यसरी हुन्छ ढोरपाटनमा सिकार – कथालिका

यसरी हुन्छ ढोरपाटनमा सिकार

  • एउटै नाउर सिकारका लागि विदेशी सिकारीले २१ लाख रुपैयाँ र एक झारलका लागि अधिकतम १८ लाख रुपैयाँ राजस्व बुझाए । तर, उक्त राजश्व आरक्ष क्षेत्र रहेको बागलुङ, म्याग्दी र रुकुमका स्थानीय तहले भने पाउँदैनन् । 

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन, जहाँ मात्र वैधानिक रुपमा सिकार खेल्न पाइन्छ । बागलुङ, म्याग्दी र रुकुम जिल्लामा फैलिएको सिकार आरक्ष राष्ट्रिय रुपमा भन्दा अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ ।

सन् १९७६ मा नर्वेका एक प्रोफेसरले अध्ययनको क्रममा झारल र नाउरको सङ्ख्या धेरै भएकोले ढोरपाटनलाई सिकार खेल्न सकिने सम्भावनायुक्त क्षेत्र भएको सुझाव दिएका थिए । त्यसपछि सन् १९८७ देखि आरक्षलाई सिकारीहरूका लागि खुला गरियो। सिकारीका लागि खोलिएपछि ढोरपाटनमा प्रायस् रुस र जर्मनीका सिकारी आउने गरेका छन्। सिकार आरक्षले ख्याति कमाउन थालेपछि पछिल्ला वर्षमा अमेरिका र युरोपका अन्य देशबाट पनि सिकारी आउने क्रम बढेको छ।

दुई सिजनमा सिकार
ढोरपाटन सिकार आरक्षमा दुई सिजनमा सिकार खुल्ला गरिन्छ । यसका लागि बागलुङको पश्चिम ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन सिकार आरक्षको कार्यालयले पहिले सिकारका लागि कम्पनी सूचिकृत गर्न सूचना निकाल्छ । र त्यसको केही महिनामा नाउर र झारलका लागि टेण्डर आव्हान गर्दछ ।

सिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।

यसमा नेपाली आगन्तुक पर्यतक र सिकारीको सङ्ख्या भने शून्य प्रायः छ । सिकारका लागि बोलपत्र आह्वान भए पछि सबैभन्दा धेरै रकम तिर्न तयार व्यक्ति वा समूहलाई सिकार खेल्ने अनुमति दिइन्छ।एउटा याममा निश्चित नाउर तथा झारलको सिकार खेल्नलाई कम्पनी मार्फत् आउँदा लार्खा रुपैयाँ खर्च हुन्छ।ढोरपाटनको सिकार महँगो हुने भएकोले नेपालीहरूले नाउर वा झारल सिकार गर्नमा खासै चासो देखाउँदैनन् ।

दोस्रो याममा १० नाउर र सात झारलको सिकार

यसवर्षको दोस्रो याममा १० नाउर र ७ झारलको सिकार भएको छ ।

दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो ।

अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए ।

एउटै सिकारका लागि लाखौं राजश्व

यस सिजनमा विदेशी सिकारीले नाउर सिकारका लागि प्रतिस्पर्धाका आधारमा २१ लाख रुपैयाँ राजस्व बुझाएको र एक झारलका लागि अधिकतम १८ लाख रुपैयाँ राजस्व बुझाएका थिए । यसरी संकलित राजश्व संघीय सरकारले राख्ने गरेको छ । तर, उक्त राजश्व आरक्ष क्षेत्र रहेको बागलुङ, म्याग्दी र रुकुमका स्थानीय तहले भने पाउँदैनन् । पछिल्लो केही वर्ष यता स्थानीय तहले पनि सिकारको निश्चित प्रतिशत राजश्व पाउनु पर्ने माग गर्दै आएका छन् ।

‘दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले अनुमति पाएका थिए,’ आरक्ष कार्यालयका अधिकारीले भने ।

यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्वेकिस्तानका एक सिकारी छनोट भएका थिए । सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि सिकार खेल्न सुरु गरेका थिए ।

हेलिकप्टर मार्फत विदेशी सिकार खेल्न ढोरपाटन
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

विस २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले जानकारी दिए ।

विभागले नै गर्छ सिकार कोटा निर्धारण

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिरमा आठ नाउर, चार झारल र आठ बनेलको सिकार गरिएको थियो ।

आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एड्भेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाइफ सफारिजमार्फत सिकारी सिकार खेल्न अनुमति पाएका थिए । यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा सिकार गरिएको छ ।

१५ दिन भित्र सिकार अनिवार्य

जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।

सिकारबाट सिङ मात्र विदेश लैजान्छन् सिकारी

एउटै सिकारका लागि लाखौँ रुपैयाँ तिर्नु पर्ने भए पनि धौलागिरि हिमालको दक्षिण पश्चिममा फैलिएको ढोरपाटन सिकार आरक्षमा हिमाली सौन्दर्यको अवलोकन सहित चुनौतीपूर्ण मानिने नाउर र झारलको सिकार गर्न विदेशबाट सिकारको सोख भएका पर्यटक वर्षेनी आउने गर्दछन् ।

उच्चहिमाली क्षेत्रका भीरपाखामा विचरण गर्ने जङ्गली नाउर र झारल निकै टाठा र फुर्तिला हुन्छन् । त्यसैले तिनको सिकार गर्न निकै कठिन मानिन्छ । यही कठिन र जोखिममै सिकार खेल्न मजा आउने पर्यटक बताउँछन् ।

ढोरपाटन पुगेका विदेशी सिकारीले केही नाउर र झारल मारेर तिनको सिङ मात्र विदेश लैजाने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउने गरेका छन् । मासु भने उनीहरुले सिकार र यात्राकै क्रममा खाने गरेका छन् । यस्तो प्रतिस्पर्धाबाट नै कतिपय सिकारीले हजारौं डलरको पुरस्कार समेत जित्ने गरेका छन् ।

ढोरपाटन रुस, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, क्यानडा, बेल्जियम लगायतका देशका ट्रफी सिकारका सौखिन व्यक्तिहरूमाझ प्रख्यात छ। ट्रफी सिकारीहरूले नेपालको ढोरपाटनलाई जीवनमा एक पटक पुग्नै पर्ने गन्तव्य मान्न थालेका छन्।

सिकारसँगै संरक्षण कसरी ?

बागलुङ, म्याग्दी र रुकुमको १,३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् ।

अनुमति लिएका सिकारीले तोकिएको समय र क्षेत्रमा निश्चित वन्यजन्तु नाउर र झारलको मुख्य रुपमा सिकार गर्न पाउँछन् । यसरी सिकार गर्न दिँदा कुनै वन्यजन्तुको संख्या ह्वात्तै घट्ने वा लोप नै हुने परिस्थिति नआउने वन्यजन्तु विभागको दाबी छ । यसका साथै वन्यजन्तुको संख्या अधिक बढेर आफ्नै वासस्थान र आरक्ष सेरोफेरो, खेतीपातीमा क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न नहुने आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेल बताउँछन् ।

सिकार गरिने भए पनि ढोरपाटनमा वन्यजन्तु संरक्षणका लागि यथेष्ट काम गरिएको उनको भनाई छ । नाउर र झारललगायत अन्य वन्यजन्तुको संरक्षण कार्यमा आरक्षका कर्मचारी र नेपाली सेना सक्रिय र समर्पित रहेको कंडेलले बताए ।

 

२०८१, १० जेष्ठ बिहीबार ०८:०३
कथालिका नयाँ कथा
कथालिका