शहर झरेकालाई पनि गाउँ फर्काउने ‘बाजेबजै’ पूजा – कथालिका

शहर झरेकालाई पनि गाउँ फर्काउने ‘बाजेबजै’ पूजा

जति सुन्दर छ नेपालको प्रकृति, उस्तै विविधताले भरिपूर्ण छ संस्कृति पनि । यहाँका फरक–फरक जातजातिको संस्कार र संस्कृति अनुपम छ । हरेक भूगोलका भिन्न–भिन्न जातजातिको आ–आफ्नै चालचलन, संस्कृति, रीतिरिवाज, परम्परा तथा भेषभुषा छन् । यही पहिचान र विशेषताले नेपाल विश्व मानचित्रमा अरु मुलुक भन्दा फरक रुपमा स्थापित छ ।

मगर समुदाय, उदार र अनुपम संस्कार संस्कृतिले धनी जाति हो । जसको आफ्नै परम्परा, संस्कृति, रीतिरिवाज तथा भेषभुषा छ । यसमध्ये मगर समुदायको ‘बाजेबजै पूजा’ तथा कतै ‘ठूलो पूजा’ गर्ने प्रचलन ऐतिहासिक र भिन्न संस्कृतिको रुपमा स्थापित छ । यो परम्परा अनुसार पुजा गरिदाँ मगरको देउता तथा पितृ खुसी हुने जनविश्वास छ । मगर समुदायबिच प्रचलित यो पुजालाई रुकुम रोल्पातिरको भेगमा ‘बजु पूजा’का रुपमा पुजा गर्ने संस्कार कायमै छ ।

‘बाजेबजै’ पूजाको समुदायगत श्रुति कथन
‘बाजेबजै’ पूजा गरिने चलन स्याङ्जाको चापाकोट नगरपालिकास्थित डिसिङकोटबाट सुरु भएको किम्बदन्तीका अनुसार मानिन्छ । केही पाका पुराना स्थानीयका अनुसार डिसिङकोटको एउटा घरका बाजेबजै आफै अलप भएका थिए । पछि घरमा आएर नातिनातिनालाई खेलाउने, दुःख दिन थालेकाले सन्ततीलाई चिन्ता हुन थाल्यो । आफ्नै बच्चासँग प्रश्न गर्दा उनीहरुले हामीलाई हेर्न र खेलाउन बाजेबजै आउनुहुन्छ भन्ने अनौठो जवाफ दिए । बच्चाको कुरा झट्टै विश्वास गरिहालेनन्, बरु त्यसको यथार्थ बुझ्न एकदिन लुकेर छोराबुहारीले घरको कुनाबाट चियाए । त्यसबखत साँच्चै छोराबुहारीले बाजेबजैलाई नातिनातिनासँग खेलेको, उनीहरुलाई नियालिरहेको देखे । बाजेबजैका छोराबुहारीले प्रत्यक्ष यो घटना देखिसके पछि गाउँलेलाई भेला पारेर के गर्ने भन्ने जिज्ञासा राखे । पछि गाँउलेले झाँक्री राखेर बिधिवत् रुपमा समाधान गर्नुपर्छ भन्ने सल्लाह दिए । प्रचलित किम्बदन्ती अनुसार डिसिङकोटमा झाँक्री राखियो । सोही बेला झाँक्रीले बाजेबजैसँग तिमीलाई के आवश्यक प¥यो र आएका हौ भन्ने प्रश्न गर्दा हामी नातिनातिनालाई हेर्न र खेलाउन मात्रै आएका हौं, केही गर्दैनौ, मात्र एक जोडी भाले पोथी र कालो बंगुर भोग दिनु भन्ने जवाफ आएको कथन छ । त्यसयता बाजेबजै पूजा सुरु भएको मानिन्छ ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.केशरजंग बराल मगर बाजेबजै पूजालाई स्थान अनुसार फरक–फरक नामले सम्बोधन र मान्ने गरेको बताउँछन् । उनका अनुसार विशेष गरी यो पूजा गण्डकी प्रदेशमा प्रचलित छ । उनले यही पूजाको विषयमा आफैले लेखेको ‘पाल्पा, स्याङ्जा र तनहुँका मगरहरुको संस्कृति’ किताबमा समावेश समेत गरेका छन् । स्याङ्जा र तनहुँमा जस्तो भव्य तरिकाले अन्य स्थानमा यो पूजा नगरिने बताए । ‘मगर समुदाय रहेका हरेक स्थानमा यो पूजा गरिन्छ, तर यसको उच्चारण फरक–फरक तरिकाले गरिन्छ ।’ उनी भन्छन्, ‘स्याङ्जा र तनहुँका मगर समुदायले बढी भव्य रुपमा पूजा गरेको देखेको छु ।’ मगर प्रकृतिपुजक हुन् र उनीहरुले रुख, पानी, ढुंगालाई पुज्ने गर्छन् सदियौंदेखि । प्रा.डा.बराल मगरलाई पनि यो कुरा साँचो लाग्छ । उनले डिसिङकोटको बाजेबजै बाहेक यो पूजा पुर्खालाई सम्झिएर गरेको देखेका छन् । यो पूजामा भाले बाजे र पोथी बजैलाई भोग दिइने गरेको उनले बताए । ‘ठ्याक्कै कहिलेबाट यो पूजा सुरु भयो भन्ने लिखित इतिहास छैन ।’ विभिन्न खोजबाट यही कुरा पत्ता लागेको उनी बताउँछन् । उनका अनुसार डिसिङकोटका बाजेले पाल्पाको पूर्वखोला गाउँपालिकास्थित सिलुवाबाट बयम्बु घर्तीलाई विवाह गरेका थिए । ‘उनीहरुलाई तन्त्र विद्या आउँथ्यो, सोही कारण आफैं अलप भए, त्यसपछि नातिनातिनालाई हेर्न आएका थिए ।’

पुर्खाले आर्शिवाद दिने विश्वास
सहरीकरणको प्रभावले गर्दा गाउँ रित्तिदै गएका छन् । उसैगरी पुराना परम्परागत संस्कार र संस्कृति पनि हराउँदै गएको छ । आधुनिकताको प्रभावले गर्दा यस्ता पुराना संस्कार तथा रीतिरिवाज लोप हुँदै गएका छन् । तर धेरै मगर गाउँमा यो पुजा अझै जिवन्त संस्कृतिका रुपमा छ । गाउँ छोडेर बसाइँ सराइ गएका बासिन्दा समेत यो पूजाका लागि गाउँ फर्किन्छन् । चापाकोट नगरपालिका १ कै चन्द्र कुमारी गाहा मगर आजभोलि प्रायः पोखरा बस्छिन् । यो पूजाका लागि भने उनी गाउँसम्म पुग्ने गरेकी छिन् । ‘उमेरले आफैंलाई आराम गरेर बस्ने समयमा नजा भनिरहेको जस्तो हुन्छ,’ उनले हाँस्दै भनिन्, ‘तर वर्षौंदेखिको परम्परालाई लत्याउन मनले मान्दैन, त्यसैले सक्दासम्म पूजाको लागि गाउँ जान्छु ।’ धुमधामसँग गरिने यो पुजाको मोह नयाँ पुस्ताभन्दा पुराना पुस्तालाई बढी छ । चन्द्रकुमारीका अनुसार यो पुजालाई चापाकोटको डिसिङकोटसँग जोडिएर मात्रै होइन, आफ्नो पुर्खालाई सम्झिने एउटा माध्यम हो । बाजेबजै पूजा गर्दा आफूहरुलाई पुर्खाले आशिर्वाद दिने र चलनचल्ती तथा पुराना कुरालाई विश्वास गर्ने हो भने उनीहरुले परिवारका सदस्यलाई दुःख नदिने चन्द्रकुमारी बताउँछिन् ।

स्याङ्जाकै हरिनास गाउँपालिका ३ बलाम्दी घर भएकी खिना थापा सिञ्जाली मगर पोखरा बस्न थालेको वर्षौं बित्यो । पोखरा आएर बसे पछि उनी उमेरले गर्दा पूजामा सहभागी हुन पाउँदिनन् । तर घरको एक जना सदस्य अझै पनि सो पूजामा सहभागी हुन जान्छन् । ‘विश्वास हो, म अहिले ९० वर्ष पुगें, मैले जान्दाबाटै मेरो बाउ बाजेहरुले पनि यो पुजा गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘कहिलेबाट सुरु भयो थाहा भएन, तर हामीले डिसिङकोटको बाजेबजैको कथा सुन्दै आएका हौं, अहिले पनि पूजामा सहभागी हुन जान्छन् घरबाट ।’ खीनाका अनुसार हरेक गाउँमा पूजा गरिने महिना फरक–फरक भए पनि विधि प्रायः एउटै हुन्छ । यो पूजामा डिसिङकोटको बाजेबजैलाई सम्झिने गरेको उनी बताउँछिन् । खीनाका अनुसार उनको गाउँमा कटुस, खल्लुक लगायतको रुखमुनी ढुंगाको थान (मन्दिर) निर्माण गरेर, सफा सुघ्घर भएर पूजा गर्ने चलन छ । ‘हाम्रो गाउँमा अहिलेसम्म पनि बाजेबजै पूजा गर्दा, सबै देवीदेउतालाई सम्झिएर, डिसिङकोटे बाजेबजैलाई पुजा गरिएको छ, हाम्रो परिवारको रख्खे (रक्षा) गरिदिनुहोला भन्दै पुजारीले फलाक्छन्’ उनले भनिन् । बलाम्दीमा यो पूजा पुस महिनाको सकेसम्म १५ गते गर्ने नभए सोही महिनाको अन्य दिनमा गरिने प्रचलन रहेको समेत उनले बताइन् ।

यो पूजा गर्ने पूजारीले पुजा गर्ने एकदिन अगाडिबाटै खाली पेट बस्नुपर्ने हुन्छ । भोलिपल्ट रातमा पूजा गरिने भएकाले सो समयसम्म केही खान नहुने परम्परागत मान्यता रहिआएको छ । सबै गाउँलेले एकै स्थानमा एकै पटक गर्ने भएकाले भोलि पूजा गर्नुपर्छ भन्ने आजबाटै घर र भान्सा सफा राख्नुपर्ने हुन्छ । पूजाको अघिल्लो रात खाना बाँकी र जुठो भाँडा राख्न नहुने मान्यता छ । साथै सिद्रा (सुकाएको माछा), मसाला पिस्न प्रयोग हुने ढुंगा समेत घरभित्र राखिदैन, सबै चोखोनिस्तो हुनुपर्छ । पूजाको दिन पुजारीले नुहाएर, थानमा मुसुरे कटुसको लिंगो गाड्ने चित्रे भञ्ज्याङ साहित्य सदनका अध्यक्ष रिमबाबु राना मगरले बताए । अनि मात्रै पूजा विधि सुरु हुने उनको भनाई छ । ‘केराको पात सातपत्र गरेर जाम्हान राख्ने, पानी, रक्सी, सिगरेट, सुर्ती चढाउने, बत्ती बाल्ने, तेल वा धुपको धुप हाल्ने, गाउँलेको तर्फबाट पाठो सुंगुर र पोथी कुखुरा वा पाठी सुंगुर र भाले कुखुरा वली दिने प्रचलन छ ।’ उनले भने, ‘व्यक्तिगत रुपमा प्रत्येक घरले भाले र पोथी कुखुरा वली दिइन्छ । छोरा जन्मिएको भए (पुत्र बधाई), घर बनाएको भए थप एक–एक जोडी भाले–पोथी कुखुरा बली दिइन्छ ।’

पूजामा गर्भवती महिला सहित उनका श्रीमान्, महिनावारी भएका महिला, सन्तान जन्माएर न्वारान नगरेका अभिभावक, आफ्नो परिवार वा सन्तानमा कसैको मृत्यु भएमा सामेल गराइन्न, उनीहरु पूजाबाट बर्जित हुन्छन् । बाजेबजै पूजा गरिसकेपछि गाउँलेले ल्याएको भेटी (चामल) मा पुजारीको हक लाग्छ, त्यसैले लिएर जान्छन् । यो बाहेक केही मासु समेत पूजारीका लागि छुट्याइन्छ । बलि दिइएको मासुलाई पुरै घरभित्र लैजान हुँदैन भन्ने मान्यता छ । टाउको, खुट्टा र भित्री मासुलाई जम्मा गरेर पकाएर सबै गाउँले एकजुट भई बाहिरै खाने प्रचलन रहिआएको छ । यो पूजाको लागि गाउँमा नात्ले (परम्परागत रुपमा गाउँमा दिइने बिदा) नै हुन्छ । प्रायः बुधबार र शुक्रबार मात्रै गरिने यो पूजालाई सकेसम्म संक्रान्तिको दिन पारिँदैन । कुनै स्थानमा बुधबार पुजा गरिने हुनाले बुधबारे पुजा समेत भन्ने गरिन्छ । पूजामा विवाह पछि टाढा गएको छोरीचेलीलाई समेत बोलाउनुपर्ने र संक्रान्तिको दिन उनीहरुले नभ्याउन सक्छन् भन्ने सोचले सक्रान्तिमा पूजा नगरिने बुद्धबृद्धा बताउँछन् । हिउँदको समयमा यो पूजा प्रायः मगर समुदायले आयोजना गर्छन् । पूजा पछि प्रसादका रुपमा बनाइएको खाना खाइसकेपछि नाचगान गरेर गाउँलेले रमाइलो गर्ने परम्परा छ ।

नयाँ पुस्तामा भने चासो कम
यो पूजाका विषयमा नयाँ पुस्तालाई भने खासै चासो रहेको पाइन्न । बढ्दो बसाइसराइँ, बलि दिनु हुँदैन भन्ने मान्यता बढ्दै जानु, विदेशिनु लगायतका मुख्य कारण हुन्, यो परम्परागत र सदियौंदेखि चलिआएको पूजाको विषयमा उनीहरुलाई चासो कम, केहीमा पूजाको नाममा बली दिनु हुँदैन भन्ने शिक्षा, चेतना विकसित भएकाले यो परम्परा हराउने हो कि भन्ने चिन्ता भने बढेको छ । नियालेर हेर्ने हो भने युवा पुस्ताले सदियौंदेखि चलिआएको परम्परालाई हाल भुल्दै गएका हुन् कि जस्तो पनि देखिन्छ । यो समुदायका बालबालिकामा समेत बाजेबजै पूजाका विषयमा कम जानकारी छ । शिक्षासंगै विभिन्न बाहनामा बजार झर्नु, विदेशी भूमिमा बासस्थान हुनुले समेत परम्पराहरु हराउँदै जान थालेका छन् । शिक्षाको प्रभाव तथा भगवान्का नाममा पुजा गरिदाँ अरु कसैको ज्यान लिनु हुँदैन भन्ने सोँच युवापुस्तामा बढ्दै गएको छ । त्यसैले पनि बाजेबजै पूजाका विषयमा युवापुस्ता र बालबालिकालाई जानकारी नभएको हो भन्ने बुझ्न सकिन्छ । गाउँमा नै बसेका केही युवालाई भने यो पुजाका विषयमा जानकारी भएको पाउन सकिन्छ । उनीहरुले समेत यो परम्परालाई कायमै राखिरहेका छन् ।

मगर सम्बन्धी अन्वेषक तथा समाजशास्त्री विष्णुकुमार सिञ्जाली मगर बली प्रथालाई कायमै राख्नुपर्छ भन्ने मान्यता नभएको बताउँछन् । पुर्खा र आफ्नो देउताका नाममा खाने कुरा चढाउने भएकाले अन्य चीज समेत चढाउन हुने उनले बताए । त्यसैले बलि प्रथा रहनुपर्छ भन्ने नभएको समाजशास्त्री मगर बताउँछन् । ‘हिजो हाम्रो पुर्खाले माछामासु, मिठोमसिनो खान चाडवाड र यस्तै पुजाआजा कुनुपथ्र्यो, अहिले जस्तो आधुनिकता थिएन । अहिले हाम्रो आधुनिकता भनेको नै फर्म हो, त्यो चाहे पशुपालन होस् या कृषि नै,’ उनले भने, ‘फर्ममा विकसित भइसकेपछि आजको समाजलाई बलि प्रथा आवश्यक भएन, हिजोको दिनमा यो आवश्यक र महत्वपूर्ण थियो होला ।’ आ–आफ्नो इच्छा र चाहना भए पनि आफ्नो पुर्खालाई सम्झिने र पुजा गरेर उनीहरुलाई खाने कुरा चढाउने भन्ने भएकाले अहिले बिस्तारै परिर्वतन हुँदै जानुलाई नराम्रो मान्न नसकिने उनको बुझाई छ । तर पुस्तौंदेखि चलिआएको परम्परालाई भने कायमै राख्नुपर्नेमा उनको जोड छ । ‘आफू जहाँ गए पनि आफ्नो पुर्खालाई सम्झिएर खीर लगायतका खाने कुरा भए पनि चढाएर परम्परालाई जोगाउनु राम्रो हुन्छ,’ उनी भन्छन्, ‘बलि नै दिनुपर्छ भन्ने छैन, नकारात्मक विषयलाई सुधार गर्दै समय सापेक्ष बनाएर लैजानुपर्छ ।’

२०८०, २२ पुष आईतवार ०२:५९
कथालिका नयाँ कथा
कथालिका