बेपत्ताको कथाः आफन्तकै प्रश्न, काजकिरिया कहिले गर्ने ? – कथालिका

बेपत्ताको कथाः आफन्तकै प्रश्न, काजकिरिया कहिले गर्ने ?

  • नेपाली समाजमा श्रीमान छैनन् भने श्रीमतीले सिन्दुर, टीका, रंगिलो कपडा लगाउन हुँदैन भन्ने परम्परागत मान्यता बाँकी छ । उनीहरुले यी सबै कुरा प्रत्यक्ष भोगिसकेका छन् । अहिलेसम्म श्रीमानको किरिया नगरेकोमा धेरैले उनीहरुलाई सुनारहन्छन् ।

श्रीमानको हातबाट रंगिएको सिउँदोमा सिन्दुर छ, निधारमा सुसज्जित टीका अनि हातमा सजिएका चुरा अझै उस्तै छन् । मात्र छैनन् साथमा श्रीमान्, बरु वर्षौदेखि गुमनाम छन् सँगै बाँच्ने सँगै मर्ने कसम खाएका खसम । र पनि न उनले हटाउन सकेका छन् सिउँदोको सिन्दुर, हातको चुरा, न त हटाउन सकेकै छन् सँगै बिताएका अनेकन अमिट याद र सँगै देखेका सुन्दर सपनाहरु । बरु यी चीजहरु लगाउँदा उनलाई श्रीमान साथैमा पो छन् कि जस्तो बेला-बेला लागिरहन्छ ।

बागलुङको गलकोट नगरपालिका-२ की छमकुमारी बस्नेतका श्रीमान् ढकबहादुर बस्नेत २०५८ सालमा राज्य पक्षबाट बेपत्ता पारिए । बेपत्ता पारिनु भन्दा अगाडि ढकबहादुरले सोही ठाउँको एउटा बोर्डिङ स्कुलमा पढाउँथे । पछि युद्धकालीन समयमा माओवादीले बोर्डिङ स्कुल बन्द गर्न थाल्यो, अनि उनी घरमै बस्न थाले । २०५८ साल चैत्रको एकदिन बिहान करिब ५०/६० तत्कालीन शाही नेपाली सेनाको टोलीले ढकबहादुरलाई घरबाटै सोधपुछका लागि भन्दै लगेका थिए । ‘मेरो श्रीमान सहित साबिक गाविसको हाम्रो वडाबाट अन्य ९ जनालाई सोधपुछका लागि भन्दै लगिएको थियो,’ छमकुमारीले भनिन् । गलकोटमै भएको आर्मी क्याम्पमा राखिएको जानकारी पाएपछि छमकुमारी हरेक दिन श्रीमान भेट्न जान्थिन् । त्यसको करिब १५ दिनपछि सेनाले ढकबहादुरलाई घर लिएर आए । ‘घरमा ल्याइसकेपछि केहीबेर उहाँलाई घरमा बस्न दिइयो, सेनाले मसँग तपाईंको श्रीमानको केही गल्ती छैन, को र कति जना माओवादीलाई खान–बस्न दिएको हो, त्यो मात्रै चिनाउनुस् भन्ने कुरा गरे ।’ पीडा मिश्रित आवाजमा छमकुमारीले भनिन्, ‘त्यसको दुई घण्टामा फेरी उही ठाउँमा फर्काएर लगे ।’ उनलाई अझै याद छ, ढकबहादुरलाई घरमा ल्याउँदा हत्कडी लगाइएको थियो, त्यो देख्ना साथ उनकी ८२ वर्षीया सासु बेहोस भइन्, १० वर्षीया छोरी र ८ वर्षका छोरा आत्तिएर रुन थाले । छमकुमारी आफैले धेरै लामो समयसम्म श्रीमान्को त्यो अवस्था हेर्न सकिनन् ।

अब त अन्तिम संस्कार गर्ने होइन ?

त्यसपछि ढकबहादुरलाई जिल्लामा ल्याइएको उनी बताउँछिन् । श्रीमानको खोजीका लागि बागलुङदेखि पर्वत र पोखराका बिभिन्न ठाउँ धाइन्, जानकारी भने केही पाउन सकिनन् । अनि सुरु भयो उनको संघर्षका दिन । बृद्ध सासु, सन्तानको भविष्य, सबै आफैँले हेर्नुपर्ने अवस्था, साथै श्रीमानको खोजी । एकैसाथ जिम्मेवारी आएपछि उनले संघर्ष सुरु गरिन् । साथ दिने सासुआमाले छोराकै पीरमा २०६३ सालमा संसार छोडिन् । त्यसपछि माइती पक्षले साथ दिए, धेरै आफन्त टाढिए । ‘श्रीमानको अत्तोपत्तो छैन, आउने हो कि होइन, अब अन्तिम संस्कार गर्नुपर्छ भन्ने आफ्नै थिए,’ उनले भनिन्, ‘कोही पुरुषसंग बोल्दा डर लाग्थ्यो, घरमा आवश्यक परेका काम गराउन बोल्दा फल्नासँग हिँडेकी भन्थे, अपशब्द प्रयोग गरेको आफैँले सुने ।’ अहिलेसम्म श्रीमानको किरिया नगरेकोमा धेरैले छमकुमारीलाई सुनाइरहन्छन् । नेपाली समाजमा श्रीमान छैनन् भने श्रीमतीले सिन्दुर, टीका, रंगिलो कपडा लगाउन हुँदैन भन्ने सोच बाँकी छ । उनले यी सबै कुरा प्रत्यक्ष भोगिन् । ‘समाजले जे भने पनि टीका, सिन्दुर र रातो रङका कपडा लगाउन कहिले छोडिन,’ उनले भनिन् । छमकुमारीका अनुसार ढकबहादुरसंगै पक्राउ परेका सबै केही दिनमा छुटेका थिए, उनका श्रीमान मात्रै अहिलेसम्म बेपत्ता छन् । अझै पनि उनलाई आफ्नो श्रीमान कतैबाट टुप्लुक्क आइपुग्छन् कि जस्तै जाग्छ ।

नेपालमा चलेको १० वर्षे जनयुद्धमा राज्य र माओवादी, दुवै पक्षबाट आम नागरिक प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित बने । धेरैले ज्यान गुमाए, कोही घाइते भए र कोही दुवै पक्षबाट बेपत्ता छन् । मारिनेका परिवारले आश गर्ने ठाउँ रहेन, घाइतेले जसोतसो जीवन व्यतित गरिरहेका छन् । युद्धमा परिवारका सदस्य गुमाएका, घाइते भएका परिवारमा पीडा सबैलाई छ तर परिवारका सदस्य बेपत्ता हुनेको अवस्था झन् गम्भीर छ । उनीहरुलाई अब आफ्नो परिवारका सदस्य फर्केर आउँदैनन् भन्दै चित्त बुझाउन लास देखेका छैनन्, सासको आश लागिरहन्छ, त्यसैले कतै फर्किएर आउँछन् कि जस्तो लाग्छ । राज्य र विद्रोही समूहबाट बेपत्ता भएका व्यक्तिको कि सास कि लास चाहियो, अथवा अन्य केही जानकारी चाहियो भन्दै परिवारका सदस्य बेला मौकामा राज्यलाई झक्झक्याइ रहन्छन् । तर, राज्यबाट सोचेको तथा चाहेको जस्तो जवाफ पाइरहेका छैनन् । यसैले पनि उनीहरुको पीडा झन्–झन् गहिरिदै गइरहेको छ । धेरै बेपत्ताका परिवार अझै पनि टुप्लुक्क घर आइहाल्छन् कि भन्ने आशामा बस्न बाध्य छन् । त्यही आशामा धेरैले बेपत्ता भएकाको चलन अनुसार अन्तिम संस्कार समेत गरेका छैनन् ।

काठमाडौंबाट चिठ्ठी आयो–‘तपाईंको मान्छे पाइएन’

नवलपुरकी ५१ वर्षीय कल्पना खत्री आफ्नो बेपत्ता श्रीमान थम्मनबहादुर खत्रीको कसैसँग कुरा गर्ना साथ अहिले पनि आँशुको बलिन्द्र धारा बगाउँछिन् । २०५६ सालमा बेपत्ता भएका थम्मनबहादुरको विषयमा उनले हालसम्म कसैबाट केही जानकारी पाउन सकिरहेकी छैनन् । त्यो बेला उनीहरुको परिवारले घर नजिकै एकजना व्यक्तिको खेतमा अधिया खेती गर्थे, परिवार राम्रैसंग चलिरहेको थियो । अधियामा खेती गरेकाले उनीहरुले खेतका धनीलाई बाली दिनुपर्ने हुन्थ्यो । त्यो वर्ष थम्मनलाई माओवादीले खेतका धनीलाई बाली दिनुपर्दैन, हामीलाई देउ भनेको सम्म कल्पनालाई याद छ । एकपटक मात्रै होइन, यस्तो अनुरोध माओवादी पक्षबाट बारम्बार आइरहेको थियो थम्मनलाई । तर थम्मनले त्यसरी हुँदैन, खेत जसको हो, उसैले बाली पाउनुपर्छ भन्थे, यही विषयमा विवाद हुन्थ्यो । ‘मंगलबारको दिन थियो, एक जना गाउँकै साथीले बजार जाउँ भन्दै उहाँलाई घरबाट लगे । त्यसपछि उहाँ फर्किएर आउनुभएन,’ भावुक हुँदै उनले भनिन्, ‘अधिया खेतको बालीका विषयमा विवाद भएकाले मलाई मेरो श्रीमानलाई तत्कालीन शाही नेपाली सेनाले होइन, माओवादीले नै लगेको हो भन्ने लाग्छ ।’ उनको श्रीमान बेपत्ता हुनु भन्दा अगाडि माओवादीले उनका ससुरालाई समेत खेतकै विषयमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । आफ्नो बुबालाई कुटपिट गरेपछि थम्मनले माओवादीको विरोध गरेको कल्पना बताउँछिन् । श्रीमान बेपत्ता हुँदा उनीहरुका जेठा छोरा ३ वर्ष र कान्छो ८ महिनाका थिए ।

श्रीमान बेपत्ता भएपछि उनले सुरुमा कतै उजुरी गरिनन् । साथीकोमा होलान्, आइहाल्छन् कि भन्ने आशामा बसिरहिन् । नेपाली समाजमा एउटा उखान छ, ‘सबैले बलेको आगो ताप्ने हो, निभेकोलाई कसैले वास्ता गदैनन् ।’ कल्पनाको हकमा त्यही उखान लागु भयो । उनलाई माइती र ससुराले बाहेक त्यो अवस्थामा कसैले साथ दिएनन् । कल्पनाको अगाडि पहाड जस्तो जीवन, दुई जना सन्तानको भविष्य थियो । केही उपाय नलागेपछि उनी कुवेत गइन्, त्यहाँ उनले ७ वर्ष बिताइन् । विदेश बसेर आउँदासम्म श्रीमानको केही खबर थिएन । कुवेतबाट नेपाल फर्किदासम्म नेपालमा माओवादी विद्रोह छोडेर शान्ति प्रक्रियामा आइसकेको थियो । अनि बल्ल उनका ससुराले खोजीका लागि भन्दै साविकको गाविसमा निवेदन दिए । निवेदन दिए पश्चात उनीहरुलाई काठमाडौंबाट चिठ्ठी आयो, तर तपाईंको मान्छे पाइएन भन्ने आशयसहित । सबै कागजात मिलाएर सम्बन्धित स्थानमा पु¥याएकी छिन् कल्पनाले । तर सरकारको तर्फबाट उनले अहिलेसम्म केही पाएकी छैनन् । अहिले जेठो छोराको छोरी भइसक्यो । उनलाई सबैभन्दा पीडा त्यति बेला हुन्छ, जति बेला आफ्नै नातिनीले हजुरबुबाको विषयमा प्रश्न गर्छिन् । ‘विद्यालयमा सबैको हजुरबुबा देख्दा बच्चालाई रहर लाग्दो हो, घरीघरी सोधिरहन्छिन् । त्यो बेला असह्य पीडा हुन्छ,’ भावुक हुँदै उनी भन्छिन्, ‘सुरुसुरुमा छोराहरुले सोध्थे, अहिले नातिनीले, तर स्पष्ट जवाफ दिन सक्दिन, सबैभन्दा पीडा त्यही बेला हुन्छ ।’ उनले अब थम्मन फर्किएर आउँछन् भन्ने आशा मारिसकेकी छिन्, तर अन्तिम संस्कारका कार्य गरेकी छैनन् ।

जैमिनी नगरपालिका १० का बिमल केसीलाई आफ्नो छोरो गणेश केसी आइहाल्छ कि भन्ने आशा छ । त्यो दिन उनले चाहेर पनि भुल्न सक्दैनन्, जुन दिन छोरालाई राज्य पक्षबाट बेपत्ता पारियो । २०५८ साल मंसिर ११ गते उनका १४ वर्षीय नाबालक छोरा राज्य पक्षबाट बेपत्ता पारिएका थिए । भर्खर कक्षा ४ मा पढ्दै गरेका गणेशलाई माओवादी कार्यकर्ताले फकाएर आफूहरुसंग लिएर गएको बिमल बताउँछन् । ‘विद्यालयमा कार्यक्रम आयोजना गर्दा फकाएर मेरो छोरालाई लगेर करिब ५,६ महिना आफैंसंग हिँडाएछन्,’ बिमलले भने, ‘जिल्लाकै बलेवाबाट छोरालाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेछन्, भाग्ने भागे, तर मेरो छोरो त्यति सानै उमेर समातियो, अनि बेपत्ता भयो ।’ सुरु–सुरुमा जो कोही घर आउँदा छोराको विषयमा केही जानकारी लिएर आए कि भन्ने लाग्थ्यो । नेपालमा अहिलेको जस्तो प्रविधिले फड्को मारिसकेको थिएन, हात–हातमा फोन हुँदैनथ्यो । कताकति हुने ल्याण्डलाइन फोन आए पनि उनीसहित परिवारलाई छोराले फोन ग¥यो कि, उसैको खबर थाहा पाइन्छ कि भन्ने आशा लाग्थ्यो । तर, ती सबै आशा निराशामा बदलिए ।

‘अझै कसैले लुकाएर राखेका छन् कि जस्तो लाग्छ’

६३ वर्षीय बिमललाई अहिले पनि कतै छोरालाई अझै कसैले लुकाएर राखेका छन् कि जस्तो लाग्छ । २ जना छोरामा जेठा छोरा गणेश १४ वर्षकै उमेरमा बेपत्ता भएपछि उनीहरुको खुसी लुटियो, हाँस्ने बाहना सकियो । अहिले पनि कुनै चाडपर्वमा गणेशको खुब याद आउँछ, पीडा लुकाएर हाँस्न खोज्छन् । साथमा कान्छा छोरा छन्, खुसी हुने र बाँच्ने आधार उनीसहित परिवारका लागि त्यति हो । अहिले युद्धको माध्यमबाट आएका राजनीतिक पार्टीले सरकारको नतृत्व गरिरहेको छ । उनलाई दुख त त्यति बेला लाग्छ, जति बेला सरकारमा नेतत्व गर्ने फरक–फरक दलले गम्भीर प्रकारका मानवअधिकार उल्लङ्घनका घटनामा माफी दिने कुरा गर्छन् । राज्यले सही ढंगबाट दायित्व लिन नसक्दा आज पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका परिवारका सदस्यले दुख भोग्नु परिरहेको बिमलको गुनासो छ । ‘गम्भीर प्रकारका मानवअधिकार उल्लङ्घनका घटनामा माफी दिनु हुँदैन,’ उनले भने, ‘बेपत्ता भएका व्यक्तिको परिवारसंगको सल्लाह बिना यस्तो कार्य गर्नु उचित होइन, राज्यले दायित्व लिन नसक्दा हामीले वर्षौंदेखि दुख पाइरहेका छौं । थाहा छैन, यो शिलशिला कहिलेसम्म जारी रहन्छ ।’

वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी बेपत्ता भएका परिवारका सदस्यको विषयमा केही जानकारी पाउन नसक्दा पीडित परिवारले झन् पीडा भोग्नु परिरहेको बताउँछन् । देश शान्ति प्रक्रियाको गएको लामो समयसम्म बेपत्ता भएका परिवारका सदस्यले न्याय नपाउनु दुखद भएको उनले बताए । ‘यो विषयमा पीडितले न्याय नपाउनु दुखद हो,’ उनले भने, ‘न्यायका लागि वर्षौंसम्म कुर्नु र ढिलो न्याय पाउनु पनि न्याय नपाउनु सरह हो ।’ सरकारले बेपत्ता परिवारका सदस्यको समस्या सुनिरहेको छैन र नीतिनियम तथा कानुन सही छैन भने पीडितले आफ्नो आवाज बुलन्द बनाउनुपर्ने वरिष्ठ अधिवक्ता सुवेदी जोड दिन्छन् । सामाजिक, पारिवारिक तथा आर्थिक समस्याका बीच फसिरहँदा परिवारका सदस्यले बेपत्ता भएका व्यक्तिको विषयमा जानकारी प्राप्त गर्न नसक्नु र सरकारबाट उचित जवाफ नपाउनु दुखद भएको उनले बताए । ‘परिवारका सदस्यले बेपत्ता भएका व्यक्तिको अनुहार र नाम समेत भुल्ने अवस्था आइसक्यो,’ उनले भने, ‘उनीहरुको विषयमा सरकारले किन सही जवाफ दिन सक्दैन, न्यायको आशामा उनीहरु शिथिल बनिसकेको अवस्था छ ।’

एकछिनमा फर्किन्छु भन्ने छोरा अहिले सम्म नफर्किए पछि…

नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ११ हर्कपुरका हरिशरण रेग्मीको उमेर ७३ वर्ष पुग्यो । उनका छोरा परिक्षित रेग्मी २०५९ साल भाद्र ३ गतेबाट हालसम्म बेपत्ता छन् । त्यो समयमा उनको उमेर २२,२३ वर्षको थियो । हरिशरणका अनुसार परिक्षितको हल्का दाह्री पाल्ने सोख थियो । छोराको स्वभाव शान्त र रिस नउठ्ने खालको भएको उनलाई राम्रोसंग याद छ । ‘बेपत्ता भएको समयमा उसको पढाईको सर्टिफिकेट, नागरिकताको प्रमाणपत्र लगायत केही लगेको होइन,’ उनले भने, ‘उसलाई विदेशी पैसा जम्मा गर्ने सोख थियो, त्यो सहित पर्स पनि लगेको होइन ।’ परिक्षितसंग उनकी बहिनी समेत स्टाफ नर्स पढाउन भन्दै संगै बसेकी थिइन् । काठमाडौंको नयाँ बानेश्वरमा डेरा गरी बसिरहेका दाजु बहिनीले आ–आफ्नो पढाईलाई निरन्तरता दिइरहेका थिए । हरिशरणका अनुसार बेपत्ता भएको दिनमा परिक्षितलाई बहिनीले चिया बनाएको छु खाएर जानुस् भन्ने अनुरोध गर्दा एकछिन पछि आउँछु भन्दै कोठाबाट बाहिरिएका थिए । ‘त्यसदिनदेखि मेरो कान्छो छोरो घर फर्किएन, हामीले ३ दिनपछि मात्रै जानकारी पायौं ।’ निराश हुँदै उनले भने, ‘साथीको घरतिर गयो होला भन्ठानेर बहिनीले पनि खबर गरिनन् ।’

छोरालाई भेट्न सक्ने सम्भावना रहेको सबै स्थानमा उनले खोजी गरिसकेका छन् हरिशरणले । तर अहिलेसम्म परिक्षितको विषयमा कुनै जानकारी पाउन सकेका छैनन् । ‘छोरा फर्किएर आउला भनेर कुर्दाकुर्दै, दिन, हप्ता र वर्ष बित्यो, तर न छोरा फर्किएको छ, न उनको बारेमा जानकारी पाइएको छ,’ उनी भन्छन्, ‘यो बीचमा पनि आशा मरेको छैन, खरानी भएको होइन, बेपत्ता भएको हो, छोरा आउँछ कि झैँ लाग्छ ।’ छोरा बेपत्ता हुनुमा हरिशरण राज्य र तत्कालीन विद्रोही पक्ष, कुनैलाई दोष दिन्नन् । कसरी र किन परिक्षित बेपत्ता भए भन्ने कुनै प्रमाण छैन उनीसंग । बेपत्ताका परिवारले सरकारको तर्फबाट पाउने राहत उनले बुझिसकेका छन् । आशा बाँकी रहेको बेला कुनै दिन छोरा फर्किएर आएछ भने सो रकम सरकारलाई फिर्ता दिने उनी बताउँछन् ।

बेपत्ता परिचय पत्र र राहत लिने नलिनेमा द्धिविधा

तत्कालीन युद्धकालीन समयमा बेपत्ता भएकाहरु अझै पनि परिवारका सदस्यलाई बेपत्ता भएको जस्तै लाग्दैन । कतै न कतैबाट कुनै समय घर फर्कि पो आइहाल्छन् कि भन्ने झिनो आशा अझै छ ।

घरका कुनै एक जना सदस्य बेपत्ता भएका उक्त परिवारको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा ठूलो असर परिरहेको छ । तर, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका प्रतिनिधि टंक खनाल बेपत्ता भएको परिचय पत्र कानुनी लडाइँका लागि बलियो प्रमाण भएको बताउँछन् । ‘यदि बेपत्ता सदस्यको नामका कुनै जग्गा–जमिन, सम्पत्ति छ भने त्यो अन्य परिवारका सदस्यले उपभोग गर्न पाउँदैनन्, धितो राखेर ऋण निकाल्न सकिदैन, अनि झन् आर्थिक समस्या बढ्छ,’ उनी भन्छन् । सरकारले पीडितलाई प्रदान गर्ने परिचयपत्र जसरी पनि लिनुपर्ने उनले बताए । परिचयपत्रको आवश्यकता छैन, म लिन्न भन्न नहुने उनको भनाई छ । ‘हुन त सरकारले प्रदान गरेको परिचयपत्रले घर चल्ने होइन, तर त्यो तपाईंको पहिचान हो, यसबाट सरकारले तपाईंलाई पीडितका रुपमा स्वीकार गरेको छ भन्ने बुझ्न सकिन्छ,’ उनले भने, ‘बेपत्ता भएका आफ्नो परिवारका सदस्य कहाँ र कुन अवस्थामा छन् भन्ने विषयमा जानकारी पाउनका लागि आवाज उठाउन यो परिचयपत्रले ठूलो मद्दत पुग्छ ।’ पीडित परिवारको सहमति बिना मेलमिलाप गर्न नहुनेमा समेत खनाल जोड दिन्छन् । युद्धकालीन मुद्धाको टुंगो नलाग्दासम्म नेपालमा शान्ति प्रक्रिया टुंगो लाग्न नसक्ने समेत उनले बताए ।

नेपालमा चलेको १० वर्षे जनयुद्धले केही हदसम्म परिर्वतन ल्यायो । तर, परिर्वतनसँग आम नागरिकले पीडा, दुःख, आर्थिक तथा सामाजिक समस्या भोग्नु परिरहेको छ । द्वन्द्वकालमा भएका घटना टुंगोमा पुग्न सकिरहेको छैन । राज्य तथा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक हुन सकिरहेको छैन । युद्धमा घाइते भएका धेरैले उचित उपचार प्राप्त गर्न सकिरहेका छैनन् । त्यस्ता घटनाको टुंगो लगाउन सरकारले प्रयास जारी राखिरहेको बेलामौकामा बताउने गरेको छ । पीडामा रहेका नागरिकले न्यायको अनुभव गर्न सकिरहेका छैनन् । यस्तैमा नेपालमा द्वन्द्वकालीन समयमा भएका घटना टुंगोमा लगाउन विसं २०७१ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको थियो । उक्त आयोगमा सेना तथा माओवादीद्वारा आफ्नो परिवारका सदस्य बेपत्ता पारिएको भन्दै पीडितले उजुरी समेत दिएका छन् । हालसम्म बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा ३ हजार २ सय ८८ जनाको उजुरी परेकोमा छ । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगमा २ सय ७७ जना परिवारले उजुरी दिएका छन् । उजुरी परेकामध्ये केही घटनाको मात्रै अनुसन्धान भइरहेको छ भने केही मात्रै निक्र्यौलमा पुगेको छ ।

२०८०, १३ चैत्र मंगलवार १०:२८
कथालिका नयाँ कथा
कथालिका