जसले विश्वलाई रगत दिए तर, आफ्नै जीवन लिए… – कथालिका

जसले विश्वलाई रगत दिए तर, आफ्नै जीवन लिए…

  • १० दिन अघि सम्म नेपाल रहेका उनले रक्तदान सम्बन्धी बिभिन्न सचेतनामूलक अभियान सहभागिता जनाएर रक्तदान गर्न उत्प्रेरित गरिरहेका थिए ।

विश्व रक्तदाता अर्जुन मैनाली (५६), जसले विश्वभरमा आफ्नो शरीरको अमूल्य १ सय २ लिटर रगत दान गरिसकेका छन् । उनको प्रेरक जीवन कथाको स्टोरी कथालिकामा प्रकाशनको संघारमा थियो ।अप्रकाशित स्टोरीको शीर्षक दिइएको थियो–‘जसले रगत दिए, रगतकै लागि पृथ्वीको फन्को मारे’ । दुर्भाग्य, स्टोरी प्रकाशन गर्ने क्षणमा एकाबिहानै उनै मैनालीको लामो निराशाजनक स्टाटस आयो । स्टाटस मात्रै होइन, केही घण्टामै स्तब्ध बनाउने ‘आत्मदाह’को दुखद खबर तथ्य बनेर आयो । यसले सिंगो देश र विश्व निःशब्द भइरहेको छ । विश्वभर रक्तदान र परोपकारी जीवनका बारेमा प्रेरणादायी उत्प्रेरणा दिँदै आइरहेका मैनालीको यति अप्रिय खबर आउला भन्ने न त कथालिकाकर्मीले सोचेका थिए, न त अरु अभियन्ता, आमनागरिकले नै सोचेका थिए । अन्ततः मैनाली उनकै शब्दमा आफ्नैहरुको दुर्बचनका कारण अमूल्य जीवन त्याग गर्ने बाध्यता र बिन्दुमा पुगे र, कर्मथलो अमेरिकाकै नर्थ क्यारोलिनामा भाडामा लिइएको प्राइभेट गाडी भित्रै जलेको अवस्थामा शब फेला परेको छ ।

कथालिकाले उनी केही दिन अघि मात्रै नेपाल आएको बखत कुराकानी गरेको थियो । सरस्वती क्याम्पसको समाजशास्त्र विभागले गत माघ २० (२ फेब्रुअरी) मा मार्टिन चौतारीमा गरेको रक्तदानबारेको सामाजिक बुझाई विषयक अन्तरक्रिया र त्यसपश्चात मैनालीसँग गरिएको कुराकानीमा आधारित फिचर । जुन सम्भवतः उनको जीवनको अन्तिम मिडिया अन्तरंग हो ।

२०६ पटक रक्तदान, ७ सय बढी बिरामी लाभान्वित

काभ्रेपलाञ्चोकको दुर्गम गाउँ कोटथुम्का सिपालीमा जन्मिएका अर्जुन मैनाली तिनै पात्र हुन्, जसले आफ्नो युवाकालीन उमेरमै २ सय ६ पटक रक्तदान गरिसकेका छन् । स्वयंसेवी रुपमा निरन्तर रक्तदान गरेर विश्व समुदायमा उदाहरणीय र प्रेरक रक्तदाताका रुपमा परिचित छन् । उनले गरेको रक्तदानबाट ७ सय बढी बिरामी प्रत्यक्ष लाभान्वित भइसकेका छन् । हरेक पटक रगत, प्लेटलेट्स दान गर्नका लागि फाराम भर्न र स्वास्थ्य परीक्षण गर्न खर्चेको समयसमेतको हिसाब किताब जोड्दा यसअवधि सम्म १२ हजार ६ सय घण्टा रक्तदानका लागि उनले बिताइसकेका छन् ।

केही साता अघि मात्रै नेपाल आएका बखत मार्टिन चौतारीको हलमा रक्तदानबारे प्रवचन दिएका मैनालीले रगत दान गर्दाको आनन्द र सन्तृष्टि पृथक रहेको बताएका थिए । ‘रक्तदान र यसका बारेमा नेपाली समाजमा अझै पनि बुझाईमा संकुचन छ, रगत दिएर कोही पनि कमजोर हुँदैन,’ उनले भनेका थिए, ‘मूख्य कुरा मानसिकता र बुझाईको हो, यो कुा हामीले शहर बजारमै पनि बुझाउन सकेका छैनौ, दुरदराजसम्म त यो कुरा पु¥याउनै बाँकी छ । यसमा सरकार,सरोकारवाला निकायले पनि यथेष्ट पहल, कदम चाल्न सकिरहेको छैन ।’

रक्तदानका लागि पृथ्वीको फन्को

कमजोर स्वास्थ्य चेतना भएको एसियाली देश नेपालबाट अर्जुन मैनालीले एक पृथक अभियानको उद्घोष गरे । सन् १९८७ अगष्टदेखि २०२२ सम्म रक्तदानका बारेमा सचेतना फैलाउँदै विश्वका ६ वटा महादीपका २० वटा देशमा पुगे । ‘संसार एक परिवार’ भन्ने भावना बोकेका मैनालीले सन् १०१४ मै ६ वटा देशमा १९ पटक (६ पटक रगत र १३ पटक प्लेटलेट्स) गरी रक्तदान गरेका थिए । जसको ३५ वर्ष लामो निरन्तर रक्तदान र यसबारेको अभियानलाई धेरैले असाधारण र अद्धितीय कर्म भनेका छन् ।

नेपालका साथै अमेरिका, बेलायत, मकाउ, अष्ट्रेलिया, इक्वेडोर, युगाण्डा, इथियोपिया, केन्या, मेक्सिको, भारत, क्यानाडा, बर्मुडा, आयरल्याण्ड, हाइटी, थाइल्याण्ड, रुवान्डा, अजेन्टिना लगायतका देशमा पुगेर समेत उनले रक्तदान गरेका छन् ।

यसरी जाग्यो रक्तदानको रहर

सन् १९८६ ताका नेपाल कमर्श क्याम्पस मीनभवन काठमाडांैंमा प्रमाणपत्र तह अध्ययनरत थिए अर्जुन । त्यही बेला अंग्रेजी पुस्तक जो थोमसको ‘द ब्लड डोनर’ कथा पढे पछि रक्तदानमा आकर्षित भएको उनी बताउँछन् । उक्त पुस्तकले उनको मानसपटलमा गहिरो छाप छोडेको थियो । कथा पढिसके पछि आफ्नो ब्लड ग्रुप कुन होला भन्ने जिज्ञासा जाग्यो ।

मानिसको शरीरबाट रगत झिक्न मिल्छ कि मिल्दैन ? झिके पछि रगत कसरी बन्छ ? लगायतका थुप्रै जिज्ञासा मन जागे पछि यसबारे जान्न बुझ्न थालेको र महत्वबोध भए पछि रक्तदान गर्न थालेको उनको भनाई छ । १९ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेका मैनाली त्यसयता निरन्तर रक्तदानमा समर्पित भइरहे ।

नेपालमा निःशुल्क रक्तदान अभियानका अग्रणी व्यक्तित्व

नेपालमा सन् १९९० अघि बिरामीलाई जोगाउन आफन्तजनले शुल्क तिरेर पेशेवर रक्तदाताबाट रगत किन्थे । अस्पतालमै उपस्थित हुने त्यस्ता पेशेवर रक्रदाता (भरिया)लाई विस्थापित गर्दै आम सर्वसाधारणलाई कल्याणको भावनाले निःशुल्क रक्तदान अभियानमा उत्प्रेरणा जगाउने अग्रणी परोपकारी पंक्तिमा मैनालीको नाम आउने केन्द्रीय रक्त सञ्चारका प्रमुख राम श्रेष्ठ बताउँछन् । ‘एक समय यस्तो थियो कि आफ्नै घर परिवारको सदस्य बिरामी पर्दा परिवारकै सदस्य रगत दिन तयार नहुने थियो,’ श्रेष्ठ भन्छन्, ‘त्यो अन्धविश्वासलाई चिर्न मैनालीलाई त्यसताका देश विदेशका अधिक ठाउँमा पुगेर चेतना फैलाउने र रक्तदानबारेको संकिर्ण बुझाई चिर्न महत्वपूर्ण भूमिका खेल्नुभयो ।’

अब युवाहरुको विदेश पलायन तिब्रतर गतिमा रहेकाले रगतको अभाव अझ बढ्ने तर्फ सबैले समयमै सोच्नुपर्ने बताए । यसका लागि उनले रक्तदान गर्न मिल्नेहरूका लागि उत्प्रेरणा जगाउने कार्यक्रम र एक घर, एक रक्तदाता जस्ता अभियान लिएर समाजमा चेतना अभिवृद्धि गर्न अपरिहार्य भएको औंल्याएका थिए ।

‘कम्तिमा वर्षको एक पटक रक्तदान’

रक्तदान गरेकै कारण कोही व्यक्ति कमजोर हुँदैनन् । ‘कम्तीमा वर्षको एक पटक रक्तदान गरौं’ भन्ने प्ले कार्ड सन्देश बोकेर साइकलयात्रादेखि विश्व सम्मेलनसम्म मैनाली पुगेका थिए । १९९० डिसेम्बर ५ तारिखमा १६ औं पटकको रक्तदान गरेर भक्तपुरबाट देशव्यापी साइकल यात्रा सुरु गरेका थिए । त्यसताका उनी सहित तीन जना सहयात्रीका लागि साइकल, बन्दोबस्तीका सामान जुटाउन ६ महिना लगाएका थिए ।

५८ हजार चन्दा संकलन गरेर ३१ औं दिनमा पूर्वको काँकडभिट्टादेखि पश्चिम बुटवल, पोखरा हुँदै उत्तरी नाका तातोपानी सम्म पुगेका थिए । यसक्रममा उनी नेतृत्वको टोलीले रक्तदान गरेर पनि कडा परिश्रम गर्न सकिन्छ, कमजोर भइदैन भन्ने लगायतका रक्तदानबारे सर्वसाधारणलाई जागृत गराएका थिए ।

रक्तदानसँगै सामाजिक परोपकारमा पनि उस्तै दानी

सन् २००८ मा अमेरिका पुगेका मैनालीले ८ वर्ष कठिन संघर्ष गरेको बताउँछन् । पछि उनी बिमा कम्पनीमा आबद्ध भए । त्यहाँ उनको आम्दानी औसत नेपालीको दाँजोमा थोरै थियो । त्यही आम्दानीको रकम मध्येबाट पनि उनले असहाय, गरिब, दुःखीको सहयोगलाई निरन्तरता दिइरहे ।

आम मानिसलाई रक्तदानमा उत्प्रेरणा दिलाउन ३५ वर्षमा हजारौं माइलको सडक र हवाई यात्रा गरेका मैनालीले अहिले सम्म कम्तीमा पनि १ लाख अमेरिकी डलर अर्थात् नेपाली १ करोड २५ लाख रुपैयाँ हाराहारी व्यक्तिगत रुपमा सामाजिक सेवा र सहयोगमा खर्चिएको कथालिकासँगको कुराकानीमा बताएका थिए । उनको रक्तदानका क्षेत्रमा गरेका योगदानका विषयमा विश्व रक्तदाता नामक पुस्तक समेत प्रकाशित छ । ब्लड डोनर्स एशोसियसन नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा नेपाली, मैथिली, थारु, तामाङ, मगर, लिम्बु, गुरुङ, शेर्पा, संस्कृत र अंग्रेजी भाषामा उपलब्ध छ ।

यसकारण रक्तदानको पवित्र अभियानको पयार्यवाचीका रुपमा उनी संसारभर परिचित छन् । सम्भवतः जनसमुदायलाई उत्प्रेरणा दिन एक गरिब एसियाली मुलुकको सामान्य मानिसले आजको समयमा गरेको कार्य संसारमै असामान्य दुर्लभ सामाजिक कर्म भएको अभियन्ताहरु बताउँछन् ।

कार भाडामा लिएर ‘आत्मदाह’

अमेरिका बस्दै आएका अर्जुन पहिले न्यूयोर्क र अहिले नर्थ क्यारोलिनामा परिवारसहित बस्दै आएका थिए । परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेकोमा छोरीको हालै मात्र विवाह भएको छ भने छोरा सानै छन् ।

मैनालीले आफ्नो मृत्युको कारणमा आफ्नै साला र उनको परिवारलाई दोषारोपण गरेका छन् । जो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् ।

आफ्नो श्रीमतीलाई सम्बोधन गरेर लेखिएको फेसबुक स्टाटसमा मैनालीले ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ लेखेका छन् । यसका लागि आफूले ४ दिन अगाडि सेतो कार भाडामा लिएर आएको स्टाटसमा उल्लेख छ । उनले लेखेका छन्, ‘४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, यो कारमा को आएको छ ? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे, मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पीडालाई शक्तिमा बदल्न भगवान्ले साथ दिउँन् ।’

यस्तो छ आत्मदाह अघिको फेसबुक स्टाटसः

प्यारी श्रीमती तारा,
धेरै धेरै माया

आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०ः१५ बजे तिनिहरुका ९–१० बर्षकी छोरी, १३–१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् ।

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दुःखले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दुःखत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म–धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दुःख सकिदै छ ।

म, तिमी, छोरा–छोरी (अमुन–अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा–छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री प¥यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय !

२०८०, २९ माघ सोमबार ०९:४४
कथालिका नयाँ कथा
कथालिका