तिस वर्षदेखि रुचाइएको नौडाँडाको ‘अर्गानिक स्वाद’ – कथालिका

तिस वर्षदेखि रुचाइएको नौडाँडाको ‘अर्गानिक स्वाद’

  • ७४ वर्षीय केसी दम्पत्तिलाई अहिले लाग्छ, ग्राहकले ३० वर्षभन्दा बढी समयदेखि निरन्तर रुचाउनु भनेको स्वाद मिठो भएरै हो । उनीहरु एक स्वरमा भन्छन्, ‘हाम्रो त अब उमेर भइसक्यो, अरुले छोराछोरीलाई सम्पत्ति दिन्छन्, हामी यही व्यवसाय र संस्कार दिएर जान्छौ।’

उमेर उकालो लाग्दो छ । बल बैंश घट्दो छ । अबको यो समय आराम गरेर बिताउने भन्ने उनलाई राम्ररी थाहा पनि छ । परिवारका सदस्यले पनि उनलाई आराम गरेरै बस्न सुझाउँछन् । शरीरले पनि अब आराम गर्नुपर्छ भनिरहेको जस्तो लाग्ने गरेको उनी सुनाउँछन् । तर, मान्दैन उनको मन । आफ्नै मनले आदेश दिएर भन्छ, ‘आराम होइन काम गर ।’

त्यसैले त ७४ वर्षको उमेरमा पनि इन्द्रबहादुर केसी आफैले सुरु गरेको भान्सा घरमा सेवा र पाककलामा सघाउन तत्पर भइरहन्छन् । घरमा दिनभरी सुतेर बस्नुभन्दा आफैले सञ्चालन गरेको व्यवसायमा थोरै पनि सेवा र सहयोग गर्नुमा आनन्द मिल्ने उनी बताउँछन् । उनी भन्छन्, ‘परिवारलाई सहयोग हुने र शरीरलाई चलायमान बनाउँदा स्वस्थ पनि भइने, त्यही भएर खत्राकखुत्रुक काम गरिरहन्छु, केही न केही काममा अल्झिरहन मन लाग्छ ।’ इन्द्रको जाँगर, समर्पण र परिवारको साथ नहुँदो हो त उनले सुरु गरेको यो भान्सा घर उहिल्यै बन्द भइसक्थ्यो होला । अहिले भान्सा घर सञ्चालनमा उनकी श्रीमती र छोराछोरीले साथ दिइरहेका छन् ।

कास्कीको नौडाँडा पुग्ने बित्तिकै करिब १०,१२ पाइला सडक छेउमा हिँडिसकेपछि एउटा खरको छानो भएको घर आउँछ । सडक भन्दा माथिपट्टि रहेको यो घरमा भान्साघर सञ्चालित छ । नेपालीमा एउटा उखान चर्चित छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ यो उखान यही भान्साघरका लागि ठ्याक्कै मेल खान्छ । माटोले लिपिएको, खरले छाएको साना घरको बाहिरी आवरण हेर्दा जो कोहीलाई लाग्छ, यहाँ त्यस्तो के नै पाइन्छ र ?

जब पहिलो आगन्तुक पाहुनाले भान्सा घर खोल्न सुझाए

इन्द्र कास्कीकै नौडाँडामा जन्मिए, त्यही हुर्किए । अन्य स्थानमा जान मन पनि लागेन । उनी हिँड्ने गोरेटो सडकमा परिर्वतन भयो, सडकमा गाडी गुड्न थाले । परिर्वतनको मोहले उनलाई कहिले छुन सकेन । त्यसैले आफ्नो व्यवसायलाई पनि आफ्नै घरमा निरन्तरता दिए । नजिकै पोखरा सहर थियो, धेरै जना त्यहाँ झर्दा उनलाई कहिले बजारको मोहले तानेन । हुन त उनी बसिरहेको बासस्थान पनि सहर बनिसकेको छ अहिले । तर, उनलाई पहिलेको गाउँघर निकै याद आउँछ रे ।

इन्द्रबहादुरले आफ्नो उमेरमा करिब १६ वर्ष नेपाली पुलिसमा काम गरेका थिए । यसै पनि आर्मी र पुलिसलाई फगत घरमा बस्न मन लाग्दैन । उनलाई पनि घरमा बसिरहँदा के गर्ने कसो गर्ने भइरहन्थ्यो । पुलिसको पेन्सनले मात्रै घर खर्च नपुग्ने लगायत कुरा सोचिरहँदा इन्द्रलाई घरमा यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यस समयमा अहिले जस्तो सडकमा खासै गाडी गुड्दैनथ्यो । पाहुना भगवान् बराबर हुने सोच थियो । एकदिन पोखराबाट केही व्यक्ति उनको घरमा पुगे । त्यही बेलामा उनले घरमा आएका पाहुनालाई चिकेनका यस्तै परिकार बनाएर खुवाए । उनको खाना बनाउने तरिका र स्वादलाई उपयोगमा ल्याउन इन्द्रलाई ती पाहुनाले आग्रह गरे । उनले ती पाहुनाको नाम त भुले तर यो उनले दिएको सुझाव भने लागू गरे । यो ३० वर्ष भन्दा अगाडीको कुरा हो । घर सल्लाह गरिसकेपछि यसलाई व्यवसायका रुपमा अगाडि बढाएको इन्द्र बताउँछन् ।
यति लामो समयसम्म एउटै व्यवसायलाई निरन्तरता दिनु इन्द्र र उनको परिवारका लागि सहज थिएन । ‘हिम्मत नहारेर काम गर्न सके लामो समयसम्म टिक्न सकिने रहेछ,’ इन्द्र भन्छन् ।

मुख्य विषेशता: चिकेनका चार परिकार

हुन त यसलाई इन्द्र र उनको परिवारले यो भान्साघरलाई ‘वान चिकेन, फोर आइटम रेष्टुरेण्ट’ नाम दिएका छन् । पहिले यो नाम थिएन । नाम नहुँदा पनि उनीहरुको भान्साघरमा खान तथा खाजा खान सुनेको भरमा ग्राहक पुगिरहन्थे । यहाँ खाना टिपिकल नेपाली पाइन्छ । सहर–बजार, बाटोमा भेटिने होटल तथा रेष्टुरेण्ट लगायतका स्थानमा विदेशी खाना भेटिन्छन् । मेन्युमा नेपाली भन्दा विदेशी खाना राखिएका हुन्छन् । टिपिकल नेपाली खाना भेट्न अचेल मुस्किल हुन्छ, त्यो पनि पुरानो अनि नेपाली तरिकाले बनाइएको खाना पाउनु झनै कठिन छ ।

तर, इन्द्रको यो रेष्टुरेन्टमा अर्गानिक नेपाली खाना मात्रै पाइन्छ । यहाँको मुख्य विषेशता भनेको कुखुराका परिकार बाहेक अन्य खानाको परिकार नपाउनु हो । यसको मतलब मासु मात्रै पाइन्छ भन्ने होइन । मासुका परिकारसंगै अर्डर गरेको खण्डमा खाना बनाएर खुवाउँछन् । कुखुराको मासुबाट बन्ने ४ थरिका परिकार यहाँ पाइन्छ । कुखुराको परिकार मन पराउनेका लागि उनको यो रेष्टुरेण्ट उत्कृष्ट स्थान हो । पोलेको चिकेन, चिकेन छोइला, चिकेन ग्रेभी र चिकेन सुपसहित चार वटा परिकार पालैपालो दिइने यो रेष्टुरेण्टको स्वाद अन्य रेष्टुरेण्टको भन्दा भिन्न र मिठो हुने गरेको ग्राहक बताउँछन् ।

अन्तरजातिय बिहे र ३० वर्षको व्यवसाय कथा
घरमा उनलाई श्रीमतीले साथ दिइन् । पेन्सनले मात्रै नपुग्ने भएपछि श्रीमती लालकुमारी केसीले श्रीमानको कुरामा होस्टेमा हैँसे मिलाइन् । त्यो समयमा इन्द्रले नेवारकी छोरी लालकुमारीसंग अन्तरजातीय विवाह गरेका थिए । अहिले त अन्तरजातीय विवाहलाई राम्रो नमान्ने समाजमा त्यो समयमा समाजलाई लत्याएर अन्तरजातीय विवाह गर्नु ठूलो चुनौतीको विषय थियो । समाजले कुरा काटे, नराम्रो नजरले हेरे । तर परिवारले इन्द्र र लालकुमारीको साथ छोडेनन् । समाजसंग लडेर आएकाले होला लालकुमारीलाई जस्तो अवस्थामा पनि श्रीमानको साथ दिनुपर्छ भन्ने थियो । इन्द्रको कुरामा सहजै राजी भइन् ।

अनि सुरु भयो उनीहरुको रेष्टुरेन्ट व्यवसाय । ‘कुखुराको मासुको परिकार बनाएर खुवाउँदा खुवाउँदै कति छिटो ३० वर्ष कटिसकेछ, अहिले हामी आफैंलाई अचम्म लाग्छ,’ मुस्कुराउँदै लालकुमारीले भनिन् । यहाँ पुगिसकेपछि अर्डर अनुसारको परिकार बन्ने भएकाले खानाको मुल्य त्यसपछि निर्धारण गरिन्छ । कुखुराको तौल र खानाको परिकार अनुसार मुल्य निर्धारण हुन्छ । लालकुमारीका अनुसार पहिले–पहिले पोलेर मात्रै कुखुराको परिकार दिइन्थ्यो । पछिल्लो समय छोइला, ग्रेभी लगायतका परिकार थप गरिएको हो ।

पाहुना रिझाउन लोकल कुखुरा खोज्दै चाहार्छन् गाउँ
यो ३० वर्षको अवधीमा व्यवसाय गरिरहँदा उनीले धेरै हण्डर खाएका छन्, समस्यामा परेका छन् । तर हरेस खाएनन्, एकनास अगाडि बढिरहे । कुखुराको मासुका यी परिकार बनाउँदा इन्द्रको परिवारले घरमै बनाइएका मर–मसाला प्रयोग गर्छन् । सकेसम्म बजारका खानेकुरालाई टाढै राख्छ खोज्छन् । पहिलेको समयमा उनीहरु आफैंले कुखुरा पालेर पाहुनाका लागि तयार गर्थे । तर, अहिले केही थोरै कुखुरा पाल्न थालेका छन् ।

आफ्नो घरमा भएका कुखुराले पाहुनाका लागि नपुगेको खण्डमा उनीहरु कुखुरा खोज्नै भनेर कास्कीका विभिन्न गाउँसम्म पुग्छन् । ‘अहिले हामीले प्राय धम्पुस लगायतका अन्य गाउँबाट कुखुरा ल्याउँछौं,’ लालकुमारी भन्छिन्, ‘सकेसम्म बजारको खानाबाट टाढै बसौं र पाहुनालाई पनि राखौं भन्ने हो, त्यसैले कुखुरा खोज्न गाउँ–गाउँ चाहार्छौं ।’ उनीहरुको यो रेष्टुरेण्टमा चिकेनका परिकारको स्वाद लिन कोही फोन गरेर पुग्छन् त कोही सुनेको आधारमा पुगिरहेका हुन्छन् । लालकुमारी र इन्द्रका अनुसार त्यहाँ पुगिसकेपछि मात्रै अर्डर अनुसार खाना बनाउने हो । त्यसैले बासी हुन्छ कि भन्ने चिन्ता हुँदैन । ‘हामी ग्राहकको अर्डर र चाहना अनुसार उनीहरुकै अगाडि बनाएर उहाँहरुको सेवा गर्ने हो ।’ लालकुमारी भन्छिन् । लालकुमारीका अनुसार कसैले मासुको परिकारसंगै खाना खान चाहेको खण्डमा उनीहरुलाई लोकल चामलको खाना खुवाइन्छ ।

न अधिक नाफा, न घाटा तर सन्तुष्ट

इन्द्र र लालकुमारीले मिलेर सञ्चालन गरेको यो रेष्टुरेण्ट पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । फाट्टपुट्ट ग्राहक आइरहन्छन्, व्यवसाय राम्रै चलिरहेकै छ उनीहरुको । त्यसैले त नाफा घाटा जे भएपनि व्यवसायलाई ३० वर्षदेखि निरन्तरता दिएका छन् । अहिले इन्द्र र लालकुमारी मात्रै हाइन, घरका सबै जना यही व्यवसायमा लागिपरेका छन् । इन्द्र र लालकुमारीका दुई छोरा रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए । तर सोचेको जस्तो कमाइ गर्न सकेनन्, नेपाल नै ठीक लाग्न थाल्यो उनीहरुलाई । त्यसैले आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सोचेर नेपाल फर्किए । नेपाल फर्किएपछि उनीहरु बुबाआमालाई साथ दिएर यही व्यवसायलाई उकास्न लागिरहेका छन् । सबै परिवार व्यवसायका लागि एकजुट भएकाले सहज भएको जस्तो लालकुमारीलाई लाग्छ । ‘हामी बुढाबुढी, छोराबुहारी, छोरी सबै जना यसैमा लागेका छौं, त्यसैले काम गर्न धेरै सहज छ ।’ उनी भन्छिन्, ‘यसलै हामीलाई सबै दिएको छ, घरखर्च र स्वास्थ्य उपचारका लागि पुगेको छ ।’

भयंकर नाफा उनीहरुले यो व्यवसायबाट कमाउन सकेनन्, घाटा कहिले भएन । घरखर्च चलाउन, बालबच्चा पढाउन र दुःख बिमार हुँदाका लागि पुगिरहेको इन्द्रबहादुर बताउँछन् । त्यसैमा सन्तुष्ट छन् इन्द्र र लालकुमारी । ‘सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टी रहेछ, पुगिसरी भएर पनि चित्त नबुझ्ने, बरु यत्तिमै ठिक छ,’ उनी भन्छन्, ‘खान लाउन र बालबच्चाको पढाइ तथा स्वास्थ्य उपचारका लागि पुगेकै छ, धेरै लोभ किन गर्नु ?’ कहिलेकाही नाफा हुँदा इन्द्र र लालकुमारीलाई अब यो व्यवसायलाई बजारमा विस्तार गर्नुपर्छ भन्ने सोँच कहिले आएन । घाटा हुँदा अब बन्द गर्नुपर्छ भन्ने कहिले सोचेनन्, निरन्तरता दिए लगातार । त्यसैले त जहाँबाट जतिबेला सुरु गरेका थिए, त्यहीँ किसिमको स्वाद र साथले व्यवसाय निरन्तर छ । उनीहरुलाई अहिले लाग्छ, ग्राहकले ३० वर्षभन्दा बढी समयदेखि निरन्तर रुचाउनु भनेको स्वाद मिठो भएरै हो । स्वादबाट ग्राहकलाई तान्न सक्दा खुसीले दंग छन् केसी दम्पत्ति । ‘हाम्रो व्यवसाय भयंकर ठूलो रेष्टुरेण्ट होइन, ठूलै घरमा बनाएका छैनौं, फेरी पनि चलिरहेकै छ,’ इन्द्र भन्छन्, ‘स्वाद जिब्रोमा झुण्डिरहने खालको हुनुपर्छ, अर्गानिक र गुणस्तरमा परिर्वतन हुनु हुँदैन, ग्राहक आइरहन्छन्, यो हाम्रो मेहेनत र विश्वास हो ।’

केसी दम्पत्तिको चाहनाः हाम्रो सेखपछि पनि व्यवसाय यसरी नै चलोस्

समय परिर्वतन भयो, यो संगै व्यवसाय गर्ने तरिका परिर्वतन भए । त्यसैले होला इन्द्र र लालकुमारीलाई लागेको थियो, सायद यो व्यवसायमा अब आफ्नो सन्तानले साथ दिँदैनन्, आफूहरुपछि यो व्यवसाय त्यसै बन्द भएर जाने छ । अहिलेको पुस्ताले सपना ठूलो देख्छन् र त्यसलाई पुरा गर्न लागि पर्छन् । कोही आमाबाबाको व्यवसायलाई थाँती राखेर बिदेसिन्छन् । कोही विदेशमै रमाउँछन्, नेपाल फर्किएर सोही अनुसारको योजना भएको उनीहरुले देखेका थिए । यही वातावरण आफ्नै आँखाले देखिरहेका इन्द्र र लालकुमारीको मनमा यो सोच आउन जायजै थियो । तर, ठीक विपरीत उनीहरुको सन्तानले यही व्यवसायलाई रुचाएका छन्, आमाबालाई साथ दिएका छन् । लामो समयदेखिको स्वादलाई कायमै राख्ने कोसिस गरिरहेका छन् । इन्द्र र लालकुमारीको चाहना भनेको आफूहरुको सेखपछि यसरीनै यो व्यवसाय कायमै रहोस् भन्ने हो । ‘छोराछोरीले यो व्यवसायलाई छोड्लान् भन्ने डर थियो, अब त्यो डर रहेन ।’ उनीहरु एक स्वरमा भन्छन्, ‘हाम्रो त अब उमेर भइसक्यो, अरुले छोराछोरीलाई सम्पत्ति दिन्छन्, हामी यही व्यवसाय र संस्कार दिएर जान्छौ, उनीहरुलाई यसले आर्थिक र सामाजिक सुरक्षा देओस् भन्ने चाहना हो ।’

२०८०, १५ माघ सोमबार ०९:१७
कथालिका नयाँ कथा
कथालिका