‘नामर्द’ प्रेम, जसले कोरेका थिए घले गाउँको पर्यटन रेखा – कथालिका

‘नामर्द’ प्रेम, जसले कोरेका थिए घले गाउँको पर्यटन रेखा

  • गाउँकै लाहुरे संस्कृतिमा हुर्के बढेका घले पनि १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन सिमला पुगेका थिए । तर, उनी फर्केर आए । सेनामा भर्ती हुन नसकेको भन्दै गाउँलेले नै ‘नामर्द’ को संज्ञा दिए । यसले झन् उनलाई केही गरेर देखाउने ‘इख’ पलायो ।

गाउँ बनाउनेका कथा-०३

सुन्दर प्रकृतिको सामिप्यतामा मुस्कुराइरहेको घलेगाउँ, यतिबेला संसारभर प्रख्यात छ । नेपालका धेरै गाउँहरूका लागि घलेगाउँ ग्रामीण पर्यटनको नमुना पाठशाला बनिरहेको छ । यो नमुना घलेगाउँलाई पर्यटनधाम बनाउने मुख्य अगुवा हुन् स्थानीय प्रेम घले ।

२१ सय मिटरको उचाइमा अवस्थित छ घले गाउँ, जहाँ खेतीपाती गर्न निकै कठिन । सेवा, सुविधाको अभावले सास्ती भए पछि गाउँ छोड्ने दर उच्च । गाउँघरको यस्तो समस्या र नियति नजिकबाट नियालिरहेका घलेलाई मुकदर्शक बनेर बस्न मनले मानेन ।

दमाली सँगै भर्ती नभए पछि ‘नामर्द’ संज्ञा
र त उनकै सपना र नेतृत्वमा २०५४ सालदेखि थालेको पहल र अभियानले घलेगाउँले काँचुली फे¥यो । १२ घरमा होम–स्टे बनाएर थालेको अभियानबाट यस गाउँमा अहिले ४२ घरमा घरबास सेवा छ, ३ वटा होटल छन् । होम–स्टे सुरुवात गरे लगत्तै तत्कालीन माओवादी जनयुद्धका कारण प्रभावित बने पनि २०६५ साल यता शान्ति सम्झौता पश्चात अभियानले पुनः सार्थकता पाउँदै गयो । कुनै बेला वैदेशिक रोजगार आम्दानीको प्रमुख माध्यम रहेको यस गाउँमा आज पर्यटनबाटै गाउँ सबल बन्ने अवस्था सिर्जना भएको छ ।

घले गाउँकै लाहुरे संस्कृतिमा हुर्के बढेका घले पनि १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन सिमला पुगेका थिए । तर, उनी फर्केर आए । सेनामा भर्ती हुन नसकेको भन्दै गाउँलेले नै ‘नामर्द’ को संज्ञा दिए । यसले झन् उनलाई केही गरेर देखाउने ‘इख’ पलायो । यसकै प्रतिफल उनी थप दृढता र समर्पणका साथ समाजसेवामा सक्रिय बने ।

तीन व्यवस्था, तीनै पटक अध्यक्ष
घलेगाउँमा घलेउत्तरकन्या प्रावि खोलेर १० वर्षसम्म पढाए । राजनीतिमा पनि सक्रिय भए । २०४९ सालमा उत्तरकन्या गाविसको अध्यक्षमा निर्वाचित भए । दोस्रो पटक २०५४ सालमा पनि अध्यक्षमा निर्विरोध निर्वाचित भए । मुलुकमा नयाँ संघीय अभ्यास सुरु भए पछि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी क्होंलासोंथर गाउँपालिकाको अध्यक्ष बने ।

उनी घलेगाउँमा मात्र सीमित छैनन, अध्यक्ष बनेपछि सिंगो क्होंलासोंथर गाउँपालिकालाई पर्यटकीय केन्द्र बनाउने अभियानमा होमिए । ६३ वर्षको उमेरमा समेत तन्नेरी जोश बोकेर हिँडिरहेका ग्रामीण पर्यटनका नायक प्रेम घले जीवनभर पर्यटनकर्ममै समर्पित हुन चाहन्छन् ।
आधुनिक घलेगाउँका अवधारणाकार, जसले घलेगाउँलाई दुई पटक दक्षिण एसियाली मुलुकको नम्बर एक पर्यटकीय गाउँका रूपमा स्थापित गराए । घले गाउँलाई चिनाउन स्थानीय स्तरमा मात्रै होइन, संघीय राजधानी काठमाडौं लगायतका स्थानमा आफै पुगेर सम्भावनाको खोज, पूर्वाधार र प्रवद्र्धनका लागि काम गरे । शौचालय बनाउने अभियान चलाए । गाउँ सफा राख्न उर्दी गरे । घर–आँगनमा सागपात फलाउन अनुरोध गरे । गाउँमा हराएको घाँटु, सोरठी र कृष्णचरित्रलाई ब्युँताए ।

अनि घले गाउँको मुहार फेरियो
नेपाल पर्यटन बोर्डले २००३ को पर्यटन वर्षमा घलेगाउँलाई पनि जोड्यो । लमजुङका स्थानीय समेत रहेका पृथ्वीसुब्बा गुरुङ पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँ घोषित भयो ।

काठमाडौं जाँदा मःमः खाएपछि १० प्रतिशत सेवा शुल्क लेखेको बिल लिएर उनी गाउँ फर्के । गाउँघरमा प्रभावकारी सेवा दिने तर सेवा शुल्क समेत लिने विषयमा सबैको सहमतिमा १५ प्रतिशत सेवा शुल्क समेत कायम गरियो । हरेक होमस्टेले कमाएको पाँच प्रतिशत ग्रामीण पर्यटन विकास समिति घलेगाउँलाई बुझाउने, त्यसबाट कार्यालय सञ्चालन गर्ने, जसका लागि तीन कर्मचारी राखिएको छ ।

आर्काइभबाटः र यो पनि पढ्नुहोस्

घले गाउँः एक ‘स्मार्ट भिलेज’

सुरुवातदेखि सल्लाह दिँदै आएका लीलाबहादुर घले, गमबहादुर गुरुङ र पछिल्लो समय आसवीर गुरुङले उनलाई घलेगाउँ बनाउन दरिलो साथ दिए । लीलाबहादुरको भनाइमा प्रेमले घलेगाउँको मुहार फेरिदिए । यहाँका बासिन्दालाई कर्ममा रमाउन सिकाए । प्रेमसँगै उपाध्यक्ष बनेर गमबहादुरले होमस्टे व्यवस्थापन गर्दै गए । गाउँमा आउने पर्यटकलाई घरघरै राख्ने चाँजोपाँजोमा उनले साथ दिए ।

प्रति होम-स्टे वार्षिक ४ देखि ८ लाख
कुनै महामारी, विपद् नआउदाको समयमा हरेक होमस्टेले वार्षिक ४ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । आम्दानीको आधा भन्दा बढी जोगाउँछन् । २०५७ सालको विषम परिस्थितिमा भित्रिएको होमस्टेले गाउँका सोझासिधा बासिन्दालाई आयआर्जनको बाटो देखाएको घले बताउँछन् । चार वर्षअघि कृषि विकास बैंकबाट १३ प्रतिशत ब्याजमा १७ लाख रुपैयाँ ऋण लिएर स्थानीयले होमस्टेमा एकै प्रकारका बेडको व्यवस्था गरेका छन् ।

गाउँमा आएर सहरकै वातावरण खोज्नेका लागि प्रेम आफैंले घलेज होम (उच्च कोटीको होम–स्टे) सञ्चालनमा ल्याएका छन् । सुरु सुरुमा गाविसले सहयोग ग¥यो । तालिम तथा व्यवस्थापनका लागि एक्यापले सहयोग ग¥यो । तत्कालीन जिविसले मेला महोत्सवमा केही सहयोग ग¥यो । होमस्टेको कमाइबाट उनीहरूले पर्यटकमैत्री शौचालय निर्माण गरे ।

पछिल्लो तीन वर्षको अवधिमा घलेगाउँमा एक लाख भन्दा बढी आन्तरिक पर्यटक भित्रिएका छन् । बाह्य पर्यटक १० हजार बढी आएका छन् । होमस्टेको स्वागत, अर्गानिक खाना र क्याम्प फायरमा पर्यटक रमाउँछन् । हिमाल र कला संस्कृतिकलाई नजिकैबाट नियाल्छन् । सडक, पानी, बिजुली, इन्टरनेटको सुविधा छ । सामूहिक चियाबगान तथा भेडीगोठले पर्यटकलाई थप आकर्षित गरेको छ । घलेगाउँको सिको गर्दै जिल्लाका एक दर्जन ग्रामीण पर्यटकीय गाउँमा होमस्टे सञ्चालनमा ल्याइएका छन् ।

२०८०, १२ भाद्र मंगलवार ०७:४१
कथालिका नयाँ कथा
कथालिका