करोडको कथाः फराकिलो मन, करोड दान – कथालिका

करोडको कथाः फराकिलो मन, करोड दान

तस्बिरः गलकोट अपडेट

  • करोडौं पैसा,सम्पत्ति भएका त यहाँ हजारौं मानिसहरु छन् । तर, करोड दान गर्ने दुर्लभ छन् । किन त ? यसमा मुख्यतः सोच, संस्कारको कुरा महत्वपूर्ण भएको श्रेष्ठ परिवार बताउँछन् ।

भनिन्छ, ‘दुनियाँमा दानको जस्तो कुनै सम्पत्ति छैन, लोभ जस्तो कुनै अर्को रोग छैन, राम्रो परिचय र स्वभाव जस्तो कुनै आभुषण छैन, र सन्तोष जस्तो अरु कुनै सुख छैन ।’ यी, यस्ता शब्द र वाक्यहरुले चसक्क हुने, लाइक, कमेन्ट र शेयर गर्ने त प्रशस्त हुन्छन् । तर, यही कुरालाई आफ्नो जीवन व्यवहारमा लागु गर्ने पात्र र परिवार भने अहिलेको समयमा दुर्लभ प्रायः छन् । बागलुङको गलकोटमा एक उदार दानी परिवार देखिएका छन्, जसले स्थानीय गलकोट बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनका लागि एक करोड बढी दान गरेर वाहवाही कमाएका मात्रै छैनन्, आर्थिक मन्दीको कठिन समयमा धेरैलाई आश्चर्यचकित तुल्याएका पनि छन् ।

एकै परिवारबाट ‘सरप्राइज’ एक करोड दान

अहिले आर्थिक मन्दीले मानिसहरुलाई यसरी गाजेको छ कि हरेकजसो मानिसले आफ्नो नियमित खर्च समेत खुम्चाएको छ । दान सहयोग दिने कुरा त धेरै कठिन जस्तो भइरहेको छ । यही कठिन समयमा गलकोट नगरपालिकामा गलकोट बहुमुखी क्याम्पसले श्रीमद् भागवत धन धान्याञ्चल महायज्ञ आयोजना ग¥यो । जसमा स्थानीय निर्मला श्रेष्ठले आफ्ना दिवंगत श्रीमान् बद्रिकुमार श्रेष्ठ र बेगमकुमारी श्रेष्ठको नाममा १ करोड ११ हजार १ सय ११ रुपैयाँ नगद दान गरे । दानका लागि उनका अमेरिका रहेका दुई छोराहरु मदनकुमार श्रेष्ठ र पूष्पमान श्रेष्ठ तथा नेपाली सेनामा कार्यरत कर्णेल डा.विपिन श्रेष्ठ र दिलिपकुमार श्रेष्ठ (हार्डवयर व्यवसायी)ले आमाको सोच र निर्णयका लागि दरिलो साथ दिए । यो आयोजकका लागि समेत ‘सरप्राइज’ भएको गलकोट बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दसिहं भण्डारीले बताए । ‘महायज्ञमा या कुनै शैक्षिक संस्थालाई हजार लाखौ रकम त सहयोग भइरहेको हुन्थ्यो । यति ठुलो राशी एकै परिवारबाट प्राप्त हुने कुरा हामीले समेत सोचेको भन्दा बाहिरको कुरा हो, यसका लागि श्रेष्ठ परिवार धन्यवादको पात्र छन्, र सदैव स्मरणीय रहनु हुनेछ,’ उनले भने ।

करोड कमाउने सोच भएका बेला करोड दान कसरी ?

मान्छेहरु त यतिबेला करोड कसरी कमाउने भनेर लागिरहेछन्, तपाइँहरु त एक करोड रुपैयाँ खुल्ला हृदयले दान दिइरहनुभाछ । यो निर्णय कसरी सम्भव भयो ? कथालिकाको प्रश्नमा दाता निर्मला श्रेष्ठका छोरा दिलिप कुमार श्रेष्ठ भन्छन्, ‘मुख्य त सोच, संस्कारको कुरा हो । करोडौं पैसा भएका त यहाँ हजारौं मानिसहरु छन् । तर, हाम्रो बुवा, परिवारले पहिले देखि नै विद्यालयलाई जग्गा दान गर्नेदेखि शैक्षिक, सामाजिक सहयोग गर्दै आएका थियौ, अहिले त्यसलाई नै अलि बृहत रुपमा निरन्तरता दिएका हौ ।’

यति धेरै दान दिने रकमको स्रोत के हो त रु भन्ने प्रश्नमा श्रेष्ठले बुवाको पुख्र्यौली सम्पत्ति देखि आफुहरुको आम्दानीको केही हिस्सा समेत मिश्रित भएको बताए । यसअघि पनि २०३१ सालमा पनि गलकोट उच्च माविलाई श्रेष्ठ परिवारले जग्गा दान गरेका थिए भने क्याम्पसकै हितका खातिर आयोजित धान्याञ्चल महायज्ञमा समेत स्वर्गिय श्रेष्ठ आयोजक समितिको कोषाध्यक्ष समेत रहेर जिम्मेवारी निभाएका थिए । श्रेष्ठ विद्यालय तथा क्याम्पसको संस्थापक सदस्य समेत हुन् ।

दानको ध्येयः धर्म प्राप्ति कि शैक्षिक सुधार ?

श्रेष्ठ परिवारले करोड दान दिनुको कारण धर्म प्राप्तिको अभिलाषा होला कि शैक्षिक गुणस्तर सुधारको अपेक्षा ? यसमा पनि छोरा दिलिपले सन्तुलित जवाफ दिए । ‘धार्मिक महायज्ञ भएकाले धर्म प्राप्त होस् भन्ने चाह पनि छ, त्यो भन्दा बढी त हाम्रै गाउँठाउँको क्याम्पसमा उच्च गुणस्तरको शिक्षा आर्जन गर्ने अवसर यस क्षेत्रका विद्यार्थीलाई प्राप्त हुने बातावरण बनोस् भन्ने हो,’ उनले थपे । आफुहरु सहित स्थानीयको पहल र दान सहयोगबाटै गलकोटमा राम्रो शिक्षा हासिल गर्ने अवसर सिर्जना भए आफुहरु सबै भन्दा बढी खुशी हुने उनको भनाई छ ।

‘बुवाले जुन ठाउँमा योगदान गर्नुभयो, पवित्र शैक्षिक क्षेत्र भएकाले त्यही ठाउँमा सहयोग गरौं भन्ने भएको हो, यस्तो अवसर भोलि नआउन सक्छ । पैसा सम्पत्ति भन्दा पनि योगदानको कृति ररिहोस् भन्ने हाम्रो परिवारको साझा बुझाई र अपेक्षा हो ।

क्याम्पस स्थापनादेखि सञ्चालन सम्म धान्याञ्चलकै भर

पछिल्लो समय गाउँमा होस् या सहरमा सामुदायिक क्याम्पसहरुमा विद्यार्थी संख्या न्यून छ । उसो त क्याम्पस चलाउन आर्थिक अभावले सकस पनि उस्तै छ । आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन हुने अवस्थालाई गाउँमै गुणस्तरीय शिक्षाको अवसर अपरिहार्य छ । यसकै लागि बागलुङको गलकोट बुहुमुखी क्याम्पसलाई समय सापेक्ष स्तरवृद्धि गर्न फागुन ६ देखि १३ गतेसम्म धान्याञ्चल आयोजित थियो । १९ वर्ष अगाडि वि.स. २०६१ सालमा श्रीमद् भागवत धन धान्याञ्चल लगाएर एक करोड ७५ लाख संकलन गरी गलकोट बहुमुखी क्याम्पस स्थापना गरिएको थियो ।

विद्यार्थीलाई गाउँकै क्याम्पसमा आकर्षित गर्न र क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्न आयोजित महायज्ञाबाट १२ करोड रुपैयाँ संकलन भएको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले बताए । महायज्ञमा देश विदेशबाट २० करोड रुपैयाँ संकलन गर्ने अपेक्षा गरिए पनि सबै तिर आर्थिक मन्दी भएकाले लक्ष्यमा नपुगे पनि उत्साहजनक सहयोग भने प्राप्त भएको उनले बताए ।

क्याम्पस सञ्चालनका लागि वि.स. २०७३ सालदेखि गलकोट नगरपालिकाले वार्षिक १० लाख अनुदान उपलबध गराउदै आएको छ । महायज्ञबाट संकलन भएको रकमले क्याम्पसको थप जग्गा व्यवस्थापन गरी संरचना निर्माण गरेर गरिब विपन्न विद्यार्थी तथा उच्च शिक्षाबाट बञ्चित भएकाहरुलाई आवासीय सुविधा दिएर पढाउने र विशेष छात्रवृत्तिको व्यवस्था गर्ने क्याम्पसको योजना छ । हाल क्याम्पसमा २९० विद्यार्थी अध्ययनरत छन् ।

२०८०, १६ फाल्गुन बुधबार ०७:५७
कथालिका नयाँ कथा
कथालिका