नेपाल घुम्दै, नेपाल चिनाउँदै ‘एट्थ अन्डर’ – कथालिका

नेपाल घुम्दै, नेपाल चिनाउँदै ‘एट्थ अन्डर’

  • हेर्दा क्या मज्जाले घुम्या छ भन्ने त हुन्छ । तर, घुमेर कन्टेन्ट निकाल्नु पर्ने भएकाले घुम्दा घुम्दै घुम्नै बिर्सने, सुन्दर प्रकृतिसँग रमाउनै बिर्सिने अवस्था पनि हुन्छ ।

विविधतायुक्त देश नेपाल, चाहे त्यो ऋतु अनुसार रंग बदलिने प्रकृतिको हिसाबले होस् या जाती, क्षेत्र, धर्मका अनेकन संस्कृतिको हिसाबले होस् या जात, धर्म रितिरिवाजकै भिन्नता र बिबिधता किन नहोस् । यहाँको लोभलाग्दो विविधता नेपाल घुम्ने हो मात्रै प्रत्यक्ष अनुभूत गर्न सकिन्छ । यही अनुभूत गर्ने गराउने ध्येयले सुरुवात भएको नेपाल एट्थ वन्डर्स वल्ड । जसले नेपालको आकर्षक पर्यटकीय स्थलको खोज, पहिचान र पर्यटन प्रवद्र्धनमा डिजिटल दुनियाँ मार्फत महत्वपूर्ण टेवा दिइरहेको छ ।

नेपाल एट्थ अन्डर अर्थात् ‘विश्वको आठौ आश्चर्य’ नेपाल

“विश्वका सात आश्चर्य“ बारे त धेरैले धेरै पहिलेदेखि सुनिआएकै हुनुपर्छ । प्राचीन संसारका सात महान् आश्चर्यमा १. इजिप्टको पिरामीड २. बेबिलोनको झुल्ने बगैचा ३. ओलम्पियाको जियसको मूर्ती ४. डायनादेवीको मन्दिर ५. हर्लिकार्निससको समाधि ६. रोडसको विशाल मूर्ती र ७. अलेक्जेन्ड्रियाको प्रकाश स्तम्भ वा फारोस छन् ।

तर, विश्वको आठौं आश्चर्य के होला ? धेरैलाई चासो, कौतुहलता र जिज्ञासाको विषय हुन सक्छ । आधिकारिक रुपमा विश्वको आठौं आश्चर्यको बारेमा एकिन तथ्य अहिले सम्म सार्वजनिक छैन । यद्यपि, नेपालका युवा सर्जकहरुको समूहले भने नेपाललाई विश्वको आठौं आश्चर्यको रुपमा दर्ज गर्ने सिर्जनशील प्रयास गरेका छन् ।

सिर्जनशील युवा हेमन्त भण्डारी नेतृत्वको समूह एट्थ वन्डर्सले युट्युव, फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जालमा सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरुको उत्कृष्ट भिडियो, फोटो, भ्लगहरु राख्ने गरेको छ । जसको युट्युवमा १ लाख ५६ हजार सस्क्राइवर छन् । अहिले सम्म नेपालका बिभिन्न दुरदराजका गन्तव्यमा पुगेर ७३ वटा भिडियो युट्युव मार्फत सार्वजनिक गरिसकेको छ । युट्युवका साथै फेसबुक, इन्स्टा, टिकटिकहरु समेत फोटो भिडियो प्रकाशन गरेर देश चिनाउने अभियानमा टेवा पु¥याइरहेको छ ।

एट्थ अन्डर्सको त्यो ट्रनिङ पोइन्ट

नेपाल एट्थ अन्डर्स वल्ड (विश्वको आर्ठौ आश्चर्य)को नामाकरणको सोच कहिले र कसरी आयो त ? सञ्चालक हेमन्त भण्डारी यात्रा कथाको फेहरिस्त सुनाउदै भन्छन्, ‘मैले एसएलसी पास गरे पछि सन् २०१०,११ तिरको कुरा हो । १७, १८ वर्षको थिए । नोकिया फोनमा फेसबुक चलाउथे । फेसबुकमा इन्डियन जोक्सलाई नेपाली जोक्स बनाएर हाल्ने फेसबुक पेज बनाए । जसबाट फोटो शेयर गथ्र्यौ। फोटोमा मात्र सीमित हुँदैन भन्ने लाग्यो । भिडियोमा गर्दा के होला ? यो कुरा ठुलो मासमा अझ महत्वपूर्ण होला भन्न लाग्यो । क्रमशः एक पछि अर्को गर्दै धेरै दर्शक, पाठकका साथै राम्रो प्रतिक्रिया आउन थाल्यो । मन पराउनेहरु बढ्दै गए ।’ पछिल्लो समय सोसल मिडियामा कन्टेन्टहरु थप्दै गएर मन पराउने बढ्दै गए पछि क्रमशः भिडियोमा व्यावसायिक रुपबाट काम गर्न थालेको उनले बताए ।

‘कक्षा ११, १२ मा नेपालका प्राकृति सम्पदा, संस्कृति सेफोक्सुण्डो, रारा ताल लगायतका बारेमा निबन्धहरु लेखिन्थ्यो । इन्टरनेट एक्सेस पनि कम थियो । युट्युवहरु मात्र अलिअलि थियो । मेरो अर्को पेजमा राम्रै रिच थियो । केही कन्टेन्ट निकालेर राख्न सकियो भने नेपाललाई पनि चिनाउने र पर्यटन प्रवद्र्धन पनि होला भनेर १८ वर्षको हुँदा नयाँ पेज बनाएका हौ,’ उनले भने, ‘वल्डमा सेभेन वन्डर्स अलरेडी छ । यसमा हाम्रो सुन्दर देश नेपाललाई चाही किन एट्थ नेचुरल वन्डर्स किन नबनाउने भनेर नाम राख्यौ । पछि यसलाई नै इन्स्टा, युट्युव, टिकटक सबैमा जोड्यौ ।’

त्यसबेला भण्डारी बिज्ञापन एजेन्सीमा काम गर्थे । भीर मौरीको शिकार हनी हन्टिङ अफ हिमालय भन्ने डकुमेन्ट्रि बनायौ । यो चले पछि झनै प्रेरित भए । नेपालको पर्यटनका लागि जहिले नयाँ ठाउँ जाउ, मान्छेलाई प्रेरित गरौ भन्ने लाग्न थाल्यो । त्यसपश्चात यसलाई फराकिलो दायरामा व्यावसायिक रुपमा समेत जोड्ने प्रयास गरिएको उनी बताउँछन् ।

‘हामी लो प्रोफाइल बसेर काम गर्न रुचाउँछौ । आफ्नो काम हरेक महिना नयाँ भिडियो ल्याउने हो । काममा फोकस छौ । सबै जनाको आँखामा परिराछौ । यसले सकारात्मक दबाब महुशुस पनि हुने गरेको छ । अहिले पूर्णकालीन र फ्रिलान्सर टिम हामीसँग छ । होण्डा, यति लगायत स्पोन्सरहरु सँग जोडिएका छौ । कुन प्रोडक्ट कहाँ मिल्छ । ग्राहकसँग मिलेर देश प्रोमोट गरिराछौ,’ उनले भने ।

पहिलो भिडियो ‘म्याद हनी हन्टर्स अफ हिमालय’

नेपाल एट्थ वन्डर्स सर्जक समूहले तयार गरेको पहिलो भिडियो हो म्याद हनी हन्टर्स अफ हिमालय । जुन लमजुङको वरिपरि घनघोर जङ्गल रहेको तान्जे गाउँ पुगेर बनाइएको थियो । फोर एएम प्रोडक्सनको सहयोगमा नेपाल एट वन्डरले तयार गरेको यस डकुमेन्ट्री अहिले सम्म ४ लाख ७१ हजार पटक हेरिएको छ । ताञ्जे गाउँको यो परम्परा झण्डै २०० वर्ष अघिदेखि नै प्रचलनमा छ ।

यस भिडियोबाट अलिअलि नाम र काम चले पछि थप गम्भिरताका साथ लागेको हेमन्त सुनाउँछन् । ‘म एउटा बिज्ञापन एजेन्सीमा काम गर्थे । त्यो छोडेर यता लाग्ने भन्ने त भयो । तर, अर्को महिनादेखि पैसा आउदैनथ्यो । हनी हन्टर्सको भिडियो राम्रै रिच भयो । त्यसपछि सिरियस्ली लाग्नुपर्छ भन्ने भयो । त्यहाँबाट राम्रो भए पछि २०१८ मा होन्डासँग टाइअप भएर काम अघि बढायौ ।

‘घुम्दा घुम्दै घुम्न बिर्सिन्छन् सिर्जनशील यात्री’

हुन त हामी कतै घुम्ने जानु भन्दा अघि यथेष्ट अध्ययन, तयारी गरेर जान्छन् । त्यसरी जाँदा पनि भौगोलिक विकटता, मौसम लगायतका कारणले दुःख र सास्ती भने भोग्न बाध्य हुन्छन् । अहिले सम्म दर्जनौ ओझेलका आकर्षक गन्तव्य घुमेर भिडियो सामग्री संकलन र युट्युव लगायतका माध्यम मार्फत सार्वजनिक गरिसकेका छन् । बडिमालिका, पाँचपोखरी, रुवी भ्याली, लोमान्थाङ, मनाङको आइस लेक, बर्दिया, जनकपुर, श्री अन्टु, रारा ताल, मर्दी हिमाल, सोलखुम्बुको पिक्की पिक, सो फोक्सुन्डो, सन्दकपुर लगायत छन् ।

 

‘कहाँ, कसरी जाने टिममा छलफल गरेर योजना बनाउँछौ । जाने स्थानको मौसम कत्तिको उपर्युक्त हो, त्यो हेर्छौ । त्यसपछि स्पोन्सरहरुकहाँ लिएर जान्छौ । स्थानीयसँग फोनबाट पूर्ववत जानकारी, कति दिन, कहाँबाट कता जाने, खाने, बस्ने, बजेट व्यवस्थापनका विषयमा बुझ्छौ,’ भण्डारीले भने, ‘सबै तयारी सहित गन्तव्यमा जाँदा दुःख भए पनि पुग्दाको खुसी र उत्साह भने वर्णन गर्न नसकिने खालको हुन्छ । हेर्दा क्या मज्जाले घुम्या छ भन्ने त हुन्छ । तर, घुमेर कन्टेन्ट निकाल्नु पर्ने भएकाले घुम्दा घुम्दै घुम्नै बिर्सने, सुन्दर प्रकृतिसँग रमाउनै बिर्सिने अवस्था पनि हुन्छ । घुमेर एक दुई कन्टेन्ट दिन सजिलो छ । त्यसलाई कन्टेन्ट र कन्टिन्यूटी दिनु भने कठिन छ ।’

ट्रेकिङ ट्रेलको चिन्ता

ट्रेकिङ ट्रेलमा तन्नेरी पुस्ताको सहभागिता पछिल्लो समय बढ्दो छ । प्रत्येकका हात हातमा देखिने मोवाइलमा त यात्राका सुन्दर तस्बिरहरु कैद हुन्छ नै, व्यक्तिगत तथा संस्थागत दर्जनौ च्यानल, भ्लग, सामाजिक सञ्जालहरुले घुम्न सूचित र प्रेरित गरिरहेका छन् ।

ट्रेकिङ कल्चर बढ्दै गए पनि पर्यटकीय सम्भावनायुक्त गन्तव्यको बारेमा गहन अध्ययन तथा खोज गर्ने प्रयास भने निकै कम भएको भण्डारी बताउँछन् । पुराना पदमार्गहरु पनि क्रमशः हराउँदो क्रममा रहेको उनको भनाई छ । ‘नाम चलेका ट्रेकिङ ट्रेल जोगाउनु पर्छ भन्ने भएर यसले छुट्टै पहिचान र संरक्षण पाएको छ,’ उनले भने, ‘अरु चर्चामा नरहेका दर्जनौ ट्रेल विकासको नाममा मनपरी खनिएका सडकका कारण पुरिएका छन्, हराएका छन् ।’

सडक सुविधा आवश्यक भए पनि यसको बैज्ञानिक प्राविधिक मूल्यांकन योजनामा सर्वत्र समस्या देखिएको उनको बुझाई छ । अब सिडक विकास निर्माणका साथसाथै टे«किङ ट्रेल पनि निर्माण र संरक्षण गर्दै जानुपर्नेमा उनको जोड छ ।

घुम्नुको आकर्षण

नेपालको सन्दर्भमा आन्तरिक पर्यटन ९० प्रतिशत देखिन्छन् । अहिले त केही दिन छुट्टि पायो भने घुम्ने भन्ने छ । राजधानी काठमाडौं लगायतका शहरमा होहल्ला, कोलाहल छ । यसो कुनै गाउँ तिर, डाँडाकाडाँ तिर उक्लियो भने हिमाल सुन्दर प्रकृतिका दृश्य देखिन्छन् ।

गाउँघर तिर घुम्न निस्किने हो भने अर्गानिक खाना, स्वच्छ हावा पानी हुन्छ । बुढापाका चाही धार्मिक क्षेत्रमा जान्छन् कि जस्तो लाग्छ । युवाहरु भने राम्रो ठाउँमा घुम्न जाने प्रचलन बढेको छ । अहिले त टिकटकमा मात्रै आए पनि भाइरल हुन्छ । आफु पनि चिनियोस् र ठाउँ पनि चिनाउने हुटहुटी सर्वत्र देखिन थालेको भण्डारी बताउँछन् ।

पदयात्रा जीवनकै पृथक अनुभूति हो । गाउँघरमै दुःखजिलो दैनिकी गरेकाहरुलाई त यसको कुनै स्वाद छैन । तर, शहर बजारमा बसेकाहरुका लागि भने उकुसमुकुसको दैनिकीबाट घुम्नु पदयात्रा गर्नु धेरै ठुलो र महत्वपूर्ण कुरा हुन्छ ।

घुम्ने र नघुम्ने बिचको जीवन, संसारिक बुझाई, बाचाइ अवश्य फरक हुन्छ नै । काठमाडौमा ९५ प्रतिशत मानिस खुम्चिएर यहाँको कोलाहल, प्रदुषण र व्यवहारहरुका बिच उकुसमुकुस दैनिकी बाँचिरहेका छन् । दसैंमा मात्र छुट्टि मिले जस्तो महुशुस गर्छन् । ‘हाम्रो लागि त हरेक महिना नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिवेशले धेरै सिकाई, उर्जा र प्रेरणा प्राप्त भइरहेको हुन्छ’, उनले भने ।

घुमेका र घुम्न बाँकी रहरका गन्तव्य

घुमेर उजागर गरेका ओझेलका गन्तव्य धेरै छन् । उसो त यस्तो यात्राका दुःख र सास्तीका अध्याय पनि धेरै छन् । यात्राका सकसबारे हेमन्त भन्छन्,‘मनाङको आइसलेक मोटरबाटो छोडेर ८ घण्टा उकालो हिँडेर गोठमा सुत्यौ । रातै भरी हिउँ प¥यो । टिम मेम्बरलाई लेक लाग्यो भन्याछन् । तल झरौं भन्छन् । रातको बेला के कसरी झर्ने तनाव भयो ।’

रमाइलो अनुभव चाही बडिमालिका गजब लागेको उनी बताउँछन् । ‘जति पर हेरे पनि हरियो फाट । जति हेर्दा जता हेर्दा ग्रिन ल्याण्ड मात्रै देखिने रहेछ,’ उनले भने ।

अब थप घुम्न रहर भएका स्थान त धेरै छन् । मनास्लु सर्किट, मकालु बरुण नेशनल पार्क, एभरेष्ट, कञ्चनजंगा बेसक्याम्प, हुम्ला, अपर डोल्पा लगायतका ठाउँ जाने सोच र योजनामा रहेको उनले बताए ।

यहाँ कन्टेन्टको दुःख छैन । जता गयो उतै नयाँ र फरक कुरा भेटिन्छ । प्रकृति, संस्कार संस्कृति, खाना लगायत धेरै कुरामा विविधता भेटिने उनको भनाई छ ।
-कथालिका म्यागाजिनबाट

 

२०८०, ६ मंसिर बुधबार ०८:०९
कथालिका नयाँ कथा
कथालिका