विद्यार्थी महोत्सवः विद्यार्थी आन्दोलनमा नवीनतम अभ्यास – कथालिका

विद्यार्थी महोत्सवः विद्यार्थी आन्दोलनमा नवीनतम अभ्यास

  • विद्यार्थी आन्दोलन कमजोर भइरहेको तिब्र गुनासो र आलोचना छ । यही परिवेशमा एक विद्यार्थी संगठनको विद्यार्थी केन्द्रित सिर्जनशील कार्यक्रमले भने धेरैको ध्यान आकर्षित गरेको छ ।

कुनै समय यस्तो थियो, यो देशमा पेट्रोल, मट्टितेल, डिजेलमा २,४ रुपैयाँ बढ्दा पनि देशमा आगो बल्थ्यो । महँगी र बेथिति विरुद्ध आक्रोशका बैजनी रंगहरु सडकमा पोखिन्थ्यो । मुलुकको व्यवस्था परिवर्तनका आन्दोलन देखि शैक्षिक, राजनीतिक, सामाजिक आन्दोलनहरुमा विद्यार्थी संगठनको भूमिका निकै प्रभाबी र निर्णायक हुन्थ्यो । तर, आजको समय र व्यवस्थामा विद्यार्थी आन्दोलन र भूमिका गुमनाम अवस्थामा छ । चाहे त्यो कांग्रेस निकट नेपाल विद्यार्थी संघ होस् या कम्युनिष्ट निकट अखिल होस् या मधेशवादी दल निकट विद्यार्थी संगठन या अरु । कुनै यस्तो विद्यार्थी संगठन छैन, जसले साँच्चिकै समयसापेक्ष भूमिका निर्वाह गरेको होस् । स्थापनाको दशकौं वर्ष भएको गर्विलो इतिहास भए पनि विद्यार्थी संगठनहरुको वर्तमान निराशाजनक छ ।

विद्यार्थी आन्दोलनमा सिर्जनात्मक आयाम
विद्यार्थी आन्दोलन कमजोर भइरहेको तिब्र गुनासो र आलोचना भइरहेको अवस्थामा एक विद्यार्थी संगठनको विद्यार्थी केन्द्रित सिर्जनशील कार्यक्रमले भने धेरैको ध्यान आकर्षित गरेको छ । नेकपा (एमाले) को भ्रातृ संस्था अनेरास्ववियुले काठमाडांैको भृकुटिमण्डपमा आयोजना गरेको तीन दिने विद्यार्थी महोत्सवमा एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको भिड छ ।

जेठ १ अनेरास्ववियुको स्थापना दिवस हो । २०२२ सालमा स्थापना भएको संगठनले ६० वर्ष पूरा गरिसकेको छ । ६ दशकको इतिहासमा विद्यार्थी संगठनको औचित्यमाथि नै प्रश्न उठिरहेकाले आन्दोलनमा सिर्जनात्मक आयाम थप्न पृथक तबरले कार्यक्रम आयोजना गरिएको अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले बताए ।

पछिल्लो समय देशव्यापी भइरहेका बिभिन्न विषयका सार्वजनिक बहसका कार्यक्रममा सहभागी हुँदै आएका जनमत पार्टीका अध्यक्ष सिके राउतले विद्यार्थी संगठनले गर्ने सिर्जनात्मक कार्यक्रम र बहसले विद्यार्थी आन्दोलनमा नयाँ आयाम थप्ने बताए । उनले मुलुकको शैक्षिक समस्या, बेथितिको यथेष्ट उजागर गरेर समाधानका लागि मार्गप्रशस्त समेत गर्ने बताए ।

पहिलो दिनको पहिलो सेसनमा राउत सँगै वत्ताको रुपमा सहभागी नेपाली कांग्रेसका नेता एनपी साउदले पछिल्लो समय विद्यार्थी आन्दोलन कमजोर बन्दै गएकाले सबै विद्यार्थी संगठनले सचेत र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । अहिले भइरहेको कार्यक्रमले विद्यार्थी आन्दोलन भाषणबाट सिर्जनात्मक गतिविधि तर्फ केन्द्रित हुन थाल्नु सकारात्मक भएको बताए ।
एमाले महासचिव शंकर पोखरेलले जसले जे गरे पनि हुने सामाजिक अराजकताको मनोविज्ञान बढ्दै गएकाले विद्यार्थी संगठनले आफ्नो सिर्जनात्मक प्रयास र अभियान मार्फत यस्तो प्रवृत्तिलाई चिर्नु पर्ने बताए । यसका लागि विद्यार्थी संगठनको आवश्यकता र उपादेयता अझ बढिरहेको बताए ।

उद्यमशीलतादेखि करिअर काउन्सेलिङ सम्मको अवसर
तीन दिनसम्म चल्ने महोत्सवमा एक सय बढी बिभिन्न स्टलहरू राखिएको छ । जहाँ नवप्रवर्तन, उद्यशीलतादेखि करिअर काउन्सेलिङसम्मका प्रस्तुति भइरहेका छन् । जसले विद्यार्थी महोत्सवलाई रोचक मात्र बनाउने छैन, अधिक विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने समेत अवसर पाउनेछन् ।

नयाँ पुस्ताको रुचि र चाहनालाई ध्यानमा राख्दै बिभिन्न रचनात्मक कार्यक्रम समेत राखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै युवाको रुचि प्रविधि, इ-गेमिङतिर भएकाले इ-गेमिङ, रोबोटिक्स वारजस्ता प्रस्तुतिलाई समेत महोत्सवमा राखिएको उनले बताए ।

महोत्सवको उद्घाटन समारोह केही औपचारिक शैलीमा भए पनि अरु परम्परागत ढाँचा–ढर्राका कार्यक्रम केही नहुने आयोजकले बताएको छ ।

आगन्तुक विद्यार्थी उत्साहित
भर्खर आधारभुत शिक्षा परीक्षा (एसइई) र कक्षा १२ (प्लस टु) को परीक्षा दिएर बसेका विद्यार्थीहरुको महोत्सवमा बाक्लो उपस्थिति छ । उनीहरु अबको थप पढाई, भविष्यबारे महोत्सवमा राखिएका भिन्न भिन्न स्टलमा कौतुहल र जिज्ञासु बनेर बुझिरहेका छन् ।

बुढानिलकण्ठबाट आएकी रोजिना लामाले अरु मेला महोत्सवमा सहभागी भइरहेको भए पनि यस किसिमको महोत्सवमा पहिलो पटक सहभागी भएको बताइन् । ‘सानैदेखि नाँचगान, रमाइलोका लागि मेला महोत्सव हेर्न परिवार, साथीसंगीहरु सँग गइन्थ्यो, यो चाहीँ मेरो लागि निकै फरक अनुभव भइरहेको छ,’ उनले थपिन्, ‘परीक्षा सके पछि अब के पढ्ने, के गर्ने भनेर बसिरहेका हामी जस्ता विद्यार्थीलाई यसले आफ्नो रुचि, समयको आवश्यकता र माग अनुसार बुझ्न बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने रहेछ, आइएम भेरी हेप्पी ।’

रोजिना मात्रै होइनन्, सानोठिमी भत्तपुरबाट आएका कुशल थापा पनि उस्तै उत्साहित मुद्रामा भेटिए । ‘हुन त हामीलाई पोलिटिक्समा खास चासो छैन, यो त ड्रटी गेम जस्तो लाग्छ, तर अहिले विद्यार्थी संगठनले गरेको यो कार्यक्रममा चाहीँ हामी जस्तो विद्यार्थीहरुलाई आवश्यक परामर्श, जानकारी, अन्तरक्रियाहरु धेरै कुरा रहेछ,’ कुशल भन्छन्, ‘राजनीति मात्रै गर्छन् भन्ने या यिनीहरु खराब नै हुन् भन्ने सोचमा केही परिवर्तन आयो । हामी जस्तो नयाँ विद्यार्थीहरुलाई यस्तो कार्यक्रम र अवसरहरु सही समयमै निरन्तर भइरहनु पर्छ ।’

शैक्षिक सवालमा बिभिन्न सेसनमा बहस
महोत्सवमा शैक्षिक र विद्यार्थी आन्दोलनका अनेकन आयामका विषयमा सार्वजनिक बहसका कार्यक्रम पनि राखिएको छ ।

पहिलो दिन ‘शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ’ विषयमा बहस गरिएको थियो । जसमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए । बहसको सहजीकरण कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले गरेका थिए ।

दोस्रो सेसनमा विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभारबारे बहस भयो । यस बहसमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल, नेविसंघका पूर्वसभापति गुरूराज घिमिरे, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने सहभागी थिए । बहसको सहजीकरण वाइपी आचार्यले गरेका थिए ।

बुधबार कसरी सम्भव छ राजनीतिक स्थायीत्व शीर्षकमा बहस हुनेछ । जसमा एमाले सचिव योगेश भट्टराई, कांग्रेसका नेता प्रदीप पौडेल, नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराई सहभागी हुनेछन् । यसको मध्यस्थता बसन्त बस्नेतले गर्नेछन् ।

१५ वटा विधामा प्रस्तुति
विद्यार्थी महोत्सवमा अनेकन आकर्षण छ । अनेरास्ववियुको इतिहास समेटिएको तस्बिर, वृत्तचित्र प्रर्दशनीमा छ । लाइभ म्युजिक, लाइभ पेन्टिङ धेरै विद्यार्थीका लागि आकर्षकको विषय बनेको छ ।

महोत्सवमा इ–फुटबल, मोबाइल लेजेन्ड्स, डोटा–२, काउन्टर स्ट्राइक, पब्जी लगायतका खेल समाविष्ट छन् । जसले युवा र विद्यार्थीमा आकर्षण बढाएको छ ।

यसका अतिरिक्त सात वटै प्रदेशको पहिचान, संस्कृति प्रतिविम्बित हुने झाँकी, स्वास्थ्य शिविर, रक्तदान, खानेकुराका परिकारको प्रदर्शनी, पर्यटन भिजन, नेपाली तथा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूको जानकारी दिने गरि स्टलहरू राखिएका छन् । महोत्सवमा सरकारी-सामुदायिकका अतिरिक्त निजी शिक्षण संस्थाका स्टल राखिएका छन् । सामुदायिक शिक्षण संस्थाका स्टल निःशुल्क गरिएका छन् ।त्रिदिवसीय महोत्सवमा जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता युवा पुस्तामाझ परिचित ब्यान्डहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।

विद्यार्थी संगठनको बदलिँदो भूमिकामा फरक बाटो
विद्यार्थी संगठन र आन्दोलन विगतमा जुन बाटोबाट अघि बढ्यो । अब त्यही बाटोबाट हिँड्न सम्भव छैन । यदि हिँडिहाले पनि त्यो सफल हुने सम्भावना करिब सकिएको छ ।

अबको पुस्ताका लागि हरेक विद्यार्थी संगठनले समय सापेक्ष सोच, कार्यक्रम, योजनाका साथ अघि बढ्नु पर्ने अपरिहार्यता देखिएको छ । ‘अहिलेका विद्यार्थीको अवस्था, समस्या कहाँ केके छ, माग, चाहना, आवश्यकता के छ ? हामी विद्यार्थी संगठनको ध्यान त्यहाँ पुगेको छ कि छैन ? विद्यार्थीको अपेक्षा र हाम्रो कार्यशैलीबीच तालमेल मिलेको छ कि छैन,’ अनेरास्ववियुका अध्यक्ष समिक बडालले कथालिकासँग भने, ‘अहिले हामी यही कुरा बुझ्न र बोध गर्न नसक्दा चुकिरहेका छौ, अब यसबाट पाठ सिकेर अहिलेका विद्यार्थी र नयाँ पुस्ताको भावना,आवश्यकता आत्मसाथ गरेर ती ठाउँमा अनेरास्ववियु पु¥याउन सिर्जनशील बाटो र विकल्प अपनाएका छौ, यसले विद्यार्थी आन्दोलनमा समेत अब नवीनता थप्नेछ ।’

गतिशील समय, समय अनुसारको विद्यार्थीको सोच, सपनासँग साक्षात्कार गरेर विद्यार्थी संगठनले आफ्नो भूमिका परम्परागत कार्यशैली र तौरतरिका नबदले सम्म विद्यार्थी आन्दोलनले गति नलिने बुझाईबाट अनेरास्ववियु एक कदम अघि बढेको उनको भनाई छ । यसले अरु आम विद्यार्थी संगठनहरुलाई समेत सिर्जनशील र रचनात्मक तबरबाट अघि बढ्न प्रेरित गर्ने बडालले बताए ।

२०८१, १ जेष्ठ मंगलवार १४:१२
कथालिका नयाँ कथा
कथालिका