आक्रोशित भाषण भित्रको ‘तितो यथार्थ’ – कथालिका

आक्रोशित भाषण भित्रको ‘तितो यथार्थ’

युवा नेतृको आक्रोशित मुद्राको एक भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । जसमा पूर्व मन्त्री तथा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्रीले कार्यक्रममा सहभागी गैरआवासीय नेपालीलाई अ(स्वभाविक) ढंगले हकारेकी छिन् । भाषणको सुरुवातमा उनी आफैले भनेकि छिन्, ‘मलाई पनि तपाइँहरु जस्तै चर्को स्वरमा बोल्न मन थियो । अतिथी भएको मर्यादालाई ख्याल गर्दै बोल्छु ।’ तर, झाक्री एकैछिनमा कडा रुपमा उत्रिइन् ।

रामकुमारीलाई आक्रोशित बनाउने प्रश्न
काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन अन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’को घटना र दृश्य हो यो । जहाँ सम्मेलनमा भाग लिन बेलायतबाट आएका बागलुङका नारायण कंडेलले राजनीतिक अधिकारविनाको नागरिकता ‘कागजको खोस्टो’ सरह भएको टिप्पणी गरेका थिए । त्यसक्रममा उनले समोसाको कथा पनि सुनाएका थिए । ‘राजा समोसा खाने मान्छेसँग पनि लोकप्रिय हुन खोजे, समोसा बेच्ने मान्छेसँग पनि लोकप्रिय हुन सके । हाम्रो गाउँघरतिर यसलाई आफैं ‘आफै धामी, आफैं झाँक्री’ भन्छन् । नेपालले विदेश गएका मान्छेले सम्पत्ति किन्न नपाउने र विदेश गएकाहरूले अरु नेपाली सरह सुविधा उपयोग गर्न नपाउने भनेर समस्यापूर्ण कानुन यो संसदले, यहाँहरु माननीय भएको संसदले आफैं ल्यायो र आफैं यस्तो एउटा कागज दिएर प्रशंसा गर्न खोज्दै हुनुहुन्छ । यो त्यति चित्तबुझ्दो कुरा भएन ।’

उनीपछि बोल्ने अरु दुई जनाले चाहिं नागरिकता पाउने तर राजनीतिक अधिकार नपाउने संसारमा कहिं नभएको जिकिर गरेका थिए । राजनीतिक अधिकारविनाको नागरिकता दिलाएर एनआरएन अध्यक्ष कुल आचार्यले भ्रममा पार्न खोजेको भन्दै उनले आचार्यलाई ‘फाँसी’को धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

गणतन्त्र आइसक्दा पनि देशको हालत उस्तै रहेको भन्दै उनले एनआरएनका अध्यक्षद्वय आचार्य र बद्री केसीसँगै मञ्चमा आसिन रामकुमारी झाँक्री र चित्रलेखा यादवलाई लक्षित गर्दै भन्छन्, ‘कि तपाईंहरु हट्नुस्, गैरआवासीय नेपालीलाई बोलाउनुस् देश बनाउन सुरु हुन्छ।’

अधिक प्रंशसा, आंशिक आलोचना

झाँक्रीले आक्रोशपूर्ण अभिव्यक्तिका विषयमा अधिकांशले प्रशंसा गरिरहेका छन् । कतिपयले भने एनआरएन रहरले नभई नेपालको राजनीतिक नेतृत्व र बाध्यात्मक परिस्थितिकै उपज भएकाले उक्त अभिव्यक्ति गैरआवासीय नेपालीको अपमान गर्ने हिसाबले अभिव्यक्त भएको भन्दै आपत्ति जनाइरहेका छन् ।

कमल कार्की भन्छन्, ‘विदेशमा बस्ने, आफ्नो स्वार्थले नेपाली नागरिकता पासपोर्ट त्याग्ने अनि विदेशी पासपोर्ट बोकेर भिजिट भिसामा नेपाल आउने अनि सम्पूर्ण अधिकार पनि खोज्ने ? जहाँको पिआर छ, त्यही राजनिती गरे भैइहाल्यो, किन नेपालमा आँखा गाड्नु पर्यो ?

एञ्जिला भट्टराई भन्छिन्, आफ्नो इच्छाले नागरिकता त्यागेर अन्तै जाने अनि नेपालमै आएर योग्यता र क्षमताको धाक देखाएर नेपाली नागरिक सरह रवाना देखाउन त पाइएन नि ? अलिकति सरम पनि हुनुपर्छ ।

पत्रकार यज्ञश भन्छन्, ‘रामकुमारी झाँक्रीको ताबडतोड भाषण सुनियो, नेपालको चिन्ता हामीले गर्छौं, तिमीले नगर’ पैसा पठाउ तर चिन्ता नगर भन्न मिल्दैन भन्ने र ’रेष्टुरेन्टमा काम गर्दा फुर्सद भएन होला’ (त्यो किन र कसरी हुन पुगे भन्नेतिर गयो भने अर्को अधिवेशन हुन्छ भन्ने जस्ता केही टिप्पणी बाहेक समग्रमा उनका कुरा ठिकै लागे । ह्युमन राइट्स र सिभिल राइट्स भनेका फरक कुरा नै हुन् ।’

‘सबै एनआरएनएहरू विदेशमा पैसो कमाएर र सीप सिकेर देशमै आएर देश बनाइदिऊन् भन्ने । तर, यसका लागि पनि त उनीहरूले पसिना बगाएर ल्याएको पैसो सुरक्षित हुने र सिकेको सीप सदुपयोग हुने अवस्था बनाइदिने तपाईं नेता÷शासककै होइन र ?’ घनेन्द्र वझा भन्छन्, ‘बालुवामा पानी खन्याउनैका लागि त किन आउनु हौ स्वदेश ?’

पदमराज रेग्मी पनि यस्तै आशयका साथ भन्छन्, ‘तिमीहरू जस्ताले यो नेपाल लोकको कस्तो हालत बनायौ ? अस्थिर राजनीतिकै सिकार भएर विदेशी रेष्टुरेन्टमा जुठा भाडा माझ्ने, अरबमा बेल्चा चलाउन बिबश भएको होइन ? अपवाद बाहेक कोही पनि घरमा बुढा बाउआमा छोडेर बिदेसिन्नन। तिम्रा डिग्री ले देशलाई के दियो ?’

‘यो सुरुवात हो, बाँकी अधिकारका लागि मिलेर लागौ’
एनआरएनएका अध्यक्ष कुल आचार्यले भने आक्रोशपूर्ण अभिव्यक्ति पछि उत्पन्न तनाव शालिनतापूर्वक साम्य पारेर सेसन समापन गरेका थिए । ‘दुई जना बिचको बुझाइमा समस्या देखियो, तपाइँहरु दुवैको भाव, आशय एउटै हो, अहिले बाहिर कफी खाएर गफ गरे स्पष्ट हुन्छ’, आचार्यले भने, ‘अहिलेको यो नागरिकता भर्खर सुरुवात त हो, अहिले नै सबै कुरा हुनुपर्छ भन्ने कुरा व्यवहारिक हो र ? आफू जन्मेको माटो बेचेर विदेश पैसा नलैजाउ, सम्पतिको संरक्षण गर्ने अधिकार हामीले पाइसक्यौँ, अरु थप अधिकारका लागि हामी बिभाजित भएर होइन, एकतावद्ध भएर अघि बढौ ।’

भाइरल भाषणमा झाँक्रीले आखिर के भनेकी थिइन् ? पूर्णपाठ यस्तो छः

यो कुरा मैले कुल दाइलाई पनि याद छ । किनकी यो डायस्पोरामा म धेरै दाइहरुसँग इङ्गेज थिएँ पहिलेदेखि । अहिले औंलो हालेपछि डुडिल्नोसम्म छिराउने मामिला हो भन्ने त हामीलाई पनि थाहा थियो । त्यहीकारणले ठ्याक्कै नागरिकता पाएपछि यो हुँदैछ ।

यसको म पृष्ठभूमिको कुरा गर्छु, छोट्टोमा । अपमान गरेको होइन ।पहिले हामी नेपाली विदेश जान केके हर्कत ग¥यौं ? त्यो देशको आईएलआर अथवा ग्रिनकार्ड पाउन के के हर्कत ग¥यौं, आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर ।

तपाईंहरुले दुई पैसा कमाउनु भाहोला, स्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि, गणतन्त्र पछि संविधान ल्याएर यो व्यवस्था ग¥यौं । अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्ने, कुल आचार्यलाई ? नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ । (ताली बज्छ) नलिए हुन्छ नि त सबैलाई लिनुस् भनेको होइन ।

 

म डायस्पोरामा हेरेरै बसेको मान्छु हुँ । एउटा नेपालीले त्यहाँको सिटिजन या स्थायी बसोबासका लागि कतिसम्म दुःख, कतिसम्म कष्ट, कतिसम्म काम गरेर बस्नुभाछ । अनि यहाँ आएर ठूला कुरा गर्या सुहाएन के साथी हो । तपाईंहरुले भन्नुभयो– म विज्ञ हुँ कानुनको । ‘. तपाईं त्यहाँ वकालत गर्नुहुन्छ ? तपाईं त्यहाँको अदालतको प्राक्टिस्नर हो ? नम्बर एक । हो ? तपाईं हो भने ‘. (दर्शकदीर्घाबाट केहीले हल्ला गर्छन्) तपाईं प्राक्टिसनर वकिल हो ? मैले जानेको कुरा यति हो कि तपाईं प्राक्टिसनर हो ?

तपाईं प्राक्टिस्नर हो भनेर जान्न खोजेको । हो भने म यसै गरी ‘ यो विषयमा म पनि लाइसेन्स लिएको अधिवक्ता हुँ । कानुनमा मैले स्नातक गरेकी छु । म लेजिस्जेचर हुँ । मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें । कानुनलाई कार्यान्वयन गर्ने मन्त्रीको हैसियतले काम पनि गरें । त्यसकारण तपाईंले हामीलाई प्लेनरीमा राखेर जे कुरा गर्नुभयो– तपाईं प्राक्टिस्नर हो भनेर मैले सोधेको हुँ ।

हामीले प्राक्टिक अलि कम काम अलि धेरै ग¥यौं । मैले अदालतमा कम प्राक्टिस गरें । तर कानुन हामीले पनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसीप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानव अधिकार विश्वव्यापी हुन्छ । साथी हो, कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।

मानव अधिकार विश्वव्यापी हुन्छ । सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ । तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु ‘. । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?

बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् ।
यो सबै थाहा छ, म त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो । नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेको छु । त्यसका स्टाटस सबै थाहा छ मलाई । हो त्यसकारण, यस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन । तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला । नेपाली कन्टेक्टको डिग्री हामीसँग छ । कानुनमा छ, म्यानेजमेन्टमा छ, ह्युम्यानिटीजमा छ । हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो । इन्टरनेशनल डिग्री छ । अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्, यिनले कानुन त बनाए होलान् ‘ । तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ?

ट्रिट फर ट्र्याट हुन्छ मित्र । तपाईंले पढ्नुभएको छ तर बेलायतमा अभ्यास गर्नुभएको छैन । हामी नेपालमा प्राक्टिस गरेका छौं । यो हो कुरा । त्यसकारण यस्ता कुरा गर्नु हुँदैन ।

र, म कान खोलेर सुन्न भन्छु– तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ । ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो ।

त्यसकारण यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषबमन गर्ने, नकरात्मक धारणा दिने, यही हो तपाईंहरूको काम ?

तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुप¥यो ? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं ।तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन ।

र, डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं । त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन । त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ इल्स (केही पनि होइन), यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता ? के सिक्नुभयो ?

विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् । तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र ।

नेपालको कानुन कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो । नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले ।(दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ– तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् ।

त्यसकारण तपाईंहरूले जान्नुभएको होला, त्यसकारण तपाईंहरूले नेपाली नागरिकतालाई संविधानप्रदत्त सबै अधिकार छ । नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपाली बाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानव अधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को माथि दिमाग नउठेको देखेर म छक्क परें । त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ ।

तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो । यो पनि थाहा छ । यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छै हो हामी । दुई जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ यहाँ ? त्यसकारण मैले यति कुरा भनें । र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ । नलिन चाहनेले लिनुहुन्न । यतिकुरा भनेर सकाउँछु । धन्यवाद

२०८०, २ कार्तिक बिहीबार ०७:०६
कथालिका नयाँ कथा
कथालिका