बादीको बदलिँदो ‘करिम’ – कथालिका

बादीको बदलिँदो ‘करिम’

  • राजा महाराजाको शासन व्यवस्था फेरबदलसँगै बादी महिलाहरुको ‘करिम’ कमजोर भएको वर्षौ पुरानो कथा छ । गायक दुतराजको ‘करिम’ उनीहरुलाई कमजोर र गलत सावित गर्ने मनसायबाट ग्रसित होइन, बरु अधेरी रातसँगै रित्तिने बिबशतायुक्त आंशिक ‘करिम’ पनि बदल्नका लागि सहयोगी हुनेछ ।

मौलिक लोक संगीतमा छोटो समयमै सर्वाधिक रुचाइएका गायक एवं सर्जक हुन् प्रकाश । उनै दुतराजको नयाँ गीत ’करिम’ यतिबेला बहसमा छ । उसो त गहन सामाजिक विषयवस्तुमा सार्वजनिक गीत, भिडियोहरु विवाद मुक्त भने सायदै छन् ।

बादी समुदायका दिदीबहिनीले बेहोर्नु परेको बिडम्बनापूर्ण कथा व्यथालाई गीत र भिडियो मार्फत दुतराजले प्रस्तुत गरेका छन् । यही विषयमा अधिकले मौलिक भाका मार्फत समाजको तितो यथार्थ र अधेरो पाटोलाई उजागर गरेको भन्दै दुतराजको प्रंशसा गरिरहेका छन् भने कतिले बादी समुदायको आत्मसम्मान माथि खेलवाड गरेको भन्दै आलोचना गरिरहेका छन् ।

खास ‘करिम’ गीत र भिडियोमा के छ ?

गत साता सार्वजनिक गीतको भिडियो उनको आफ्नै युट्युबमा सार्वजनिक छ । प्रकाशसँगै गायिका शान्तिश्री परियारको स्वर रहेको गीतको शब्द तथा संगीत पनि प्रकाश स्वयंको हो ।

यसअघि राउटे समुदायको कथामा गीत ल्याएका प्रकाशले यसपटक ‘करिम’ मा बादी समुदायका महिलाले झेल्नु परेको यौन शोषण, पीडा र बाध्यता छ । गीतका शब्दहरुमा मर्मस्पर्शी छन्, शब्दमा कतै बिरोध, आलोचना देखिएको छैन ।

पिरमा पन छैन , सिरमा पन छैन
हाम्रा त तकदिरमा नै, सिन्दुर छैन

आँशुका धारा सग्लिएका छन्
पछ्यौरी आमा धोइ छैनन्
मनैको बह कहाँ गएर पोखु
सुन्दिने हाम्रो कोही छैनन्

३ सय वर्ष पुरानो कथा मार्फत सर्जक तथा गायक दुतराजले बादी समुदायका महिलाले राज्यको उदासीनताका कारण अँँगाल्नु परेको यौन पेशा, गर्भाधारण भए पछि बुवाको पहिचान नहुने दुर्भाग्य, महिला र निर्दोष सन्तानका दुर्दान्त पीडा लगायतका दृश्य समावेश छ ।

थरीमा थरी फुलैको बारी
को जालान सारी, दिलैमा…

जीवनीभरी लागेको दाग
मेटाइदे कोइले हाइसुक्खइ…
–––

गीत र भिडियो कथाको सार छ–‘न मन बुझाउने ठाउँ छ, न मनको सुनाउने ठाउँ छ । न गरी खाउँ भनि सरकारले दियाको माटो नै छ । कैलाई सुनाउ मेरा दुःखका कुरा । कैलाई भनु म मेरा रगतका कथा । कल्ले मलम लगाइदिने मेरा शरीरका घाउमा । सबै कुरा फेरिदैँ आए । राजा रजौटा फेरिए, राज्यका नक्सा फेरिए । व्यवस्था फेरियो, जनजीवन फेरिएन । न समाजले हेर्ने नजर फेरियो । म त मरिजाउला, ति मेरी कोपिला जस्ती छोरीको चिन्ता लाग्दो छ । सम्हाली दिनु है । फेरि दाग नलाग्ने गरी ।’

‘करिम’ प्रतिको विरोध र बुझाई के हो ?

१५ मिनेट ११ सेकेण्डको म्यूजिक भिडियो एक सातामा ६ लाख ५१ हजार पटक हेरिएको छ । यस गीत सार्वजनिक सँगै बादी समुदायका अगुवा र अभियन्ताहरुबाट गीत भिडियो हटाउन दबाब आएको गायक दुतराज बताउँछन् ।

राजा महाराजाको शासन व्यवस्था फेरबदलसँगै बादी महिलाहरुको ‘करिम’ कमजोर भएको वर्षौ पुरानो कथा छ । गायक दुतराजको ‘करिम’ उनीहरुलाई कमजोर र गलत सावित गर्ने मनसायबाट ग्रसित होइन, बरु अधेरी रातसँगै रित्तिने ‘करिम’ बदल्नका लागि सहयोगी हुनेछ ।

https://youtu.be/fUclawyqvks 

दुतराजको सिर्जनात्मक पाटोमा उपन्यास र फिल्ममा जस्तो ठोस आपत्ति र बिरोध देखिदैन । तर, समग्रतामा बादी समुदायलाई यौन कर्म/पेशामा लागिरहेको जबरजस्त सन्देश प्रवाह गर्न खोजेर अहिले बैकल्पिक पेशा गरिरहेकाहरुको आत्मसम्मानमा ठेस पु¥याएको जिकिर छ ।जसलाई यही विषयमा गरिएका अध्ययन, अनुसन्धानकर्ताको प्रत्यक्ष अनुभव, तर्कले गलत सावित गर्छ । बादी महिलाको विषयमा अध्ययनका लागि बर्दियाको एउटा गाउँमा पुगेँका डिबी दामु यौनकर्मी महिला भनेर खुलेरै आएको भेटेको अनुभव सुनाए । ‘स्थानीय सरकारसँग पेशा परिवर्तन, रोजगार सिर्जना र कामका लागि धेरैपटक सडक आन्दोलन, धर्ना र विरोध ग¥र्याै तर सुनुवाइ भएन र पुनः त्यही काम गर्न बाध्य भएको सुनाए,’ उनले थपे, ‘हाम्रो समूह जतिलाई बुहारी टोल भन्छन्, हामीलाई भोग्न सबै खाले मानिस आउँछन्, अस्थायी साधन अनिवार्य गराउँछौ, एकपटकको १२ सय लिन्छौं, हामी आफ्नै कोठा र घरमा सेवा दिन्छौं, हाम्रो समूहमा ४०-५० वर्षका एकल र परिवारिक महिला संलग्न छौ, धनगढी, नेपालगन्ज, कोहलपुरसम्म कसैले बोलाएमा ८-१२ हजारसम्म लिन्छौं आदि, इत्यादि ।’ त्यसैले गीत, भिडियोका बिरोध गर्न छोडेर बादी समुदायको उद्यमशीलता, रोजगारी र आर्थिक सम्पन्नतामा पहिला जोड दिनुपर्ने उनी बताउँछन् ।

गीतले मनोरञ्जन मात्रै नभई समाजको अधेरो पाटो उजागर गर्ने, समाजको वास्तविक ऐनाको रूपमा काम गरेको सन्दीप शर्माले बताए ।

कला सिर्जना मार्फत् बादी समुदायका छोरीचेलीहरु देहब्यापार बाहेक अरु कुनै कामको विकल्पमा छैनन् भन्ने भिडियोले भाष्य निर्माण गर्न खोजेको लगन रसाइली बताउँछन् । ‘विगतको यथार्थ होला, तर यसले कलिला बालबालिकाको मस्तिष्कमा कस्तो चित्र र सन्देश प्रवाह गर्ला ? यस्ता संवेदनशील विषयमा सिर्जना सामग्री पस्किदा त्यसको गहिराईमा पुगेर अध्ययन, खोज र त्यसको बहुआयामिक प्रभाव र असरबारे सोच्नुपर्ने उनको सुझाव छ । आम जनताको प्रिय बनेका गायक सर्जकहरु गीत र भिडियोका लागि केबल प्रशंसा, भ्यूज, ट्रेन्डिङ्गको पछि मात्र लाग्न नहुने उनले बताए ।

गायक तथा सर्जक प्रकाश भने आफुसँग गीत मार्फत उपेक्षित समुदायको दुःख र पीडाको कथा भन्नु बाहेक अर्को स्वार्थ र नियत नरहेको प्रष्टिकरण दिन्छन् । ‘मैले बादी समुदायका महिलाको कथा पढे र सुने पछि निकै बिथोलिएको थिए, उनीहरुका दुःख, पिर व्यथा आफ्नो कला मार्फत आम मानिसहरुका बिचमा पु¥याउँछु र अहिले पनि आंशिक रुपमा कायम उनीहरुको दुःख, पीडा र समस्या सम्बोधन गर्न समाज र सरकारको ध्यानाकर्षण गर्ने ध्येय मात्रै थियो’, प्रकाश भन्छन्, ‘यसले त बादी आन्दोलन र अभियानमा सकारात्मक टेवा नै दिन्छ भन्ने सोचेको थिए तर केही अभियन्ताहरु नै यसलाई नकारात्मक रुपमा लिएर गीत हटाउन दबाब दिइरहनु भएको छ, निर्दोष समुदायको नाम थर लिएर अनावश्यक टर्चर दिने काम नगरिदिनुस् ।’ बरु गीत र भिडियोमा कुनै ठोस कमजोरी औल्याएँ आफु सच्याउन तयार रहेको उनले बताए ।

बादीको विषयका गीत, उपन्यास, फिल्मः किन बल्झिरहन्छ विवाद ?

नेपालका १२५ जाती मध्यका एक हुन् बादी । बादीहरु कला, संस्कृति, परम्परा र रीतिरिवाजका दृष्टिले धनी छन् तथापि उनीहरु देशको सबै भन्दा सीमान्तकृत समुदाय मध्ये एक हुन् । बादीहरुलाई तल्लो जात भन्ने मान्यताका कारण तिनको कला, संस्कृति, परम्परा र रीतिरिवाज जोखिममा परेको छ । वादी समुदायले नेपालको जनसंख्याको करिब ३८,६०३ (०.१४५) प्रतिशत (राष्ट्रिय जनगणना २०६८) स्थान ओगटेको छ ।

यो समुदाय उत्कृष्ट बाद्यवादकका साथै बाद्यबादनका सामग्री (मादल, बाउँ, तबला, ढोल, डमरु, सारङ्गी) आदि निर्माण गर्ने बजाउने शिल्पी समुदाय हुन् । परम्परागत रुपमा बादिहरु राजा महाराजाहरुको घरमा विवाह, पास्नी, भोजभतेर तथा पुजाआजामा नाचगान गर्ने समुदाय हो । तत्कालीन समयमा बादीहरुको नाच विशुद्ध मनोरञ्जन प्रदान गर्ने थियो । पछि केही परिवारमा छोरी बहिनीलाई नाचगान र यौन व्यवसायमा लगाएर आर्जित रकमबाट परिवार पाल्ने बन्यो । यही विषयलाई लिएर गीत, उपन्यास, फिल्महरु बनिरहेका छन् । तर, ती सबै विवादित बनिरहेका छन् ।

बादी समुदायको कथामा आधारित दुई उपन्यास ‘नथिया’, ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरी’ विवादित मात्र बनेन, विवाद सर्वोच्च अदालत सम्म पुगेको थियो । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र थमनकुमार भण्डारीद्वारा निर्मित फिल्म ‘पण्डित बाजेको लौरो’माथि असोज ४ गते बादी समुदायका अगुवा मीना नेपाली (वादी) लगायतले आत्मसम्मानमा चोट पुगेको भन्दै मुद्दा दायर गरेका थिए । जसमा सर्वोच्च अदालतले २०७५ फाुगन १५ गते फैसला गर्दै नेपाल सरकारसहित विभिन्न चार निकायलाई ती कृति संशोधन गरेर मात्र बजारमा ल्याउन भनेको थियो ।

नथिया
सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ उपन्यासमा बादी समुदायकै इतिहासलाई नै बंग्याइएको जिकिर थियो । हाम्रो ‘नथुनी’ खोल्ने चलन कुनै समय थियो । त्यो भनेको नाक खोल्ने हो । तर उपन्यासमा अर्कै अर्थमा त्यसलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको थियो ।

ऐलानी

विवेक ओझाबाट लेखिएको ‘ऐलानी’मा बादी समुदायकी महिलालाई एउटा ऐलानी जग्गासँग तुलना गरिएको छ । ऐलानी जमिनमा जसले जे गरे पनि हुन्छ, जसले हडपे पनि हुन्छ । त्यसमा जसले गएर पिसाब फेरिदिए पनि हुन्छ भन्ने उल्लेख गरिएको छ । यसले गर्दा बादी समुदायको आत्म सम्मानमा चोट पुग्न गएको भन्दै आपत्ति जनाएका थिए ।

पण्डित बाजेको लौरी
दीपक वलीद्वारा निर्देशित, थमनकुमार भण्डारीद्वारा निर्माण गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’मा बादी समुदायको परिवारमा श्रीमतिले यौन पेसा गर्ने, श्रीमानले ग्राहक खोज्दै हिँड्ने देखाइएको छ । फिल्ममा जस्तो पुरानो चलन हो, वर्षौदेखिको प्रथा भन्ने जस्ता शब्दहरू प्रयोग भएको यसमा कुनै पनि सत्यता नभएको बादी समुदायको दाबी थियो ।

‘छोरा भन्दा छोरी भए हुन्थ्यो’

सन् २०१८ मा नेपाल भ्रमण पश्चात स्पेशल रापोर्टरले महिला हिंसा, यसका कारण र प्रतिफल सम्बन्धी प्रतिवेदनमा महिला र किशोरीहरुलाई बहुआयामिक र विविध प्रकारका भेदभावका कारण असाधारण रुपमा प्रभाव पारिरहेको भन्ने उल्लेख गरेको थियो ।

बादी समुदायमा जब पेटमा बच्चा रहेको थाहा हुन्छ, सबै भन्दा पहिले गर्भधारण गर्ने महिलाले आफ्नो श्रीमानलाई यो कुरा बताउँछन् । अरु समुदायका मानिसहरुमा पेटमा भएको बच्चा छोरा भए हुन्थ्यो भन्ने सोचाइ रहेको भेटिन्छ । तर बादी समुदायमा भने पेटमा भएको बच्चा छोरा वा छोरी जे पनि स्वीकार्य अर्थात् भेदभाव भएको पाइदैन ।

यद्यपि कुनै समयमा भने बादीहरुले छोरा भन्दा छोरी भए हुन्थ्यो भन्ने थियो, किनभने त्यतिबेला छोरीको महत्व एक्कासी बढेको थियो । बादीहरुमा छोरी नै परिवारका अन्न दाता हुन् भन्ने चलन थियो । समुदायमा यस्तो सोचाइ छोरीहरुलाई नचाउने (यौन पेशामा लगाउने) कार्यको सुरुवात भए पछि बढेको थियो । त्यसबेला देखि छोरा भन्दा छोरीको महत्व हुन गएको हो । तर सबै बादीहरुले यस प्रकारको सोच भने राख्दैनथे । अहिले भने यस्तो सोचमा उल्लेख्य सकारात्मक बदलाव आएको छ । –बादी समुदायको पहिचान र अवस्था (अनुसन्धान, सर्वेक्षण-२०७६)

यस्तो छ बादी आन्दोलनः आत्मसम्मानको लडाइँ

राज्यको हरेक निकायमा मूल प्रवाहीकरणका निम्ति बादी समुदायले विभिन्न समयमा निरन्तर आन्दोलन गर्दै आएको छ । पृथ्वीनारायण शाहको राज्य एकीकरणको अभियानमा बादी समुदायकी सोनी पातरले आफ्नो ज्यानको आहुति दिएको विषयदेखि वर्तमान सम्म नै आन्दोलन जारी छ ।

२०३६ सालतिर नेपालगञ्जमा बादी महिलाहरुको आन्दोलन, २०४० सालको सेरोफेरोमा भएको सुर्खेत आन्दोलनले बादीहरुले गासबास र कपासका लागि संघर्ष गरेको इतिहास छ भने २०४७ सालको जनआन्दोलनमा सहभागिता समेत देखिन्छ ।
स्थानीय राजनैतिक दल र बासिन्दा मिलेर बादी समुदायलाई हटाउने उद्देश्यले टोल सुधार समिति गठन सहित ज्यादति गरे पछि २०५२/५३ सालमा नेपालगञ्जको गगनगञ्ज (हालको प्रगतिशील मार्ग) मा बादी समुदायले ‘कि गाँस बास देउ, होइने भने स्वतन्त्रपूर्वक पेशा गर्न देऊ’ भन्ने मूल नारा सहित संघर्षमा उत्रिएका थिए ।

२०५५/५६ मा बादी समुदायले जमीन कब्जाको संघर्ष पनि गरेको थियो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका बादीहरुले गरिब, सुकुम्वासीहरुलाई समेत एकजुट गराउँदै संघर्षका कार्यक्रम सञ्चालन गरेका थिए । जुन राज्य प्रति बादीहरुको प्रतिरोध थियो ।

यसरी चरणबद्ध आन्दोलनका क्रममा राज्यले बादी समुदायका मागहरु नसुने पछि सडक आन्दोलनमा समेत उत्रिए । २०६० साल चैत्र ३ गते कैलालीबाट ‘बाध्यात्मक देह व्यापारका लागि लाइसेन्स दे या पुर्नस्थापना गर’ भन्ने नारा लगाएका थिए । २०६१ सालमा बाध्यात्मक यौन पेशा गरिरहेका केही बादी महिलाहरुले लाइसेन्स दे या त पुर्नस्थापना गर भन्ने नारा सहित कैलालीको धनगढी र दाङको तुलसीपुरमा ¥यालीको आयोजना गरेका थिए ।

२०६३ सालमा भूमिमा बादीको पहुँच हुनुपर्छ, बाध्यात्मक ‘यौन पेशामा संलग्न महिलालाई पुर्नस्थापना गर’ भन्ने मूल नाराका साथ कैलाली र कञ्चनपुर जिल्लाका १२२ जना बादी समुदाय मिलेर कैलालीको लम्की र मुडामा राजमार्ग चक्काजाम गरेका थिए । चक्काजाम पश्चात जिल्ला प्रशासन कार्यालय कैलालीसँग ५ बुँदे सहमति भयो । त्यसपछि पनि सुनुवाइ नभए पछि बादी समुदायले राजधानी केन्द्रित संघर्षका कार्यक्रम तय गरे । २३ जिल्लाका बादी समुदायको प्रतिनिधित्व गराएर ४५० भन्दा बढीको उपस्थितिमा २०६४ साउन ३१ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरियो । १२ बुँदे घोषणापत्र सहित सम्मेलन सकिए लगत्तै साउन ३२ गते उमादेवी बादीको नेतृत्वमा काठमाडौं केन्द्रित चरणबद्ध आन्दोलन सुरु भएको थियो ।

आत्मसम्मानको मुद्दा अदालतमा

वास्तवमा कानुनी संघर्ष पनि बादी आन्दोलनको अर्को महत्वपूर्ण पाटो हो । २०६० वैशाख ९ गते तीन सामाजिक सस्था (जनहित संरक्षण मञ्च (प्रो पब्लिक), गैरसरकारी संस्था महासंघ र शिक्षाका लागि सामाजिक जागरण सेफ) मार्फत तत्कालीन श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएको थियो । रिटमा बादी समुदायमा रहेको बाध्यात्मक देह व्यापारबाट उनीहरुलाई मुक्त गरी सम्मानपूर्वक र मानवोचित जीवनयापम गर्न सक्षम बनाउनका लागि वैकल्पिक रोजगार एवम् सामाजिक सुरक्षा, सीपमूलक तालिम, पूर्वाधार सहितको आवास लगायतका विषय समेट्ने गरी बादी समुदायको सामाजिक समायोजन तथा पुर्नस्थापना गर्नु भनी परमादेश जारी गरि पाउँ,
–सर्वोच्च अदालत, रिट निवेदन २०६०

यस रिटमा सर्वोच्चले २०६० बैशाख ९ गते कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि २०६१ जेठ ७ गते महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका नाममा सर्वोच्चको विशेष इजलासबाट उत्प्रेषणयुक्त परमादेश जाहेर गरिएको थियो ।

अन्ततः सर्वोचले २३ भदौ २०६२ मा बुबाको पहिचान नखुलेका बादी समुदायका बालबालिकालाई आमाको नामबाट नागरिकता दिनु भनेर निर्देशनात्मक आदेश दियो ।उक्त आदेश कार्यान्वयनका क्रममै आमाको नामबाट नागरिकता प्राप्त गर्ने जस्ता विषयमा बादी समुदायको हकको सन्दभैमा एउटा बाटो खुलेको देखिनछ ।

२०५० साल सम्म चरम अवस्थामा रहेको योन शोषण बिभिन्न सरकार तथा गैरसरकारी संस्थाको पहलमा अहिले उल्लेख्य मात्रामा कमी भयो । यौन शोषणमा परेका महिलाहरुले वैकल्पिक पेशाको रुपमा अन्य आयआर्जनको कार्यमा सम्लग्न हुन थाले ।

बादीहरुले ४८ दिने संघषृ लगायतले सरकारलाई समुदायलाई केही गर्न बाध्य बनायो । फलस्वरुप २०६५ साल पुस २३ गते बादी समुदायलाई यौन शोषण मुक्त समुदाय भनेर घोषणा गरियो । तर यौन शोषणका क्रियाकलाप पूर्ण रुपमा उन्मुलन हुन सकेको भने छैन । यो अझै पनि केही परिवारमा लुकिछिपी चलिरहेको छ । केही परिवार र नातेदारको सक्रियतामा नेपालमा मात्र नभई भारतसम्म पठाई आफ्ना छोरी बहिनीहरुलाई यौन शोषणमा लगाएको पाइएको छ ।

सर्वेक्षणका क्रममा करिब ५ प्रतिशत अविवाहित बादी महिलाहरु यौन पेशामा सहभागी भइरहेको देखिएको छ । यौन शोषणमा परेका महिलाहरुले बाध्यात्मक रुपमा यौन क्रियाकलाप गर्ने गरेका छन् । जसमध्ये ४० प्रतिशतले घरमा, २५ प्रतिशतले होटल, ५ प्रतिशत नेपालका ठुला शहर र ३० प्रतिशत भारतका बिभिन्न सहरका होटल तथा बेश्यालयमा गएर यौन क्रियाकलाप गरिरहेको पाइएको छ ।

यो बादी समुदायका लागि मात्र होइन, सिंगो नेपाली समाजका लागि चिन्ता र चुनौतिको सवाल हो ।

‘अबका कृति, सिर्जनामा बादी समुदायको आत्मसम्मानलाई विचार गरियोस्’

वादी समुदाय आफैंमा कला, सीपले धनी समुदाय हो । विगतमा हेर्दा वादी समुदायको इतिहास गौरवपूर्ण इतिहास थियो । कला, कौशल र सीपका धनी बादी समुदायले अरुलाई खुशी पार्न जति सक्रिय र समर्पित भए, आफ्नै र समुदायका बारेमा भने सायदै सोचे ।

जात व्यवस्थाका जानकार आहुति भन्छन्, ‘भुरे टाकुरे राजाहरुको शासन रहुन्जेल बादी समुदायले अपनाउँदै आएको नाचगानको पेशा सम्मानित र शोभायोग्य थियो । बहादुर शाह लगायतले नेपाल एकीकरणको प्रक्रिया थाले, त्यसपछि विस्तारै भुरे टाकुरे राज्यहरुको अन्त्य हुँदै गयो । फलस्वरुप उनीहरुको पेशामा पनि संकट हुँदै गयो । र, यो पेशाबाट उनीहरु बाँच्न सक्ने स्थिति भएन । उनीहरु सडकमा आए । त्यसपछि उनीहरुले सडकमै आफ्नो पुख्यौली पेशा नाचगानलाई निरन्तरता दिए । नाचगान गर्न उनीहरु चिटिक्क परेर बस्ने भएकाले अरु भन्दा आकर्षक देखिन्थे । त्यही आकर्षण नै बादी समुदायका महिलाहरुका निम्ति यौन शोषणको कडी बन्न पुग्यो ।’

पहिलो सम्मानित र शोभान्वित रहेको नाचगान विस्तारै राजा, मुखिया, जिम्वाल, घाडबुढा, प्रधान सम्म पुग्दा यौन शोषणको शिकार बन्दै गए पछि बादी समुदायका केही महिलाले यसलाई पेशाको रुपमा अँगाल्न पुगेका हुन् ।

तत्कालीन राजा–रजौटाका कारण केही अविवाहित महिलाहरू यौन शोषणमा पर्न गइ समग्र बादी समुदायलाई नेपालको समाजले कलंकको टिका लगाउने काम भएको बादी समुदायका अगुवा केशव नेपाली बताउँछन् । यो समुदायलाई गीत, फिल्म, उपन्यासका नाममा समाजमा एउटा यौन पेसा गर्ने समुदायका रुपमा परिभाषित गर्न खोजिएको उनको दाबी छ । ‘जुन यो समुदायका लागि दुर्भाग्यपूर्ण कुरा थियो । विगतमा थुप्रै क्षेत्रबाट यो समुदायलाई शोषण, दमन गर्ने कुरा भए । अब आउने दिनमा बादी समुदायको गरिमा, आत्मसम्मानलाई विचार गरेर आफ्ना कृति, सिर्जना ल्याइओस् भन्ने हाम्रो मत हो,’ उनले भने ।

अहिले गीत, भिडियोको कथा लिएर बिरोध, आलोचनामा समय खर्चिनेहरुले यही गीत भिडियो उदृत गरेर नीति निर्माता, सरकार, जनप्रतिनिधिलाई बादी समुदायको बाध्यता अन्त्य गर्ने कदम चाल्न अग्रसर बनाउन सके महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने अवसर छ । यस विषयमा गायक दुतराजले बादी समुदायलाई यौन पेशाको आरोपित गर्ने दुराशय नभई पहिलेको बाध्यता र बिबशताको कथा मात्र समाजको प्रतिबिम्बको रुपमा देखाउन खोजेको बताए । अब यस्तो नियति कुनै पनि समुदायका दिदीबहिनीले बेहोर्न नपरोस् भनेर नै गीत र भिडियो तयार गरेको प्रकाशले कथालिकासँग भने ।

२०८१, ६ जेष्ठ आईतवार ११:३४
कथालिका नयाँ कथा
कथालिका