हुँदै अहिले सुखी गाउँसम्म आइपुगेका छौं ।’ उनका अनुसार ५ पैसाको मुख देख्न नपाउनेले अहिले दैनिक हजारौं कमाएका छन् ।

घलेगाउँवासीले २०५६ बैशाख २३ मा प्रथम महोत्सव गरी १२ घर होम-स्टे स्थापना गरे । प्रचार प्रसार गर्न २०५८ चैतमा घलेगाउँ महोत्सव गरे । अन्तरिम सरकारमा पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०६४ फागुनमा घलेगाउँ दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो ।

सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पुरस्कृत ग¥यो । सुखीगाउँको आधारभूत मापदण्ड पूरा भएपछि गत वर्ष घलेगाउँलाई सुखी गाउँ घोषणा गरियो ।

भेडीगोठ देखि हनी हन्टिङ सम्म
गाउँलेले भेडा पालेका छन्। दसैं–तिहारका बेला भेडाहरू एक महिना गाउँमै राखिन्छन्। मंसिर पहिलो साता खेत मलिलो बनाउन तिनलाई बेंसीमा झारिन्छ। फागुन अन्तिम सातादेखि तिनलाई फेरि गाउँको छेउछाउ पु¥याइन्छ। गर्मी बढ्दै जाँदा भेडी गोठलाई हिमालतिर सारिन्छ। जेठदेखि भदौसम्म लमजुङ हिमालको फेदीसम्म पु¥याइन्छ। अनि हिउँ पर्न थालेपछि बिस्तारैबिस्तारै बेंसीतिर झारिन्छ।

भीर मौरीको मह ओखती मानिन्छ। घलेगाउँ नजिकैको भीरमा माहुरी बस्छन्। त्यहाँ वर्षका दुईपटक कात्तिक÷मंसिर र चैत÷वैशाखमा मह शिकार गरिन्छ। शिकार गर्ने परम्परागत शैली छ। शिकार गर्नुअघि देवताको पूजा गरिन्छ। भीरमा शिकार गर्नु सजिलो हुँदैन। शिकारीहरू डोरी र बाँसको सहाराले झुन्डिएर मौरीलाई चाकाबाट धुँवाले भगाउँछन्। अनि मह काढ्छन्।

घलेपार्क र संग्राहलय
घले गाउँमा सार्क भिलेज नमूना संग्रहालय छ । जहाँ गुरुङ समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म झल्काउने सामाग्री, तस्वीर र चित्र सजाइएको छ । उनीहरूले खेतीपातीमा प्रयोग गर्ने कुटा, कोदाला, जंगलमा प्रयोग गर्ने हतियार, शरीरमा लगाउने पोशाक र गहना राखिएको छ । त्यस्तै, भान्छामा प्रयोग गर्ने सामान लगायत चीजबिज अवलोकन गर्न पाइन्छ ।

घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ । वंशावलीअनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए । कालान्तरमा उनका सन्तानहरू क्होंल, ख्होल (क्होंल) र पोंचोंको कोइम्लीनासाका राजा भए । घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन् भने अन्तिम राजा क्याल्पोेरुजाक्ले । गुरुङ भाषामा घलेगाउँलाई ‘कोइम्ली’, घलेलाई ‘ल्के’, राजालाई ‘म्रु’ र राज्यलाई ‘ख्याल्सा’ भनिन्छ । घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमासहित घलेपार्क बनाइएको छ ।

उत्तरकन्या मन्दिर
सांस्कृतिक हिसाबले गुरुङ समुदाय समृद्ध मानिन्छ । गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले घलेगाउँ खुला पाठशाला हो । अचेल पर्यटकको मागअनुसार गाउँमा कृष्णचरित्र, घाँटु, रोधी, घ्याप्री, सेर्गा र पच्यू नाच देखाउँछन् । पाहुनालाई पनि आफूसँगै नचाउँछन् ।

प्रायः उत्तरतिरबाट पानीको मूल फुट्छ र अन्य दिशामा बग्छ । घलेगाउँको उत्तरकन्या मन्दिरमा भने दक्षिणबाट मूल फुटेर पानी उत्तरतिर बगेको छ । मन्दिरमा कुनै शिला वा आकृति छैन, पानीको मूललाई नै देवीका रूपमा पूजा गरिन्छ ।

पुस महिनाको अन्तिम दिन रातभर जागा बस्ने र माघ १ गते बिहानै त्यही मूलको पानीले नुहाएर धूपधुवाँर गरि घर फर्कने चलन छ । मन्दिरमा बलि चढ्दैन । बरु विश्व शान्तिको कामना गर्दै परेवा उडाइन्छ । मन्दिरमा घण्टी चढाउने चलन छ । सेनामा भर्ती हुनेहरू पनि आफ्नो जीउधन सुरक्षित होस् भनेर घण्टी चढाउँछन् ।मन्दिर छेउमा सातकन्या कुवा छ । त्यहाँका सात वटा कुवाको पानी मीठो छ । पहिलापहिला गाउँले यहीँको पानी खान्थे । अचेल गाउँमा खानेपानीका धारा छन् ।

तमु समुदायको आदिम थलो क्होंलासोंथर हो । अन्नपूर्ण र लमजुङ हिमालको दक्षिणी काखमा अवस्थित क्होंलासोंथरबाट करीब १२ सय वर्ष अघि गुरुङ समुदाय गण्डकी प्रदेश हुँदै मूलुकका विभिन्न भूभागमा बसाइँ सरेको इतिहास छ । घलेगाउँबाट दुई दिन पदयात्रामा क्होंलासोंथर पुगिन्छ । त्यहाँ पुरानो बस्तीका भग्नावशेष छन् ।

चिया बगान
गाउँ नजिकै दुई सय रोपनीमा चिया बगान छ । चियाको हरियालीमा आनन्दित हुन सकिन्छ । बगानको पृष्ठभूमिमा हिमाल हाँस्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा विसं २०५७ सालदेखि चिया रोप्न थालिएको हो । यसको संरक्षणमा जिल्ला भूसंरक्षण कार्यालय लमजुङले सहयोग गरेको थियो । बगानमा घुम्न र फोटो खिच्न पाइन्छ ।

गाउँको संयुक्त आमा समूहले पाहुनालाई गुरुङ पहिरन लगाएर फोटो खिच्ने सुविधा दिलाएको छ । निश्चित रकम तिरेपछि महिला तथा पुरुषले परम्परागत पहिरनमा सजिएर फोटो खिच्न पाउँछन । यसरी खिचेको फोटो घलेगाउँको मीठो सम्झना बनिरहन्छ ।

यसरी पुग्न सकिन्छ घले गाउँ
वर्षैभरि घलेगाउँ जान सकिन्छ । काठमाडौं–बेंसीशहर १७२ किमि, बसमा ५ घन्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–वेशिसहर ११० किमि। बेंसीसहर–घलेगाउँ २४ किमि । पदयात्रा गर्दा बेंसीसहरबाट बागलुङपानी हुँदै घलेगाउँ पुग्न ६ घन्टा। त्यस्तै खुदीबाट ६ घन्टा उकालो चढेर पनि घलेगाउँ पुगिन्छ ।

२०८०, ७ भाद्र बिहीबार ०६:१८
कथालिका नयाँ कथा
कथालिका