साङ्लोमा बाँधिएको ‘तन्नेरी सपना‘ – कथालिका

साङ्लोमा बाँधिएको ‘तन्नेरी सपना‘

  • शिशिरको मानसिक अवस्थामा होइन, परिवारको आर्थिक अवस्था समेत नाजुक बन्दै जाँदा शिशिरलाई आमाले समेत छोडेर अन्तै बिहेवारी गरिन् । बुबा खिमबहादुरले साङ्लाले बाधेरै भए पनि जनतन उनको सेवा गरिरहे ।

घरको सानो कोठा, त्यसलाई काठले बारिएको छ । त्यहाँ खाट होइन, गुन्द्री अनि एउटा सामान्य सिरानी उनको ओछ्यानका रुपमा राखिएको छ । मानसिक रुपमा अस्वस्थ भएपछि त्यही साघुँरो कोठामा १८ वर्षीय शिशिर सिङ्ठानीको बास भएको वर्षौं बित्यो ।जसरी साघुँरो कोठामा १८ वर्षीय सिङ्ठानी कैद छन्, त्यसरी नै कैद छ साङ्लामै उनको रहरलाग्दा तन्नेरी सपनाहरु ।

उनलाई त्यो कोठामा अन्य सामान्य व्यक्ति सरह राखिएको होइन, त्यहाँ त उनलाई साङ्लाले हातखुट्टा बाँधेर राखिन्छ । एक मात्रै जवान छोराको स्याहारका लागि उनको बुबा रातदिन खटिन्छन् । यो कहानी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ मगरदाङका खिमबहादुर सिङ्ठानीको हो, जसले आर्थिक अवस्था कमजोर भएकाले राम्रोसँग छोराको उपचार गराउन सकेनन् र जवान छोरालाई साङ्लाले बाँधेर साँघुरो कोठामा राख्न बाध्य बने । छोरोको अवस्था र पीडा उनलाई थाहा नभएको होइन, तर आफूले गर्न सक्ने केही नहुँदा उनलाई झन् पीडा हुन्थ्यो । ‘त्यसैले कहिलेकाहीं एक्लै बसेर चिच्याएर रुन्थेँ पनि । के गर्नु एक्लो छोरालाई यस्तो अवस्थामा देख्नुपर्दा कसलाई पीडा नहोला र ?’ निराश हुँदै उनी भन्छन् ।

अनि आमाले पनि छोडेर गइन्…
छोरा शिशिरलाई खिमबहादुरले आफ्नो आर्थिक स्थितिले भ्याएसम्म उपचारका लागि कयौं अस्पतालमा डुलाए । यहाँसम्म पनि गाउँ र गाउँ वरपरका धामीझाँक्रीलाई समेत बाँकी छोडेनन् । उनलाई आशा थियो एकदिन छोरा पक्कै निको हुनेछ र बाबा भन्दै बोलाउने छ । तर जीवन सोचेको जस्तो भएन । अस्पताल, धामी झाँक्री र आफ्नो बलबुँताले भ्याए सम्म उपचार गराएका खिमबहादुरले त्यति बेला हार खाए, जब शिशिरको मानसिक अवस्था झन् कमजोर बन्दै गयो । आर्थिक अवस्था नाजुक बन्दै गइरहेको थियो । तैपनि छिमेकी र आफन्तसँग जोरजाम गरेर उपचार जारी राखिरहेका थिए । आम्दानीको स्रोत थिएन, सामान्य खेती किसानीमा जीवन धान्नुपर्ने बाध्यता । त्यही समयमा शिशिरकी आमाले समेत उनीसहित खिमबहादुरलाई छोडेर अर्कैसँग विवाह गरिन् । शिशिरको अवस्था झन् नाजुक बन्दै गयो । हुन त आफ्नी आमाले अर्को विवाह गरेर जानु भन्दा अगाडि नै उनको मानसिक अवस्था सुधारिएको थिएन । आमाको काख र साथबाट अलग्गिएपछि हो उनको अवस्था झन् नाजुक बनेको । अवस्था नाजुक बन्दै गएपछि कतिपटक शिशिर हराएका छन् र उनलाई बुबा खिमबहादुर तथा छिमेकीले खोजेर घर ल्याउनुपर्ने अवस्था समेत थियो ।

नोक्सान गर्ने डरले बाँधेर राख्न बाध्य
घरको कोही थिएनन्, एक्लो ज्यानले खिमबहादुरलाई छोराको स्याहार, घरधन्दा, खेती किसानी लगाएत अन्य काम भ्याउनुपथ्र्यो । मानसिक अवस्था असामान्य र उपचार गराए पनि सोचे जस्तो प्रगती हुन सकेन शिशिरको स्वास्थ्य अवस्था । खिमबहादुरको दुःख यतिमा मात्रै सीमित भएन । शिशिरले गाउँ अनि छिमेकीलाई पनि हानी–नोक्सानी पु¥याउन थाले । त्यसैले शिशिरलाई रहरले नभई बाध्य भएर साँघुरो कोठामा साङ्लाले बाँधेर राखिएको बुबा खिमबहादुर बताउँछन् । ‘छिमेकीको घरमा नोक्सानी पु¥याउन थाल्यो, केही दिन अगाडि आफ्नै घरमा आगो लगाइदिने प्रयास ग¥यो,’ खिमबहादुरले भने, ‘आफ्नो घर त आफैं बनाउँला तर छिमेकीको घरमा आगो लगाइदिएर क्षति गरेको खण्डमा मैले क्षतिपूर्ति कसरी दिनु ? त्यसैले बाँधेरै राख्ने गरेको छु ।’ उनी दिनभरी घर बाहिर जाँदा शिशिर घरमै बाँधिएर बस्न बाध्य थिए । हुन त शिशिरको मानसिक अवस्था गम्भिर बन्दै जाँदा आजभोलि बुबा खिमबहादुर सितिमिति घर छोडेर कतै जान सक्दैनन् । उनको काम रोकिएको थियोे । ‘१ घण्टा मात्रै घर छोडेर जाने हो भने केही बिगार गर्ला कि भन्ने डर लाग्छ,’ उनी भन्छन् ।

मानव सेवाद्धारा उद्धार
नेपालमा मानसिक रुपमा अस्वस्थ भएका व्यक्तिलाई समाजले विभिन्न उपमा दिएर अपहेलना गरेको उदाहरण प्रशस्तै देखिन्छ । झन् गाउँ छिमेकलाई नै हानी गर्न थालेपछि त अवस्था कस्तो हुन्छ भन्ने हाम्रो सोंचभन्दा परको विषय हो । तर, शिशिरको अवस्था देखेर गाउँकै ‘देउतावीर युवा क्लब’ का अध्यक्ष द्रोण फगामीको मन मानेन । उनले पोखरा स्थित हेम्जामा रहेको मानवसेवा आश्रमका प्रतिनिधिलाई शिशिरको स्वास्थ्य अवस्थामा जानकारी गराएर उपचारका लागि सहयोग गर्न आग्रह गरेका थिए । अनि आश्रमका प्रतिनिधि शिशिरको उद्धारका लागि पुगे । ‘शिशिरको स्वास्थ्य अवस्थाको विषयमा हामीलाई स्थानीय क्लबका अध्यक्ष ज्यूले जानकारी दिनुभयो,’ उद्धारका लागि पुगेका आश्रमका प्रतिनिधि सदीश पुनले भने, ‘साङ्लामा बाँधेर राखिएको शिशिरको उद्धार र उपचारपछि स्वास्थ्यमा केही सुधार आउँछ कि भन्ने आशा जागेको छ ।’

मानसिक रोगीका विषयमा समाजमा अझै नकारात्मक धारणा कायम रहेको र यो धारणा परिर्वतन गर्नु आवश्यक रहेको सदीशले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि व्यक्तिले स्वास्थ्य उपचारको सुविधा नपाउनु दुखद् भएको बताउँदै सदीश भन्छन्, ‘शिशिर जस्तै मानसिक रुपमा अस्वस्थ व्यक्त कति छन् भन्ने लेखाजोखा छैन, यसका लागि सरकारले पहल गरेर उपचारको सुविधा पु¥याउनुपर्ने हो, तर यो हुन सकिरहेको छैन ।’

मानसिक समस्यालाई राज्यले विशेष ध्यान दिओस्
शिशिरलाई आश्रमले उद्धार गरेपछि खिमबहादुरलाई छोराको स्वास्थ्यमा सुधार आउँछ कि भन्ने विश्वास जागेको छ । आश्रमका प्रतिनिधि शिशिरलाई उद्धारका लागि उनकै घरमा पुग्दा खिमबहादुर खुसीले गदगद् देखिए । ‘उपचारका लागि अस्पताल, धामीझाँक्रीकोमा कयौं पटक धाउँदा समेत सकिरहेको थिइन,’ उनले भने, ‘अब भने छोरा सामान्य बनेर घर फर्किन्छ भन्ने आशा पलाएको छ ।’ करिब ६,७ वर्षको उमेरमा छारे रोगको लक्षण देखिए पनि पछि मात्रै शिशिरमा मानसिक रोग देखिएको बताउने खिमबहादुरलाई सधै लाग्थ्यो, ऋण खोजेर भएपनि औषधि बरु आफैं गराउँछु, तर हेरचाह गर्ने कुनै संस्था होस् । ‘घरमा म मात्रै, जीवन धान्न काम पनि गर्नैप¥यो, यस्तोमा छोराको स्याहार गर्ने कि बाँच्न काम गर्ने भन्ने भएको थियो ।’ खिमबहादुरले भने, ‘अब भने छोराको उपचार पनि हुने छ र उसको जीवनका लागि केही कमाउन पनि सक्छु भन्ने आँट आएको छ ।’ छोराको स्वास्थ्य अवस्था देखेर सुधार हुन्न कि भन्ने आफूलाई लागेको भएपनि आश्रमको सहयोगमा अब केही हुन्छ कि भन्ने आँट आएको उनले बताए ।

‘निको भएर छिट्टै घर फर्किउन्, खुशी फर्किनेछ’
आर्थिक अवस्था कमजोर र भएको खेतबारीबाट उत्पादित खाद्यान्नले घर धान्न समेत मुस्किल भइरहेको अवस्थामा पोखरास्थित मानवसेवा आश्रमले शिशिरको उद्धार गरेपछि खिमबहादुर मात्रै होइन, गाउँका अन्य व्यक्तिले समेत खुसी व्यक्त गरेका छन् । खिमबहादुरका छिमेकी नरेश घर्ती मगरले आफूले शिशिरलाई सामान्य अवस्थामा फर्किएको हेर्न चाहेको बताए । ‘बाबुछोरा दुवैको अवस्था देख्दा दुःख लाग्थ्यो, पीडा हुन्थ्यो, हामीले केही गर्न सक्ने अवस्था नै रहेन,’ उनले भने, ‘अब हामी सबै गाउँले शिशिर ठीक भएर फर्केको हेर्न चाहन्छौं ।’ खिमबहादुर र शिशिर नै एकअर्काको साहरा भएकाले शिशिर निको भएर घर फर्किएको खण्डमा उनका बुबा खिमबहादुर मात्र होइन, पुरै गाउँ नै खुसी हुने नरेश बताउँछन् । ‘गाउँस्तरबाट नै शिशिरको उपचारका लागि विगतमा पहल भएका छन्, तर उसको स्वास्थ्यमा सुधार हुन सकेको थिएन,’ नरेश भन्छन्, ‘आशा छ, आश्रमको उपचार तथा विभिन्न परामर्शले शिशिर ठीक भएर एकदिन घर आउने छन् ।’

२०८०, २५ मंसिर सोमबार ०२:२७
कथालिका नयाँ कथा
कथालिका