एक फेसबुक समूहः जसले ग-यो डेढ करोड संकलन र सहयोग – कथालिका

एक फेसबुक समूहः जसले ग-यो डेढ करोड संकलन र सहयोग

  • ग्रुपले हाल सम्म बिभिन्न रोगबाट ग्रसित तथा अनेकन समस्याबाट पिल्सिएकाहरुलाई १ करोड ५० लाख भन्दा बढी रकम संकलन गरेर हस्तान्तरण गरिसकेको छ ।

सामाजिक सञ्जाल फेसबुक तपाईँको के–के काममा उपयोग छ ? आफ्ना सुन्दर तस्बिर राख्ने, त्यसमा आएका लाइक, कमेन्ट, शेयर हेरेर आत्मरतिमा रमाउने ? या अनेकन कुण्ठा, व्यथा सहितको स्टाटस लेखेर मनोरञ्जन र सन्तृष्टि लिने ? वा सञ्जालमा पहुँच अभिबृद्धि गर्दै सम्बन्ध र व्यवसाय विस्तार अथवा सिर्जनशील, परोपकारी कार्य ? सामाजिक सञ्जाल प्रयोगको प्रवृत्ति हेर्दा सतही र सस्तो कुरामा अधिक मानिसले फगत समय खर्चिरहेको सहजै प्रतीत हुन्छ ।

तर, यही फेसबुक ग्रूपको माध्यमबाट कैयन नेपाली गरिब, विपन्न, श्रमिक, मजदुर, असहायले नयाँ जीवन पाइरहेका छन् । अहिलेको भिड र भाइरलको दुनियाँमा यस्तो प्रयास नेपाली समाजका लागि एक सुन्दर अनुपम उदाहरण हो । स्याङ्जाको मल्याङकोट हालको चापाकोटमा जन्मिएर अहिले रुपन्देही देवदह ७ शितलनगर घर भएका अनिल लामिछाने मगरको एक फेसवुक समूह मार्फतको प्रयास अनुकरणीय छ ।

No photo description available.
अभियन्ता अनिल लामिछाने मगर

उनी सन् २०१० देखि कोरियामा कार्यरत छन् । उनी विहान ६ बजेदेखि साँझ ६ बजे सम्म ड्युटीमै हुन्छन् । त्यसबाहेकको समय निकालेर सामाजिक सञ्जाल र सेवामा जोडिएर सत्कर्म गर्न प्रयासरत छन् ।

फेसबुकबाट डेढ करोड संकलन र सहयोग

फेसबुक समूहको नाम हो ‘मगर संसार फोटो ग्यालरी’ । झट्ट नाम सुन्दा पनि अरु फेसबुक पेज र ग्रुप जस्तै हल्का लाग्छ । तर, यस ग्रुपले गरेको काम हेर्ने हो भने साँच्चिकै अभूतपूर्व लाग्छ । ग्रुपले हाल सम्म बिभिन्न रोगबाट ग्रसित तथा अनेकन समस्याबाट पिल्सिएकाहरुलाई १ करोड ५० लाख भन्दा बढी रकम संकलन गरेर हस्तान्तरण गरिसकेको छ ।

क्यान्सर लगायतका रोग लागेर उपचार गर्न नसक्ने अवस्थाका बिरामी, दुर्घटनामा घाइते, अंगभंग भएका, विदेशमै अलपत्र परेका नेपाली लगायत १ सय ९३ जना व्यक्तिलाई मगर संसार फोटोग्राफी ग्रुप मार्फत आर्थिक सहयोग संकलन गरेर प्रदान गरिसकिएको ग्रुपका सञ्चालक अनिल बताउँछन् । उनका अनुसार पछिल्लो २ महिना मात्रै २५ लाख रुपैयाँ ग्रुप मार्फत संकलन गरेर सम्बन्धित बिरामीलाई प्रदान गरिएको छ ।

ग्रुपले सहयोग अभियान मार्फत सबै भन्दा धेरै ९ लाख ५४ हजार रुपैयाँ कलाकार प्रसाद खप्तरीका लागि संकलन गरेर हस्तान्तरण गरेको थियो । न्युनतम १० हजारदेखि माथिको अनुपातमा संकलन र हस्तान्तरण गर्ने गरिएको छ ।

कसरी जन्मियो ग्रुप ?

२०७४ साल बैशाख, हुन त त्यसबेला नै मगर समुदायकै धेरै ग्रुपहरु थियो । जसमध्ये केहीले अनलाइनमा गेम खेलाउथे । गेममा उनी पनि सहभागी हुन्थे । केहीमा त बिजेता, उपबिजेता बनेर उनले राम्रै पुरस्कार (नगद १०,१५ हजार) पाएको उनी सम्झन्छन् । जुन पुरस्कार उनले कतै खर्च गरेनन् । बरु त्यो सेवामै समर्पित गरे । एउटा मगर सामूदायिक भवन र अर्को अनाथ बच्चाहरुको खाद्यान्न र शैक्षिक सामग्रीमा खर्चिए ।

अन्य ग्रुपले गरेको रचनात्मक गतिविधि देखेर मेरो मनमा पनि केही गर्ने सोच आइरहेको थियो । बिभिन्न ग्रुपमा जोइन भएर गेम खेल्दा र गतिविधि हेर्दा कतिपय एडमिनको मनोमानी खासै चित्त बुझिरहेको थिएन । अन्य गु्रप तिर एडमिन बन्न पनि अनुरोध आएको थियो । व्यक्तिगत रुपमा बिभिन्न ग्रुपले चलाउने सहयोग अभियानमा पनि उनी सरिक भइरहेकै थिए ।

डोनेशन गर्दै जाँदा मगर समुदायलाई जोड्ने र सहयोग गर्ने हुटहुटिले आफ्नै गु्रुप खोल्ने निर्णयमा पुगेको उनले बताए । ‘ग्रुप खोल्ने निष्कर्षमा त पुगे । तर, कसरी खोल्ने, कुन खोल्ने ? अरु सँग नाम नजुधोस् भनेर धेरै सोचे’, अनिल थप्छन्, ‘अन्ततः मगर समुदायका गतिविधि, भेषभुषा, संस्कार संस्कृतिलाई प्राथमिकता दिने र परोपकारी मनलाई जोड्ने गरी ‘मगर संसार फोटोग्यालरी’ नामाकरण गरे ।’ यसले मगर समुदायको कला संस्कृतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

३ लाख बढी सदस्य

६ वर्ष अघि सुरु गरिएको यस ग्रुपमा अहिले ३ लाख ३० हजार बढी सदस्य आवद्ध छन् । ‘ग्रुप सुरु गरेको छोटो समयमै १० हजार सदस्य पुग्यो । त्यसपछि म पहिले अनलाइन गेम खेलेको हुनाले सोही अनुभवका आधारमा भेषभुषा, कला, संस्कृतिको विषयमा अनलाइन गेम खेलाए । १० वर्ष भन्दा मुनिको मगर भेषभुषा फोटो प्रतियोगिता राखे । त्यसपछि उल्लेख्य बढ्यो । ग्रुप धेरै मानिसहरुका माझमा पुग्यो,’ लामिछानले भने, ‘ग्रुप स्थापनाको एक वर्ष २०७५ बाटै सहयोग प्रदान गर्न सुरुवात गरे । पहिले अरुले चलाएको अभियानमा व्यक्तिगत सहयोग गरेर सहभागी बन्थे, ‘मगर संसार फोटोग्यालरी’ जन्माइसके पछि म एकल व्यक्तिगत रुपमा मात्र होइन, हाम्रो समुदायका मान्छेलाई परेको दुःखमा सामूहिक रुपमै साथ सहयोग गर्नुपर्छ भन्ने लाग्यो । ग्रुपमा अपिल गर्ने र संकलित रकम एकमुष्ठ हस्तान्तरण गर्न थाले ।’

ग्रुप मार्फत पहिलो सहयोग त्यो बेला म्याग्दी र तनहुँको दुई जना कल्पना र सुहेना ट्युमर र मृगौला फेल भएकालाई सहयोग गरिएको थियो ।

ग्रुपमा भएका साथीहरुबिच उठे पनि नउठे पनि भनेर दुई जना बिरामीको सहयोगका लागि अपिल गरे । सुरुवातमा ३ लाख रुपैयाँ उठेको थियो । दुई जनालाई आधा–आधा गरेर हस्तान्तरण गरेको अनिल सम्झन्छन् । मगर संसारको पहिलो अपिल र सहयोग अभियानमा उत्साहजनक मिले पछि हौसिएको उनले बताए ।

सहयोग संकलनमा सकस

ग्रुप मार्फत सहयोग संकलन अभियान त सकारात्मक छ । तर, दैनिकजसो नयाँ–नयाँ बिरामी भेटिरहने कारण कैयन समस्या र चुनौती पनि छन् । ग्रुपमा अपिल गर्ने जति सबैका लागि पैसा उठ्दैन । कसैका लागि धेरै उठ्ने, कसैका लागि नउठ्ने तर कुनै निश्चित बिरामीका लागि धेरै रकम उठे पनि कम उठेको बिरामीलाई बाँड्न नमिल्ने लगायतका समस्या र सकस बेला बेला आउने गरेको लामिछाने कथालिकासँग बताउँछन् ।

परोपकारी कार्य गर्ने क्रममा केही गुनासो र आलोचना पनि नआएका होइनन् । ‘रिस गर्नेहरु धेरै आउँछन् । मगर संसारले आफ्नै प्रयोगका लागि पैसा उठायो भन्ने पनि सुन्छु । तर हामीले प्रश्न उठ्न दिएका छैनौ,’ उनले थपे ‘दोहोरो पैसा आयो भने फिर्ता गर्छौ । नाम गलत या फरक परेकोमा सच्याउँछौ । मेरो पैसा खायो, हरायो, मेरो नाम आएन, संकलित रकम दिएन भन्ने अहिले सम्म पारेका छैनौ ।’

बरु स्वभाविक प्रश्नको रुपमा बिरामी या सम्बन्धित व्यक्तिकै खाता नदिएर सहयोग अभियानका क्रममा आफ्नो व्यक्तिगत खातामा किन रकम जम्मा गरेको भन्ने आउँछ । यस विषयमा अनिलको स्पष्टोक्ति छ, ‘बिरामीको खाता परिवारका अर्को व्यक्तिले चलाउने, पैसा जम्मा भए नभएको तत्काल एकीन गर्न नसकिने, अर्को व्यक्ति कहाँ–कहाँ हुन्छ, सम्पर्क सञ्चार गर्न कठिन हुने भएकाले मेरै खातामा जम्मा हुन्छ, कतिपयले त अपिल गर्न साथ मेरो खातामा सिधै जम्मा गरेर जानकारी गराउनु हुन्छ । जसका लागि जे उद्देश्य, भावना र सद्भावले दिएको छ, त्यो कुनै पनि बाहनामा म राख्दिन, सम्बन्धित व्यक्ति समक्ष नै पु¥याउँछौ ।’

कतिले त फेक आइडी बनाएर आलोचना गर्ने गरेको उनी बताउँछन् । ‘यो कामबाट हामी पछि हट्ने छैनौ । कुनै कमजोरी भएको छ भने सिधा भन्दिनुस्, इमान्दारपूर्वक गरिरहेको सत्कर्ममा बिना गल्ती आलोचना नगरिदिनुस् ।

फेसबुक समूहले नयाँ जीवन

मगर समुदाय भित्रका गरिब, विपन्न, निमुखी बिरामी परेर उपचार गर्न कठिन भएका सयौं जना ग्रुपको अभियानबाट प्रत्यक्ष लाभान्वित भएका छन् । जीवनमरणको दोसाधमा पुगेका कैयनले नयाँ जीवन पाएका छन् ।

पैसा नभएर अस्पतालमा उपचार गर्न नसकी अलपत्र, घाइते, बिभिन्न रोगबात प्रताडित, सुत्केरी, खान नपाएका धेरैका लागि ग्रुप वरदान सावित भएको तिलक पुनले बताए । ‘अहिलेको समयमा मानिसको गोजीबाट पैसा फुत्काउनु भनेको धेरै ठुलो कुरा हो, यो ग्रुपमा अपिल आए पछि भने स्वतःस्फूर्त सहयोग दिने गर्छन्, यो निकै खुशीको कुरा हो,’ उनले भने ।

मगर संसार फोटो ग्यालरी ग्रुपमा बिरामी र तिनका आफन्तको अनुरोधमा अपिल मात्र राखिदिँदा पनि निकै खुशी हुने गरेको सञ्चालक लामिछाने बताउँछन् । ग्रुपबाट सहयोगमा उपचार गरेर नयाँ जीवन पाएकाहरु पनि त्यस पश्चात आफु जस्तै दुःख र समस्या भोगिरहेका बिरामीलाई सहयोग गर्ने गरेको उनको भनाई छ । कतिपयले त उठेको रकमबाट केही रकम तपाईँ राखेर बाँकी दिनुस् समेत भन्ने गरेको उनी बताउँछन् । ‘यो ग्रुप यस्तो हो, जुनकुनै सदस्यले पनि ग्रुपको निश्चित मूल्यमान्यतामा रहेर सहयोगका लागि अपिल गर्न सक्छन्, हाम्रो यसमा कुनै मापदण्ड छैन । समस्यामा परेकाको संवेदनशीलता, अवस्था हेरेर ग्रुपका सदस्यहरुले सहयोग आदान प्रदान गर्छन्, आवश्यक परेको अवस्थामा म समन्वय सहजीकरण गर्छु ।’

सञ्जालबाटै अतिरिक्त क्रियाकलाप

‘मगर संसार फोटो ग्यालरी’ले फेसवुक ग्रुप मार्फत नै नियमित अतिरिक्त रचनात्मक क्रियाकलाप पनि गर्दै आएको छ । अहिले सम्म अनलाइन मार्फत ५२ वटा प्रतियोगिता गरिसकेको लामिछाने बताउँछन् । ‘मगर भाषा, संस्कृतिका लागि १५ महिने मगर भाषा ढुट तालिम, ३ महिने मगर भाषा खाङपाङ तालिम चलायौ, व्यक्तित्व विकासका लागि उद्घोषण तालिम पनि ग¥यौ,’ उनले भने ।

यसका साथै स्वास्थ्य सम्बन्धी परामर्श, खेलकुद लगायतका रचनात्मक कार्यक्रम पनि गर्दै आएको छ ।

यस्तो छ अनिलको भावी योजना

ग्रुप सञ्चालक अनिल लामिछाने मगरलाई उनका अभिभावक लाहुरे बनेको हेर्न चाहन्थे । बाउ, बाजे भारतीय आर्मी भएको इतिहास थियो । उनलाई पनि नेपाल या भारत जहाँ भए पनि लाहुरे बनेर बन्दुक काँधमा बोक्ने रहर नआएको होइन । तर, समयले उनलाई कोरिया पु¥यायो । यद्यपि, यसमा उनी बेखुशी छैनन् । अझ अहिले फेसबुक ग्रुप मार्फत विश्वभरका मगर दाजुभाइ दिदीबहिनीसँग जोडिदाँ र समाजसेवा गर्न पाउँदाको खुशी र आनन्द पृथक रहेको उनी बताउँछन् ।

उनै अनिलको सामान्य सोचबाट जन्मिएको ‘मगर संसार फोटो ग्यालरी’ ग्रुप अब केबल ग्रुप मात्र रहेन । यस प्रति ग्रुपका सदस्यहरुको अभूतपूर्व विश्वास र भरोसाका त्यसलाई कायमै राख्ने र थप अघि बढ्नुपर्ने चुनौती छ ।

अब ग्रुपको सदस्य सख्या बढाउने, अझ परोपकारी र रचनात्मक कार्य गर्ने, मगर समुदायको भेषभुषा, भाषा, संस्कार संस्कृतिको संरक्षण गर्ने, मगरहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउन पनि ग्रुप मार्फत भूमिका खेल्ने उनको योजना छ ।

२०८०, २० चैत्र मंगलवार ०८:१९
कथालिका नयाँ कथा
कथालिका