आत्मबलको कथाः ह्वील चियरमा बास्केटबल – कथालिका

आत्मबलको कथाः ह्वील चियरमा बास्केटबल

  • ‘अपांगता असक्षमता होइन, अवस्था हो । यो अवस्था जो कसैलाई जुनसुकै पल हुन सक्छ भन्ने सोच राखेर त्यस्ता व्यक्तिलाई साथ र हौसला दिनुपर्छ ।

वर्ष २७, लाउलाउ–खाउखाउ भन्ने उमेर अनि भविष्यमा केही गर्नुपर्छ भन्ने सोच र समय । सबै राम्रै चलिरहेको थियो चेतप्रसाद अधिकारीको जीवनमा । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? परिवार र आफ्नै लागि भविष्यको सुन्दर सपना देखिरहेका चेतप्रसादको जीवनमा अचानक आँधी बेहरी चलेको जस्तै भयो ।

पोखरा फूलबारीका उनी त्यो बेला गाउँघरमा फल्ने मौसमी (सिजनवेल) फलफूल संकलन गर्दै पोखरामा बेच्थे । यही व्यवसायबाट उनको परिवार चल्थ्यो । नासपतिको सिजन थियो, चेतनाथ गोरखाको पालुङटारस्थित ठाँटीपोखरी भन्ने गाउँमा नासपति खरिदका लागि गए । ठेक्का लिएर फलफूल बजारमा लगिने भएकाले नासपतिको बोटबाट टिप्ने आफ्नै जिम्मा हुन्थ्यो । २०५७ साउन १५ गतेको दिनलाई उनी भुल्न सक्दैनन् । त्यही दिन हो उनी रुखबाट लडेर घाइते भए ।

व्यवसाय गर्दा गर्दै जब ह्वील चियरमा पुगे
भर्खर आइ.ए. पढिरहेका उनको जीवनमा नसोचेको घटना भइदियो, उनको कम्मर मुनीको शरीरको भाग चलेन । परिवार चेतप्रसादसँगै निर्भर थिए, श्रीमती सहित २ छोराको जीवन उनकै कमाईमा भर पर्नुपथ्र्यो । यो देखिरहँदा उनलाई चित्त बुझाउनै समय लाग्यो । २७ वर्षको तन्नेरी उमेरसम्म सामान्य जीवनमा रमाइरहेका उनलाई यो घटनापछि पहिलेकै अवस्थामा पुग्न धेरै समय कुर्नुप¥यो । अब हिँड्न नसक्ने भएँ, ह्वीलचियरको साहरामा जानुपर्छ, जीवन बेकार भयो जस्तो लाग्थ्यो । ‘सबैभन्दा पहिले त आफूले आफैंलाई अब म यस्तो भएँ भन्ने कुरा स्वीकार गर्नै समय लाग्यो,’ उनी भन्छन्, ‘ग्रीन पाश्चर हरिखर्क अस्पतालमा आइसकेपछि भने म जस्तै अन्य व्यक्तिलाई देखेँ, अनि चित्त बुझाउँदै लगेँ ।’ कतिपय स्थानमा उनले देखेका छन्, अपांगता भएका व्यक्तिका परिवारका सदस्यले उनलाई साथ दिइरहेका हुँदैनन्, तर उनलाई भने पूर्ण रुपमा साथ छ । ‘परिवारको साथ र सहयोग नभएको भए, आज म यहाँसम्म आउने थिइन ।’ अपांगता भएका व्यक्तिको समूहमा बास्केटबल खेलाडी समेत रहेका चेतप्रसाद भन्छन् । ५२ वर्षीय चेतनाथलाई अपांगता भएका व्यक्तिलाई नेपाली समाजले हेर्ने नजर भने मन पर्दैन ।

अपाङ्गता असक्षमता होइन, अवस्था
प्रविधि, शिक्षाको पहुँच लगायत कारणले अहिले केही हदसम्म परिर्वतन भएपनि विचार र केही गर्न नसक्ने व्यक्तिका रुपमा नलिइदिन उनको आग्रह छ ।

अपाङ्गता असक्षमता होइन, अवस्था हो । तर, नेपालकै अवस्था र समाजलाई नियाल्ने हो भने उनीहरुलाई फरक नजरले हेर्ने गर्छन् । उनीहरुलाई कुन जन्मको पाप फल, परिवारका लागि बोझ, भविष्यमा काम गर्न सक्दैनन्, परिवारको सहारामा जीवनभर बस्नुपर्छ लगायतका दृष्टिले हेरिन्छ । उनीहरुले सोच्दैनन्, यही कुराले गर्दा अपांगता भएको व्यक्तिलाई मानसिक रुपमा कस्तो असर परिरहेको छ भन्ने । प्रविधि र शिक्षाको विकासले गर्दा विगत केही समय यता भने यो सोचमा थोरै परिर्वतन आएको छ । अपांगता भएका व्यक्तिले समेत समाजका लागि उदाहरणीय कार्य गरिरहेका छन् । उनीहरुले आफ्नो तथा परिवारको जीविकोपार्जन गरेर जीवन बिताइरहेका उदाहरण प्रशस्तै देख्न सक्छौं । यति हुँदाहुँदै उनीहरुलाई हेयको दृष्टिले हेर्ने नजर पूर्ण रुपमा परिर्वतन भइसकेको छैन । हुन त जिउन सबैले केही न केही संघर्ष गरिरहेका हुन्छन् । समाजमा इज्जत, मानप्रतिष्ठाका साथ बाँच्न र जीवन अगाडि बढाउन सामान्य व्यक्ति भन्दा केही धेरै उनीहरुले संघर्ष गरिरहनु पर्छ ।

नबिर्सौ, जो कोही जुनसुकै पल अपांग बन्न सक्छौ
लमजुङमा २९ वर्ष अगाडि जन्मिएका सुरेश गौली आफूले आफैंलाई अपांगता भएको व्यक्ति भन्न कहिले हिच्किचाउँदैनन् । हाल पोखरामा बसोबास गर्ने उनी जन्मजात अपांगता भएका व्यक्ति होइनन् । हाल पोखरामा बस्ने उनी १० वर्षको उमेरमा काफलको रुखबाट लड्डा मेरुदण्ड पक्षघात भएको थियो । सुरेश हाल अपांगता भएका व्यक्तिको तर्फबाट बास्केटबल खेल्छन् । कतिपय अवस्थामा आफ्नै परिवारमा समेत अपांगता भएका व्यक्तिलाई समाजबाट लुकाएर राख्ने गरिन्छ, सुरेश यसलाई गलत मान्छन् । घरमै गुम्साएर राख्नु भन्दा उनीहरुलाई के विषयमा इच्छा र चाहना छ, सोही अनुसारका कार्य गर्न दिनुपर्ने उनको बुझाई छ । ‘अपांगता हुँदैमा केही गर्न सकिदैन भन्ने होइन, यसलाई लुकाउनुपर्ने कारण छैन,’ उनी भन्छन्, ‘अपांगता अवस्था हो, रोग होइन । यो अवस्था जो कसैलाई जुनसुकै पल हुन सक्छ भन्ने सोच राखेर त्यस्ता व्यक्तिलाई हौसला दिनुपर्छ ।’

सुरेश आफूले आफैंलाई भाग्यमानी ठान्छन्, किनकि अपांगता भएकै आधारमा उनले परिवार, आफन्त, साथीभाई तथा विद्यालयका शिक्षकबाट अपहेलना भोग्नुपरेन । समस्या त उनले नेपालमा अपांगमैत्री भौतिक पूर्वाधार तथा संरचना नहुनुलाई मान्छन् । बास्केटबल खेल्न विभिन्न जिल्ला पुगिरहँदा प्राय संरचना अपांगतामैत्री नहुनु चुनौती भएको उनलाई लाग्छ । ‘अपांगमैत्री भौतिक पूर्वाधार तथा संरचना हुँदै नभएका होइनन्, तर कम छन्, यसले समाजबाट भन्दा बढी समस्या हुन्छ ।’ उनले भने, ‘अपांगता आफैंमा अपांगता हुँदैन, जबसम्म भौतिक पूर्वाधारले रोक्दैन । सुरुको रोकावत भौतिक पूर्वाधार अपांगतामैत्री नहुनु हो ।’ नेपाल सरकारले ‘अपांगता पहुँचयुक्त पूर्वाधार निर्देशिका २०६९’ जारी गरेको छ । सोही निर्देशिकालाई टेकेर भएपनि सार्वजनिक स्थान, सरकारी कार्यालय, कुनै पार्क लगायतका स्थानमा त्यो अनुसारको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा सुरेश जोड दिन्छन् ।

शारीरिक अपांगता कुनै कर्म वा पापको फल वा असक्षता होइन । बाहिरी रुप अन्य व्यक्ति भन्दा केही फरक भए पनि अवसर, परिवार तथा वरपरको समाजका व्यक्ति, आफन्तको साथ र सहयोग पाउन सके उनीहरुले समाजका लागि उदाहरणीय काम गर्न सक्छन् । उनीहरुलाई हतोत्साही गर्ने खालका बोली वचन दिने होइन, प्रोत्साहन गर्नुृपर्छ । सकेसम्म अपांगता भएका व्यक्तिलाई सहज हुने गरेर भौतिक संरचना निर्माण हुनु आवश्यक छ । केही समय अगाडि सम्म शारीरिक अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण फरक थियो, अहिले धेरै परिवर्तन आइसकेको छ । प्रविधिको विकास तथा शिक्षा यसको मुख्य कारण हुन सक्छ । तर, सोचेको जस्तो परिर्वतन भने हुन सकेको छैन । अपांगता भएका व्यक्तिले उचित शिक्षा तथा अवसर प्राप्त गर्न सके राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण अहिले समाजमा प्रशस्तै देख्न सकिन्छ ।

ह्वील चियरबाटै बास्केटबल खेल्दै
नवलपरासीका बलबहादुर तामाङ जन्मेको ३ वर्षदेखि पोलियोबाट ग्रसित छन् । घरबाट उनलाई कुनै समस्या थिएन । आफन्त तथा समाजले समेत उनलाई आफ्नै अगाडि आफ्नो विषयमा केही भन्न सकेनन् । विद्यालय जाँदा भने उनलाई आफू अन्य साथी भन्दा केही फरक छु भन्ने अनुभव हुने गथ्र्यो । ‘साथी विभिन्न खेल खेल्थे, तर म कुनामा हेरेर बस्नुपथ्र्यो ।’ हाल पोखराको पस्र्याङमा बस्दै आएका उनले भने, ‘बास्केटबल खेल्न थालिसकेपछि अहिले म जस्ता शारीरिक अपांगता भएका व्यक्तिहरुले पनि खेल्न सक्ने रहेछन् भन्ने हुन्छ ।’ नेपालमा अझै पनि अपांगमैत्री संरचना निर्माण रुपमा निर्माण भइसकेका छैनन् ।

बलबहादुर केही जिल्लामा अपांगता भएका व्यक्तिबीच हुने बास्केटबल प्रतियोगितामा भाग लिन पुग्छन् । तर, संरचना अपांगतामैत्री र आफु अनुकुल हुन नसक्दा बलबहादुरलाई दुःख लाग्छ । घान्द्रुकमा भएको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताका क्रममा भेटिएका उनले भने, ‘यहाँ पनि खासै छैन, अन्य स्थानमा त झन् प्रायः हुँदैन । हामी जस्ता व्यक्तिको लागि चुनौती भौतिक संरचना अपांगमैत्री नहुनु हो ।’ समाजले पूर्ण रुपमा शारीरिक रुपमा अपांगता भएका व्यक्तिलाई स्वीकार गर्न नसकेको उनी मान्छन् । वरपर भन्दा घर र आफन्तबाट केही टाढाको जिल्ला पुग्दा उनलाई हेर्ने नजर फरक पाउँछन् बलबहादुर । यो विषयमा उनलाई गुनासो भने छैन । ‘सबैको हेराई परिर्वतन गर्न सकिदैन, आफू सही हुनुपर्छ, गलत बाटोमा हिँड्नु भएन,’ उनले भने ।

बदलिँदै अपांगता भएकालाई हेर्ने दृष्टिकोण
सिराहाका भरतविक्रम बानियाँ हाल पोखरामा बस्छन् । उनी पनि अहिले शारीरिक रुपमा अपांगता भएकाको बास्केटबलको टिमसँग आवद्ध छन् । २०५४ सालमा उनी गाडी दुर्घटनामा परे, त्यसपछि उनको जीवनले नसोचेको कोल्टे फे¥यो । दुर्घटना अगाडि सामान्य रुपमा जीवन बिताइरहेका उनलाई त्यसपछि मानसिक रुपमा समेत नराम्ररी आघात पुग्यो । भरत भन्छन्, ‘धेरै समयसम्म आफूलाई स्वीकार गर्न सकिन, तर पछि सबै ठीक हुँदै गयो ।’ भरत बास्केटबल प्रतियोगितामा भाग लिन विभिन्न जिल्ला पुग्छन् । उनलाई लाग्छ, शारीरिक अपांगता भएका व्यक्तिलाई हेर्ने नजर पहिलेभन्दा केही परिर्वतन भएको छ, तर पूर्ण रुपमा होइन । थोरैले बुझ्छन्, धेरैले हेय, विचार तथा मायाको नजरले हेर्छन् । धेरै स्थानमा उनले नमिठो अनुभव गरेका छन् । ‘केही स्थानमा गाडी कुर्दा होस् या अन्य कामका लागि सार्वजनिक स्थानमा हुँदा होस्, मागेर खाने सोच्छन्, त्यस्तै व्यवहार जनाउँछन् ।’ उनी भन्छन्, ‘कुनै स्थानमा त मलाई ५०/६० रुपैयाँ लिनुस् भनेर दिएका छन्, हामी जस्ता केही व्यक्तिको मागेर खाने बाध्यता भए पनि सबैको त्यस्तो हुँदैन, सबैले बुझ्नुपर्छ ।’ सडकमा माग्नु कसैको रहर नभएर बाध्यता हुने गरेको उनले सुनाए । शिक्षा र अवसरको कमी तथा रोजगार नपाउनु र भौतिक संरचना आफूहरु अनुकुल नहुनुलाई भरत चुनौतीका रुपमा लिन्छन् । ‘सबैले अवसर प्राप्त गरेका छन्, भन्न सकिन्न, तर हामी जस्ता सबै मागेरै पेट पाल्ने हुन्छन् भन्ने सोच्नु पनि गलत हो,’ उनले भने ।

शारीरिक अपांगता भएका व्यक्तिका लागि अहिले विभिन्न संघसंस्था स्थापना भएका छन् । अपांगता भएका व्यक्ति सामान्य व्यक्ति हुन् भन्ने विषयमा जनचेतना बृद्धि भएको छ । उनीहरुलाई हेर्ने नजरमा फरक आएको छ । केही समय अगाडिसम्म उनीहरु परिवारका लागि बोझ बन्थे । आफन्त तथा समाजका लागि त सोचभन्दा परको विषय थियो । अहिले उनीहरुले शिक्षा र अवसर पाउन थालेका छन् । शिक्षा र अवसर प्राप्त गर्न थालेसंगै समाजमा उनीहरु आत्मनिर्भर बनेका छन् भने आफू जस्तै अपांगता भएका व्यक्तिको लागि उदाहरण बनिरहेका छन् ।

जन्मदेखि भन्दा पछि कुनै दुर्घटनाबस् शारीरिक अपांगता भएका व्यक्तिलाई शारीरिक मात्रै होइन, मानसिक रुपमा समेत आघात पुग्छ । केही समय अगाडिसम्म सामान्य अवस्थाको आफूलाई शरीरको कुनै भाग चल्दैन भन्ने स्वीकार गर्न उनीहरुलाई समय लाग्छ, मानसिक रुपमै कमजोर बन्छन् । केही आफैंलाई विस्तारै समयसंगै स्वीकार गर्छ सक्छन् भने केहीलाई पत्यार नलाग्न सक्छ । त्यसका लागि उनीहरुको परिवार, आफन्त, वरपरका साथीभाइ तथा समाजले हतोत्साहित बनाउने होइन, केही भएको छैन, अन्य व्यक्ति सरह काम गर्न सकिन्छ भन्ने सोच राख्न हौसला प्रदान गर्नुपर्छ । सरकारले समेत शारीरिक अपांगता भएका व्यक्तिको लागि खासै काम गर्न सकिरहेको छैन । त्यसैले उनीहरुले दैनिकीमा समस्या भोग्नुपरिरहेको हुन्छ ।

अपांगता भएकालाई रोजगारीमा चुनौती
धेरैले अपांगतामैत्री भौतिक संरचनाको विषयमा मात्रै कुरा उठाइरहेका हुन्छन् । तर अर्को मुख्य समस्या भनेको उनीहरुले शिक्षाको अवसर प्राप्त गरे पनि रोजगारी नपाउनु हो । रोजगारी पाउन नसक्दा अहिले पनि शारीरिक अपांगता भएका व्यक्ति सडकमा मागेर खानुपर्ने बाध्यता छ । सहरको सडकमा धेरैले शारीरिक अपांगता भएका व्यक्तिलाई मागिरहेको देख्न र भेट्न सक्छौं । पोखरा–१५ का बासिन्दा कुष्णराम लामिछानेलाई यस्तै लाग्छ । जागिर नपाउनु र अवसरबाट बञ्चित गराउनु मागेर खानुको मुख्य कारण भएको उनलाई लाग्छ । उनी ६ वर्षदेखि शारीरिक अपांगता भएको व्यक्तिका रुपमा बाँचिरहेका छन्, र यसलाई सहज रुपमा लिन्छन् । काम गर्ने क्रममा भ¥याङबाट लडेर उनलाई मेरुदण्डको पक्षघात भएको थियो ।

भ¥याङबाट लडेर दुर्घटना हुँदा उनले आफूलाई मेरुदण्डको पक्षघात हुन्छ भन्ने सोचेका समेत थिएनन् । आफूलाई स्वीकार गर्न धेरै समय लागेपनि पछि मात्रै चित्त बुझाउन थालेको उनी बताउँछन् । ‘पहिले त सञ्चो हुन्छ भन्ने लाग्थ्यो, अहिलेको अवस्थाका बारेमा कल्पना समेत गरेको थिइन ।’ उनले भने, ‘अहिले त पूर्ण रुपमा आफूलाई स्वीकार गर्न सक्ने भएको छु, समय सबैभन्दा ठूलो औषधी रहेछ भन्ने लाग्छ ।’ सुरुमा उनले उनी शारीरिक रुपमा अपांगता भएको व्यक्तिको बास्केटबलको टिमसँग आबद्ध छन् । विगत २ वर्षदेखि कृष्णरामलाई बास्केटबलमा रुचि बढेको हो । अहिले बास्केटबल खेल्न आफ्नो टिमसँग विभिन्न जिल्ला पुग्दा उनलाई बेग्लै अनुभव हुन्छ । परिवार, समाज र आफू जस्तै अन्य व्यक्तिका लागि उदाहरण बन्न पाउँदा खुसी लाग्छ । शारीरिक अपांगता भएका व्यक्तिको लागि आफन्त, समाज र साथीभाइ भन्दा परिवारको हौसला सबैभन्दा महत्वपूर्ण हुने उनी बताउँछन् ।

राष्ट्रिय अपांग महासंघ नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग र राष्ट्रिय तथ्यांक कार्यालयसँगको सहकार्यमा पहिलो पटक अपांगता भएका व्यक्तिको तथ्यांक सहितको प्रतिवेदन ‘अपांगता भएका व्यक्तिहरुको तथ्यांकीय प्रतिवेदन’ गत २०८० चैत्र ९ गते सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपालमा २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या छ । जनसंख्यामध्ये ६ लाख ४७ हजार ७४४ जनामा शारीरिक अपांगता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक प्रतिवेदन अनुसार नेपालमा कुल जनसंख्याको २ दशमलव २ प्रतिशत शारीरिक अपांगता भएका व्यक्ति छन् । जसमध्ये २ दशमलव ५ प्रतिशत पुरुष तथा महिला २ प्रतिशत शारीरिक अपांगता रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०८१, २३ बैशाख आईतवार ०५:३३
कथालिका नयाँ कथा
कथालिका