माराङ : मगर समुदायको मौलिक कथा – कथालिका

माराङ : मगर समुदायको मौलिक कथा

नेपालको एक सुन्दर मगर बस्ती, जहाँबाट कथा सुरु हुन्छ, आफ्नै मौलिक भाषा, भेषभुषा, संस्कृति र परम्परासँग मगर समुदाय रमाइरहेका हुन्छन् । गाउँले जीवन राम्रैसँग व्यतित भइरहेको हुन्छ । भौगोलिक विकटता लगायतका कारण थुप्रै समस्या, अभाव र चुनौती भए पनि सबै जना खुशी छन् । यहाँका युवा आफ्नै भाषा र संस्कृतिलाई जोगाएर पुस्तान्तरण गर्नुपर्छ भन्ने सोच राख्छन् । पुराना मौलिक परम्परा धेरैले भुल्दै गए पनि मौलिक कला संस्कृति जोगाउनुपर्छ भन्नेमा चासो र चिन्ता छ । यो मगर चलचित्र ‘माराङ’ को कथा शुभारम्भ हो ।

‘माराङ’ को कथा तब अगाडि बढ्छ, जब गाउँका स्थानीय कौराहा नाच नाच्ने क्रममा एक जना युवतीले भागी विवाह गर्छिन् । मगर समुदायमा हुने भागी विवाह, त्यसपछि विवाहमा गरिने चालचलन तथा रीतिरिवाज, कला संस्कृतिलाई चलचित्रले गजबले जोडेको छ । मगर समुदायको भागी विवाह पछिको परम्परा, समुदायमा हुने अन्य रीतिरिवाज लगायतका विषयवस्तुलाई मगर भाषाको चलचित्र माराङले चित्रण गर्ने प्रयास गरेको चलचत्रि निर्देशक बद्धया सुनारी मगर बताउँछन् ।

भागी विवाहको खुशी

धेरै स्थानमा मगर समुदायमा भागी विवाहलाई सामान्य लिइन्छ । अझै पनि यो समुदायमा कुनै केटी आफूलाई मन परेको छ र केटाले घरमा तपाईंकी छोरीसंग विवाह गर्छु भन्ने प्रस्ताव लगेको खण्डमा लिएर जाउ भन्ने गरिन्छ । गाउँमा हुने नाचगानका कार्यक्रममा कुनै केटा र केटीलाई एकअर्काले मन पराएको खण्डमा विवाह गर्छन् । पछि मात्रै ठाउँ अनुसारको चलनबाट दाजुभाइ, आफन्त मावली जम्मा गरेर टीका फुकाउने (विवाह मान्ने÷ढोगभेट) कार्यक्रम गरिन्छ । यही विषयलाई लिएर मगर भाषाको चलचित्र ‘माराङ’ बनेको छ । यी बाहेक कला, संस्कृतिलाई पनि जोड दिइएको छ । मगर भाषामा राखिएको ‘माराङ’ को नेपाली अर्थ खुशी हुन्छ । चलचित्रमा रोचक, मनोरञ्जनात्मक र ऐतिहासिक बनाउन अनेकन कथा, घटना र परिवेश समावेश गरिएको छ, र यसमा कलाकारको सशक्त अभिनयका लागि त चलचित्र एकपटक हेर्नेपर्ने हुन्छ । चलचित्र मगर समुदायको कला तथा संस्कृति र रीतिरिवाजको विषयमा बुझ्न चाहनेका लागि ऐना बन्न सक्ने निर्देशक सुनारीले बताए । समग्रमा भन्नुपर्दा चलचित्र मगर समुदायको बारेमा जान्न चाहनेका लागि कला, संस्कृति, रीतिरिवाजलाई समेटेर निर्माण गरिएको एकमुष्ट सम्मीश्रण हो ।

मगरका मौलिक भाषा, संस्कृतिको संरक्षण मूख्य ध्येय

चलचित्रका मुख्य कलाकार रमेशबाबु थापा मगरले मगर समुदायका चालचलन, रीतिरिवाज तथा भाषाको संरक्षण गर्नुपर्छ भन्ने मुख्य सन्देश सबै माझ पु¥याउनु यो फिल्मको उद्देश्य रहेको बताए । ‘अहिलेका धेरै जना नयाँ पुस्ता मगर भाषा बुझ्दैनन्, बोल्दैनन्, हराउँदै जान थालेको छ ।’ उनले भने, ‘मलाई लाग्छ, नयाँ पुस्ताले यो चलचित्रको माध्यमबाट मगर भाषा तथा परम्पराका विषयमा धेरै जानकारी पाउनेछन् ।’ यो चलचित्र मगर समुदायले मात्रै नभएर अन्य समुदायलाई समेत हेर्न उनको आग्रह छ । चलचित्रकी नायिका सिर्जना मसराङ्गी मगरले चलचित्रमा आफूहरुले सकेसम्म राम्रो काम गर्न खोजेको बताइन् । धेरै स्थानमा चलचित्र प्रदर्शनका लागि जाँदा आफूले राम्रो प्रतिक्रिया पाएको बताइन् । मगर समुदायको रीतिरिवाजलाई चलचित्रमार्फत् प्रस्तुत गर्न खोजिएको बताउँदै उनले भनिन्, ‘चलचित्रमार्फत् हाम्रै कथा प्रस्तुत गर्ने प्रयास हो, हामी सफल हुन्छौं या हुँदैनौं, त्यो भने हेर्न बाँकी छ ।’ मगर समुदायको कला, संस्कृति तथा रीतिरिवाज बिस्तारै हराउँदै गएकोमा उनले दुखेसो पोखिन् । हराउँदै गएको संस्कृति जोगाउन तथा सोको विषयमा नयाँ पुस्तालाई जानकारी प्रदान गर्न यो चलचित्र केही हदसम्म सफल हुने उनको आशा छ ।

नयाँ पुस्तालाई ‘संस्कृति’ उपहार
केही दिन अगाडि पत्रकार तथा विशिष्ट व्यक्तिलाई राखेर प्रदर्शन गरिएको यो चलचित्र शनिबार पोखराको बाराही हलमा प्रदर्शन गरिएको छ । चलचित्रका निर्माता तुलजी सारु मगरले भाषा र संस्कृतिलाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको बताए । चलचित्र प्रदर्शन गरेर आफूले आर्थिक आम्दानी र फाइदा लिने भन्दा कला र संस्कृतिको जगेर्नाका लागि चलचित्र निर्माण गरेको बताए । विभिन्न जिल्लामा प्रदर्शन भइसकेको चलचित्र ‘माराङ’ बाट भाषा तथा संस्कृतिको जर्गेना गर्न सहयोग पुग्ने निर्माता सारुको आशा छ । ‘माराङ चलचित्र टन्नै आर्थिक आम्दानी गरिएला भन्ने आशामा निर्माण गरिएको होइन,’ उनले भने, ‘हाम्रो समुदायको कला, संस्कृति, रीतिरिवाज तथा भाषा यस्तो किसिमको हुन्छ भन्ने विषयमा नयाँ पुस्तालाई जानकारी दिन निर्माण गरिएको हो ।’ भाषा, कला र संस्कृति भुल्दै जाने हो भने आउने पुस्तालाई हस्तान्तरण गर्ने कुनै कला नजोगिनेतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । पछिल्लो केही समययता मगर समुदायमा आफूले केही परिर्वतन देखेको उनको भनाई छ । ‘विवाह, अन्य विभिन्न कार्यक्रममा समेत प्रायले आफ्नै पोशाक तथा भेषभुषालाई प्राथमिकतामा राख्दै पहिरिने बढेका छन् ।’ उनले भने, ‘यो केही सकारात्मक पाटो हो, अब नजान्ने भाषा पनि बोल्न सिकाउनुपर्छ ।’

बद्धया सुनारी मगरको निर्देशनमा बनेको यो चलचित्रलाई पाल्पाको निस्दी गाउँपालिका तथा तनहुँका मगर बस्तीको सेरोफेरोमा रहेर खिचिएको हो । मगर भाषामा निर्माण भएको चलचित्रमा नेपाली सबटाइटल राखिएको छ । मगर भाषा नबुझ्नेका लागि सजिलो होस् भन्ने हेतुले नेपाली सबटाइटल राखिएको चलचित्रका निर्माताले बताएका छन् । करिब ९० मिनेटको चलचित्र ‘माराङ’ मा कलाकार रमेशबाबु थापामगर सहित सिर्जना मसराङ्गी मगर, टिका थापामगर, टेक रानामगर, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर, सञ्जोक लाफामगर गणेश घले, लगायत कलाकारको सशक्त अभिनय छ ।

२०८०, २६ फाल्गुन शनिबार ०९:४२
कथालिका नयाँ कथा
कथालिका