कोदो उत्पादन ‘ब्राण्डिङ’ गर्दै भदौरे गाउँ – कथालिका

कोदो उत्पादन ‘ब्राण्डिङ’ गर्दै भदौरे गाउँ

  • पहिले मदिरा र ढिडो बनाउन मात्र खेती गरिने कोदोको अहिले विविध परिकारमा प्रयोग छ । भदौरे गाउँ कोदो उत्पादन मात्रै होइन, यसको फाइदा र अर्गानिक खाने बानी बसाउन समेत सिकाइरहेको छ ।

रोजगारीको बढ्दो समस्या, केही रोजगारी र अवसरका लागि शहर बजार झर्ने दर उच्च । गाउँको दक्ष जनशक्ति विदेश पलायन । यही कारण नेपालमा ठुलै हिस्सामा खेतबारी बाँझा छन् । यस्तो लाग्छ, गाउँ बुढ्यौली लागेकाहरुले टिकाइरहेछन् ।

हुन त पछिल्लो समय विकास गाउँमा नपुगेको होइन । तर, गाउँमा बस्नेको संख्या पातलिदै जाँदा गाउँघर आजभोलि चाडपर्व र कुनै स्थानीय उत्सव बाहेकका समय सुनसान प्रायः बन्छ । खेतबारी बाँझो हुँदा नेपालमा पहिले जे जति बाली र खाद्यान्न उत्पादन हुन्थ्यो, क्रमशः घट्दै गएको छ । धान, कोदो लगायतका खाद्यान्न उत्पादन गर्ने घटेका छन् ।

आफैं उत्पादन गर्नु भन्दा विभिन्न देशबाट आयात गरिएको खाद्यान्नले स्थान लिएको छ । युवा पुस्ता स्थानीय ठाउँमा उत्पादन खाद्यान्न भन्दा बाहिरी खाद्यान्नमा लालायित छन् । यसकै परिणाम स्वरुप हाल कोदो उत्पादनमा कमी आएको छ । तर, आर्थिक रुपमा कमजोर भएकाले खाने खानाका रुपमा चिनिएको कोदो अहिले सम्पन्न परिवारले समेत खोजी–खोजी खाने गरेका छन् ।

भदौरेका स्थानीय भने कोदो उत्पादनमा
यी अनेकन समस्याका बिचमा कास्कीमा एउटा यस्तो गाउँ छ, जहाँ स्थानीय कोदो उत्पादनलाई बृद्धि गर्न एकजुट भएका छन् । तर, विकास आउनु भन्दा अगाडि सहर गएका बारीमा कोदो उत्पादनका लागि गाउँ फर्किने गरेका छन् । यो गाउँमा सहरीकरण, युवापुस्ता गाउँमा नहुनु र विदेशी खाद्यान्नको प्रभाव लगायतका समस्या नभएका होइनन् । विविध समस्याका बाबजुद समेत कोदो उत्पादन र प्रवद्र्धनका लागि यहाँका स्थानीयको जागरुकता हेर्न लायकको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित वडा नम्बर ४ भदौरेका स्थानीय अहिले कोदो उत्पादन गर्न लागि परेका छन् । सहर झरेका गाउँले समेत कोदो उत्पादनका लागि हरेक वर्ष गाउँ फर्किन्छन् । प्रायः बारी बाँझो छैन,

आधुनिक भन्दा पुरानै शैलीबाट कोदोको उत्पादन गर्नेमा यहाँका स्थानीय सक्रिय छन् । भदौरेका स्थानीयवासीले कोदोको प्रर्वद्धन गर्नुपर्छ भनेर लागेको ३ वर्ष पुग्यो । अहिले गाउँमा २०५५ सालबाट सुरु भएको मेलामा कोदोको परिकार बनाएर मेला हेर्न आएका पाहुनाका लागि प्रदर्शनमा राखिन्छ । मेलाले कोदो प्रवद्र्धनका लागि भनेर कोदोको परिकार बनाएर प्रर्दशन गर्न लागेको ३ वर्ष मात्रै पुग्यो । भदौरे क्लबका सल्लाहकार हिरालाल गुरुङका अनुसार यहाँका बारी बाँझो छैनन् । ‘कोदो उत्पादन हुने बारी बाँझो छैन, गाउँ बाहिर गएका कोदो उत्पादन गर्न गाउँ आउँछन् ।’ उनी भन्छन्, ‘हाम्रो खेत गाउँभन्दा केही तल छ, तराईबाट चामल आयात हुने भएकाले खेत केही बाँझो भएका छन् ।’

बिक्री होइन, स्टकमा कोदो
भदौरेमा उत्पादित कोदो व्यवसायिक हिसाबबाट बिक्री गरिदैन, स्टक राखिन्छ । नेपालमा प्रायः खाद्यान्न भारत, चीन लगायतका देशबाट भित्रिने गरेको छ । विनाशकारी भुकम्पको समयमा जसरी भारतले नेपालमा नाकाबन्दी गरेको थियो र आम नागरिकले अभाव झेलेका थिए, त्यसरी अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले कोदो स्टकका रुपमा राखिएको हिरालालले बताए । उनका अनुसार कोदो धेरै समयसम्म कुहिदैन । ‘स्वास्थ्यका लागि अन्य खाद्यान्नभन्दा राम्रो हो, वर्षौंसम्म कुहिदैन ।’ उनले भने, ‘कुनै दिन फेरी नाकाबन्दी या खाद्यान्न अभाव भयो भने, कोदोले उक्त अभावको पूर्ति गर्न सक्छ ।’ हिरालालका अनुसार कोदोको परिकार आफूहरुले खानाका रुपमा विभिन्न परिकार बनाएर खानुका साथै स्थानीय मदिरा उत्पादन गर्ने र गाइवस्तुलाई समेत दिइन्छ ।

भदौरेमा आफ्नै बारीमा उत्पादन भएको कोदोबाट बनेको मदिरा व्यवसायिक रुपमा खासै बिक्री गरिदैन । कसैले लैजान चाहेको अवस्थामा केही मात्रामा बिक्री गरिने गाउँका स्थानीय बताउँछन् । मदिरा मात्रै होइन, स्टकमा राखिने भएकाले कोदो पनि गाउँमा बिक्री हुँदैन । गाउँका प्रायः घरमा प्रवद्र्धन सुरु गर्नुभन्दा अगाडिबाट राखिएका कोदो बाँकी रहेको स्थानीयको भनाई छ । आफैं उत्पादन गरेर आफैंले प्रयोग गर्ने र स्टकमा राखिने भदौरेवासीले बताए । कोदो उत्पादनमा भदौरेमा रहेका युवापुस्ताले भरपुर साथ दिएका छन् । विदेशमा भएका युवा आउनु सम्भव नभए पनि पोखरा वरपर भएका युवा कोदो रोप्ने समयमा घर आउने र आफ्नो काम गरेर फर्किने गरेको स्थानीयको भनाई छ । ‘कोदोको परिकार खान हामीले युवालाई अभ्यस्त बनाउने कोसिस गरिरहेका छौं ।’ हिरालालले भने, ‘उत्पादन मात्रै होइन, कोदोको फाइदा र खाने बानी बसाउन सिकाइरहेका छौं ।’ खेती किसानी गर्न युवापुस्ताले खासै ध्यान नदिए पनि वर्षमा एकपटक कोदो लगाउने भएकाले उनीहरुको सहभागिता उच्च रहेको हिरालालले बताए ।

एउटै घरमा १५ देखि २० मुरी कोदो
भदौरेवासीले पहिलेको जमानामा घर नजिकै भएको जंगल फाँडेर खोरिया बनाई कोदो उत्पादन गर्थे । हरेक ३ वर्षमा खोरिया परिर्वतन गर्दै कोदो रोप्दा उत्पादन धेरै हुने गरेको छ । तर, अहिले सरकारले जंगल फडानीमा रोक लगाए पछि भने बारीमा मात्रै उत्पादन गर्छन् । वर्षमा एकपटक जेठमा रोपिने र कात्तिक/मंसिरमा काटेर स्याहारिन्छ । त्यसैले पनि कोदो उत्पादनमा युवापुस्ता सक्रिय छन् । उनीहरुका अनुसार कुनै समय भदौरेका स्थानीय बासिन्दाले एउटै घरमा १५ देखि २० मुरी कोदो भित्राउँथे । तर अहिले भने उत्पादनमा ह्रास आएको छ । त्यो समयमा भदौरेमा उत्पादन भएको कोदो बाहिरी जिल्लामा समेत पुग्थ्यो । कोदोका परिकार प्रमुख खाद्यान्नका रुपमा प्रयोग हुने गथ्र्यो । सोचे जस्तो युवापुस्ता नहुनु, घरमा भएका वृद्धवृद्धा तथा बालबालिकाले खेतबारीमा काम गर्न नसक्नु र जलवायु परिर्वतनले गर्दा कोदो उत्पादनमा कमी आएको हुन सक्ने उनीहरु आशंका व्यक्त गर्छन् ।

भदौरेमा कोदो उत्पादन पुरानो चलन अनुसार गरिन्छ, आधुनिक प्रविधि प्रयोग गरिएको छैन । केही वर्ष अगाडि उत्पादन वृद्धि गर्न भन्दै स्थानीयले आधुनिक तरिका अपनाएका थिए । तर, मौसमले साथ नदिँदा उत्पादनमा झन् ह्रास आयो । त्यसपछि भदौरेका स्थानीय बासिन्दाले पुरानै शैलीमा कोदो रोप्दै आएका छन् । यति मात्रै होइन, कोदो टिपिसके पछि त्यसबाट निस्किने भुस सफा गर्न समेत स्थानीयले ३० हजारको लगानीमा मेसिन खरिद गरेका थिए । मेसिन प्रयोग गर्दा कोदो भन्दा बढी भुस आएपछि मेसिन प्रयोग गर्न छोडेको स्थानीय बताउँछन् । भदौरेका स्थानीय चेतनाथ सुवेदीले कोदोको परिकार खाँदा मानिसको शरीरलाई आवश्यक पर्ने धेरै पौष्टिकता पाइने बताए ।

उनको आफ्नै भने यो वर्ष ४ मुरी कोदो मात्रै उत्पादन भएछ । ‘पहिले मैले त्यही बारीबाट १० देखि १२ मुरीसम्म कोदो फलाउँथे, अहिले जम्मा ४ मुरी भित्राएँ ।’ उनले भने, ‘भएका सन्तान विदेश छन्, घरमा हामी श्रीमान्, श्रीमतीले मात्रै काम गर्न सकेनौं, फलाउन सकिएन ।’ कोदो उत्पादनका लागि अन्य खाद्यान्न उत्पादन भन्दा बढी मेहनत लाग्ने उनको भनाई छ । चेतनाथलाई सरकारले किसानलाई प्राथमिकतामा नराखेकोमा देख्दा भने दुःख लाग्छ ।

मदिरासँगै विविध परिकार
कुनै समय यस्तो थियो, जुन समयमा कोदो उत्पादन मदिरा बनाउने र ढिडो खानका लागि मात्रै उत्पादन गरिन्थ्यो । कोदोबाट ढिडो र मदिरा मात्रै होइन, अन्य परिकार बन्छ भन्ने जनचेतना नेपाली समाजमा थिएन । केही समय यता भने डाइबिटिज, सुगर लगायतका रोगबाट ग्रसित भएका व्यक्तिले कोदोको परिकार बनाएर खान हुने भन्ने आइसके पछि आफूहरुले मिलेर कोदोको उत्पादन वृद्धि र प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच आएको भदौरे आमा समूहकी अध्यक्ष हितमाया गुरुङले बताइन् । ‘हरेक वर्ष आयोजना हुने महोत्सव तथा ल्होसार मेलामा विगत ३ वर्षदेखि हामीले कोदोलाई प्राथमिकतामा राखेका छौं ।’ अध्यक्ष हितमायाले भनिन्, ‘कोदोको परिकारलाई हेय र घृणाको देष्टिले होइन, सम्मानजनक र स्वास्थ्यका लागि उपर्युक्त खाद्यान्नका रुपमा लिन हामीले पहल गरेका हौं ।’ कोदोको परिकार बनाएर प्रदर्शनमा राखिएपछि परिकारका विषयमा राम्रो प्रतिक्रिया पाएको उनले महसुस गरेकी छिन् । ‘कोदोबाट मानिसको शरीरलाई मिल्ने पौष्टिकताका विषयमा जानकारी दिन हामी चुकिरहेका छौं ।’ उनी भन्छिन्, ‘बालबालिकालाई समेत यो विषयमा जानकारी दिनु र कोदोको परिकार खान अभ्यस्त बनाउनु जरुरी छ ।’ भदौरेमा उत्पादन भएको कोदो धेरैले व्यवसायिक रुपमा बिक्री नगरे पनि अति आवश्यक पर्नेलाई भने दिइन्छ । अहिले भदौरेमा कोदोको मूल्य पाथीको २ सय ५० मा पर्छ ।

भदौरेमा अन्य खाद्यान्न उत्पादन नहुने होइन । यहाँ धान, कमै, गहुँ, जहुँ लगायतका खाद्यान्न राम्रो उत्पादन हुने भदौरे क्लबका संस्थापक अध्यक्ष तथा संरक्षक आशबहादुर गुरुङ बताउँछन् । पछिल्लो समय उत्पादनका लागि सजिलो लाग्ने भनेको कोदो रहेको उनले बताए । प्रत्येक स्थानीयले वर्षमा करिब १० देखि १२ मुरीसम्म कोदो उत्पादन गर्छन् यो गाउँमा । २०÷२५ मुरी उत्पादन गर्ने स्थानीय रहेको उनले जानकारी दिए । युवा शक्ति कम भएकाले कोदो उत्पादनमा ह्रास आएको उनी बताउँछन् । व्यवसायिक रुपमा आम्दानी गर्ने हिसाबमा कोदोको विक्री वितरण नभए पनि भदौरेमा त्यहाँका स्थानीयले कोदो सञ्चय गरेर राख्छन् । ‘मलाई लाग्छ, केही स्थानीयको घरमा सञ्चय गरेर राखिएको ३० देखि ४० मुरीसम्म कोदो छ ।’ उनले भने, ‘कोदो कुहिँदैन, उनीहरुले बिक्री वितरण गदैनन्, खाद्यान्नको अभाव भयो भने काम लाग्छ भन्ने हेतुले सञ्चय गरेर राखेका छन् ।’ कोरोनाको समयदेखि आफूहरु कोदोको प्रवद्र्धन गर्नुपर्छ भनेर लागेको संस्थापक अध्यक्ष गुरुङले बताए । भदौरेमा कोदो लगाउँदा युरिया जस्ता मल प्रयोग गरिदैन । संस्थापक अध्यक्ष गुरुङका अनुसार घरमा पालिएका गाइवस्तुको मल प्रयोग गरिन्छ । ‘अहिले धेरैले गाईवस्तु पाल्दैनन्, मल थोरै हुने समस्या त छ ।’ उनले भने, ‘अन्य बाली उत्पादनका लागि जस्तो कोदोलाई धेरै मल आवश्यक पर्दैन, त्यसैले मलको अभाव छैन ।’

कोदोलाई पहिले उपेक्षा, अहिले प्रवद्र्धन
भदौरे क्लबका अध्यक्ष अनिल गुरुङका अनुसार उनी आफैं सानो उमेरको हुँदासम्म कोदोलाई हेयको दृष्टिले हेरिन्थ्यो । अहिले उनी आफैं कोदोको प्रवद्र्धनमा लागिपरेका छन् । ‘स्थानीय सरकारले सहयोग ग¥यो भने यहाँको कोदो र यसबाट बन्ने परिकार तथा मदिरालाई भदौरे ब्रान्ड बनाउने लक्ष्य हो ।’ उनी भन्छन्, ‘कानुनी विधि र प्रक्रिया पु¥याएर कोदोको मदिरा र परिकारलाई अन्तर्राष्ट्रिय रुपमा लैजानुपर्छ भन्ने हाम्रो भनाई हो ।’ क्लबका अध्यक्ष गुरुङका अनुसार स्थानीय सरकारसँग बसेरै छलफल भएको छैन, तर कोदोलाई भदौरे मात्र नभएर अन्य गाउँमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा छलफलको तयारी हुँदै छ । अध्यक्ष गुरुङका अनुसार अहिलेका धेरै युवापुस्ताले कृषि क्षेत्रमा काम गर्नै चाहँदैनन्, या त उनीहरुलाई सहर झरेर सुखसयलको जीवन बिताउनुपर्छ या रोजगारीका लागि विदेश गएर त्यतैको पिआर लिएर बस्नुपर्छ । यस्ता विविध कारणले कोदो फलाउने जनशक्ति गाउँमा कम हुँदै गएको उनले अनुभव गरेका छन् । युवापुस्तालाई उनको सुझाव छ, रोजगारी र शिक्षाका लागि अन्य ठाउँमा जानुपर्ने भए पनि गाउँका खेतबारी सकेसम्म बाँझो राख्नुहुन्न ।

यहाँका स्थानीयको सोंच भदौरेको कोदोलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनु हो । पुरै गाउँमा ठ्याक्कै यति परिमाणमा कोदो उत्पादन हुन्छ भन्ने हिसाब यहाँका स्थानीयले राखेका छैनन् । यहाँका स्थानीयको चिन्ता भन्नु नै जनशक्ति अभावमा कोदो उत्पादन घट्छ कि भन्ने हो । युवापुस्ता गाउँमा नहुनु र रैथाने बाली कोदोको उत्पादनमा ध्यान नदिनुले उनीहरु चिन्तित देखिन्छन् । धेरै युवा गाउँभन्दा बाहिर बस्छन्, कोही अवसर र रोजगारीको खोजीमा विदेशिएका छन््, कोही सहर झरेका छन् । केही गाउँमै रहेकाले रैथाने बाली कोदोको प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच राखे पनि चिन्ताको विषय बाँकी नै रहेको भदौरे आमा समुहकी उपाध्यक्ष बुद्धिसुब्बा गुरुङले बताइन् । पहिलेभन्दा अहिले उत्पादन घट्दै गएको उनको बुझाई छ । ‘हामी बुढाबुढी भयौं, अहिले धेरै जना विदेश या सहर बस्छन्, कतै कादो रोप्ने चलन हराउने हो कि भन्ने चिन्ता लाग्छ,’ उनी भन्छिन् ।

कोदो प्रवद्र्धनमा सरकारको ध्यान
गाउँमै रहेका थोरै युवा मध्येका भदौरेका विश्वदल गुरुङ एक हुन् । भदौरे क्लबका उपाध्यक्ष समेत रहेका विश्वदलले कोदोको परिकारको विषयमा धेरैलाई जानकारी नभएको पाएका छन् । ‘यसको परिकारबाट मानिसलाई आवश्यक पर्ने पौष्टिकता प्राप्त गर्न सकिन्छ भन्ने जानकारी नभएको पाएको छु ।’ उनले भने, ‘केही गाउँले मात्रै होइन, कोदोको महत्वका विषयमा सरकारले प्रचार गर्नुपर्छ ।’ उनी आफैं युवापुस्ताका प्रतिनिधि हुन्, त्यसैले उनलाई लाग्छ, युवापुस्ता कोदोको प्रवद्र्धनका लागि एकजुट हुनुपर्छ । सहरका रेष्टुरेण्टमा अहिले कोदोको ढिडो खोज्ने प्रचलन बढिरहेकोमा भने उनलाई खुसी लाग्छ । बिस्तारै कोदोको महत्वका विषयमा जानकारी पाउने क्रम जारी रहेकाले यसको उत्पादनमा ध्यान दिनुपर्ने समय आएको र युवापुस्ताको भूमिका महत्वपूर्ण हुनुपर्ने उनलाई लाग्छ । सरकारले कोदो उत्पादन गर्ने कृषकलाई ध्यानमा राखेर सहयोग गर्न सकेको अवस्थामा उचित हुने क्लबका उपाध्यक्ष गुरुङको बुझाई छ । युवापुस्ता र सरकार देश निर्माण र नेपाललाई कृषिको क्षेत्रको रुपमा विकास गर्ने मेरुदण्ड भएकाले उनीहरुको मिलेमतोमा सम्भव हुने उनले देखेका छन् । ‘सुरुमा युवापुस्ता कोदो उत्पादन वृद्धि गर्न एकजुट भएर लाग्नुप¥यो, सकेसम्म खेतबारी बाँझो हुन दिनुभएन ।’ उनले भने, ‘यसमा सरकारले साथ र सहयोग दिनुपर्छ, अनि खाद्यान्नमा नेपाल आत्मनिर्भर बन्न सक्छ ।’

 

२०८०, ११ पुष बुधबार ०६:५९
कथालिका नयाँ कथा
कथालिका