साहसी सिर्जनाको ‘सिर्जनशील घुमफिर’ – कथालिका

साहसी सिर्जनाको ‘सिर्जनशील घुमफिर’

  • सिर्जनाले गत वर्ष बिहे गरिन् । त्यसयता उनको विगतको फकिर यात्राले निरन्तरता पाउनेमा धेरैलाई संशय छ । तर, विवाहलाई ‘बन्धन’ मानेर यसमै नअल्झिने दृढतामा सिज्जु छिन् ।

घुमघाममा तन्नेरी पुस्ता-०७

रुकुम पश्चिमकी चेली सिर्जना ओली । यो नामसँग परिचित कमै होलान् । तर, उनै पात्र सिर्जना ओलीलाई ‘सिर्जना सिज्जू’ का नामबाट चिन्ने संख्या भने देश भित्र र बाहिर उल्लेख्य छ ।

उनै सिर्जना जो यात्रामा रमाउछिन्, यात्रा अनुभूति सुनाउछिन् र भिडियो मार्फत सुन्दर मनोरम दृश्यहरु देखाउछिन् । यसकारण उनी धेरैमाझ परिचित मात्र होइन, लोकप्रिय समेत छिन् । भन्छिन्, ‘कतै नयाँ ठाउँ गएपछि कोही न कोही मलाई चिन्ने भेटिनुहुन्छ । कामको बारेमा भन्नुहुन्छ, खुसी लाग्छ ।’

पढाई वन विज्ञान, सौख घुमफिर
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ की सिर्जना खासमा वन विज्ञान बिषयमा स्नातक सक्दै गरेकी विद्यार्थी हुन् । २६ बर्षको जीवनयात्रामा सफलता र असफलता अनि सुख र दुःखका लामा–छोटा अनुभव बोकेकी उनी भन्छिन्, ‘गाउँमा प्राथमिक तह पढेर माध्यमिक शिक्षाका लागि जिल्ला सदरमुकाम खलंगा आए । २०६९ मा एसएलसी सकेर वन विज्ञान पढ्न काठमाडौं हानिए ।’
काठमाडौं फरेष्टि कलेजबाट २०७३ मा वन विज्ञान बिषयमा डिप्लोमा सकाए पछि केही समय करारमा जागिर गरिन् । सिर्जनाले दुई पटक लोक सेवाको लिखित परीक्षा उत्तिर्ण गरिन् । तर, मौखिक परीक्षाबाट छानिन नसकेको तितो अनुभव उनीसँग छ । ‘साह्रै मेहनत गरे, अन्तिममा सफलता हात लागेन । त्यसपछि लाग्यो यो जागिर मेरा लागि होइन ।’

कोरोनाले सुरु भएको नेपाल यात्रा
सरकारी जागिर खाने सपना तत्काललाई पुरा नभए पछि उनले वन विज्ञान बिषयमा स्नातक गर्नका लागी प्रवेश परीक्षा दिइन् । २ बर्षको प्रयास पछि पढाइका लागि नाम निस्लियो । अहिले अन्तिम वर्षको अध्ययन चलिरहेको छ । ‘कतै टाढा घुम्न जान मन थियो । त्यही बेला कोरोना कहर सुरु भयो । त्यसपछि २०७७ बैशाखमा म काठमाडौंबाट घरमा आए ।’ उनले भनिन्, ‘त्यही बेला गाउँमै एकजना बेघर जेष्ठ नागरिक दम्पतिका लागि घर बनाउने अभियान थाले ।’

घर निर्माणको काम चलिरहेका बेला सिर्जनालाई अपर डोल्पा जाने अवसर आयो । फोक्सुन्डो तालसम्म जाने रहर जागेको भएपनि अपर डोल्पा नै जाने कुराले उनि धेरै नै उत्साहित भएको सम्झिन्छिन् । भन्छिन् ‘भदौंको महिना हामी ९ जनाको गु्रप रुकुम पश्चिमबाट डोल्पाका लागी हिँड्यौं ।’

र यो पनिः कथालिका आर्काइभबाट

गुमनाम गन्तव्य खोज्ने ‘ट्राभलर’ को कथा

जम्मा २० दिनको ट्रेकिङ नै सिर्जनाका लागि अहिलेको आट र साहसको मानक बन्न पुग्यो । ‘त्यो बेला हाम्रो त्यति तयारी थिएन । फोक्सुन्डोसम्म गएपछि धेरैले यसभन्दा अघि जान सक्दैनौं नै भन्थे तर पनि आटेर यात्रा गरियो ।’ उक्त यात्राका क्रममा एकदिनमा २०–२५ मिलोमिटर सम्म हिँडेको र ५–६ हजार उचाइँमा रहेका पासहरु काटेर हिँडेका अनेकन अनुभवहरु उनीसँग छन् । ‘त्यो बेला हामीसँग बिच बाटोमा बस्नका लागी टेन्ट लगाएतका सामग्री नै थिएनन् । यसकारण हामी दिनभरी हिँडेर साँझ बास बस्ने ठाउँमा पुग्नैपथ्र्यो । यसकारण त्यो बेला धेरै हिँड्नुप¥यो ।’

पहाडसँगै हिमाल आरोहणको त्यो अनुभव
सुनेको तर नदेखेको अपर डोल्पाको लामो यात्रा गरेपछि नै आफुलाई थप यात्राहरु गर्न सकिन्छ भन्ने आट आएको सिर्जनाको भनाई छ । उक्त यात्राबाट फर्किए पछि त्यहाँको अनुभव समेटेर सामाजिक सञ्जालमा अपलोड गरेको र सिर्जनाले अपर डोल्पाको यात्रा अवर्णनिय रहेको सुनाइन् । ‘त्यहाँको भु–अवस्थिति, प्राकृतिक सुन्दरता र मान्छेहरुले बाँच्नका लागि मात्रै गरेको संघर्ष देखेर ममा केही गर्नुपर्छ भन्ने आट आयो र म यात्रामा होमिए,’ उनले भनिन् ।

यसपछि सिर्जनाले दर्जनौं यात्राहरु गरिन् । कहिले एक्लै त कहिले बाटोमा भेटिएका बटुवाहरुलाई नै साथी बनाउदै खासगरी पश्चिम नेपालका बिभिन्न पहाड, पहरा अनि हिमाली भेगमा आफ््नो पाइला राखिसकेकी छिन् । डोल्पा पछि सोलुखुम्बुमा पर्ने ६ हजार १७ मिटर अग्लो लोबुचे पिकको सफल आरोहन गरेको उनले सुनाइन् । ‘गाउँकै एकजना दाईले मनास्लु हिमाल आरोहण गर्नुभएको थियो । उहाँको अनुभव सुनेर म पनि हिमाल चढ्न सक्छु भन्ने आट आयो र म लावुचे पिक उक्लिए ।’

हिमाल घुमेर आएपछि आफुलाई कोरोना संक्रमण भएको तितो अनुभव पनि छ सिर्जनासँग । ‘कोरोना संक्रमण भएपछि चाही मरिन्छ झै भयो । दिमागमा धेरै नै नेगेटिभ सोचहरु आउन थाले । सकेसम्म आफुलाई सम्हाले अनि कोभिड जितेर नर्मल अवस्थामा आए ।’
यति जिल्ला र उति जिल्ला भनेर गणना गर्ने भन्दापनि धेरैले थाहा नपाएको तर सुन्दर अनि महत्वपूर्ण ठाउँहरु पुगेर सकेको प्रचार गर्ने आफ्नो लक्ष्य रहेको सिर्जनाको भनाई छ । ‘म त मुड चल्यो कि यात्रामा निस्किहाल्छु । जाने लोकेसन मात्रै फिक्स हुन्छ तर यति दिन र उति दिन भन्ने चाही फिक्स हुदैन । अनप्लान यात्रा गर्छु ।’ उनले सुनाइन्, ‘प्रायः एक्लै यात्रामा निस्किन्छु । कहिले बाटोमा यात्रा गरिरहेका म जस्तै एक्ला मान्छे साथी हुन्छन् त, कहिले स्थानियलाई नै साथी बनाउँछु ।’

सामाजिक सञ्जाल दुनियाँसँग जोडिने माध्यम
नयाँ–नयाँ ठाउँ पुगेर नदेखिएका स्थान, रहनसहन र जीवनशैलीबारे सिर्जनाले बताउछिन् । सिर्जना सिज्जुका नामले युट्युवमा ७६ हजार प्लस सक्सक्राइवर र फेसबुकमा २७ हजार प्लस फलोअर्स छन् । टिकटक देखी इन्स्टाग्रामसम्म छाएकी सिर्जनाले युट्युवमा अपलोड गरेको बिभिन्न भिडियो लाखौंले हेरेका छन् । उनी भन्छिन्, ‘सामाजिक सञ्जाल मेरा लागि दुनियाँ माँझ पुग्ने राम्रो माध्यम बनेको छ ।’
आफ्नो करिब १० वर्ष लामो प्रेमलाई सार्थकता दिदै सिर्जनाले गत बैशाखमा रुकुम पश्चिमकै विवश बोहोरासँग लगनगाठो कसिन् । विवाहको प्रसंग आउदाँ उनले एउटा रमाइलो करा सुनाइन्, ‘विवाहको मिति तय हुँदा म हुम्लामा थिए । विवाहको केही दिनअघि मात्रै फर्किए ।’ विवाहको विधिमा केही दिन अलमलिए पछि सिर्जनाले लगत्तै रुकुम पूर्वको हनी हन्टिङ र ढोरपाटनको यात्रा गर्न भ्याएको बताइन् । ‘अब फेरी हुम्ला जाने हो । त्यहाँको धेरै ठाउँ र जीवनशैलीबारे बताउनुछ,’ उनले भनिन् ।

‘विवाहलाई बन्धन बनाउदिन, म घुम्छु, घुमाउछु’
सिर्जनाले गत वर्ष बिहे गरिन् । त्यसयता उनको विगतको फकिर यात्राले निरन्तरता पाउँछ कि पाउदैन ? धेरैलाई अझै पनि संशय छ । तर, विवाहलाई ‘बन्धन’ मानेर आफु यसमै नअल्झिने बताउदै आफ्नो रुची र उदेश्यमा डटेर लाग्ने आटिलो योजना छ सिर्जनाको । ‘केहीले अब त पहिले झै घुम्न पाउदिनौं होला पनि भन्नुहुन्छ । तर, म घुम्ने हो, घुमाउने हो ।’

दुई भाइ, दुई बहिनी गरी ४ भाइबहिनी मध्येकी जेठी छोरी हुन् सिर्जना । यता घरमा सासु, ससुरा र श्रीमान गरी तीन जनाको परिवार छ । सिर्जना दम्पत्ति हाल काठमाडौंमा बसिरहेका छन् । ‘घरमा मेरो आनीवानी र रुची चाहना तथा कामबारे प्रायः सबै जानकार हुनुहुन्छ । यसकारण सबैको राम्रो साथ र सहयोग पाएकी छु ।’

सिर्जनाका श्रीमान् विवशले उनको यात्रालाई साथ दिने प्रतिवद्धता जनाउदै भने, ‘सिर्जनाको परिचय नै यात्रा हो । यसलाइ कायम राख्न म हरतरहले सहयोग गर्छु ।’

पर्यटन प्रवद्धनमा सहयोग पु¥याएको भन्दै बिभिन्न सरकारी तथा गैरसरकारी निकायले सिर्जजनालाई सम्मान,पुरस्कार समेत प्रदान गरेका छन् । गत बैशखमा युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा प्रतिभा पुरस्कारबाट आफु सम्मानित भएको उनले बताईन् । साथै उनले बिभिन्न सार्वजनिक समारोह र संञ्चारमाध्यमबाट आफ्नो यात्रा अनुभव बारे पनि बताएकी छिन् ।

कर्णालीलाई चिनाउने र पयर्टन मार्फत विकासमा टेवा पु¥याउने योजना
बिगत ३ वर्षका दौरान आफुले चालेका पाईलाले अनेकन् अनुभव बटुलेको बताउदै सिर्जनाले कसरी सुरक्षित तरिकाले यात्रा गर्ने भन्नेबारे धेरै ज्ञान हासिल गरेकी छिन् । ‘यात्रा गर्नु भनेको गन्तव्यमा पुग्नु मात्रै होइन । यात्राका क्रममा आईपर्ने बिबिध पाटा–पक्षहरुले पनि त्यसलाई सार्थक र उपलब्धीमुलक बनाउँछ । कसरी यसप्रकारको फाइदा लिन सकिन्छ भनेर सोचेर यात्रा गर्ने गरेको उनी बताउँछिन् ।
सिंगो देश घुम्ने र अरुलाई बताउने उदेश्य लिएकी सिर्जनालाई कर्णालीमा पर्यटकीय सम्भावना अरु प्रदेश भन्दा धेरै छ जस्तो लाग्छ । उनले गतवर्ष जुम्लाको गूठीचौर गाउँपालिकामा रहेको आकाशे ताल पत्ता लगाएको सम्झिदै भनिन्, ‘गाउँलेले तालबारे देखेको अलमल कुरा गरे पछि हामीले हेर्न जाऔं भन्यौं । गएपछि उक्त ताल भेटियो । अनि आकाश जस्तै निलो र कञ्चन भएका कारण हामीले उक्त तालको नाम ‘आकाशे’ नामाकरण ग¥यौं ।

अगामी दिनमा कर्णालीका सम्भावना पहिल्याउदै यसलाई आम्दानीको माध्यम बनाउन के गर्न सकिन्छ र व्यावसायिक पर्यटनको आधारका रुपमा कर्णालीलाई कसरी विकास गर्न सकिन्छ भन्ने बारे म केन्द्रित हुने उनको योजना छ । ‘यसका लागी मैले मात्रै गरेर केही हुदैन । सरकार र सरोकारवालाको सक्रियता, साथ र प्राथमिकता नै पहिलो कुरा हो । हामी त त्यसैमा साथ दिने सहयात्री, माध्यम मात्रै हौं ।’

२०८०, २९ मंसिर शुक्रबार १०:०१
कथालिका नयाँ कथा
कथालिका