खबपुः एक अर्गानिक कमेडियन – कथालिका

खबपुः एक अर्गानिक कमेडियन

  • आमा खाम भाषा मात्र बोल्छिन् र बुझ्छिन् । प्लस टु, स्नातक गरेको भन्दा बुझ्दिनन्, १३, १४, १५ कक्षामा पुगें भन्नुपर्छ,’ खबपु भन्छन् । उनीप्रति आमाबाबाको विश्वास यति छ कि उसले नराम्रो काम गर्दैन र सही बाटोमा हिँडिरहेको छ । उनलाई सबैभन्दा ठूलो खुशी यही लाग्छ ।

जीवनमा होस् या मञ्च र रंगमञ्चमा, हसाउने कार्य निकै मुश्किल काम हो । देख्दा या हेर्दा सामान्य जस्तो लागे पनि सामाजिक, राजनीतिक विषय मिश्रित गरेर साँच्चिकै हाँस्य व्यंग्य मार्फत आम दर्शकलाई हसाउनु अझ कठिन कुरा हो ।

रोल्पामा जन्मिएका खड्गबहादुर पुन मगर उर्फ खबपु यही कठिन कर्ममा अहिले सक्रिय छन् । गृह जिल्लामा आयोजना हुने कार्यक्रममा उद्घोषण गर्दा–गर्दै दर्शकलाई हाँस्न बाध्य बनाउँथे, कहिले आफै गीत गाउँथे, कहिले आफै नाच्थे पनि । अन्य व्यक्तिको क्यारिकेचर गरेर होइन, आफ्नै शारीरिक बनोट र विषयमा केन्द्रित रहेर उनी बढी हसाउँथे । तर, उनले धेरै पछि सम्म पनि सोचेका थिएनन् कि आफ्नो भविष्य नै हाँस्य कलाकारिता बनाउँछु भन्ने । जीवनका अनवरत यात्राका क्रममा कहाँ सोचेको जस्तो हुन्छ र ? गृह जिल्लामा विभिन्न संस्था सहित गाउँकै क्लबको घेरामा सीमित ठिटोले संघर्षको साहस बोकेर राजधानीमा पाइला राखे पछि बदलियो उनका जीवनका रंग र सपनाहरु ।

आफ्नै बलमा उभिनु र हिँड्नुपर्ने त्यो बाध्यता
भविष्य त बनाउने, तर कसरी ? रहर, सपना त अनगिन्ती छन्, सार्थक बनाउने कसरी ? यो चिन्ता एकातिर थियो भने अर्कोतर्फ त्यो भन्दा ठुलो आफ्नै गास, बास र कपासको जोहो गर्ने चिन्ता व्याप्त थियो । परिवारबाट दरिलो आर्थिक अवस्था सहित मार्गदर्शन गर्ने नभए पछि आफ्नै बलमा उभिएर हिँड्नुपर्ने बाध्यता खबपुलाई थियो ।

उनले हरेश खाएनन्, क्रमशः संघर्ष, सिर्जना र साधनालाई अघि बढाउँदै गए । उनलाई थाहा थियो, मेहनत गरेर अगाडि बढ्न कोसिस गर्नेले मात्रै सफलता र उचाई प्राप्त गर्छन् । आमा खिन्तासरी पुन र बाबा सुनिलाल पुनको पहिलो सन्तानका रुपमा रोल्पा सुनछाहरी गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका पुन जनयुद्धलाई नजिकबाट नियाले ।

संकलकालीन समयमा त उनको गाउँमा विद्यार्थीले वर्षमा ६/७ महिना मात्रै विद्यालय जान पाउँथे । ‘त्यति पढेर हामीले विद्यालय तहको परीक्षा दिन्थ्यौं,’ उनले भने, ‘मैले कक्षा ३ सम्म आफ्नै गाउँ, निमावि र मावि तह साढे २ घण्टाको बाटो पैदल हिँडेर अन्य गाउँमा पढेको हो ।’ एसएलसी पास गरे पश्चात कलेज पढ्न सदरमुकाम झरे । त्यहाँ प्लस टु सम्मको अध्ययन गरेर पोखरा आए, तर ४ महिना भन्दा टिक्न सकेनन्, पोखरा महँगो सहर जस्तो लाग्यो उनलाई । फेरि दाङ फर्किए, अनि क्याम्पस भर्ना भए । नियमित क्याम्पस जान सक्ने अवस्था भएन । घरको जेठो सन्तान, परिवारको जिम्मेवारी र अन्य समस्या बढी भएकाले कमाउनु पर्ने दबाब थियो, परीक्षा दिन मात्रै उनी क्याम्पस जान्थे ।

गाउँ छोडे पछि दुःख र संघर्षको बोध
उनको आफ्नै माइला काकाले एसएलसी पास गरेका थिए । काकाको जीवनशैली हेर्दा खबपुलाई पढ्नुपर्छ भन्ने लाग्थ्यो, र उनले स्नातकसम्मको अध्ययन गरे । उनलाई बाजेले किन पढ्नुप¥यो भनिरहन्थे । कारण उनै एसएलसी पास गर्ने काका थिए । ‘एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि गाउँ छोडेर जानुभयो, द्वन्द्वकाल भएकाले जागिर पाउनुभएन, भारत तिर गएर मजदुरी गर्नुभयो,’ उनले भने, ‘त्यसैले बाजेले पढे पनि मजदुरी गर्नुपर्ने रहेछ, पढ्नु पर्दैन भनिरहनुहुन्थ्यो ।’ पारिवारिक समस्याले गर्दा खबपुलाई बाजेबजैले हुर्काएका हुन् । उनका बाजे एकदमै रमाइलो गर्नुपर्ने, गाउनुपर्ने, नाँच्नुपर्ने र ठट्यौली गर्नुपर्ने खालका थिए । त्यही गुण आफूमा सरेको हुन सक्ने खबपु बताउँछन् ।

बाजेले गाउँमा पसल चलाउने भएकाले खान–लाउन, अभाव भएन । पढाईका लागि गाउँघर छोडेपछि हो खबपुले अभाव के हो भन्ने बुझेको । खबपुको जीवन सजिलै यहाँसम्म आइपुगेको होइन, सानैदेखि संघर्ष गरे । विद्यालयस्तरमा सडक नाटकमा भाग लिए पनि भविष्य यही क्षेत्रमा हुन्छ भन्ने नसोचेको उनको कथन छ । उनलाई जीवनमा नसोचेको कुरा हुँदा जिउन रमाइलो लाग्छ । ‘गाउँमा आफन्त र साथीभाइलाई हँसाउनु र करियरकै रुपमा अगाडि बढाउनुमा धेरै फरक रहेछ,’ उनी भन्छन् । द्वन्द्वकालीन समयमा जनसाँस्कृतिक कार्यक्रम उनको गाउँमा आयोजना हुने गथ्र्यो । उनले भने, ‘स्कुलमा सडक नाटक गर्ने अवसर पाएँ, अनि कलाकारितामा रस पस्यो, यो क्षेत्रमा भविष्य बनाउने सपना देखिएन ।’

त्यो एक प्रश्नः तिमी गमलाको फूल बन्छौ कि बगैंचाको ?
विद्यालयस्तरको पढाई पुरा गरेर कलेज पढ्न उनी दाङ झरे, त्यहाँ कलालकारिता क्षेत्रमा लागिरहेका व्यक्तिको संस्था ‘राप्ती साँस्कृतिक समाज’ मा आवद्ध भए । सोही संस्थामा आवद्ध भइसकेपछि उनी नृत्य, अभिनयमा बढी सक्रिय हुन थाले । त्यसको केही समयमा उनीसहितका साथीले ‘सुनछहारी कला केन्द्र’ संस्था स्थापना गरे । सो संस्थामा काम गर्दा¬–गर्दै उनले गाउँका लागि केही गर्नुपर्छ भन्ने सोचले गाउँकै साथीसंग मिलेर ‘स्टार युवा क्लब’ स्थापना गरेका थिए । विभिन्न संस्थासंग आवद्ध भएर आफ्नो कला साहित्य प्रस्तुत गरिरहँदा उनले धेरै अवसर पाएका हुन् । तर, त्यो समयसम्म उनी जिल्लाभित्रै सीमित थिए । पढाई, काम, परिवारको जिम्मेवारी, गाउँ समाजका लागि केही उदाहरणीय काम गर्ने हुटहुटीका बीच उनको संघर्ष जारी थियो ।

जिल्लामा संघर्ष गरिरहँदा हो उनले अग्रजबाट काठमाडौं जानुपर्छ भन्ने सुझाव पाएको । ‘जिल्लाभित्र बस्नु र यहाँबाट कलाकारिता क्षेत्रलाई हेर्नु भनेको गमलाको फूल जस्तै हो, तपाईं राजधानी तिर जानुभयो भने नतिजा आउन सक्छ भन्ने सुझाव अग्रजले दिनुभयो, त्यसपछि २०७४ सालमा काठमाडौं आए,’ उनले भने । सुरुवातमा काठमाडौं यात्रा र बसाइँ उनका लागि सहज भएन । तर खबपु थकित भएनन्, संघर्षरत रहे । सोखका लागि गीत गाउने भएकाले उनले सुरुमा दोहोरी साँझमा काम गर्न थाले । एक स्थानमा जागिर गरेर धानिनु समस्या बन्दै गएपछि उनले विभिन्न निजी विद्यालयमा नृत्य सिकाउन थाले । विद्यार्थीलाई सिकाउँदै गर्दा खबपुलाई आफूमा कमजोरी रहेको जस्तो महुशुस भयो । आफैले नृत्य, अभिनय, गायन लगायतका विधामा सिक्न मन लाग्यो । सिक्ने हुटहुटीले उनलाई राष्ट्रिय नाचघर जमल पु¥यायो । त्यही पुगेपछि हो उनलाई कलाका विषयमा सैद्धान्तिक कुराको जानकारी हुन थालेको ।

आफैले आफैलाई दिएको त्यो समय
उनी आफूले देखेका हरेक सपनालाई डायरीमा टिपोट गर्छन् र त्यो सपना पुरा गर्न एउटा निश्चित समय आफूले आफैंलाई दिन्छन् । कलाकारितामा संघर्ष गर्न भनेर काठमाडौं हान्निदाँ खबपुले आफैंलाई ४ वर्षको समय दिएका थिए । ‘यो अवधीमा सफल हुन सकिएन भने विदेशमा जान्छु र परिवारलाई राम्रो भविष्य दिन्छु भन्ने थियो,’ उनले भने, ‘भाग्यबस् मेरो पोल्टामा कमेडी च्याम्पियन कार्यक्रम आयो र मेरो भविष्यको बाटो कोरिदियो ।’

कमेडी च्याम्पियनका विषयमा खबपुलाई जानकारीसम्म थिएन । विद्यालयमा नृत्य सिकाउनु, दोहोरी साँझमा काम गर्नु लगायतले गर्दा उनको दैनिकी व्यस्त थियो । एकदिन साथीहरुले सामाजिक सञ्जालमा उक्त कार्यक्रमका विषयमा लिंक पठाइदिए । लिंककै आधारमा खबपु कमेडी च्याम्पियनमा भाग लिन पुगेका थिए । ‘म अहिले जुन स्थानमा छु, त्यो सबै कमेडी च्याम्पियनले गर्दा सम्भव भएको हो,’ उनले भने ।

मेला महोत्सवको ठेकेदारबाट हैरानी
मेला, महोत्सवमा उनी खासै जाँदैनन्, त्यसैले धेरैले उनलाई पलायन भएको भन्छन् । तर उनी आफैंलाई पलायन भएको सोच्दैनन् । मेला–महोत्सव लगायत कार्यक्रममा उनलाई निम्तो नआउने होइन, पहिले–पहिले जान्थे पनि । पछि भने सहभागी हुन छोडेका हुन् । ‘त्यस्ता कार्यक्रममा सबै ठेक्का हुने रहेछ, ठेक्का लिनेले हामीलाई पारिश्रमिकको केही हिस्सा मात्रै दिन्छन्, तर आयोजकसंग हामीलाई दिएको पारिश्रमिक भन्दा दोब्बर भनिदिन्छन्, त्यहाँबाट समस्या आउने रहेछ ।’ उनले भने, ‘कतिपयले भने आफूले मेहनत गरेर आउने त्यही पारिश्रमिक दिन मान्दैनन्, अहिले पनि केही आयोजकबाट पारिश्रमिक लिन बाँकी छ, फोन ग¥यो भने उठाउँदैनन्, भेट्न मान्दैनन् ।’ उनी अहिले चलचित्र खेल्छन् । हालै मात्र रुकुम पश्चिममा छायांकन गरिएको चलचित्र घर ज्वाइँमा उनले अभिनय गरेका छन् । चलचित्रमा व्यस्त हुने भएकाले अन्य कार्यक्रममा सहभागी भएर दर्शक हँसाउने मौका पाएका छैनन् । टेलिचलचित्रको पर्दामा देखिसकेकाले चलचित्रको पर्दामा देखिन उनलाई खासै असहज नलाग्ने पुन बताउँछन् ।

खबपु व्यंग्य सुत्रः पहिलो व्यंग्य आफैलाई, अनि बल्ल अरुलाई
प्रविधिको समयमा एउटै विषयवस्तुमा केन्द्रित रहेर दर्शकलाई हँसाउन झनै गाह्रो हुँदै गएको उनले बुझेका छन् । ‘कुनै एउटा कार्यक्रममा गएपछि भिडियो खिचेर युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छन्, त्यही विषयलाई अर्को कार्यक्रममा प्रस्तुत गर्नु भएन,’ खबपुले भने, ‘मेहनत त्यस्तै गनुपर्ने हुन्छ, हरेक कार्यक्रममा फरक विषयवस्तु उठान गर्नुपर्छ ।’ खबपुलाई लाग्छ, कार्यक्रममा कुनै व्यक्तिलाई हाँसोको पात्र बनाउनु भन्दा पहिले आफैं हाँसोको पात्र बन्न सक्नुपर्छ । त्यसैले धेरै कार्यक्रममा उनी आफैंलाई हाँसोको पात्रका रुपमा प्रस्तुत गर्छन् । ‘अरुलाई भन्यो भने रिसाउँछन् कि भन्ने हुन्छ, त्यसैले सुरुआत आफैंबाट गर्ने हो,’ उनले हाँस्दै भने, ‘मेरो हाइट सानो छ, आँखा चिम्सो छ, म आफैंमा भएको कमजोरीलाई विषयवस्तुका रुपमा उठान गरेर दर्शक हँसाउने प्रयास गर्छु ।’

कलाकारितामा नाम पनि, दाम पनि
कलाकारिता बाहेक उनलाई व्यवसायमा गर्ने चाहना थियो । त्यसैले पुस्तक पसल र मासु पसल सञ्चालन गरे, सफल हुन सकेनन् । अनि व्यापार÷व्यवसायलाई बिट मारेर नितान्त कलाकारिता क्षेत्रलाई अगाडि बढाइरहेका छन् खबपु । ‘अहिले पनि मेरो मनसाय व्यापार गर्नुपर्छ भन्ने छ, तर बुझेर हेरेर सुरुआत गर्छु,’ उनले भने । कलाकारिता बाहिरबाट हेर्दा जति चमक–धमक देखिन्छ, त्यो भन्दा गाह्रो भएको उनले बुझेका छन् । कलाकार हो, नाम छ, दाम धेरै आउँछ भन्ने आम व्यक्तिको बुझाई हुन्छ । त्यो भन्दा बढी संघर्ष भएको खबपुको अनुभव छ । ‘कलाकार हो नाम छ, दाम छ भन्छन्, तर नामले मात्रै खान–लाउन दिँदैन, आफूँले मेहनत गर्नुपर्छ,’ खबपु भन्छन् । यसको मतलब उनलाई यो क्षेत्रमा लागेर बाँच्न सकिदैन भन्ने लाग्दैन । आफ्नो हैसियत, कमाई जे छ, त्यसैमा सन्तुष्ट हुन सक्ने हो भने यो क्षेत्रमा भविष्य राम्रो रहेको उनी बताउँछन् ।

कलाकारिताबाट मात्रै जीवन धान्न सहज छैन भन्दै धेरैले व्यवसायमा हात हालेका छन् । व्यवसाय गर्ने आफ्नै इच्छा भए पनि यो क्षेत्रका विषयमा गलत व्याख्या गरिएको उनलाई लाग्छ । ‘मान्छे कलाकारिता गरे पनि–नगरे पनि जिउनै पर्छ, के कुरालाई सहज र असहज मान्ने भन्ने कुरा आफैंमा निर्भर हुने हो,’ उनले भने । यो क्षेत्रमा काम गरेर छोडेकाले कलाकारिता क्षेत्रमा जिउन सहज छैन भनेर गलत व्याख्या गरेकोमा खबपुलाई दुःख लाग्छ । उनलाई लाग्छ, कलाकारिताको क्षेत्रमा लागेर बाँच्न सजिलो छ । फरक यत्ति हो, अरुको प्रगति र जीवन देखेर मेरो किन त्यस्तो भएन, मैले किन प्रगति गर्न सकिन भन्दै चित्त दुखाएर बस्नु हुँदैन । उनले कलाकारिता क्षेत्रमा काम गरेरै परिवारको जिम्मेवारी निभाएका छन्, आमाबाबा, श्रीमती र छोरीलाई राम्रै जीवन दिएका छन् । ‘यो क्षेत्रलाई निरन्तरता दिन नसकेको भए मैले उहाँहरुलाई खुसी बनाउन सक्दिनथेँ, दर्शकले चिन्दैनथे ।’

आमाको खाम भाषा र त्यो अनायस खसेको आँशु
खबपुकी आमा मगर खाम भाषा बाहेक अन्य भाषा बुझ्दिनन् । खबपुकी छोरी अर्थात् आफ्नी नातिनीसंग अलिअलि नेपाली बोल्छिन् । कति पढेको छस् भन्ने प्रश्न गर्दा प्लस टु, स्नातक भनेको बुझ्दिनन् । ‘मलाई पढाई कहाँसम्म पुग्यो भन्दै प्रश्न गर्दा १३, १४, १५ कक्षामा पुगें भन्नुपर्छ,’ उनले भने । खबपुप्रति उनका आमाबाबाको विश्वास यो छ कि उसले नराम्रो काम गर्दैन र सही बाटोमा हिँडिरहेको छ । उनलाई सबैभन्दा ठूलो विषय यही लाग्छ । ‘कमेडी च्याम्पियनको भिडियो हेर्नुभएको थिएन, मेरो भिडियो आइसकेपछि पत्रकार साथीले घरमा पुगेर देखाउनुभएको रहेछ,’ उनले भने, ‘तपाईको छोरो यो स्थानमा पुग्यो, भिडियो हेरिसकेपछि उहाँ खुब रुनुभयो रे ।’ उनका आमाबाबा काठमाडौं बस्न मान्दैनन् । आमाबाबालाई सहरमा राखेर नयाँ स्थान घुमाउनुपर्छ भन्ने खबपुलाई नलाग्ने होइन । तर, काठमाडौं पुगेपछि आमाबाबा गाउँ फर्किनै हतार गर्छन् ।

कलाकारिता समुन्द्र जस्तोः भेटिए जस्तो पनि, गहिरो जस्तो पनि
प्रविधिको विकाससंग यो क्षेत्रमा प्रवेश गर्ने युवाको संख्यामा वृद्धि भइरहेको उनले देखेका छन् । सामाजिक सञ्जालबाट उदाएका कलाकारको संख्या ठूलो छ । कतिले अध्ययनलाई बीचमै बिट मारेका छन् । उनलाई भने यो कुरा सुन्दा नमज्जा लाग्छ । कलाकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि उनको एउटै सुझाव छ, अध्ययन, साधना गरेर आउनुहोस् । ‘पढाई पुरा गर्नुपर्छ, अनि कलाकारिताको विषयमा अध्ययन गर्नु अति जरुरी हुन्छ । बिना जानकारी र अध्ययन प्रवेश गर्दा नसोचेको दुःख पाउने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘कलाकारिता समुन्द्र जस्तै हो, भेटिए जस्तो लागे पनि गहिराई सोचेको भन्दा बढी हुन्छ ।’ यो क्षेत्रमा लाग्नु भन्दा अगाडि संवेदनशील हुनु जरुरी रहेको उनको बुझाई छ । कलाकारिता क्षेत्रलाई हल्का रुपमा लिएर चर्चाका लागि मात्रै आउन चाहने हो भने उक्त कोसिस गलत हुने उनी बताउँछन् । ‘कलाकारिता क्षेत्रमा केही चर्चामा आउँदैमा अब किन अध्ययन गर्नुप¥यो, नाम र दाम कमाइन्छ भन्ने सोच्नु गलत हुन्छ,’ उनी भन्छन् ।

२०८०, २८ चैत्र बुधबार ०९:५९
कथालिका नयाँ कथा
कथालिका