नेपाली कलाकार: ‘नेपाल ट्रान्जिट’ – कथालिका

नेपाली कलाकार: ‘नेपाल ट्रान्जिट’

  • गायक सपुतको सांगीतिक कार्यक्रमकै शिलशिलामा विदेशबाट नेपाल आएर फेरि विदेश जाने एयरपोर्ट टु एयरपोर्ट धेरै भएको छ । जापानबाट एयरपोर्ट आएर सिधै कोरियन एम्बेसीमा पुगेर भिसा लिएर घर नगइकन पनि विदेश कार्यक्रममा पुगेका थिए ।

नेपाली मौलिक दोहोरीबाट उदाएका प्रकाश सपुत यस समयकै सर्वाधिक व्यस्त र सफल कलाकार हुन् । कुनै समय जीवनको कष्टप्रद निस्सासिदो संघर्षबाट आजको सफलता हासिल गरिरहेका सपुत गायकका रुपमा त विश्व यात्रा गर्ने दुर्लभ कलाकारमा दर्ज भइसकेका छन् । चलचित्र ‘परदेशी २’ बाट नायकका रुपमा समेत उदाएका उनको उम्दो अभिनयको चौतर्फी चर्चा बटुलिरहेका छन् । उनै सपुतसँग सांगीतिक विश्व यात्रा अनुभवबारे कथालिकाका सम्पादक दिल शिरीषले गरेको कुराकानीमा आधारित सामग्रीः

पहिलो विदेश यात्रा

मेरो पहिलो यात्रा २०१२ मा दुवैमा भएको थियो । विदेश यात्राको कुरा गर्नु अगाडि पासपोर्टको कुरा गरौ । मैले पासपोर्ट चाही खासमा सेक्युरिटी गार्डमा कतार जाने भनेर २०१० मा बनाएको हो । सेक्युरिटी गार्डमा जानका लागि मेरो गाउँले साथीहरु जो यसअघि त्यही कम्पनीमा नै कतार गएका थिए । राम्रो छ त्यहाँ जाऔं भनेर सल्लाह गरे पछि म लगायत ३ जनाले त्यतिबेला ५ हजार रुपैयाँमा हस्तलिखित राहदानी बनाएका थियौ ।

त्यसबेला पेशामा एग्रिकल्चर लेखेको थियो । त्यो पासपोर्ट अहिले पनि छ । त्यसको २,३ वर्षमा एउटा कार्यक्रम र कामको शिलशिलामा दुवै गए ।काठमाण्डुको गामबेशी दोहोरी नाचघरमा काम गर्थे । त्यहाँबाट छनोट भएर ३ महिनाका लागि २०१२ को मार्चमा दुबई गएको थियो । जुन जीवनकै पहिलो र रोमाञ्चक यात्रा थियो । त्यस भन्दा अगाडि प्लेन समेत चढेको थिएन । त्यो नै पहिलो जहाजको यात्रा पनि थियो ।

आफ्नै सपनाका लागि देश फर्किए

देशबाट विदेश जाने धेरै बाध्यता, केही रहर र सपना । दोस्रो पटक बिदेश गएर भने पुरा बस्न सकिन । आफ्नै सपनाहरुले मलाई देश फर्किन उद्धेलित ग¥यो ।

पहिलो विदेश यात्राका क्रममा दुबईमा तीन महिना बसेर फर्किएको थिए । त्यसपछि मेरो पफर्मेन्स मन पराएर दुई वर्षको भिसा लगाएर फेरि दुबई लिएर जानुभयो । दोस्रो पटकको यात्रा पनि दुबई भयो ।विविध कारणले गर्दा पुरा २ वर्ष बस्न सकिने । विशेष गरेर म आफ्नै सपनाका लागि नेपाल फर्किए । त्यसपश्चात दुबई नै ४,५ पटक गइसके । अहिले म चौथो पासपोर्टमा विश्वयात्रा गरिरहेको छु । पहिलो पटक गएको भएर होला, आज पनि मलाई नेपाल बाहेक मन पर्ने देशहरुमा दुबई पर्छ । उसै पनि दुबई पर्यटकीय हिसाबले राम्रो देश हो । त्यसमाथि मेरो भावनात्मक कनेक्सन पनि छ ।

र पहिलो पटक पनि दोहोरी गाउन कार्यक्रमकै लागि गएकाले पछि चर्चित भइसके पछि जाँदा पनि त्यस्तो धेरै फरक पाइन । त्यो मेरो सुरुवात थियो । त्यतिबेलाका धेरै साथी, दाजुभाइहरुलाई भेट्छु, चिन्छु, उहाँहरुले पनि एक खालको गर्विलो महुशुस गर्नुहुन्छ, मलाई पनि सुखद अनुभूति हुन्छ ।

अनि विदेशमा सांगीतिक यात्राको ढोका खुल्यो

गामबेशी दोहोरी नाच घर, जसलाई मेरो बैदेशिक सांगीतिक यात्राको पहिलो श्रेय दिन चाहन्छु । म राम्रो पफर्मर थिए । गीत गाउन पनि जान्ने, नाच्न पनि जान्ने, अनि दोहोरी साँझ आउने पाहुनालाई स्वागत सत्कार, मख्ख पारेर बोल्न पनि जान्ने र गाउँदा गाउँदै नाच्न पनि सक्थे । गाउने, नाच्ने र बोल्न जान्ने कला भएकाले विदेश तिरबाट आउने धेरै जनाको नजरमा परेको थियो । म दुवैबाट फर्के पछि जापान जाने मौका मिल्यो । त्यहाँ पनि म फेमस भएर, कुनै गीत चलेर भन्दा पनि मेरो पफर्मेन्स मन पराएर दोहोरी साँझबाटै एक जना बुढाथोकी दाइ जो बागलुङकै हुनुहुन्थ्यो । र जापानमा बागलुङका थुप्रै भएकाले अग्रज लोकप्रिय कलाकार मिलन लामा र केही कलाकारको साथमा जापान जाने मौका पाए ।

त्यस लगत्तै अष्टेलिया अनुरोध भट्टराइले प्रमोद खरेल र सम्झना लामिछाने रहेको एक इभेन्टमा अर्गनाइजरलाई भनेर दोहोरी साँझबाटै छनोट गरेर लैजानु भएको थियो । त्यसपछि कतार गए । विस्तारै विदेशको ढोकाहरु खुल्न थाल्यो । पफर्मरको रुपमा, लाइभ दोहोरी कलाकारको रुपमा, कार्यक्रम सञ्चालकको रुपमा आफुलाई निखार्ने मौकालाई अधिकतम अवसरको रुपमा उपयोग गरे ।

पछि दोहोरी ब्याटल र गलबन्दी हिट भए पछि त एक किसिमले विश्व यात्रा गरे, गरिरहेको छु । अहिले सम्म पछि फर्किनु परेको छैन ।

विदेशमा आफ्नै गाउँ ठाउँको आभाष

पहिलो कुरा नेपालीहरु विदेशमा गएर सेटल भएकै धेरै भएको छैन । तत्कालीन सशस्त्र युद्धताका धेरै नेपालीहरु नेपालमा वेल सेटल भएकाहरु पनि विदेश जान बाध्य भए । सामान्य कामदारको रुपमा जाने भन्दा बिभिन्न बाध्यताले गएकाहरु बाहेक, धन कमाउनुको उद्धेश्य बाहेक सुरक्षाका हिसाबले, भविष्यका हिसाबले त्यहाँ गएकाहरु अलि छिटो सेटलमेन्ट भए जस्तो लाग्छ । उनीहरुले त्यहाँ गएर व्यवसाय गर्न थाले । पछि नेपालीहरु बिच एकता, हकहित, समन्वय, सहयोग आदान प्रदानका लागि गैरआवासीय संघ ( एनआरएनए) अरु सम्पर्क समिति, संघ संस्थाको अवधारणा आयो । अहिले सम्म आइपुग्दा नेपालीहरु विश्वका सयौं देशमा पुगेका छन् ।


ती देशहरुमा नेपालीको संख्या बढ्दै गए पछि संघ संस्था धेरै भए । बिस्तारै कार्यक्रमहरु धेरै हुन थाले । उनीहरुले दुई पैसा खर्च गर्ने बातावरण बन्दै गयो । मैले त कतिपय देशमा पहिलो पटक कार्यक्रम गर्ने मौका पाए । आफ्नै गाउँ ठाउँको मान्छेले, चिनेको मान्छेहरुले नै कार्यक्रम आयोजना गर्ने, त्यहाँ आउने नेपालीहरु देखेर आफ्नै देश, गाउँ ठाउँमै गए जस्तो, कार्यक्रम गरे जस्तो अनुभूति भइरह्यो ।

नेपाल नै धेरै पटक ट्रान्जिट

विदेशको कार्यक्रममा पुगेर फेरि नेपाल ट्रान्जिट बनाएर गएका थुप्रै अनुभवहरु छन् । म एकपटक कोरिया जाँदा खेरि चाहीँ जापानबाट विहान नेपाल फर्किएर गएको छ । ट्रान्जिट त अर्को कुरा भयो, जापानबाट एयरपोर्ट आएर सिधै कोरियन एम्बेसीमा पुगेर अनुरोध गरेर भिसा लिएर घर नगइकन पनि गएको छु ।

कोरियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर सिधै कोरियन एम्बेसी, कोरियन एम्बेसीबाट भिसा लिएर सिधै एयरपोर्ट पुगेर त्यसतर्फ प्रस्थान गरेको छु । आउने जाने त एयरपोर्ट टु एयरपोर्ट धेरै भएको छ । नेपालको एयरपोर्टमा दुवैबाट आएर घरबाट सामान ल्याइदिन भनेर फेरि हङकङ गएको पनि छु । यस्तो धेरै नै पटक भएको छ ।

 

युरोपियन मुलुक जाँदा चाही प्रायजसो हामी सेन्जेन भिसा लिएर जान्छौ । त्यहाँ चाही एउटा देशदेखि अर्को देश बाइरोड बाइट्रेन, बाइफ्लाइट यतिकै ८,१० वटा देशहरुमा जान पाइन्छ । युरोपियन देशहरुमा एउटा देशबाटै अर्को देश गएको अनुभव थुप्रै छ । र पछिल्लो समयको कुरा गर्दा अष्ट्रेलियाबाट म भारतको दिल्ली आएको र दिल्लीबाट फेरि जापान गएको अनुभव पनि छ । एउटा देशबाट अर्को देश पनि धेरै नै पटक कार्यक्रमका लागि गएको छु ।

 

 

‘सपनाको देश’ अमेरिकामा पटक-पटक पुग्दा

पहिलो पटक कतार काम गर्न जाने प्रयास गरियो । त्यसअघि सांगीतिक कार्यक्रममा दुवै नजाँदै जापान जाने कि भनेर प्रयास गरे, कोरियामा पनि कामदारकै रुपमा जाने कि भनेर कोरियन भाषा पनि प्रयास गरे । जापानिज ल्याङ्ग्वेज पनि ट्राइ गरे । तर, कहिले पनि क्यानाडा गइएला, अमेरिका गइएला भनेर सोचिएन । किन भने हाम्रो समय सम्ममा चाही त्यति धेरै सजिलो एक्सेस थिएन । हाम्रो पहिलो अप्सन भनेको दुवै कतार हुन्थ्यो र हदै भए हामी सम्म आउँदा सामान्य पृष्ठभूमिको मान्छेले पनि भाषा पास गरेमा कोरिया जान पाउने अथवा जापान सम्म यसो भिसामा छिर्न सक्ने खालको परिस्थिति बन्या थियो । र हाम्ले कोरिया जापान सम्म जाने सपना देख्यौ । अमेरिका त साँच्चिकै सपनाकै देश थियो । हाम्रो पृष्ठभूमीका त कसैले पनि अमेरिका जाने भनेर सोच्न सम्म सकेनौ । अहिले त अमेरिका हिँडेर जाने कुरा पनि सामान्य हुन थालेको छ ।

अमेरिकाको मेरो कार्यक्रम यात्रा र अनुभव चाही एकदमै रोमाञ्चक छ । अमेरिकाको किन छ भने हाम्रो जनरा लोक गीत सुन्ने मान्छे एकदमै कम भएको मानिन्छ । पहिले त यहाँ राम्रा पृष्ठभूमी भएका, धन सम्पत्ति भएका रोयल फेमीलीहरु मात्र जाने प्रचलन थियो ।

विदेशका धेरै शहरमा पहिलो पटक कार्यक्रम

न्युयोर्क, बाल्टिमोर तिर धेरै धेरै जनसंख्या भएको ठाउँमा कार्यक्रम हुने । मैले ३८ दिनमा १८ दिन कार्यक्रम गरे । त्यसमध्ये १२ वटा स्थानमा चाही पहिलो पटक नेपाली सांगीतिक कार्यक्रम आयोजना भएको थियो । त्यहाँको रमाइलो कुरा के भइरहेको थियो भने त्यहाँ सबै खाले दर्शक आउनुभएको थियो । त्यो मेरा लागि रमाइलो र गर्वको अनुभूति थियो कि मैले सबै खालको दर्शकलाई आकर्षित र मनोरञ्जन प्रदान गर्न सकेको छु भन्ने कुराले । कोही ५, ८, १०, १२ वर्षदेखि अमेरिका बसेकाहरुले पनि पहिलो पटक नेपाली कार्यक्रम हेर्न पाइयो भनेर खुसी व्यक्त गरेका थिए । आफ्ना छोराछोरीलाई पहिलो पटक नेपाली गीत सुनाउन पाइयो भनेर खुसी भएका थिए ।

त्यो धेरै वटा शहरमा त्यसपछि धेरै वटा कार्यक्रम भएको मैले देखे । अनि भाइले सुरुवात गरिदिनु भएको भनेर धेरै जना दाइहरुले भन्नुहुन्छ, जसले गर्दा अमेरिकाका धेरै सिटीमा मैले पहिलो पटक कार्यक्रम गर्ने मौका पाए । त्यस हिसाबले पनि अमेरिका मेरो सांगीतिक करियरमा विशेष छ । जुन चाही सदैव इतिहास बनेर रहनेछ ।

रहरलाग्दो र डरलाग्दो विदेश यात्रा

मैले यो बिचमा विदेशमा जति रहरलाग्दो यात्रा गरे, उत्तिकै डरलाग्दो यात्रा पनि गरेको छु । त्यो स्वास्थ्यका हिसाबले पनि, समयका हिसाबले पनि । आजको भोलि त्यहाँँ, भोलिका पर्सी अर्को कुनै देश र भूगोल । अमेरिकाको यात्राकै कुरा गर्दा त्यहाँको आन्तरिक उडान नै १०, १२ घण्टा हुने । मेरो पहिलो पटकको अमेरिका यात्रा कस्तो भएको छ भने बैशाख १ गते यहाँ राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेर त्यही साँझ फ्लाइटमा अमेरिका पुगेर भोलिपल्ट एउटा इभेन्ट गरेर पर्सी पल्ट यही नेपालको एउटा कमिन्टमेन्ट गरिसकेको इभेन्ट गर्न आएको छु । १८ घण्टा फ्लाइटमा निरन्तर गएर जम्मा १२ घण्टा अमेरिका बसेर १८ घण्टाको फ्लाइट गरेर नेपाल फर्केको छु । यस्तो खालको थुप्रै अनुभवहरु छ । लगातार फ्लाइट गरेर सिधै कार्यक्रम स्थल, मञ्च सम्म पुगेको पनि छु ।

ट्रान्जिटमै निदाए पछि….

स्वास्थ्य र समयको एकदमै धेरै जोखिम लिएर थुप्रै कार्यक्रममा पुगेको छु । मान्छेहरु ओहो नै भन्नुहुन्छ । यो चाही मेरो केही अचम्मको छ । आफैलाई पनि अचम्म लाग्छ । अर्को कुरा चाही धेरै ठाउँमा फ्लाइटहरु छुटेको छ । कतिपय ठाउँमा भाषाको समस्याले सञ्चार समन्वय गर्न अप्ठ्यारो भएको, त्यो देशमा चल्ने पैसा नभएर एयरपोर्टमा भोकै बस्नु परेको घटना पनि छ ।

एकपटक अष्ट्रेलिया जाँदा ट्रान्जिटमा मलेसियामा परे । मेरो ९ः१५ को फ्लाइट थियो । म एउटा बेञ्चमा यस्तो निदाएछु कि म ९ः२५ मा मात्र ब्युझिएछु । आलाराम लगाउनै बिर्सेछु । ५ मिनेट सम्म जहाज रोकेर नाम एनाउन्स गरेर खोजेको रहेछ । फ्लाइट टेकअफ भयो, गयो । त्यसपछि अर्को फ्लाइट छैन । भोलिपल्टको कार्यक्रममा पुग्नु छ । १२ घण्टा एयरपोर्टमा भोकभोकै बसेर भोलिपल्टको कार्यक्रममा सिधै एयरपोर्टबाट मञ्चमा पुगेको छु । जम्मा १० मिनेट निदाउनाले अर्को १२ घण्टा एयरपोर्टमै भोकभोकै बिताउनु परेको छ । भोकै नै कार्यक्रम गर्नुपरेको छ । अनि अहिले पनि म विदेश यात्रामा जाँदा खेरि त्यही सुतेको बेञ्च हेर्छु र करिब १ लाख २० हजार तिरेर पुनः टिकट लिएको पनि सम्झिन्छु । एयरपोर्ट त्यो बेञ्चको मिठो निद्राले १ लाख २० हजार तिरेको मेरो ओछ्यान भनेर सम्झिन्छु ।

कफिले पनि मेरो यात्राहरु छुटेको छ । यो त रमाइलो घटनाहरु जस्तो मात्रै भयो । तर, शरीर दुख्ने, खान नपाउने, लगातार यात्रा गर्दा ज्यान दुखेर हैरान हुने यस्तो थुप्रै छ ।

देश अनुसार विकास, चेतना र अपेक्षा

घुम्ने या सांगीतिक यात्राले मलाई व्यक्तिगत जीवनमा खुसी त हुने भयो नै । बिभिन्न देश घुम्दा संसारका मानिसहरुको इमोसन त करिब उस्तै उस्तै हुन्छ । दुःख सुख उस्तै हुन्छ । यति हो कि देश, समाजको वातावरण पृष्ठभूमीले सोचाइ, बुझाई, जीवन भोगाइ फरक फरक हुन सक्छ ।

अमेरिकन, जापानीज, कोरियन, जर्मन नागरिकले सोच्ने र बाँच्ने तरिका फरक छ । हामी नेपालीको अलि अर्कै छ । यसकारण हाम्रो जीवनमा विदेशका सिकेर यो एप्लाई गर्छु भन्ने चाही नहुने रहेछ ।

यात्राले आफैमा हाम्रो जीवनलाई, दृष्टिकोणलाई, सोचाइलाई, हाम्रो चेतनालाई धेरै फरक पार्छ । जानी नजानीकन धेरै अनुभवहरु दिन्छ । अर्को कुरा चाही धेरै कुरा हाम्रो देशसँग जोडिन्छ । हाम्रो देश विकास, समृद्धिका हिसाबले पछाडि परेको छ । यहाँको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रणाली, परिवर्तन विकसित देशहरुमा जस्तै भइदिए भन्ने कुराले बढी सताउछ ।

‘नगएको पनि हुन्थ्यो भन्ने यात्रा छैन’

कष्टप्रद यात्रा त थुप्रै छ । तर, त्यस्तो नगएको पनि हुन्थ्यो भने जस्तो भने कहिल्यै लागेन । किन भने मैले आफुलाई यहाँ जानु नै थियो भनेर नै लिए । पैसाकै लागि भन्दा पनि त्यो ठाउँमा पुगुम् भनेर पनि कैयन कार्यक्रमहरुमा गएको छु ।

जस्तो यो बिचमा म्युजिक भिडियोहरुमा राम्रै पारिश्रमिकहरु लिएर काम गर्न पाए । अरु साना तिना ब्राण्डका कार्यक्रम गर्न पाए । मलाई चाही एक राउण्ड विश्व यात्रा गर्नु थियो । त्यही भएर मैले नेपालको पनि कुना कुना अनकन्टार ठाउँहरुमा एक्लै दुब्लै पनि पुगेको छु अप्ठयारा बाटाहरु छिचोल्दै । विदेशका पनि धेरै ठाउँहरुमा पनि उसैगरी पुगेको छु । तर, मलाई कतै पनि त्यहाँ नपुगेको या नगएको भए पनि हुँदोरहेछ भन्ने याद ठ्याक्कै अहिले सम्झनामा छैन । बेलाबखत यात्राकै क्रममा त्यो पनि महुशुस भने नभएको पनि होइन । त्यो चाही त्यतिखेर मात्रै केही दुःख पीडा भएर महुशुस भएको होला । यद्यपि अहिले सम्म सम्झना हुने गरी चाही भएको छैन ।

एकपटक चाही छोरीको भात खुवाइ थियो गाउँमा । सबै गाउँ गएका थिए । तयारी त्यही किसिमको थियो । अनि म चाही अघिल्लो दिन एउटा कार्यक्रम भ्याइ हालौ न भनेर लमजुङको कार्यक्रममा गएको थिए बाइकमा । र भोलिपल्ट गाउँ पुग्छु भनेर साँझ ८,९ बजे कार्यक्रम सकेर विहान ८,९ बजे भात खुवाइमा पुग्न चाहन्थे, त्यो मिस गर्न चाहन्नथे । दुर्भाग्य, राति राति जाँदा लुम्लेमा पानी प¥यो,बाइक बिग्रियो । उताबाट आएका ठुला गाडीले आँखामा सिधा लाइट बाल्दै हिँड्दा निकै गाह्रो भयो । मलाई यो यात्रा कष्टप्रद भयो भन्ने भन्दा पनि छोरीको महत्वपूर्ण मोमेन्ट छुट्ने भयो भन्ने कुराले पीडा भइरहेको थियो । त्यो कार्यक्रम चाही मलाई नलिएको पनि हुँदोरहेछ भन्ने धेरै समय सम्म भइरह्यो ।

जीवन र संसारको फराकिलो दायरा यात्राबाट अनुभूत

घुम्न जरुरी छ कि छैन भन्ने आदर्श जवाफ र टिप्स दिन कतिको व्यवहारिक र उचित हुन्छ ? त्यो त मलाई थाहा छैन ।

तर पनि समय सम्भव भए सम्म, पहुँच भए सम्म घुम्न जरुरी छ । सबै विदेश नै जानुपर्छ भन्ने छैन । प्रकृतिसँग, संसारका बिभिन्न आयामहरुसँग एकाकार हुँदाको आनन्द अनुभूति नै पृथक हुन्छ । एक किसिमले हामी दुःखी हुने, जीवनलाई कहिनेर अल्झाउने या दुखाउने भनेको हाम्रो मन मश्तिष्कले हो ।

यदि तपाई घुम्नु डुल्नु भयो भने तपाईको मन मश्तिष्क एक ठाउँमा रहदैन । समाजका आँखाले देखेका, मनले महुशुस गरेका, कानले सुनेका धेरै कुराले मनलाई आल्हादित बनाउछ । मनलाई अस्थिर, दुःखी हुनबाट जोगाउँछ । संसार त अर्कै छ नि । हामी संघर्ष गरिरहेको सानो घेरामा मात्र होइन, धेरै बृहत्तर बिशाल छ, जीवनमा विकल्प पनि कैयन छ, मानिसहरु अभावमा पनि कति खुशी भएर बाँचेका छन्, त्यसले जीवनका अनेकन आयाम र विकल्प सोच्न, खोज्न पनि सघाउँछ जस्तो लाग्छ । सबै भन्दा ठुलो कुरा त यात्राले एउटै सपना, एउटै दुःख, एउटै कुरामा अल्झिरहेका छौ भन्ने भ्रमबाट मुक्त गराउँछ ।

अब बाकी रहर र सपनाका गन्तव्य

अब मेरो यात्रा चाही कामको प्रकृति नै यात्रा गर्नुपर्ने घुम्नु पर्ने भएको हिसाबले घुम्नुको उद्धेश्यले होइन । कामसँगै घुम्ने अवसर पाएको छु । घुम्नु पर्छ है भनेर घुम्नु र मेरो घुमाइमा त फरक छ ।

अफ्रिकी मुलुकहरु जाने मन छ । कति अफ्रिकी मुलुक सम्पन्न पनि छन् । तर, खै अलि बढी दुःखका कथाहरु, अभावका कथाहरु, अध्यारा कथाहरु, युद्धका कथाहरुले छुने भएर होला । मलाई एकपटक अफ्रिकी मुलुक घुम्ने मन छ । त्यहाँको गरिबी, अभाव, जीवनशैली, युद्धका बाछिटाहरु हेर्न मन छ । नेपाल त सबैजसो ठाउँ कुना कुनामा पुग्ने मन छ ।
-कथालिका म्यागाजिनबाट

२०८०, ६ पुष शुक्रबार १०:३४
कथालिका नयाँ कथा
कथालिका