नयाँ पुस्तामा राखीको रेखा – कथालिका

नयाँ पुस्तामा राखीको रेखा

  • यो पर्वलाई फेसनका रुपमा मात्रै लिइदिनु हुँदैन, यसको महत्वका विषयमा जानकार हुनुपर्छ ।

पोखराका सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउने र महानगरपालिकाका नगर प्रहरी बिच चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रमा प्रायः लुकामारी चलिरहन्छ । साँझ ६ बजे पश्चात् सडकमा व्यापार गर्न पाइने भए पनि त्यस इतरको समयमा समेत नगर प्रहरीको आँखा छल्दै व्यापारको धन्दा चलिरहन्छ ।

बुधबार त्यस्तै चलिरहेको थियो पोखरामा । बिहीबार रक्षा बन्धन अर्थात् राखी बाँध्ने दिन भएकाले केही दिन अगाडिबाट नै पोखराको मुख्य बजारका चोकमा राखी विक्री गर्ने व्यवसायी धेरै देखिन्थे । राखी आयो, सस्तो र राम्रो भन्दै ग्राहक बोलाउनेको भिड थियो । त्यसमाथि राखी किन्नेको भीड त्यस्तै थियो । त्यही बेला पोखरा महानगनरपालिकाका नगर प्रहरी आएको सुइँको पाउना साथ राखी बेच्न बसिरहेका व्यापारी कोही कता त कोही कता लुकामारी दौडादौड चल्यो । यसका बाबजुद पनि चिप्लेढुंगा, महेन्द्रपुल लगायतका बजारमा राखी र राखी बाँधिदिए बापत् दिइने विभिन्न उपहार किन्नेको भीड थियो, मिठाई पसलहरुमा त्यस्तै व्यस्तता र व्यापार । राखी किन्नेमा पुराना भन्दा नयाँ पुस्ता बढी थिए । त्यसमा पनि युवतीको संख्या युवाको भन्दा बढी । आफ्नो दाजुभाइको रक्षाका लागि भन्दै उनीहरु राखी किन्न आएको उनीहरु बताइरहेका थिए । आजभोलि र झन् राखी दाजुभाइले दिदीबहिनी र दाजुभाइ नभएकाले पनि दिदीबहिनीलाई लगाइदिने प्रचलन बढेको छ ।

नगर प्रहरी आएको सुइको पाउना साथ लुक्ने प्रयासमा थिइन् वीरगञ्जकी निसा यादव । अन्य व्यापारीले सामान सारिसकेका थिए, उनी पनि झटपट सामान लिएर जाने सुरमा थिइन् कथालिकाकर्मीले कुरा गर्न खोज्दा । यो भन्दा अगाडि ‘१ सयको ४ वटा राखी, १ सयको ४ वटा राखी, सस्तो र राम्रो छ, लिएर जानुस् है ।’ हेर्दा भर्खर १४/१५ वर्ष जस्तो देखिने उनी सडकमा आउने जाने हरेक ग्राहकलाई भनिरहेकी थिइन् । उनको आग्रहलाई धेरैले सुनेपनि नसुने जस्तो देखिन्थ्यो त केहीले हेर्दै फर्किंदै गरिहेका थिए । यो वर्ष थोरै मात्रामा व्यापार गरेकी उनले गएको वर्ष उनले राखी विक्री गरेकी थिइन् राम्रै । तर अहिले सोचेको जस्तो भएन निसाको व्यापार । ‘यो वर्ष खासै व्यापार भएर, गत वर्ष त राम्रै भएको हो, हरेक वर्ष सोचेको जस्तो व्यापार राम्रो त नहुने रहेछ ।’ केही न्यास्रो मान्दै उनले भनिन् । व्यापार नभएकोमा न्यास्रो लागेको भएपनि राखी भनेपछि उनको मनमा छुट्टै उत्साह थियो सायद, त्यो उत्साह अनुहारमा देखिएको थियो निसाको । तराईमा हुर्किएकाले होला उनलाई रक्षा बन्धनमा दाजुभाईलाई राखी बाँधिदिन रमाइलो लाग्छ । राखी कसरी मनाउने भन्ने विषयमा निसाले पहिले नै सोचिसकेकी रहिछन् । ‘एकदिनको राखी हो, यसलाई उत्साहपर्दक रुपमा मनाउनुपर्छ ।’ उनले भनिन्, ‘मेरो लागि त दाजुभाईलाई राखी बाध्नु उत्सव हो ।’

कुनै समय जनैपूर्णिमाका रुपमा मनाइने पर्व अहिले बिस्तारै ओझेलमा पर्दै राखी बाँध्ने पर्वका रुपमा परिचित हुँदै गएको छ । युवापुस्तालाई जनै बाँध्ने भन्दा दाजुभाई तथा दिदीबहिनीलाई राखी बाँध्ने विषयमा बढी जानकारी छ हालको समयमा । तर, यही भीडमा केही युवायुवती यस्ता पनि छन्, जसलाई राखी बाँध्ने मात्रै होइन, आफ्नै संस्कार जनै बाँध्ने विषयमा समेत जानकारी छ । उनीहरु दाजुभाई तथा दिदीबहिनी एकअर्कालाई राखी पनि बाँध्छन् र जनै पनि लगाउँछन् । सकेसम्म सबैको पर्व मनाउँदा सामाजिक सद्भाव कायम रहने उनीहरुको बुझाई हुन्छ । त्यसैले त प्रविधिको दुनियाँमा रुमल्लिरहेका युवापुस्तालाई प्राय चाडपर्व उल्लासमय लाग्छ । यस्ता युवालाई लाग्छ, सांस्कृतिक चालचलन एकअर्कामा रमाएर मनाउन सकेको खण्डमा समाजमा एकता कामय हुन्छ र हरेकलाई हरेकको पर्वका विषयमा जानकारी हुन्छ ।

राखी किन्ने कै भीडमा थिइन् निसुमा शाही । उनलाई रक्षा बन्धन नेपाली संस्कृति होइन, नेपालीको संस्कृति त जनै बाँध्नु हो भन्ने राम्रोसंग थाहा छ । तर, राम्रो संस्कार र संस्कृति अपनाउँदा केही फरक नपर्ने उनले बुझेकी छिन् । ‘राम्रो संस्कार र संस्कृति जसको अपनाउँदा पनि हुन्छ, यो हाम्रो संस्कृति होइन, अपनाउँदिन भन्न मिल्दैन ।’ उनी भन्छिन्, ‘मन हुनेले अपनाउँछन्, नहुनेले अपनाउँदैनन्, म त राम्रो लागेको संस्कार अपनाउँछु, हिन्दु संस्कारमा हुर्किएको भएपनि क्रिश्चियन लगायत अन्य धर्मको संस्कार, चाडपर्वलाई समेत महत्व दिन्छु ।’ सबै धर्मको चाडलाई महत्व दिँदा सामाजिक सद्भाव कायम रहने उनले बुझेकी छिन् । ‘घरबाट पनि सबैको चाडपर्वलाई महत्व दिनुपर्छ भन्ने संस्कारबाट हुर्किएँ, त्यही भएर मलाई यो उसको यो मेरो भन्ने विचार आउँदैन ।’ निसुमा भन्छिन् । सानैदेखि रक्षा बन्धन मनाउँदै आएकी उनलाई आफ्नो आमाले दाजुभाईको रक्षाका लागि भएकी बताएकी थिइन् । त्यही अनुसार नै उनको बुझाई रह्यो । भाईको लागि राखी हरेक वर्ष किनेर लगाइदिन्छिन् निसुमा । उनले नेपाली परम्परा अनुसारको पण्डितबाट जनै पनि लगाउँछिन् । ‘मैले आफ्नै संस्कृति पनि भुलेको छैन, जनै पूर्णिमा पनि भएकाले जनै लगाइरहेकै हुन्छु,’ निसुमा भन्छिन् ।

निसुमासंगै थिइन् समिक्षा सुनार, उनले पनि दाजुभाईका लागि राम्रो र रंगीबिरंगी राखी पाइन्छ कि भन्ने हेतुले हेरिरहेकी थिइन् । उनलाई रक्षा बन्धन (राखी) पर्व आएपछि मनमा छुट्टै उत्साह जाग्छ । हरेक वर्ष राखी किनेर दाजुभाईलाई लगाइदिन्छिन् । दाजुभाईलाई एकजुट गराएर विधिपूर्वक राखी बाँधिदिँदा समीक्षालाई आनन्द लाग्छ । अहिले फेसनका रुपमा चलेको भएपनि आफूले यो चलन आफ्नो होइन भन्ने जान्दाजान्दै पछ्याइरहेको उनको भनाई थियो । राखी मात्रै होइन, सकेसम्म आफ्नो चलनलाई बिर्सनु हुँदैन भन्ने सोचेर पण्डितबाट जनै पनि बाँध्छिन् समिक्षा । ‘राखी बाँधिदिए पनि जनै लगाउन छोडेको छैन, त्यसैले आफ्नो संस्कार बिर्सिएर अरुको मात्रै अपनायो भन्न मिल्दैन ।’ समीक्षाले भनिन् । दाजुभाईलाई राखी बाँधिदिँदा अपनत्व बढ्ने उनले बताइन् । हरेक वर्षको रक्षा बन्धनमा राखी नियमित बाँधिदिने बताउँदै उनले भनिन्, ‘यसलाई नकारात्मक रुपमा मात्रै लिनु हुँदैन, केही सकारात्मक पक्ष पक्कै होलान्, त्यसैले त यो प्रचलन फैलिदै गएको छ ।’ तर समीक्षालाई के थाहा छ भने, यो सबैमा आफ्नो संस्कार, संस्कृति र चालचलन भुल्नु हुँदैन ।

चितवनबाट पोखरा आएका अर्जुन प्रसाद शर्माले पोखरामा राखी विक्री गर्न थालेको २८ वर्ष पुगिसकेको छ । हाल यहीँको पस्र्याङमा बस्ने उनले हरेक वर्ष राखी विक्री गर्छन् । अर्जुनको बुझाईमा अहिले राखीको महत्व जानेर भन्दा पनि फेसनका रुपमा यो चलन अनपाउने बढेको उनले २८ वर्षको अवधीमा बुझेका छन् । उनलाई पनि थाहा छ, यो संस्कार नेपालको होइन । तर राखी मनाउनेको संख्या बढिरहेको देख्दा भने उनलाई अचम्म लाग्छ । हरेक वर्ष राखी आउनु एक महिनाभन्दा अगाडिबाटै उनले यसको विक्री सुरु गरिसक्छन् । फेसनका रुपमा मात्रै राखीलाई लिने देख्दा भने उनलाई नमिठो लाग्छ । ‘हामीलाई थाहा त छ नि, अहिले फेसन भइसकेको छ राखी, जनै लगाउने बरु घटिसके, अहिलेका पुस्ता धेरैलाई जनै लगाउने भन्ने विषयमा जानकारी छैन होला ।’ उनले भने, ‘तर यो सबै जान्दा जान्दै नराखी बेच्न छोडेको छैन, खै किन हो, म आफैँले बुझ्न सकेको छैन ।’ उनलाई लाग्छ, यो पर्वलाई फेसनका रुपमा मात्रै लिइदिनु हुँदैन, यसको महत्वका विषयमा जानकार हुनुपर्छ । यो वर्ष उनले एक सयको ४ वटा देखि एउटा राखीलाई ६० रुपैयाँसम्ममा विक्री गरेका छन् । हरेक वर्ष अर्जुनले राखी बेचेर एकदिनमा नै २२ देखि २५ हजारसम्म कमाउने गरेका छन् ।

राखी किन्ने युवती धेरै देखिएको भिडमा भेटिए लोकेश थापा मगर । उनले आफ्नी दिदीका लागि राखी किन्न खोजिरहेका थिए । आफूलाई राखी कुन चाहिँ किन्दा राम्रो हुन्छ भन्ने थाहा नहुँदा केही बेर रुमल्लिरहेका उनले धेरै हेरिसकेपछि जे त होला, आखिर राखी नै हो, दिदीभाईको सम्बन्ध राम्रो नै बनाउने हो भन्दै एउटा किनिहाले । ‘दिदीबहिनीले मात्रै किन, दाजुभाईले पनि उनीहरुलाई राखी बाँधेर बाँध्न सक्छन्, रक्षाका लागि हो भने हामीले पनि दिदीबहिनीलाई उत्तिकै सम्मान गर्नुपर्छ र रक्षा पनि ।’ उनले भने । दिदीले उनलाई राखी किनिसकेको उनले बताए । बजारमा हुर्किएका उनलाई जनै बाँध्ने परम्पराका विषयमा भने जानकारी छैन रहेछ । सानैदेखि लगाउँदै र लगाइदिँदै आएकाले होला, लोकेशलाई राखी बाँधने भनेपछि उत्साह लाग्छ । ‘म र मेरो दिदी भनेको टिभीमा आउने कार्टुन टम एण्ड जेरी जस्तै हो, कहिलेकाहीँ झगडा हुन्छ नै, तर त्यस्तो नराम्रो झगडा हुने होइन,’ उनले भने, ‘एकअर्कालाई राखी बाँध्ने भन्ने बित्तिकै हामी अन्य दिनमा भन्दा बढी उत्साहित हुन्छौं ।’

२०८०, १४ भाद्र बिहीबार ०३:२४
कथालिका नयाँ कथा
कथालिका