धनिरामको गोरुः जसले किसानका दुःख बोल्छ – कथालिका

धनिरामको गोरुः जसले किसानका दुःख बोल्छ

  • गाउँमा एक व्यक्तिले हाते ट्याक्टर भित्राए पछि देखिने दुःख, बदलाव, सामाजिक द्वन्द्व लगायतका विषय र सन्देश छ । १ घण्टा १५ मिनेटको यो नाटक अन्तिमसम्म दर्शकलाई बाँधेर राख्न सफल बनेको छ ।

थिएटरको बत्ती निभ्छ, एकाएक देखिन्छ गाउँले परिवेश । गाउँको बस्तीमा प्रायः किसान छन्, कृषि नै उनीहरुको जिउने आधार हुन्छ । त्यो कृषि आधुनिकीकरण होइन, परम्परागत शैलीकै छ ।

कृषिलाई केही हदसम्म सहज बनाउने योजना अनुसार गाउँको एउटा घरमा हाते ट्याक्टर आइपुग्छ, त्यो ट्याक्टर ल्याउने व्यक्ति गाउँकै धनीराम हुन् । धनीरामले गाउँमा केही नयाँ ल्याएका छन्, त्यही नयाँपनले गाउँलेको मनमा कौतुहलता मच्चाएको छ । धनीरामले कृषि पेशालाई सहज र सरल बनाउन गरिरहेको बिभिन्न अध्याय र आयाम ‘पोखरा थियटर’ मा मञ्चन भइरहेको पारिवारिक नाटक ‘धनीरामको गोरु’को कथा सार हो ।

हाते ट्याक्टर र किसानका दुःख

परिवारलाई खेती किसानी गर्न सहज होस् र समयको बचत होस् भन्ने हेतुले ट्याक्टर ल्याएका छन् धनीरामले । यही ट्याक्टर र गाउँले परिवेश वरपर घुमेको यो नाटकले नेपालको ग्रामीण भागमा हुने घटनालाई चित्रण गरेको दर्शक बताउँछन् । ग्रामीण भागमा हुने दुःख, श्रीमान् श्रीमतीको साथ, पारिवारिक माहोल सहित गाउँघरमा छिमेकीबीच हुने सानोतिनो द्वन्द्व, नयाँ कुरा गाउँमा भित्रिएपछि गाउँलेमा देखिने कौतुहलतासँगै मनमा उत्पन्न हुने इश्र्या, रिस र जलनलाई उत्कृष्ट तबरले चित्रण गर्ने कोसिस गरिएको छ ।

नाटकबाट आफूहरुले नेपालमा हराउँदै गरेको गाउँले परिवेश, रहनसहन तथा कृषि पेशाका दुःखलाई दर्शक सामु देखाउने प्रयास गरिएको नाटकका मुख्य कलाकार दिलप्रसाद गुरुङ बताउँछन् । मोफसलमा बसेर नाटकलाई जीवन्त देखाउने आफूहरुको प्रयास जारी रहेको उनको भनाई छ । ‘गाउँले परिवेशलाई मुख्य आधार बनाइएको यो नाटकलाई सकेसम्म समाजसम्म पु¥याउने हाम्रो प्रयास हो,’ उनले कथालिकासँग भने, ‘केही हदसम्म सफल भएको छ भन्ने आशा लिएका छौं ।’ यो नाटक कृषि पेशामा समर्पित किसानहरु जो आधुनिकिरणको पक्षमा छन्, तर यथेष्ट जानकारी नहुँदा उनीहरुले भोग्नुपर्ने दुःख कष्टका विषयमा रहेको उनले बताए । यो पोखरामा नाटकको पुनःउत्थान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाई छ ।

‘पद्माप्रेम थियटर’को पहिलो प्रस्तुति

यो नाटक पोखरामा माघ १८ गतेदेखि मञ्चन भइरहेको छ । जसको आज (शनिबार) अन्तिम शो छ । नाटक धनीरामको गोरुलाई पोखरामा यसै वर्ष स्थापना भएको ‘पद्माप्रेम थियटर’ले आफ्नो पहिलो प्रस्तुतिका रुपमा दर्शक माझ ल्याएको हो । थियटरकी सञ्चालिका तथा नाटककी कलाकार सावित्रा पाठक ‘सबु’ ले नाटकमा ग्रामीण क्षेत्रमा रहेका किसानका वास्तविक कथा दर्शक माझ पु¥याउनु आफूहरुको लक्ष्य रहेको बताइन् । नाटकलाई मनोरञ्जनात्मक तरिकाले अगाडि बढाउन केही व्यंग्यात्मक विषयलाई समेत समावेश गरिएको उनको भनाई छ । नाटक हेर्ने दर्शकहरुले हालसम्म उत्कृष्ट काम भएको प्रतिक्रिया दिएको उनले पाएकी छिन् । ‘अहिलेसम्म नाटक हेरेका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहनुभएको छ,’ उनले भनिन्, ‘यो प्रतिक्रियाले आगामी दिनमा हामीलाई कलाकारिता तथा नाटकको क्षेत्रमा अगाडि बढ्ने हौसला प्रदान गरेको छ ।’

१० दिनदेखि पोखरा थिएटरमा मञ्चन, आज अन्तिम शो

नाटक शनिबारसम्म मञ्चन हुँदैछ । मोफसलमा बसेर कलाकारिता क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने हेतुले कलाकारहरु नाटक प्रदर्शनमा एकजुट भएका छन् । नाटक हेरिरहँदा दर्शकलाई अत्यास लाग्दैन । १ घण्टा १५ मिनेटको यो नाटक अन्तिमसम्म दर्शकलाई बाँधेर राख्न सफल बनेको छ । नाटककी कलाकार शितला अधिकारीले दर्शकको साथ यति धेरै पाइन्छ भनेर आशै नगरेको अनुभव सुनाइन् । ‘नाटकलाई जिवन्त बनाउन हामीले सकेसम्म प्रयास गरेका थियौं,’ उनी भन्छिन्, ‘दर्शकको माया र साथले थप हौसला प्रदान गरेको छ, यो नाटकबाट नसोचेको माया पायौं, त्यसका लागि दर्शकप्रति आभारी छौं ।’

पोखरेली दर्शकको दरिलो साथ र माया पाएको नाटक ‘धनीरामको गोरु’ केदारनाथ पौडेलले लेखेका हुन् भने नाटकको निर्देशन कपिल शर्माले गरेका छन् । धनीरामको रुपमा कलाकार दिलप्रसाद गुरुङको अभिनय छ । उनको श्रीमतीका रुपमा सावित्रा पाठक ‘सबु’ ले अभिनय गरेकी छिन् । अन्य कलाकारको समेत यो नाटकमा सशक्त अभिनय छ । उनीहरुले नाटकलाई जिवन्त बनाएका छन् । नाटकमा शितला अधिकारी, ज्योति हमाल, दिव्य अमृत, सुमन कार्की, रामहरि अधिकारी, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुषाल तथा विभुप्रसाद भुषालको सशक्त अभिनय छ ।

२०८०, २७ माघ शनिबार ०३:४८
कथालिका नयाँ कथा
कथालिका