ब्युँत्याइयो सहकारी, सुल्झिएन संकट – कथालिका

ब्युँत्याइयो सहकारी, सुल्झिएन संकट

पोखरा तथा बागलुङमा रहेका बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता हुने आशामा सहकारी पुनः ब्युँत्याएका छन् । तर, मुद्दा अदालतमा पुगेको र अरु कानुनी झन्झट देखाएर सरकारले समाधानमा आलटाल गरिरहेको छ ।

संसार विश्वासमा चल्छ, यस्तै लाग्थ्यो पोखरा–५ पस्र्याङकी माया श्रेष्ठलाई । उनले गरेको अन्धाधुन्ध विश्वासले एकदिन आफैंलाई यति धेरै पिरोल्छ भन्ने कहिल्यै सोचिनन्। अहिले मायालाई त्यही विश्वासले धरधरी रुवाइरहेको छ, घर चलाउन हम्मेहम्मे परिरहेको छ ।

देशभरी सहकारी समस्यामा परेको र डुबेको समाचार आइरहँदा उनले एकदिन आफ्नो समस्या समाचार बन्नेछ भनेर कहिल्यै नसोचेको बताउँछिन् । माया आफैंले कृषि पेसा गर्थिन् । श्रीमान पोखराको औद्योगिक क्षेत्रमा रहेको उद्योगमा काम गर्थे । केही समय ट्याक्सी चलाएका थिए । श्रीमान श्रीमतीको कमाईले जेनतेन परिवार चलिरहेको थियो । सन्तानको शिक्षादिक्षा र घर खर्च राम्रै थियो । श्रीमानको जागिर तथा ट्याक्सी चलाएर भएको आम्दानी र आफूले गर्ने कृषि पेसाबाट भएको आम्दानीबाट धेरथोर बचत गरेर पोखरामै जग्गा जोडेका थिए । कृषि पेसा भन्न मात्रै सजिलो तर निरन्तरता दिन श्रीमतीलाई गाह्रो भएको थाहा पाएपछि मायाका श्रीमानले जागिर छोडेर उनैलाई साथ दिएको माया बताउँछिन् ।

फस्यो दुःखले जोडेको घडेरी बेचेको पैसा

पोखरामा भएको इमेज बचत तथा ऋण सहकारी संस्थामा मायाले रकम जम्मा गर्न थालेको यो सहकारी पोखरामा स्थापना भएको वर्षदेखि हो । इमेज सहकारीका म्यानेजर उनकै छिमेकी थिए । म्यानेजरकै भर परेर उनले उक्त सहकारीमा कमाएको सबै रकम जम्मा गरेकी थिइन् । सुरु–सुरुमा सहकारीले आफूलाई आवश्यक परेको बेलामा घरमै पैसा ल्याइदिने गरेको माया बताउँछिन् । ‘मलाई आवश्यक परेको खण्डमा पैसा झिकेर ल्याइदिने र फेरी मसँग भएको समयमा म्यानेजर आफैंले जम्मा गरिदिन्थे,’ निराश मुद्रामा उनले भनिन्, ‘म्यानेजरकै विश्वासमा परेर पसिना बगाउँदै जोगाएको पैसा सहकारीमा जम्मा गरियो, अहिले आफ्नै पैसा पाउन दैनिक हारगुहार, नारा जुलुस गर्नु परिरहेको छ ।’ जब मायाले अन्य सहकारी डुबिरहेको र समस्यामा परेपछि बचतकर्ताको बिचल्ली भएको सुन्थिन्, उनलाई आफूले पनि सोही समस्या भोग्नुपर्ने त होइन भन्ने चिन्ता भने लाग्थ्यो । ‘चिन्ता लागेपछि इमेज सहकारीका म्यानेजरलाई पटक–पटक आफ्नो समस्या सुनाएको हुँ, सहकारी समस्यामा फस्छ कि भन्ने प्रश्न गरेकै हो,’ उनी भन्छिन्, ‘तर उनले जहिले सबै ठीक छ भन्दै टार्थे, अन्ततः आफै सहकारी ठगीको सिकार बने ।’

मायाले सो रकम सन्तानको भविष्यका लागि भनेर जम्मा गरेकी थिइन् । श्रीमानको जागिर र कृषि पेसाबाट जम्मा भएको पैसाले पोखरामा जग्गा जोड्न सफल भइन् माया । सो जग्गा बेचेर मायाले इमेज सहकारीमा राखेकी थिइन् । सन्तानका लागि बचत गरेको पैसा सन्तानलाई आवश्यक परेपछि उनी आफै सहकारीमा रकम झिक्न गइन् । मायालाई छोरीको अध्ययनका लागि अष्ट्रेलिया पठाउनु थियो, त्यसका लागि पैसा आवश्यक प¥यो । जग्गा बेचेको पैसा उनले फिक्स डिपोजिट (मुद्धती) मा राखेकी थिइन् । छोरीलाई विदेश पठाउन भन्दै सहकारीबाट पैसा निकाल्न जाँदा उनले थोरै मात्र पैसा पाइन् । ‘छोरीलाई अष्ट्रेलिया पठाउन पैसा झिक्न जाँदा अहिले दसै÷तिहार लाग्यो, थोरै लैजानुस् भन्नुभयो, मैले उहाँहरुले जति दिनुभयो, त्यति लिएर आएँ,’ उनी भन्छिन्, ‘त्यही पैसाले छोरीलाई अष्ट्रेलिया पठाएको १५ दिन नपुग्दै सहकारीका म्यानेजर पैसा दिनुस् भन्ने आए ।’ एफडी (मुद्धती) को पैसा निकालेकाले उनले २५ लाख फेरि डिपोजिट गरिन् । छोरीको कलेजको केही महिनाको फि मात्रै तिरेर पठाएकी उनले सहकारीमा आफ्नै पैसा माग्न जाँदा नपाएपछि ऋण खोजेर पठाएकी थिइन् । उनको अहिले ब्याज नजोडेर साम मात्रै लाखौं इमेज सहकारीमा डुबेको छ । अहिले उनलाई घरखर्च चलाउन हम्मे परिरहेको छ, ऋण खोज्नुपर्छ । आफन्तले तिखो वाणी बोल्छन्, सहन शक्ति हराउँदै गएको गुनासो गर्छिन् ।

ठगिए मजदुरदेखी बैंकका म्यानेजर सम्म

इमेज सहकारीबाट पीडित बन्ने सूचिमा साना श्रमिक मजदुरदेखि ठुला व्यवसायी, उद्यमी पनि छन् । यसमध्ये एक बचतकर्ता रहेछन् बैंकका प्रबन्धक । आफ्नो पैसा फिर्ता पाइन्छ कि भन्ने हेतुले उनी संघर्ष समितिको बैठक तथा कुनै कार्यक्रम छ भने धाइरहन्छन् । बैंकका म्यानेजर जस्तो व्यक्तिले सहकारीमा लगेर रकम बचत गर्छ भन्ने कुरामा विश्वास गर्नु कठिन छ । यद्यपि, उनले आफूले जागिर गर्ने बैंकमा नराखेर साथीको भरोसा र थोरै भए पनि ब्याज बढी पाउने आशामा पोखराकै इमेज सहकारीमा रकम जम्मा गर्न पुगे । उनको यस सहकारीमा १० देखि १२ लाख फसेको छ । ‘आर्थिक हैसियत राम्रो भएकाका लागि यो रकम सानो होला, तर मेरो लागि मेहनत गरेर कमाएको रकम जम्मा गरेको हुँ, फिर्ता पाउनुपर्छ,’ उनले भने । सहकारीहरु समस्यामा परेको समाचार बाहिरिदा उनी पूर्वमा थिए । एउटा संस्थामा प्रदेश प्रमुख भएकाले उनको सरुवा पूर्वृ भएको थियो । एकदिन खाना खाँदै गर्दा उनले सहकारीमा पैसा नपाएर लाइनमा बसेको बचतकर्तालाई देखे । उनलाई लाग्यो, आफूले जम्मा गरेको सहकारीमा पनि त्यस्तै समस्या भयो भने पैसा फिर्ता नपाइन सक्छ । इमेज सहकारीका म्यानेजरलाई चिनजान भएकाले सोही समयमा उनले फोन गरे । ‘त्यो बेला म्यानेजरले हाम्रो सहकारीमा त्यस्तो समस्या हुँदैन, ढुक्क हुनुस् भन्ने जवाफ दिए,’ ती बचतकर्ताले भने, ‘तर पछि उनीहरुले पैसा दिन सकेनन्, म एउटा कार्यक्रमका लागि बाहिर भएको मान्छे यहाँ आउँदा सहकारी बाहिर आफ्नो पैसा खोज्ने बचतकर्ताको लाइन थियो ।’ इमेज सहकारीबाट पीडित भएकाले संघर्ष समिति गठन गरेर नियमन निकायमा समेत धाइरहेकाले उनलाई आफ्नो रकम फिर्ता हुने आशा भने कायमै छ ।

पोखरा ८ शिवालय चोकका गोपाल लामाले रेष्टुरेण्ट तथा निर्माण सामाग्रीको उद्योग चलाउँछन् । इमेज सहकारीमा बचत गर्न थालेको ६,७ वर्ष भएको थियो । सहकारीमा समस्या छ भन्ने समेत उनलाई लामो समयसम्म थाहा थिएन । यदाकदा सहकारीमा समस्या छ भन्ने समाचार प्रकाशन तथा प्रसारण भइरहेका थिए । तर, आफूले मेहनत गरेर भएको आम्दानी बचत गरेको सहकारी समस्यामा आउला भन्ने उनको मनले रत्तिभर चिताएन । अन्तिम समयमा अध्यक्ष देवकुमार नेपाली भाग्नु भन्दा १०,१२ दिन अगाडि मात्रै इमेज सहकारी समस्यामा रहेको थाहा पाएको उनी बताउँछन् । इमेज सहकारीमा उनले ३० देखि ३५ लाख बचत गरेका थिए । इमेज सहकारीबाट पीडितले अध्यक्ष नेपालीलाई उनी फरार हुनुभन्दा अगाडि भेट समेत गरेका थिए । ‘त्यो बेला हामीलाई नेपालीले मलाई १,२ महिनाको समय दिनुस्, सबै सबस्या समाधान हुन्छ भनेका थिए,’ गोपाल भन्छन्, ‘त्यसको केही दिनमा त उनी नै फरार भए ।’ नेपाली फरार भएपछि पीडितको टोलीले सहकारीका म्यानेजरसँग भेटेका थिए, तर राम्रो प्रतिक्रिया पाएनन् । सोचे जस्तो जवाफ नपाएपछि टोलीले सहकारीका म्याजेजरलाई लिएर प्रहरीकोमा लगेका थिए । प्रहरी प्रशासनले पनि आफूहरुको कुरामा त्यति ध्यान नदिएको लामाको गुनासो छ । ‘त्यो समयमा प्रहरी प्रशासनबाट सहयोग नपाएपछि यसरी एक्लै हिँड्नु भन्दा एकजुट हुनुपर्छ भन्ने भयो, अनि मात्रै हामीले संघर्ष समिति गठन ग¥यौं ।’

बचत फिर्ता गर्ने सञ्चालकको आश्वासन

बागलुङ र पोखरामा रहेको इमेज सहकारीमा कयौं बचतकर्ताको रकम धरापमा परेको छ । कयौं परिवार बिचल्लीमा परेका छन् । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमारी नेपाली अध्यक्ष भएको सहकारी हो इमेज सहकारी । हाल उनी फरार छन् । नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भइसकेको छ । बेला–बेला आफूले आफ्नो निजी सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता दिने विभिन्न सामाजिक सञ्जालमार्फत् बताइरहेका उनी बाहिर भने सार्वजनिक भइसकेका छैनन् । उनीविरुद्ध बचतकर्ताले उजुरी दिए पनि पक्राउ परेका छैनन् । सामाजिक सञ्जालको माध्यमबाट रकम जसरी पनि बचतकर्ताको रकम फिर्ता गर्ने तर त्यसका लागि आफूलाई वातावरण मिलाइदिन सार्वजनिक अपिल भने गरिरहेका छन् । फरार रहेका नेपालीको बोलीमा बचतकर्तालाई त्यति विश्वास छैन, झिनो आशा भने बाँकी छ । आफूहरुको रकम फिर्ता पाउनुपर्ने अडानका साथ सहकारीबाट ठगिएका बचतकर्ताले पोखरा तथा बागलुङमा संघर्ष समिति गठन गरेर आन्दोलित छन् ।

संघर्ष समिति गठन गरेको लगभग ८/९ महिना भयो । समितिको टोली केही उपलब्धी हुन्छ कि भन्ने झिनो आशा सहित नियमन निकाय तथा प्रशासनमा धाइरहेका हुन्छन् । बेलाबेलामा सबै पीडित एकै स्थानमा भेला भएर अब अगाडि कसरी अगाडि बढ्ने र योजना केके छन् भन्ने विषयमा छलफल गर्छन् । भेला भएकाको आखाँमा अब त आफ्नो रकम पाइन्छ कि भन्ने आशा आफूले देख्ने गरेको लामाको भनाई छ । लामालाई आफ्नो रकम अब फिर्ता हुन्छ कि भन्ने आशा छ । उनलाई प्रहरी प्रशासनप्रति भने गुनासो छ । ‘प्रहरी प्रशासन त्यति बेलै नेपालीलाई पक्राउ गर्न लागिपरेको भए अहिले रेड कर्नर नोटिस जारी गर्नुपर्ने अवस्था सिर्जना हुँदैनथ्यो ।’ उनले भने, ‘यो ७,८ महिनाको अवधीमा उनीहरुको भूमिका देख्दा छर्लंगै हुन सकिन्छ ।’

सहकारी पीडितले ब्युँताए सहकारी

हाल कास्कीको पोखरा तथा बागलुङमा रहेका बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम फिर्ता हुने आशामा सहकारीलाई पुनः ब्युँत्याएका छन् । इमेज सहकारीका बचतकर्तालाई संस्थागत रुपमा अगाडि आइसकेपछि रकम फिर्ता गर्न सहज होस् भन्ने हेतुले पुनः व्युँत्याइएको संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले बताए । ‘कतिपय सेयर सदस्यहरुलाई सदस्यता नदिएको अवस्था छ,’ उनले भने, ‘सदस्यता दिएर उनीहरु पनि सहकारीका आधिकारिक सदस्य हुन् भन्ने पुष्टि गर्नु ब्युँत्याउनुको अर्को कारण हो ।’

देशभरीका सहकारीबाट बचतकर्ता पीडित भइरहेको अवस्थामा इमेज सहकारी ब्युँत्याएर सञ्चालन गरिरहँदा बचतकर्तालाई रकम फिर्ता गर्ने वातावरण बन्ने आफूहरुको विश्वास रहेको संयोजक कार्कीले बताए । सहकारीमा समस्या आइसकेपछि सरकारसँग विभिन्न माग राखेर देशभरीका सहकारी पीडित आन्दोलित भए । तर, सरकार तथा सम्बन्धित निकायले गम्भीर रुपमा नलिएको उनको गुनासो छ । आफूहरुले आन्दोलनमा सहभागिताका क्रममा सुरक्षाकर्मीबाट कुटाई समेत खानुपरेको उनले बताए ।

सहकारी पीडितको समस्या समाधानका लागि सहकारले पहलकदमी लिने आश्वासन दिए पनि केही पहल नगरेको उनको गुनासो छ । ‘सरकारले हामी जस्ता पीडितको समस्या समाधानका लागि केही गरोस् भन्ने आशाले हामीले धेरै पहल तथा प्रयत्न ग¥यौं, स्थानीय सरकार, संघीय सरकार, प्रधानमन्त्री लगायतसँग आफ्नो गुनासो पोख्यौं,’ उनले दुखित मुद्रामा भने, ‘उहाँहरुले सहकारी पीडितको समस्या सुन्नुभएको छैन, हामी यो विषयमा गम्भीर छौं मात्रै भन्नुहुन्छ, समस्याको निराकरणका लागि कुनै उपाय अपनाएको आभाष भएको छैन ।’ केही समाधानका उपाय आइहाल्छ कि भन्ने आशासहित इमेज सहकारीलाई ब्युँताएर निरन्तरता दिइएको उनको भनाई छ ।

सहकारी ब्युताँए पनि बचत फिर्ता गर्न कानुनी जटिलताः मन्त्रालय

कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले भने इमेज सहकारीबाट पीडित भएका बचतकर्ताहरु आफूहरुसम्म आएर समस्या राखे लगत्तै आफूहरुले ताकेता गरेको जिकिर गर्छ । ‘बचतकर्ताहरुले समस्या हामीसम्म लिएर आए पछि हामीले निरन्तर ताकेता गरेका थियौं, सहकारी कार्यालयले अनुगमन ग¥यो, विज्ञको समुहले छानविन गरेको छ ।’ कार्यालयका रजिष्ट्रार भेषराज रिजालले भने, ‘त्यसपछि हामीले आवश्यक कारबाहीका लागि प्रहरीकोमा पठाएका हौं, अहिले यस मुद्धा विचाराधीन अवस्थामा अदालतमा छ ।’

सहकारी कार्यालय नियमनकारी निकाय भएकाले अनुगमन गर्ने, सकेसम्म मिलाउने प्रयास गर्ने, संस्थालाई सुझाव दिने काम बाहेक अन्य कामकारवाही गर्न नसक्ने उनको भनाई छ । सहकारीलाई पुनः ब्युँत्याइएको भएपनि त्यसको परिणाम खासै नदेखिएको रजिष्ट्रार रिजालले बताए । सहकारीका सञ्चालकले यतिबेला सामाजिक सञ्जालमार्फत् आफ्नो नीजि सम्पति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताइरहँदा रजिष्ट्रार रिजालले कानुनी प्रक्रियामा गइसकेको विषयमा आफूहरुले केही भन्न नसक्ने बताउँछन् ।

मिडियाबाजी मात्रै गरेर बचतकर्ताको समस्या समाधान हुन नसक्ने उनको भनाई छ । ‘मिडियाबाजी गरेर भएन, समस्याको समाधानतर्फ ध्यान दिनु आवशयक छ,’ उनले भने, ‘यस्तो भइदिए हुन्थ्यो, यस्तो गरिदिए हुन्थ्यो भन्ने बारेमा लेख्ने र जवाफ दिने विषय नै रहेन, अदालतमा गइसकेपछि त्यतैबाट मिलाउने कोसिस हुनुपर्छ ।’ सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गर्नै चाहेका थिए भने कुनै न कुनै हिसाबले मिल्न सक्थ्यो भन्ने उनको बुझाई छ । ‘सहकारीको समस्या मिलाउन चाहेकै भए सञ्चालक समितिका जिम्मेवार व्यक्तिले उपाय निकालेर समाधान गर्न सक्थे, तर त्यो हुन सकेन,’ उनले भने ।

२०८०, २२ फाल्गुन मंगलवार ०६:५७
कथालिका नयाँ कथा
कथालिका