- तनहुँको सदरमुकाम बन्दीपुरमै थियो । विसं २०२५ मा त्यसलाई दमौली सारिए पछि स्थानीय नारायणगढ, दमौली, आँबुखैरेनी लगायत ठाउँमा झर्न थाले । हेर्दाहेर्दै बन्दीपुर ‘भुत गाउँ’ जस्तो बन्यो । त्यस समय बन्दीपुरले ‘मृत’ शहरको उपमा पाइसकेको थियो ।
गाउँ बनाउनेको कथाः ०४
‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा अचेल पर्यटकको बाक्लो उपस्थिति भइरहन्छ । तर, यो त्यही बन्दीपुर हो, जुन ठाउँ गुल्जार बन्दा बन्दै सदरमुकाम सरे पछि एक समय सुनसान बनेको थियो । त्यो सुनसान बनेको बस्तीमा पुर्नजागरण ल्याएर मुलुककै आकर्षक गन्तव्यका रूपमा दर्ज गर्ने मुख्य अभियन्ता हुन् चिजकुमार श्रेष्ठ ।
मौलिक सम्पदा, संस्कृतिहरुले सुसुज्जित बन्दीपुरमा अहिले विदेशी भन्दा नेपालीको बढी भीड लाग्छ । बन्दीपुरमा प्राय: नेवारी शैलीका घर छन् । बन्दीपुरे नेवारहरू काठमाडौँ उपत्यकाबाट आएका हुन् । सन् १७७८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ माथि आक्रमण गर्दा भक्तपुरबाट भागेका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास छ ।
एकताका ठूलो व्यापारिक केन्द्र थियो बन्दीपुर । तनहुँको सदरमुकाम बन्दीपुरमै थियो । विसं २०२५ मा त्यसलाई दमौली सारियो । समयक्रममा नेवारहरू नारायणगढ, दमौली, आँबुखैरेनी लगायत ठाउँमा झर्न थाले । हेर्दाहेर्दै बन्दीपुर ‘भुत गाउँ’ जस्तो सुनसान बन्यो । त्यस समय ‘मृत’ शहरको उपमा पाइसकेको थियो तनहुँको पुरानो सदरमुकाम बन्दीपुरले । त्यसको केही वर्षपछि बन्दीपुरमा जन्मिएका तर, अध्ययन, बिभिन्न पेशा व्यवसायको शिलशिलामा बाहिरिएका बन्दीपुरेहरुको पहलमा बन्दीपुरले गुल्जार बन्ने सौभाग्य पायो । पछिल्लो दुई दशक अबधिमा बन्दीपुर राम्रो पर्यटन गन्तव्य बनिसक्यो । स्वदेशी/विदेशीको घुम्ने मुख्य रोजाइमा परिरहेको छ ।
२०२६ सालमा बन्दीपुर छाडेका शिक्षाविद् श्रेष्ठलाई जन्मभूमिको माया अपार थियो । फलतः विसं. २०४९ मा श्रेष्ठले काठमाडौँमा आफ्नै अध्यक्षतामा बन्दीपुर सामाजिक विकास समिति स्थापना गरे । बन्दीपुरेहरूको बनभोज कार्यक्रम आयोजना गरेर त्यही अवसरमा बन्दीपुरलाई पुनर्निर्माण गर्ने प्रण गरिएको थियो । जसले बन्दीपुरलाई पुर्नजीवन दिन महत्वपूर्ण भूमिका खेल्यो । समितिले बन्दीपुर बाहिर बसेकालाई कुनै न कुनै बहानामा कम्तीमा वर्षको एक पटक गाउँ जान प्रेरित गर्ने अभियान चलायो । तिनले बन्दीपुरको शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा योगदान पु¥याए । चिजकुमारको अगुवाइमा स्वास्थ्य क्षेत्रमा क्रियाशील डा.मदन पिया, पर्यटनकर्मी सन्तकुमार श्रेष्ठ, नमस्तेलाल श्रेष्ठ, इश्वरगोपाल प्रधान लगायतले पर्यटन, शिक्षा, स्वास्थ्य, सरसफाइमा गाउँको विकासका लागि योजना बनाउन भूमिका खेले ।
‘हामीले काठमाडौंमा समिति त बनायौ तर योजना बनाएका थिएनौँ,’ हाल काठमाडौंमै बस्दै आएका चिजकुमारले कथालिकासँग भने, ‘गाउँ छोडेको २६ वर्षको अन्तरालमा यस्तो आफैँ जन्मे हुर्केको गाउँ बनाउनै पर्छ भन्ने सोच र निर्णयमा पुगियो ।’ बन्दीपुरमा जन्मे हुर्केका डाक्टर, शिक्षक, बिभिन्न क्षेत्रमा स्थापित भएर काठमाडौंमा बस्दै आएकाहरुलाई एकीकृत गरेर शिविर, तालिम चलाउने र महिनाको एक पटक कोही न कोही एक्लै वा परिवारसहित बन्दीपुर जानै पर्ने नियम समेत बनाइयो । यसरी कर्तव्य सम्झेर स्वयंसेवी रुपमा गाउँ फर्किदा गाउँलेले डलर पाएर आएको समेत लाञ्छना लगाएको उनी सम्झन्छन् ।
यी र यस्ता लाञ्छना, आरोपका बाबजुद चिजकुमार बन्दीपुरको दिगो विकासका लागि तीन सूत्र ( टिएचइ ‘द’) लिएर अघि बढे । टिको अर्थ टुरीजम, एचको अर्थ हेल्थ र इ को अर्थ एजुकेसन । शिक्षा र स्वास्थ्यको कामलाई मूर्त रुप दिँदै आयआर्जनका लागि पर्यटन विकास र प्रवद्र्धन गर्ने यही सोचकै उपज आजको गुल्जार बन्दीपुर सम्भव भएको चिजकुमार बताउँछन् । ‘जननी जन्म भूमिश्व स्वर्गदपी गरियसी, जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ भनिन्छ’, उनी भन्छन्, ‘हामीले जन्मेको ठाउँ छोडेर काठमाडौंलाई कर्मथलो बनाउँदा गाउँको माया र सम्झना अझ बढ्यो, त्यसमा गाउँ छोडे पछि बन्दीपुर उदास बनेको यथार्थले असाध्यै दुखायो, छोयो । त्यसपश्चात काठमाडौंमा बस्ने बिभिन्न क्षेत्रमा काम गर्ने बन्दीपुरेहरुलाई एकताबद्ध गराउँदै अभियान थाल्यौ, अन्ततः हाम्रो जे सोच प्रयास थियो, त्यसले सार्थकता पायो ।’
यही अनुक्रममा सन् १९९८ मा बन्दीपुरमा इको टुरिजमको सुरुवात भयो । ढुंगा ओछ्याउने काम २००२ बाट सुरु भयो । जसलाई २००४ सम्ममा व्यवस्थित बनाइयो । ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ले सन् २००५ देखि बन्दीपुरलाई ‘रिनोभेट’ ग¥यो । त्यसको केही वर्ष यता बन्दीपुर आकर्षक गन्तव्यको रुपमा स्थापित भयो । यसकारण चिजकुमारलाई धेरैले भन्छन् बन्दीपुरका ‘भिष्म पितामह’ । अहिले स्थानीयले यी र यस्तै शब्द र व्यवहारबाट गर्ने सम्मानले आफुलाई गर्वबोध हुने गरेको उनी सुनाउँछन् । बन्दीपुरको पर्यटन चहल पहल ब्युँताउन भूमिका खेलेका चिजकुमार भन्छन्, ‘अहिले बन्दीपुर गुल्जार छ, तर, मौलिकता हराउँदै जाने जोखिम छ, आधुनिक विकासको नाममा धेरै कुरा भित्राउन खोजिएको छ, यसले पुरै बन्दीपुर गुल्जार नबन्ने खतरा छ ।, अब यसको दिगो विकास र प्रवद्र्धनका लागि स्थानीय सरकार, स्थानीय वासिन्दा र युवाहरु चुस्त योजनाका साथ एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’
बन्दिपुरको विकासमा लामो समयदेखि योगदान दिएका समाजसेवी चीजकुमार श्रेष्ठको संस्मरण ‘घुमिफिरी बन्दीपुर’ प्रकाशित छ । बन्दीपुरकै विद्यालय भानु माविमा लामो समय प्रधानाध्यापक समेत भएका श्रेष्ठले बन्दीपुर विकास कोषको अध्यक्ष भएर पनि लामो समय गरेका थिए । कुनै समय वैराग्यमय भएको बन्दीपुरको पुनर्जागरणमा चीजकुमारले ठूलो योगदान अभूतपूर्व रहेको स्थानीय बताउँछन् । धेरै वर्ष पहिले अमेरिकी सरकारले नेपालमा सञ्चालन गरेको ‘पिसकोर नेपाल’ को नेपाली भाषा तथा संस्कृति शिक्षण विभागका एक दक्ष प्रशिक्षक तथा विश्व शिक्षाका उपाध्यक्ष समेत भैसकेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकहरु बन्दीपुर किन आउँछन् ? हिमाल हेर्न, बन्दीपुरको मौलिकता, संस्कृति, सम्पदा हेर्नका लागि हो । यो संरक्षण गर्दै थप नयाँ सम्भावना, पूर्वाधार र योजनाका साथ अघि नबढ्ने हो भने बन्दीपुरमा पर्यटक आगमन र चहलपहल घट्न सक्नेमा उनको चिन्ता छ । फेरि पनि बन्दीपुर गाउँपालिकाको नेतृत्वमा सबै मिलेर वातावरणमैत्री ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा लाग्न जरुरी भएको उनी बताउँछन् ।