भादामा ‘भूमिपुत्र’ले चलाएको घरबास – कथालिका

भादामा ‘भूमिपुत्र’ले चलाएको घरबास

  • भादामा गाउँमा डगौंरा थारु जातिको मात्र बसोबास छ । यसो हुनुमा केही रहस्यमय घटना र कारण छ । यो गाउँमा बाहिरबाट अरु कुनै स्थायी बसोबासका लागि आए अशुभ घटना हुने गरेको छ । तर, छोटो समय घुमघाम गर्न आउने र रमाउनेहरुको संख्या भने बाक्लो छ ।

लुम्बिनी प्रदेशबाट आएकी सरु राना मगर थारु समुदायको परम्परागत परिकार ढिक्री स्वाद मानी मानी खाइरहेकी थिइन् । धनगढी उपमहानगरपालिकाको कैलाली भादा गाउँमा थारु समुदायले चलाएको घरबास (होम-स्टे)मा बस्दाको अनुभव निकै पृथक भएको उनले बताइन् । घरबासमै विहानको खाजा स्वरुप चामलबाट बनाइएको ढिक्री उनी मात्र होइन, आगन्तुक पाहुनाले उसैगरी चियाको चुस्कीसँगै स्वाद मानेर खाइरहेका थिए । बागमती प्रदेशको रामेछापबाट भादा पुगेका युवराज श्रेष्ठ पनि उस्तै मिठासले ढिक्री खाइरहेका थिए । ढिक्री थारु समुदायको विशेष परिकार हो । जो यहाँ पुग्ने पर्यटक, पाहुनाका लागि खाजा नास्ताको रुपमा टक्राइन्छ । यी र यस्तै स्थानीय अर्गानिक स्वादका परिकार, मौलिक संस्कृति सहित स्वागत र आतिथ्यता यहाँको मूख्य विशेषता भएको स्थानीय बताउँछन् ।

थारु समुदाय तराईको ‘भूमिपुत्र’को रुपमा चिनिन्छन् । तिनै समुदायले सुदुरपश्चिम प्रदेशमा होम-स्टे चलाएर आफ्नो समुदायको परम्परागत खानपानको व्यावसायिकरणका साथै मौलिक संस्कार, संस्कृतिको संरक्षण सम्बर्द्धन र पर्यटन प्रवर्द्धनमा सक्रिय र समर्पित देखिएका छन् ।

भादा गाउँको कथा

भादा गाउँ अहिले धेरैका लागि परिचित बनिसकेको छ । लोकप्रिय कार्यक्रम ‘हेर्ने कथा’ले भादाको रोचक भिडियो कथा युट्युव मार्फत सार्वजनिक गरिसके पछि धेरैको नजरमा प¥यो भादा गाउँ । यस गाउँको नाम ‘भादा’ रहनुमा पनि रोचक कथा छ ।

परापूर्व कालमा एक जना थारु गुरुवा भगौती दास भन्ने प्रकाण्ड वैद्ध गुरुबा थिए । उनले यस गाउँमा मानव बस्ती बसाली गाउँलाई व्यवस्थित गरेको हुनाले उनकै नाम भगौतीबाट ‘भा’ र दासबाट ‘दा’ लिएर भादा रहन गएको श्रुति कथन छ ।

यस गाउँमाा अहिले सम्म थारु, त्यसमा पनि डगौंरा थारु जाती बाहेक अरु कसैको बसोबास छैन । सुरुमा जम्मा १३ घर रहेको भादामा अहिले १ सय ८२ घरधुरी पुगेको छ । जहाँ १६ सय ९२ जनसंख्या छ ।

अरु समुदाय स्थायी बास बस्दा ‘अशुभ’

भादामा गाउँमा डगौंरा थारु जातिको मात्र बसोबास छ । यसो हुनुमा केही रहस्यमय घटना र कारण भएको स्थानीय बताउँछन् । यो गाउँमा बाहिरबाट अरु कुनै व्यक्ति, परिवार स्थायी बसोबासका लागि आए कसैको मृत्यु हुने, बिरामी परिराख्ने घटना हुने गरेको छ । जसका कारण पछिल्लो समय त याँ अरु जातिका मानिस स्थायी बासका लागि डराएर आउनै छोडेको स्थानीय बताउँछन् । तर, घुमघाम, यहाँको जीवनशैली, खानपान, संस्कार संस्कृति, सिप कौशल बुझ्न र त्यसमा रमाउन भने छोटो समयका लागि आउने संख्या बाक्लो रहेको स्थानीय अगुवा लक्ष्मीनारायण चौधरी बताउँछन् । ‘भादा गाउँमा चौधरी देउताले बस्न दिन्नन् भन्ने मान्यता छ, केही आएकाहरु पनि दुखद घटना समेत भएकाले अहिले त आउनै डराउँछन्,’ उनले भने ।

दाङको हेकुँली वैवाङ्ग हुँदै आएर जंगलको भगं्रा भएको फाँटमा आएर बस्ती बसाल्दा भगौती दासले अरुको शोषण हस्तक्षेप खेप्न नपरोस् भन्ने हेतुले आफ्नो कुल देउतालाई भाकल गरी तान्त्रिक विद्या लगाएका थिए । हाल सम्म पनि तिनै देउता तथा तान्त्रिक विद्याले अरु जातीको मानिस स्थायी रुपमा बस्न चाहेमा मर्ने वा बिरामी परिराख्ने घटना आफुहरुले समेत देखेको चौधरीले सुनाए । ‘हामीले हाम्रो समुदायको सुख, शान्ति र सुरक्षाका लागि समय समयमा प्राकृतिक भूमि पूजा (जल, जमीन र जंगल)को गर्छौ,’ उनले भने, ‘यसका साथै मौलिकतामा आधारित संस्कार संस्कृति र कलाको संरक्षणका लागि गाउँबासीले साझा देउथान जगन्नथ्या (जगन्नाथ) भुँईहारको पनि पूजा गर्छौ ।’

सुदुरपश्चिमकै पहिलो होम-स्टे

पर्यटन भ्रमण वर्ष २०११ लाई लक्षित गरेर भादामा सुदुरपश्चिममै पहिलो पटक घरबास (होम-स्टे) स्थापना गरिएको थियो । यस क्षेत्रमा रहेको मौलिक पहिचानका कला संस्कृतिको संरक्षण, स्थानीय पर्यटकीय सम्भावनायुक्त स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले होम-स्टे सञ्चालन गरिएको घरबास सञ्चालक पुनाराम चौधरी बताउँछन् । भादामा सबै भन्दा व्यवस्थित र ठुलो संख्यामा राख्न सकिने होमस्टे उनैको छ । जहाँ एक रातमा २० जना सम्म राख्न सक्ने क्षमता छ ।

भादा गाउँमा अहिले २० होम स्टे छन् । जहाँ एकरातमा १ सय जना सम्म राख्न सक्ने क्षमता छ । साधारण खानपान गर्ने गरी यहाँ जाँदा जम्मा १ हजार, १२ सय भए पनि पुग्ने सञ्चालक पुनाराम बताउँछन् ।

यहाँको होमस्टेमा आउने पाहुनालाई हार्दिकतापूर्वक स्वागत सत्कार सहित स्थानीयले आलोपालो अनुसार घरमा राख्छन् । दिनभर घुमघाममा रमाउने पर्यटक पाहुनाहरुलाई बेलुकी पारिवारिक वातावरणमा थारु भान्साका स्थानीय परिकार र फरक संस्कार संस्कृतिका नाँचहरु समेत देखाइने चौधरीले बताए । सखिया नाँच, झुमरा, मघौटा, लठौह्वा, बैठक्की, मुंग्रहुवा, गुरुवा नाच यहाँको मौलिक हो ।

डगौंरा थारु जातिको मौलिक लठी नाच आगन्तुक पाहुनालाई देखाउने क्रममा । तस्बिरः कथालिका

यहाँको वेहडा बाबा मन्दिरमा आफ्नो कुल देउताका रुपमा पुज्न हजारौंको संख्यामा भारतीयहरु वर्षेनी आउने गर्छन् । भारत, चीन, अमेरिका, जापान, फ्रान्स लगायतका देशबाट पनि बाह्य पर्यटक आउने गरेको पुनारामले बताए । यस क्षेत्रको जोगिन्या ताल, वेहडा बाबा मन्दिर, रामेश्वर मन्दिर, महदेवा महदेवा ताल, कुईलहुवा कोईलही ताल लगायत पैदल यात्रा गाउँ नदि, देउथान डाँडामा रमाउन सकिन्छ । भादा दगौरा थारु जातिको सिप कला, संस्कार सस्कृतिको उद्गम स्थल हो ।

‘अहिले पनि पर्यटक पाहुनाहरुको आवागमन नियमित जस्तो त गरेको छ । पहिले एकदम राम्रो थियो, कोभिड र आर्थिक मन्दीको कारणले अहिले धेरै कम भएको छ,’ होमस्टे सञ्चालक चौधरीले भने, ‘घरबासमा आउनेहरुलाई प्याकेजमै प्रायः खुवाउँछौ, एउटा लोकल कुखुरा केजीमा काट्यो, पकाएको पैसा ल्याउँछौ, धेरै जनाले असली होमस्टेको अनुभूति गरेर फर्किन पाएको प्रतिक्रिया दिन्छन्, यसबाट हामी खुसी नै छौ ।’

घरबासको स्वादः ढिक्री, घोँघीदेखि थारुको दारु

यहाँको होमस्टको विशेषता भनेकै थारु समुदायको स्थानीय खानपान हो । जो यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, पाहुना सबैले पृथक महुशुस गर्न सक्छन् ।

अण्डिक भात, ढिक्री, खेरिया, बरिया, पन्झझ्रा, अण्डिक रोटी, गेङ्गटा, घोँघी, मुसाको मासु, सुँगुरको मासु, सुटही, झिँगा, माछा, चरङ्गी, सिधा, सिन्की, महुवाको दारु, अण्डिक झोल (निघार), छबुवा जाँड, चामलको दारु यहाँको खानपान हो ।

डगौंरा थारु जातिको विशेष परिकार ढुक्री । तस्बिरः कथालिका

यही बिभिन्न स्वादका खानाका परिकार र लोकल मदिरा (महुवा), जाँडको झोल, छाङ आगन्तुक पर्यटक पाहुनाले निकै रुचाउने गरेको भादा गाउँ पर्यटन विकास तथा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए ।

यसरी पुग्न सकिन्छ थारु होम-स्टे

भादा गाउँ अचेल धेरैका लागि खोजी र गन्तव्यको विषय बनिसकेको छ । यसर्थ, यहाँ पुग्ने पर्यटक पाहुनाका लागि सोधखोज गरे पनि गन्तव्य देखिने देखाउने धेरै विकल्पहरु छन् । भादा गाउँ थारु होम-स्टे पुग्न बिभिन्न मार्ग छन् । महेन्द्र राजमागको चौमाला गाविसको राजिपुरबाट दक्षिण ७ किमिको दुरीमा छ भने चौमालाको झिल चौराहाबाट दक्षिण बेहडा बाला मन्दिर हुँदै १२ किमीको यात्रामा पुग्न सकिन्छ ।

यसैगरी, धनगढी उपमहानगरपालिकादेखि पूर्व बेली पूलबाट उत्तर उर्मी, उर्मा गाउँ हुँदै भादा गाउँ सम्म १७ किमीको दुरीमा पुग्न सकिछ ।

सुदुरपश्चिमकै सम्भावनाः एक उत्कृष्ट ‘पर्यटकीय गन्तव्य’

भादा पर्यटन, घरबास, मौलिक संस्कार संस्कृति, जीवनशैली धेरै हिसाबले प्रचुर सम्भावनायुक्त गाउँ छ । यसका लागि सडक र पर्यटन पूर्वाधारको विकास गर्न भने जरुरी देखिएको भादा गाउँ पर्यटन विकास तथा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए ।

‘सुदूरपश्चिमको विकासका लागि कृषि र पर्यटनको विकास नै मुख्य आधार हो, त्यसमा होम स्टे मार्फत स्थानीयको आयआर्जनदेखि पर्यटन प्रबद्र्धनमा ठुलो योगदान हुन सक्छ, यसका लागि तीन तहको सरकारले विशेष सहयोग र भूमिका खेल्नुपर्छ,’ चौधरीले थपे ।  थारु समुदायको परम्परा, संस्कृति, खानपान, भेषभूषा, सीप, कला, प्राकृतिक सम्पदाको संरक्षण र स्थानीय स्वरोजगार तथा थारु जातिको पहिचान पर्यटन व्यवसायमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकेमा सुदुरपश्चिमकै एक गन्तव्य भादा बन्न सक्ने उनको भनाई छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय कार्यक्रमको शिलशिलामा पहिलो पटक भादा गाउँ पुगेका सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री कमलबहादु शाहले थारु समुदायको मात्र बस्ती रहेको भादाको पर्यटन विकासका लागि होमस्टे एक महत्वपूर्ण आधार बन्न सक्ने बताए । ‘यो प्रदेश धेरै हिसाबले पछाडि छ, हामी योजनाबद्ध रुपमा यसलाई अघि बढाउन प्रयासरत छौ,’ मूख्यमन्त्री शाहले भने, ‘यहाँको होमस्टेको विकास र प्रबद्र्धनका लागि म गम्भीर छु, तपाइँहरु ठोस योजना लिएर आउनुस्, के गर्न सकिन्छ, यस होमस्टे सहित सुदुरपश्चिमको पर्यटन प्रबद्र्धन र विकासमा प्रदेश सरकार हातेमालो गर्न तत्पर र दृढ छ ।’

२०८०, ९ माघ मंगलवार ०५:२६
कथालिका नयाँ कथा
कथालिका