एक्लै देशाटन – कथालिका

एक्लै देशाटन

  • हुन त घुमेर कहिल्यै पनि सकिदैन । बरु घुम्दा घुम्दै जीवन सकिन्छ ।किताबमा पढेको, अरुबाट सुनेको र आफ्नै पैतालाले नापेको देश अवर्णित छ । 

पोखरेली दिवस गुरुङ अर्थात् एक फकिर । जो बेफिक्री घुम्छन् । जतिसुकै कठिन र लामो यात्रामा पनि एक्लै निस्कन्छन् । घुमफिरलाई जीवनमा अपनाएका छन् । ‘देश घुमौँ, देश बुझौँ’ उनको मन्त्र हो । उमेरले बल्ल २९ टेकेका गुरुङले आठ वर्ष त घुमेरै बिताए । घुम्नु उनको एक किसिमको दैनिकी, रहर । सपना । घुम्नु उनका लागि एक उर्जा, एक पाठ, एक प्रेरणा । र त देश देशावर एक्लै पैदल र साइकलमा यात्रा गरिरहेछन् ।

पैदल र साइकलमा एकल यात्राको ‘ट्रनिङ पोइन्ट’

२०७२ सालको भुकम्प र त्यहीँ वर्ष भारतले नेपाललाई गरेको नाकाबन्दी घुम्ने मुख्य कारक भएको दिवस बताउँछन् । करिब एक दशक एकल यात्रा, त्यो पनि पैदलै र साइकलमा ।

खासमा ०७२ को गोरखा भूकम्पपछि देश घुम्ने भोग जागेको उनी सुनाउँछन् । त्यो बेला गुरुङ पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्नातक पढ्थे । “क्याम्पसका साथीहरु मिलेर भूकम्प प्रभावितका लागि राहत लिएर गोरखा पुगेका थियौँ”, उनले विगत कोट्टाए “पहिलोपटक गोरखा टेक्दा देशभित्रै घुम्नुपर्ने ठाउँ धेरै रहेछन्, पोखराबाहिर पनि यति सुन्दर ठाउँमा रहेछ भन्ने लाग्यो ।”

त्यसपछि उनमा घुमफिर गर्ने सोच झाँगिदै गयो । ०७२ को भूकम्प लगत्तै देशले भारतीय नाकाबन्दी सामना गरिरहेको थियो । इन्धन अभावले गाडी कमै गुड्थे । गुरुङलाई दैनिक क्याम्पस आउजाउको सकस थियो । समयमा सवारी नपाउँदा क्याम्पस पुग्नै ढिलो हुन्थ्यो । दस हजार जोरजाम पारेर ‘सेकेण्ड हेण्ड’ साइकल किने । यसले समय र पैसामात्र बचत गराएन, साइकलमा शहर वरपर घुम्ने रहर जगाएको गुरुङ बताउँछन् ।

लामाचौरदेखि क्याम्पससम्म साइकलमै ओहोरदोहोर गर्न थाले । “विस्तारै साइकिलिङमा मेरो मोह बस्यो, क्याम्पस मात्र नभएर टाढा–टाढासम्म साइकलमै घुम्न निस्किएँ”, गुरुङले भने, “साइकिलिङ र पदयात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ, खास यात्रा भनेको यही हो भन्ने लाग्छ ।”

पोखरा आसपास साइकलमा कुँद्दाकुँद्दै गुरुङले साइकल संस्कृतिबारे सिके । देशभरका साइकलप्रेमीहरुको सञ्जालमा जोडिए । हरेक वर्ष झैं सन् २०१७ डिसेम्बरमा पोखरामा ’टुर दी पोखरा’ साइकल ¥याली आयोजना भएको थियो । विश्व साइकलयात्री पुष्कर शाह, देश विदेश साइकलमा घुमिसकेका तीर्थराज अवस्थी, जितेन्द्रमान शाक्य लगायतसँगको भेटले साइकलमै देश घुम्न सकिन्छ भन्ने प्रेरणा मिल्यो । अनि विस्तारै साइकलमै देश घुम्न निस्किएको उनले बताए ।

हिमाल, पहाड, तराइको त्यो लामो साइकल यात्रा

गुरुङले सोलुखुम्बु बाहेक कोशी प्रदेशका १२ र तराईका सबै जिल्ला साइकलमा घुमेर महेन्द्रनगरमा यात्रालाई बिट मारेका थिए । त्यो उनको हालसम्मको सबैभन्दा लामो साइकल यात्रा हो । हिमाल–पहाड–तराईबीचको एकता, भाइचारा र पर्यटन प्रवद्र्धनको सन्देश लिएर उक्त साइकल यात्रा गरेको गुरुङ बताउँछन् ।

बन्दीपुर, भुजुङ, घलेगाउँ, ढोरपाटनसहित गण्डकी प्रदेशका कैयन पर्यटकीय गन्तव्यस्थलको भ्रमणमा पनि उनी साइकलबाटै पुगेका छन् । “साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, गुरुङ थप्छन्, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।”

गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए । मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रामा कटाए । मुस्ताङदेखि डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनको स्मृतिमा अहिले पनि ताजै छ ।

“हिमपातका कारण मुस्ताङ र डोल्पाको बीचमा पर्ने याकखर्कमा सम्पर्कविहीन भएर बस्नुप¥यो, पाँच दिनसम्म धर्मशालामा टेण्ट हालेर रात बिताएँ”, गुरुङले भने, “प्रतिकुल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।”

‘गुरिल्ला ट्रेल’मा ३५ दिन पैदल

आफूलाई चाहिने सबै बन्दोबस्तीसहित उनी पदयात्रामा निस्कन्छन् । टेण्ट, लूगाफाटा, खानेकुरा, भाँडाकुँडा, पकाउने ग्याँस, औषधिलगायत सामग्री साथमै बोक्छन् । हिँड्दै जाँदा जहाँ रात प¥यो त्यही रात बिताउँछन् । भरसक होटलमा नबसी गाउँलेकहाँ बस्छन् । बस्ती नै नभेटिए सुरक्षित ठाउँ खोजेर टेण्ट हालेर बस्छन् ।

गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन हिँडेका थिए । घोषणा भएको वर्षौँ बितिसक्दा पनि ओझेलमा परेको उक्त पदमार्गको अनुभव बटुल्न एकल यात्रा गरेको उनले बताए । “मोओवादी जनुयुद्धकाताका छापामारहरुले प्रयोग गर्ने मार्गलाई गुरिल्ला ट्रेलका रुपमा घोषणा गरिएपनि पूर्वाधार र प्रचारप्रसार अभावमा उक्त ट्रेल पछाडि परेको छ”, कथालिकासँगको कुराकानीमा गुरुङले भने, “भौगोलिक विशिष्टता, प्राकृकित सौन्दर्य, जनजातिको सघन बसोबास र तिनका संस्कृति, रहनसहन तथा स्थानीय उत्पादन गुरिल्ला ट्रेलका विशेषता हुन् ।” बागलुङको बुर्तिबाट सुरु भएको उनको ‘गुरिल्ला ट्रेल’को पदयात्रा ढोरपाटन, रुकुमपूर्वेको पेल्मा, मैकोट, लुकुम हुँदै रोल्पाको थवाङ, जेलवाङलगायत ठाउँमा पुगेर सकिएको थियो ।

आफ्नै खर्चमा यात्रा

यात्राका लागि चाहिने पैसादेखि सबै बन्दोबस्ती उनी आफ्नै खर्चमा जोहो गर्छन् । “म कसैको स्पोन्सर्ड यात्रामा गर्दिन, म आफ्नै खर्चमा घुम्छु, साइकल पनि ट्युशन पढाएर बसेको पैसाले किनेको हुँ”, उनले भने, “एकल यात्रामा स्वतन्त्रता हुन्छ, अरुसँग बाँधिएर हिँड्नु पर्दैन, फेरि पदयात्रा भनेको हतारिएर गर्ने कुरा पनि होइन ।”

पहिलोपटकको उनको टाढाको साइकल यात्रा भनेको पोखरादेखि पर्यटकीय गाउँ सिक्लेससम्मको थियो । दुई दिन लगाएर उनी सिक्लेस पुगेका थिए । पछि उनी एकजना साथी लिएर साइकलमै गोरखाको बारपाक पनि पुगे । ‘टुर दि लुम्बिनी’, ‘टुर दि सिन्धुलीगढी’लगायत साइकल यात्रामा सहभागी बनेको गुरुङले सुनाए ।

“टुर दि लुम्बिनीका क्रममा काठमाडौँदेखि चार दिन लगाएर लुम्बिनी पुगेका थियौँ, सन् २०१७ र ०१८ को टुर दि लुम्बिनीमा मैले भाग लिएँ”, उनले भने, “सन् २०१८ मै पूर्वी नेपाल र मधेशका जिल्लामा ४२ दिनको साइकल यात्रा गरेँ, दसैँअघि गएर छठपछि बल्ल घर फर्केको थिएँ ।”

पैतालाले नापेको देश

घुम्ने र नघुम्नेहरु बिचको जीवन, सांसारिक बुझाई ? या घुम्नेहरुले के पाउँछन्, नघुम्नेहरुले के गुमाउँछन् ? कथालिकाकर्मीको प्रश्नमा दिवस भन्छन्, ‘घुम्दा मन चंगा बन्छ । शरीरमा छुट्टै उर्जा भरिएको भान हुन्छ । दर्जनौ पुस्तकहरु पढ्नु भन्दा र केही थान चलचित्र हेर्नु भन्दा २÷४ गन्तव्यहरु घुम्न निस्कदा धेरै ज्ञान हासिल गरिन्छ, घुम्नेहरु भन्छन्’, उनले भने, ‘यात्रामा देखिने दृश्यहरु, भेटिने मान्छेहरु र फरक भुगोलका फरक सुन्दर पक्षहरु यादगार र स्मरणीय हुन्छन् । त्यसैले म प्रायः घुमिरहन्छु । उहीँ ठाउँ, उहीँ भुगोल भए पनि केही वर्षको अन्तरालमा पुग्दा पहिले र अहिलेको भिन्नताबारे बुझ्छु । इतिहासको ज्ञान, वर्तमानको अवस्था र भविष्यको अवस्था अनुमान गर्नु जत्तिको आनन्द अरु के रहला यात्रामा ?’

घुम्न निस्कदा कुनै पनि ठाउँको यथार्थता र वास्तविकता बुझिन्छ । पढेको उपल्लो डोल्पाको सुन्दरता, त्यहाँको स्थानीयले भोगेका दुःख र पीडा एवं त्यस क्षेत्रको विकासका सम्भावनाहरु स्वयं आफैं घुम्दा धेरै बुझ्न पाएको दिवस बताउँछन् । ‘गोरखाको मनास्लु र चुम उपत्यका घुम्दा होस् वा साइकलमा इलाम र पाँचथरको उकालो उक्लदा मैले पढेको र सुनेको भन्दा पृथक विविधता भेटाएँ । यसको अर्थ घुम्ने मान्छेले जुनसुकै विषयलाई फरक कोणले देख्न र नियाल्न सक्छ,’ उनी भन्छन् ।

किताबमा पढेको, अरुबाट सुनेको र आफ्नै पैतालाले नापेको देश अवर्णित छ । नघुम्नेहरुले देशको यथार्थ स्वरुप हेर्न र देख्न छुटाउँछन् । घुम्नेहरुमा सकारात्मक सोच, उर्जा र साहस समेत भरिने उनको कथन छ ।

खुम्चिदो पदमार्गले खिन्नता

सडकको अतिक्रमणका कारण सङ्कटमा परेका पदमार्गको अवस्था देख्दा भने उनको मन पनि खिन्न हुन्छ । उनले वैकल्पिक पदमार्ग बनाउनुपर्ने धारणा राखे । “नेपालमा आउनेमध्ये धेरै पर्यटक हिमाल आरोहण र पदयात्राका लागि आउँछन्”, उनले भने, “पदमार्ग जोगाउन सकिएन भने पर्यटन पनि खस्कँदै जान्छ, विश्वमै चर्चित पदमार्ग पनि नामेट भएर जाने अवस्था आउँछ ।”

गुरुङ पदयात्री पथप्रदर्शकसमेत हुन् । आम्दानीमा जोडिन पथप्रदर्शकको अनुमति लिएर काम गरिरहेको उनले सुनाए । “घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, यो बाहेक अरु केही सोचेको छैन, घुम्न धरै बाँकी छ”, गुरुङ भन्छन् ।

उनले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउँछन् । “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङले भन्छन्, “आफूले जान चाहेको गन्तव्यका बारेमा प्रयाप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।”

पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लूगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने उनले बताए । “पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उनले भने, “आराम लिँदै हिँड्नुपर्छ, तलदेखि एकैपटकमा हिमाली र उच्च पहाडतिर जाँदा स्वास्थ्यमा जटिलता आउन सक्छ ।”

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेकका गुरुङ नयाँ–नयाँ ठाउँमा पुग्दाका रोचक यात्रा विवरण र श्रव्यदृश्य सामग्रीलाई युट्युबलगायत आध्यमबाट प्रसार पनि गरिरहेका हुन्छन् । लाग्छ उनी हिँडिरहेछन्, देश चिनाइरहेछन् ।

घुम्न बाँकी रहरका गन्तव्य

हुन त घुमेर कहिल्यै पनि सकिदैन । बरु घुम्दा घुम्दै जीवन सकिन्छ । यो त जीवन रहुन्जेल चलिरहने प्रकिया हो । सर्वप्रथम आफ्नै देश घुम्ने र हेर्ने मनको एउटै रहर पूरा गर्ने कोसिसमा रहेको दिवस बताउँछन् ।

‘अन्नपूर्ण, धौलागिरी, डोल्पा सेरोफेरो पैदलमा र पुर्वी र तराइ भूभाग साइकलमा धेरथोर टेके । हुम्ला, खप्तड हुँदै सुदुरपश्चिम पैदलमा छिचोल्न मन छ,’ उनले भने, ‘मध्यपहाडी राजमार्गले जोड्ने पाँचथरदेखि बैतडीसम्मको सुन्दरतामा साइकलमै नाप्न मन छ । घुम्नेहरुको कम रोजाइमा पर्ने तराइलाई फरक कोणमा मेचीदेखि महाकालीसम्म हेर्न मन छ । कञ्चनजंघा, सथरमाथा एवं मकालु क्षेत्रहरु यसै वर्ष पैतालाले टेक्न मन छ ।’
कथालिका म्यागाजिनबाट

२०८०, १६ कार्तिक बिहीबार ०६:२५
कथालिका नयाँ कथा
कथालिका