घुमन्तेको कथाः जो घुम्दा घुम्दै ‘सेलिब्रेटी’ बने – कथालिका

घुमन्तेको कथाः जो घुम्दा घुम्दै ‘सेलिब्रेटी’ बने

  • देश घुम्ने र घुमेको हेरेर संसार चियाउन रुचिकरका माझ खोटाङका कञ्चन राइ उर्फ घुमन्ते एक ‘सेलिब्रेटी’ बनिसकेका छन् । उनी र उनको समूहले घुमेरै संकलन गर्ने भिडियो र फोटो सामग्रीबाटै आकर्षक आम्दानी समेत गरिरहेका छन् ।

ओइ घुमन्ते ! पहिले-पहिले गाउँघर तिर धेरै डुल्ने घुम्ने सन्तानलाई गाली गलौज गर्न प्रयोग गरिने यो झर्रो शब्द अहिले आम नेपालीकै एक प्रियकर शब्द बनेको छ । कुनै एक घुमन्ते घुम्दा-घुम्दै धेरैको आइडल बनिसकेका छन् ।नेपाल जस्तो देशमा घुमेर पनि कोही ‘सेलिब्रेटी’ बन्न सम्भव कुरा हो र ? देश घुम्ने र घुमेको हेरेर संसार चियाउन रुचिकरका माझ खोटाङका कञ्चन राइ उर्फ घुमन्ते एक ‘सेलिब्रेटी’ बनिसकेका छन् ।सेलिब्रटीको अर्थ कञ्चन र उनको समूहले गरेको कामलाई देखेर उत्साहित हुने, केही नयाँ कर्म गर्न उत्प्रेरित हुने, गर्विलो भावना सहित सम्मान व्यक्त, खुसी सेलिब्रेट गर्ने तन्नेरीहरुको ठुलो जमात छ । उनी र उनको समूहले घुमेरै संकलन गर्ने भिडियो र फोटो सामग्रीबाटै आकर्षक आम्दानी समेत गरिरहेका छन् । अहिले उनी आकर्षक जागिर छोडेर घुम्ने सौखलाई नै कर्म र व्यावसायिक समेत बनाउन थालेका छन् । जसले अरु कैयन युवालाई पैदल यात्रा मार्फत घुम्न समेत प्रेरित गरिरहेका छन् ।

नेपालीको पहिले बाध्यता, अहिले रहरको घुमघाम

पहिले-पहिले घुम्ने कारण फरक थियो । अहिलेको घुम्ने उद्धेश्यहरुमा बदलाव आएको छ । पहिले यताबाट उता आवश्यकता, बाध्यताले बाँच्नैका लागि यात्रा गर्नुपथ्र्यो । दैनिक जीविका गास, बास, कपासको जोहो, दुःख सुखका खबर आदान प्रदान गर्नकै लागि लामो पैदल यात्रा गर्नुपथ्र्यो । त्यतिबेला पनि धार्मिक तिर्थस्थलहरु भने जाने प्रचलन थियो । पछिल्लो समय मोवाइल लगायतका डिजिटल प्रविधि हात हातमा छ, गाउँ वस्ती टोल टोल घर घरमा मोटरबाटो पुगेको छ । त्यसैले, पहिले जस्तो हिँड्नुपर्ने बाध्यता हटेको छ । तर, पछिल्लो समय हिँडेर घुम्ने प्रचलन भने बढ्न थालेको छ ।

अहिले विशुद्ध नयाँ ठाउँ हेरौ, नयाँ ठाउँ घुमौ, पृथक स्वाद खाऔ भन्ने हिसाबले घुम्नेहरु बढी भएको घुमन्ते अर्थात् कञ्चन राइ बताउँछन् । ‘हाम्रो टाइपको घुमाइ हिमाल पहाड तिर दुरदराजमा जाने, पैदल यात्रा गर्ने चलन हामीले ८,१० वर्ष अघि सुरु गर्दा खासै अभ्यास थिएन,’ उनले भने, ‘पछिल्लो ३,४ वर्ष यता उल्लेख्य संख्या बढेको छ ।’

के हो घुमन्ते ?

घुमन्ते कर्म र अभियानका हिसाबले घुम्ने संस्कृतिमा उल्लेख्य बढावा दिने युवा समूह । यसको सोच, परिकल्पना र नेतृत्वकर्ताका हिसाबले घुमन्ते उर्फ कञ्चन राइ । घुमन्ते नाम खासमा उनै राइले जुराएका हुन् । राइ लगायतका तन्नेरीहरुको एक समूह थियो, जो आज भन्दा ८,१० वर्ष अघि संघीय राजधानी काठमाडौं सेरोफेरोका डाँडाकाँडा घुम्थ्यो । पछिल्लो एक दशक यता देशका प्रचुर सम्भावना तर ओझेलमा रहेका पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्यो ।

पैदल यात्रा मार्फत पर्यटकीय गन्तव्यको खोज, प्रवद्र्धन गर्ने, त्यसमै जीवनको अद्भुत अनुभूति गर्ने र गराउने घुमन्ते समूहको मुख्य ध्येय भएको राइ बताउँछन् । जसले घुमन्ते नामक युट्युव मार्फत पदयात्राका भिडियोहरु आम मानिसलाई देखाउँछ ।

पुरै देश घुम्ने लक्ष्य राखेको घुमन्तेको युट्युवमा २ लाख ४६ हजार सस्क्राइबर छन् । यो समूह विशेषतः युवा पुस्ता माझ लोकप्रिय छ ।

  • चिलले उडेर डाँडै डाँडा जंगल माथि माथि घुम्दै हेर्दै हिँड्छ नि । त्यस्तो हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मान्छे प्लेनमा उड्ने त भयो तर, चिल जसरी उड्न पाए भन्ने सोच्थे ।

घुम्ने यात्राको त्यो टर्निङ पोइन्ट

पूर्व खोटाङ घर । तर, पुख्र्यौली थलो छोडेर सानैदेखि काठमाडौं आएको । त्यतिबेला बसतिर हेरिराख्दा पनि पूर्वेली गीतहरु सुन्दा अझ पवित्रा सुब्बाका गीतहरु तिमी तारे भिर म त लहरा सुन्दा चाही मलाई पूर्वजन्म तिरै पुगेको अनुभूति हुने गरेको उनी बताउँछन्। ‘पछि यसो विचार गरे, पहिले म सानो हुँदा सबकन्सियस माइन्डले गर्दा आफुले आफुलाई चिल जस्तो परिकल्पना गर्थे । चिलले उडेर डाँडै डाँडा जंगल माथि माथि घुम्दै हेर्दै हिँड्छ नि । त्यस्तो हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मान्छे प्लेनमा उड्ने त भयो तर, चिल जसरी उड्न पाए भन्ने सोच्थे । प्रायः विदाको समयमा गाउँ जान्थ्यौ । त्यो समय, सिजन एकदमै रमाइलो लाग्थ्यो । हुस्सु लागेको, हिमाल, सुन्दर प्राकृतिक दृश्यावलोकन, गाउँघरको आत्मिय स्वागत, सत्कार गजब लाग्थ्यो’, घुमन्ते यात्राको टर्निङ पोइन्टबारे विगत सम्झिदै राइ भन्छन् ।

‘विदेश (थाइल्याण्ड)मा जागिर गरे । आइटीको जब, लिमिटेड टु डेक्स भइयो । त्यो टाइममा अरुको फोटो देख्दा आफु पनि जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अझ ज्वेलस पनि हुन्थ्यो । सोचेको पनि थिएन, आज यतिधेरै ठाउँ घुम्छु होला भनेर । जो घुमेको देख्थे, उनीहरु खतरै लाग्थ्यो पहिलेदेखि । अनि त्यो जागिर गर्दा गर्दै पूर्णकालीन जागिर छोडेर जब फ्रिलान्सर गर्न थाले । त्यसपछि अलि फ्रिटाइम हुन थाल्यो । साथी भाइसँग यसो बाइकमा काठमाडौं वरपर जाउ न त घुम्न भन्दा भन्दै साथी सर्कल नै घुम्न थाल्यौ । अरु केही नभए पनि शुक्रबार र शनिवार तिर चाही पर परको डाँडाकाडा जान थाल्यौ । त्यो गर्दा गर्दै म आइटिमा काम गरेर आएको मान्छे केही गरौ न त भन्दा घुमन्ते जन्मियो भनौ न । सुरुमा ब्लग गर्न थालियो । ब्लग चल्न थाल्यो र एड आउन थाल्यो । त्यसपछि केही घुम्ने खर्च भए नि आउँछ भन्ने लाग्यो । सुरु गर्दै गए पछि समय सापेक्ष परिवर्तन गर्दै लग्यौ र आज यो अवस्था सम्म आइपुग्यौ । हाम्रो टिम नै थियो । कोटेश्वरका साथीहरु सँग घुम्थे । त्यसक्रममा लाकुरीभञ्ज्याङ पुगेको बेला डोमेन किन्नुपर्छ, ब्लग लेख्नुपर्छ, फोटो खिच्नुपर्छ, कन्टेन्ट लेख्नुपर्छ भनेर साथीहरु सँग ५,५ सय रुपैयाँ समेत उठाएको थिए । मेरा साथीहरु यो फिल्डको नभएकाले मैले नै यसमा काम गरिरहे । पछि क्रमशः यसमा रुचि हुने, काम गर्ने साथीहरु कनेक्ट हुँदै आउनु भयो’, राइ भन्छन्

सुन्दर र सम्भावनायुक्त देश नेपाल

‘पहिले पहिले विदेशीहरु लठ्ठी टेकेर आउथे । त्यो देख्दा हामीलाई पनि अनौठो र रमाइलो लाग्थ्यो,’ उनी भन्छन्, ‘पछिल्लो समय पैदल यात्रा चाही स्वास्थ्यका लागि राम्रो नयाँ ठाउँ पनि देखिने, नयाँ कल्चर पनि अनुभव गर्न पाइने भएकाले घुम्ने ट्रेन बढेको छ । हरेक मानिसको हात हातमा रहेको मोवाइल, क्यामेराले अलि राम्रो ठाउँमा पुगेर फोटो भिडियो, अनुभव शेयर गर्दा पनि घुम्ने संस्कृतिमा बढावा आएको उनको भनाई छ ।

विदेशको तुलनामा पर्यटकीय हिसाबले नेपाल कमजोर हो त ? राइ थप्छन्, ‘नेपाल सुन्दर र सम्भावनायुक्त मुुलुक हो । यद्यपि, पहिले यहाँको भुबनोटलाई लिएर उकालो ओरालो गाह्रो अप्ठ्यारो मात्रै भन्ने थियो । जिन्दगी कति कष्टप्रद भन्ने खालको थियो । अहिले चाही नेपालमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, आकर्षक उत्कृष्ट स्वर्गको आभाष गराउने गन्तव्यहरु रहेछन् भनेर गर्व र गौरव गर्ने वातावरण सर्वत्र हुन थालेको छ ।

‘म ८,१० वर्ष अघि घुम्न सुरु गर्दा त्यतिबेला घुम्दा देशलाई योगदान गर्छु यस्तो ठाउँ उजागर गर्छु भनेर हिँडेको होइन । सुन्दर गाउँ ठाउँ हेर्ने इच्छा, प्रकृतिसँगको विचरण र व्यक्तिगत स्वार्थले हिँड्न थालेको हु’, उनले भने, ‘जहाँ भिडभाड हुदैन, खर्च कम लाग्छ । बोली व्यवहार, स्वागत सत्कार राम्रो हुन्छ । त्यही घुम्दा डुल्दाको विविध पक्षलाई भिडियोमा कैद गरेर देखाउन थाले पछि सबैले मन पराइदिनु भयो । युवा पुस्तामा यस्तो ठाउँ जान पर्ने रहेछ भन्ने भावना जागृत गराउन सफल भयौ ।’ यात्रामा गयो भने केही न केही देख्छ, केही न केही सिक्छ, आफ्नो देश बुझ्ने मौका पनि पाउने राइ बताउँछन् ।

घुमेका ठाउँमा बहुआयामिक बदलाव

घुमन्ते समूह पुगेको धेरै ठाउँहरुमा अहिले अभूतपूर्व परिवर्तन आइसकेको छ । आफूहरु पुगिसके पछि देखिएको अस्वभाविक परिवर्तनले खुसी मात्रै होइन, उनीहरुमा चिन्ता पनि थप्छ ।

‘कोरी हामी गएको मध्ये असाध्यै राम्रो ठाउँ हो । यहाँ पुगे पछि एकदमै धेरै परिवर्तन भयो, एकदमै धेरै मान्छे त्यहाँ जानुभयो । तर, हामी त्यही ठाउँमा दोस्रो पटक पुग्दा मन खिन्न भयो’, उनले भने, ‘ पहिलो चोटी कोरी पुग्दा जति सुन्दर, अर्गानिक, प्राकृतिक सौन्दर्यतायुक्त लागेको थियो । त्यो चाही गुमिसकेको थिएन, गुम्छ कि भन्ने भय हुने खालको थुप्रै सशंययुक्त अवस्था पैदा भइसकेको थियो ।’

सम्भावनायुक्त गन्तव्यको पहिचान र प्रचार भए पछि मान्छेहरुको चहल पहल, व्यापार व्यवसाय बढ्न थाल्नु सकरात्मक भए पनि अव्यवस्थित फोहोर मैलाले सेतो कपडामा कालो दाग लागे जस्तो देखिने उनी बताउँछन् ।

हामी पुगेको मध्ये सबै भन्दा उल्लेख्य परिवर्तन भएको चाही कपुचे ताल हो । हुन त हामी पुगेका ठाउँमा के कस्तो परिवर्तन भयो भनेर फ्लोअप गर्दैनौ । स्थानीयले भने मात्र हामीलाई जानकारी हुने हो । तर, पर्यटनको हिसाबमा पुगेका ठाउँहरुमा सकारात्मक परिवर्तन भएको उनले बताए । कपुचे, कोरी, दुधकुण्ड, फोक्सुण्डोहरु यसको उदाहरण भएको उनी बताउँछन् ।

खुम्चिदो ट्रेकिङ ट्रेल

विकाससँगै पर्यटकीय पदमार्ग र पूर्वाधार खुम्चिएको छ । विश्वकै चर्चित अन्नपूर्ण सर्किट जस्ता लामो पदमार्गहरु अहिले हप्ता दिन, अझ छोटो हुने अवस्था आइसकेको छ । ‘हामीले घुम्दा हिँड्दा ८,१० दिन लाग्थ्यो, धेरै समय पनि भएको छैन । अहिले २,३ दिनमै पुग्न सकिने भएको छ । सुदुरपश्चिमकै गन्तव्य पनि एक हप्तामा आइसकेको छ,’ कञ्चन भन्छन्, ‘जुन बाटोमा हामी हिँड्थ्यौ, अहिले त्यहाँ सडक पुगिसकेको छ । त्यसले गाउँलेलाई सुविधा फाइदाको विषय पनि हो । पर्यटकीय पहुँचका हिसाबले पनि केही सहजता हो तर, खास पर्यटकीय पदमार्गको अनुभूति भने हराएर जान्छ । यसबाट धेरै जना मौलिक र यात्राको खास अनुभूतिबाट बिमुख हुनुपर्छ ।’ पहिलेको कञ्चनजंघाको एउटा आइकनरी रुट पनि अहिले खुम्चिदो अवस्थामा पुगेको उनले बताए । ‘त्यो बाटो हिँड्दा मलाई पनि आहा भन्या जस्तो लाग्थ्यो । तल बसन्तपुरदेखि सुरु भएर टिमुरे–मिल्के–जलजले एउटा छुट्टै ट्रेल क्रस गरेर अनि बल्ल दोभान पुगेर ताप्लेजुङबाट सुरु हुन्थ्यो । अब त्यो डाँडाका थुम्का थुम्काहरुमा गुँरास हेर्दै आरामले हिँडेर जिउलाई पनि अलिकति अभ्यस्त बनाएर गाह्रो पनि नहुने ट्रेल अहिले सबै ठाउँमा सडक पुगे पछि सुन्दरता हराउँदो छ, नेपालको सबै भन्दा धेरै २८ प्रकारका गुँरास पाइने एकदमै बायोडाइभर्सिटी भएको सुन्दर ट्रेलको मौलिकता गुमिसकेको छ’, उनले भने ।

  • ठाउँ त यस्ता-यस्ता ठाउँमा पुगिएको छ कि आज यो ठाउँ राम्रो भन्यो भने अर्को ठाउँ माथि अन्याय हुन्छ । ठाउँको विशेषता के छ त ? देखाउने हो । एउटा कुनै ठाउँ नगएको हुँदोरहेछ भन्ने छैन, जाँदा कष्ट भए पनि पुगे पछि सबै दुःख भुलिन्छ । यो हाम्रो नेपालको विशेषता पनि हो ।

हुन त हरेक कुराको सकरात्मक नकरात्मक दुवै पक्ष हुन्छ । ‘अब ट्रेकिङ ट्रेल छ भनेर सडक नै लैजान हुन्न भन्ने सोच त विकास विरोधी कुरा हो । तर, नेपालको समस्या चाही के भइदियो भने चर्चित ट्रेलहरु विदेशी जाने भएकाले केही त सोचियो । त्यसबाहेक सुदुरपश्चिम, कर्णाली, गण्डकीको एकदमै सम्भावित गन्तव्य स्थल पुग्ने ट्रेलहरु जोगाउनेबारे यथोचित ध्यानै गएन । राम्रो नयाँ गन्तव्य हुन सक्थ्यो । त्यहाँ पर्यटकीय अवधारणा नहुँदा केही सोच विचार नगरीकनै सडक पु¥याउँदा पदमार्गको विनाश पनि भयो’, उनी भन्छन्, ‘नेपालको सडक निर्माणको समस्या के छ भने डिपिआर कसरी बन्छ मलाई खासै थाहा छैन । तर, जुन बाटो पहिले मान्छेहरु हिन्थे, त्यही बाटोमा मोटरबाटो खन्ने चलन व्याप्त रह्यो । त्यो खासै राम्रो होइन । हिमाल पहाडको भुगोलको दिगोपना, चलेको ट्रेकिङ ट्रेलमा ध्यान दिइनुपथ्र्यो । धेरै ठाउँमा पछि गएर हाम्रो गाउँ ठाउँ यस्तो बन्छ भनेर अवारनेश नै छैन ।’

विकासका लागि सडक पूर्वाधार जरुरी भए पनि बनजंगलमा समेत सडक लैजाने होड देखिन्छ । अब पदमार्ग जोगाउने, संरक्षण गर्ने, वातावरणीय हिसाबले पनि सोच्नु पर्छ । जलवायु परिवर्तनको असर सर्वत्र देखिएकाले पनि विकास पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

नदेखिने अन्र्तक्रिया

हामी पुगेपछि अचेल केही न केही परिवर्तन आउँछ भन्ने महुशुस भए पछि आफुहरुको उद्धेश्य केवल घुम्ने मात्र नहुने राइ बताउँछन् । ‘पछिल्लो समय घुम्दा खेरी जो हामीसँग जानुहुन्छ या त्यहाँ स्थानीय पर्यटन अगुवा,सरोकारवाला हुनुहुन्छ । उहाँहरुसँग नदेखिने अन्र्तक्रिया हामी धेरै गर्छौ,’ उनले भने, ‘जुन हामी हाम्रा भिडियोहरुमा देखाउदैनौ ।’

पर्यटक आकर्षणका लागि आवश्यक तयारी, पूर्वाधार र प्रचारका बारेमा अनौपचारिक सुझावहरु दिने गरेको उनले बताए । ‘मान्छेहरु आउन थालेपछि जता पायो त्यतै फोहोर गर्न नदिनुस्, प्लाष्टिक बोतल व्यवस्थित गर्नुस्, अनुशासनको एउटा ट्रेन तपाइँहरु नै बसाउनुस् । तपाईहरुको गाउँ ठाउको मौलिकता जोगाउनुस् । यस्तो कुरा हामी भिडियोमा देखाउदैनौ । हामी यति भन्न जिम्मेवारी पनि महुशुस गर्छौ, उहाँहरुलाई पनि जिम्मेवारी र दायित्वबोध गराउने कोसिस गर्छौ,’ उनले भने ।

रहले जन्मिएको घुमन्तेलाई राम्रो कन्टेन्टको दबाब ?

रहरले सुरु गरेको अहिले त राम्रो कन्टेन्ट दिने दबाब हुन्छ होला नि रु कञ्चन भन्छन्, ‘रहरले नै सुरु गरेको हो । देशलाई योगदान गर्छु भनेर गरेको पटक्कै होइन । बरु पछि खोलेकालाई दबाब होला रु हामीले त त्यतिबेला रहरमै खोलेको हो । अहिले केही गर्न सकिन्छ भन्ने बाटो खुलेको छ । अब यसलाई प्रोफेसन पनि बनाउन सक्ने अवस्था बनेको छ ।

यसलाई व्यवसायकै रुपमा अँगाल्न सक्ने अवसर प्रयाप्त छ । ‘मैले घुम्ने कुरालाई अप्सनबाट हटाएको २०१९ देखि हो । म विदेशमा पनि ४,५ वर्ष बसे । राम्रै थियो जागिर, मेरो तलब कति थियो रु भन्यो भने पत्याउदैनन्, गाली गर्छन्, गफ दियो भन्छन् । तर, कम्र्फटेबल पद थियो भनुम् न । मेरो विदेशमा ड्रिम जब नै थियो । त्यो छोडेर नेपाल आए पछि अप्सन भन्ने हटाए,’ उनले भने, ‘अरु जसले जे भने पनि मैले यही कामलाई निरन्तरता दिन्छु । अब यो काम गरेर आर्थिक रुपमा भयंकर नै सफल हुन्छु भन्ने कहिले पनि सोचेकै छैन । रियलास्टिक पनि लाग्दैन । त्यो भएकाले पछि सम्म जसोतसो जीवन चल्यो भने पनि पछुतो हुँदैन । मेरो लाइफको उर्जाशील समय र उर्जा खर्चिए । अब यसमै सक्रिय र समर्पित हुने सोचिरहेको छु ।’

घुम्नुको मजा

घुम्नु भनेको यात्रा मात्र होइन, जीवन सन्तुष्टि, आनन्द हो । त्यो ठाउँमा पुगे पछिको आनन्द अनुभूति कति हो कति पृथक । त्यो भन्दैमा एक्लै जान मन पनि लाग्दैन । साथीभाइ लिएर स्वतन्त्रता, प्रकृतिको काखमा लटपटिदाको आनन्द, रक्सी खाए पछि आनन्द फिल जस्तै ।
दुनियाँ निकै क्रुर बनिरहेको छ । तर, पैदल यात्रा र गाउँहरु घुम्दाको छुट्टै संसार र आनन्द छ । मान्छेसँगको अन्तरंगले पनि पृथक अनुभव, खुट्टाहरु चलेर उकालो ओरालो, त्यो जाडो त्यो गर्मी, त्यो खोला, त्यो माटो, त्यो हावा, त्यो पानी ।घुम्दाको खुसी, अझ बढी खुसी चाही हामी गएका ठाउँका मान्छेहरुले त्यहाँको उजागर पश्चात त्यो ठाउँमा आएको परिवर्तन, मान्छेहरुको व्यवसाय लाइफमा आएको परिवर्तनबाट कृतज्ञता व्यक्त गर्दाको खुसी अझ प्रियकर हुन्छ ।

अलि अगाडि तिनमुङ पोखरी गएका थियौ । त्यहाँ हामी बसेको खड्क दाइ हुनुहुन्थ्यो । उहाँको तिनमुङको अलि यता बिर्खेचौरमा याकको गोठ थियो । हामी उहाँकोमा बस्या थियौ । मौसम खासै राम्रो थिएन, तर ठाउँ गजबको भएकाले आनन्दै लियौ । केही दिन अघि त्यो दाइले कताकताबाट खोज्दै भिडियो कलमा कुराकानी गर्न फोन गर्नु भो । भिडियोमा बोल्न साथ त्यो दाइ यति खुसी र उत्साहित हुनुभयो कि मान्छेहरु आउन थाल्यो, मैले याक छोडेर तपाइहरुले भने अनुसार व्यवसाय गरे । दार्चुलाबाट महादेव दाइले पनि उसैगरी खुसी व्यक्त गर्नुभयो । निकै साँघुरो सडक थियो । अहिले तपाईहरु हिँडेको बाटो ५,६ फिटको फराकिलो बनेको छ । सिक्लेस कपुचे, कोरिको स्टोरी आफ्नो छ । फोक्सुण्डो ताल पनि धेरै नेपालीहरु जान थाल्नु भयो । देश घुम्दा एउटा परिवार, सम्बन्ध, माया चाही बटुलेका छौ ।

मिठास सम्झना
सुरुवातमा फोक्सुण्डोहरु जाँदा खेरिको थियो । डोल्पा, त्यहाँको मान्छेहरु मन निकै स्वच्छ । चलेको रुट गयो भने ग्राहकको रुपमा हेर्छन्, नयाँ रुटमा गयो भने बटुवा, नेपालीको हिसाबले हेर्छन्, त्यस अनुसार व्यवहार गर्छन् ।डोल्पा, दार्चुला डुल्दा आउनु न चिया खाएर जानु, भात पाकेको छ भात खाएर जानु भन्छन् । अहो ! कत्रो आत्मियता ।

ठाउँ त यस्ता-यस्ता ठाउँमा पुगिएको छ कि आज यो ठाउँ राम्रो भन्यो भने अर्को ठाउँ माथि अन्याय हुन्छ । ठाउँको विशेषता के छ त ? देखाउने हो । एउटा कुनै ठाउँ नगएको हुँदोरहेछ भन्ने छैन, जाँदा कष्ट भए पनि पुगे पछि सबै दुःख भुलिन्छ । यो हाम्रो नेपालको विशेषता पनि हो ।

अब घुम्न मन लागेको ठाउँ रु नपुगेको देखेको हेरेको जान मन लागेको ठाउँ थुप्रै छ । नेपालको सबैजसो जिल्ला । सबै नभए पनि घटिमा एउटा जिल्लाको एक ठाउँ पुग्ने रहर छ ।ताप्लेजुङको तोप्पेगोला, लोरेङ साइड बाँकी नै छ । ओलङ्चुला,मकालु बरुण बाँकी नै छ । पश्चिममा बाजुरको बुढीनन्दाहरु, रानीसाइनिङ, दार्चुलाका बिभिन्न स्थान, बजाङको उरय, मुगुको रिमारहरु, सानो कोरी ठुलो कोरी, जुम्ला घुम्नै बाँकी छ । अपर डोल्पा, अपर मुस्ताङका नदेखेका गाउँहरु, मनाङ घुम्नै बाँकी छ ।

अरु देशमा पनि पुगेर घुमे । कति देशहरुमा जम्मा दुई वटा ऋतु छ । हाम्रो देशमा त ६ वटा ऋतु छ । हरेक ऋतुमा प्रकृति, बनजंगलले आफ्नो रुप फेर्छ । जाडोमा हिउँ परेर सेताम्य हुन्छ, बर्खामासमा हरियै हुन्छ । प्राकृतिक मात्रै होइन, हरेक गाउँ बस्ती तिर पुग्दा भिन्न संस्कार, संस्कृति देख्न पाउँछौ । हरेक ठाँउ हरेक सिजनमा घुम्दा खेरि नयाँपन देखिन्छ । यसलाई व्यापकता दिएर पर्यटन प्रवद्र्धन गर्न सकिरहेका छैनौ ।

घुम्ने र नघुम्ने बिचको अन्तर

घुम्ने र नघुम्ने मान्छेको बिचमा स्वभाविक अन्तर छ । घुम्ने मान्छे राम्रो भन्न त सक्दिन । व्यक्तिको स्वभाव चरित्रमा भर पर्छ । तर, अरु केही नभए पनि नघुम्ने भन्दा घुम्ने मान्छेहरुको सोचाइ, बुझाई अलिकति चौडा त हुन्छ नै । आफ्नै व्यक्तिगत वृद्धि विकासका लागि पनि घुम्नु पर्छ । देश विदेश पनि हेर्नुपर्छ । स्वास्थ्यका लागि हाइकिङ गाडी फ्लाइट भन्दा धेरै श्रेयस्कर हुन्छ । हामीले गरिरहेको यात्रामा फ्रेस हावा, पानी, हाइअल्टिच्युड पुगेर आफ्नो शारीरिक अवस्थाको परीक्षण गर्न सकिन्छ ।

नेपाल घुम्न कति खर्चिलो छ त रु राइ भन्छन्, ‘नेपालको क्षेत्र हेरेर पनि खर्च धेरै थोरै लाग्ने हुन्छ । यहाँ सस्तो त्यहाँ महँगो भन्ने भन्दा पनि यो अझ बढी सिजनमा निर्भर हुन्छ । पर्यटकीय सिजनका बेलामा जाँदा विदेशीले पाउने, नेपालीले नपाउने हुन सक्छ । रुम पनि नपाउने, महँगो पनि पर्ने हुन सक्छ । अरु बेला चाही नेपालीले एफोर्ट गर्न सक्ने खालकै छ । यसम आफु कहाँ जाने कसरी जाने भन्ने कुराले खर्च निर्धारण गर्छ ।

२०८०, ९ कार्तिक बिहीबार ०६:२२
कथालिका नयाँ कथा
कथालिका