नेपालीलाई अमेरिका, डफीलाई नेपाल मोह – कथालिका

नेपालीलाई अमेरिका, डफीलाई नेपाल मोह

  • नेपालको प्रकृति, संस्कृति, सरलता र सद्भावले आम नेपालीहरुको सपनाको गन्तव्य देश बनिरहेको आफ्नै जन्मभूमि अमेरिका फर्किन माल्कम म्याक डफीको मन कठिन मान्छ ।
नेपाल बसाइँमा उनी आफैंलाई थाहा छैन, नेपालको कुन कुरा नराम्रो छ ? कुन विषय मन पर्दैन ? यो विषयमा सोच्न कहिलेकाहीं उनी एक्लै एकान्तमा समेत घोत्लिरहन्छन्, तर पनि चित्त बुझ्दो जवाफ भेटाउँदैनन् । कारण उनलाई नेपालका नागरिक र उनीहरुको सरलता, प्राकृतिक सुन्दरता, संस्कृति सबैले मोहनी लगाएको छ । नेपाललाई छोडेर आफ्नै देश जान पनि भारी लाग्छ ।
नेपाल विश्वमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, आम नेपालीको सरल स्वभाव, जस्तोसुकै परिस्थितिमा समेत हाँस्न र रमाउन सक्ने क्षमता लगायतबाट उनी अत्यन्त प्रभावित छन् । र त आम नेपालीहरुको सपनाको गन्तव्य देश बनिरहेको आफ्नै जन्मभूमि अमेरिकामा जान उनको मन कठिन मान्छ । उनी अर्थात् अमेरिकन नागरिक माल्कम म्याक डफी ।
नेपाल दोस्रो घर
नेपालका गाउँ ठाउँ र प्राकृतिक सुन्दरताले डफीलाई यहाँसम्म लोभ्याएको छ कि उनी नेपाललाई आफ्नो दोस्रो घर भनेर चिनाउँछन् । नेपालको प्राकृतिक सुन्दरताका विषयमा उनले अमेरिका बसेर जति सुनेका र गुगलमा देखेका थिए, प्रत्यक्ष आएर अवलोकन गर्दा उनलाई कयौं गुना राम्रो र उत्कृष्ट मौलिक गन्तव्य लाग्यो । त्यसैले त उनलाई नेपाल छाडेर जान मन लाग्दैन, बेला मौकामा अमेरिकाका काम सल्टाएर घुम्न र रमाउन नेपाल आइरहन्छन् डफी ।
नेपालका कैयन जिल्ला डफी घुमेका छन्, त्यहाँका स्थानीयसँग रमाएका छन् उनीहरुको संस्कृति तथा चालचलनलाई मनमा राख्ने कोसिस गरेका छन् । नेपालका धेरै ठाउँ घुम्दा पनि उनलाई सबैभन्दा बढी प्रिय पोखरा नै लाग्छ । पोखराको सुन्दरता, आँखा अगाडि देखिने सुन्दर हिमालका दृश्य, तालतलैया, स्वच्छ सफा वातावरण, यहाँका स्थानीयको सद्भाव र सम्मानले उनको मन लोभ्याएको छ । साँझपख फेवातालको छेउमा गएर एक्लै बस्न उनलाई आनन्द लाग्छ । त्यसैले पनि डफीलाई नेपाल आउँदा उदासीको अनुभव कहिल्यै हुँदैन । मन रमाउन आनन्दित बन्न बनाउन सके त्यो भन्दा खुशीको कुरा अर्को नभएको उनले बताए ।
यहाँ आउँदा उनलाई आफ्नो जन्म घर छोडेर आए जस्तो लाग्दैन, आफ्नै अर्को घर र परिवारसंग बस्न आएको अनुभव हुन्छ । ‘पहिलो पटक पोखरा आउँदा मलाई मैले अर्को घर र परिवार भेटे भन्ने भान भएको थियो,’ उनी भन्छन्, ‘अहिले मेरा लागि नेपाल र यहाँको पनि पोखरा दोस्रो घर भइसकेको छ ।’
सरलता र अभावमा पनि खुसी नेपाली
अमेरिकामा उनको एक नेपाली साथी छिन् सजना गोदार, जसले गर्दा डफी नेपाल आएका थिए । सजनासँग नेपालको विषेशता, यहाँको संस्कार, सुन्दरताका विषयमा कुराकानी भइरहन्थ्यो । अमेरिकाको पेन्सिल्भिनियामा जन्मिएका डफी नेपाली साथी सजनाको कुराकानी सुन्दा नै नेपालप्रति प्रभावित भइसकेका थिए । एकपटक जाउ न त भन्ने सोच सहित सन् २०२० मा पहिलो पटक नेपाल आएका हुन् ।

नेपालको हराभरा वातावरण, अनुपम संस्कार संस्कृति मनमोहक छ नै, हरेकजसो मानिसमा देखिने सहयोगी भावना, अभाव, दुःखमा समेत रमाउन सक्ने विशिष्ट क्षमताले नेपाली नागरिक उनलाई निकै राम्रा र असल लाग्छन् ।

पहिलो पटक नेपाल भ्रमण गर्दा उनी यहाँको धेरै विषयबाट प्रभावित बने । त्यसपश्चात उनी नेपाल आउने क्रम बढ्यो । धेरै पटक यहाँ आउँदा यहाँको प्रकृतिसँग रमाउँछन्, आम नागरिकसंग भलाकुसारी गर्छन् । जति पटक अवलोकन गरे पनि नेपाल घुम्ने उनको धित मर्दैन । नेपालको हराभरा वातावरण, अनुपम संस्कार संस्कृति, हरेकजसो मानिसमा देखिने सहयोगी भावना, अभाव, दुःखमा समेत रमाउन सक्ने विशिष्ट क्षमता भएकाले उनलाई नेपाली नागरिक निकै राम्रा र असल लाग्छन् । ‘नेपालीलाई अभाव, पीडा र दुःख भए पनि हाँसेको र जीवनप्रति आशावादी भएको देख्छु, खै कसरी हो ?’ उनी भन्छन्, ‘यसरी हरेक अवस्था र क्षणमा खुसी हुने नागरिक मैले नेपालमा मात्रै देखेको छु ।’
पाँच वर्षदेखि नेपालमा
सजना र डफीसहित उनीहरुका अन्य साथी मिलेर सन् २०२१ मा अमेरिकाको क्यालिर्फोनियामा एउटा संस्था स्थापना गरे ‘युनिभर्सल लभ’ । गैरलाभदायक यो संस्थाले विश्वभरीका आवश्यक व्यक्तिलाई सहयोग गर्न कार्यक्रमको आयोजना गर्छ । यही संस्थाको माध्यमबाट डफीले पोखरा र काठमाडौंमा बालबालिकालाई संगीतको प्रशिक्षण दिन्छन् । डफीलाई लाग्छ, संगीतले विश्वलाई एकै स्थानमा जोड्न सक्ने क्षमता राख्छ । संगीतको भाषा र देशका रुपमा चिन्नु भन्दा संगीतकै रुपमा मात्रै चिन्नुपर्ने उनी बताउँछन् । ‘संगीतको कुनै भाषा, देश हुँदैन र सीमाना हुँदैन, यसलाई संगीतकै रुपमा बुझ्नुपर्छ,’ उनी भन्छन् । डफी आफैं पनि पेशाले संगीतकर्मी हुन् । संगीतको सबै विधा लेखन, संगीत भर्ने तथा गायनकलामा उनी पोख्त छन् । सन् २०२० देखि यही क्षेत्रमा समर्पित छन् । डफीले आफ्नो सांगीतिक नाम ‘लिल बर्ड’ राखेका छन् । संगीतको माध्यमबाट पूर्वीय र पश्चिमी संस्कृतिलाई एकै स्थानमा जोड्ने उनले प्रयास गर्छन् । डफी खास गरी गायक, गिटारिस्ट, गीत लेखक बब मार्लीबाट प्रभावित छन् ।
एउटा देशमा जन्मिएर अन्य देशको रहनसहन, संस्कृति तथा त्यहाँको प्रकृतिसँग घुलमिल हुन सक्नु सजिलो हुँदैन । वातावरणीय परिवर्तनले धेरथोर असर गरिरहेको हुन्छ । हरेक देशको वातावरण, संस्कृति तथा हुर्काइ र भाषा फरक–फरक हुन्छ । तर, फरक परिवेशमा गएर त्यहाँको सबै विषयलाई आफ्नो बनाउने प्रयत्न गर्नु सजिलो पक्कै होइन । अमेरिका जस्तो सम्पन्न देशमा जन्मिएका डफीलाई पनि सहज छैन । नेपाल र नेपालीप्रतिको मोह डफीलाई प्रगाढ भएर होला, विस्तारै नेपाली सिक्दैछन्, केही शब्द बोल्छन् पनि । हरेक देशका नागरिकलाई अन्य देशको भाषा सिक्नु निकै गाह्रो काम हो, उनी पनि विस्तारै सिक्दैछन् । ‘शब्द उच्चारणका क्रममा केही गल्ती हुन सक्छ भनेर सबैसंग नेपाली बोल्दिन, तर सिक्ने क्रम जारी छ,’ डफी भन्छन्, ‘सिक्दैछु, अब जानिन्छ होला, हतारमा गल्ती बोल्नु भन्दा धेरै कुरा सिकेर बोल्नु राम्रो हुन्छ ।’ नेपाली भाषा सिकिरहँदा उनलाई रमाइलो लाग्छ, कहिले अन्य नेपाली जस्तै नअड्किएर बोल्न सकिन्छ होला जस्तो पनि लाग्छ । भाषा जानेको अवस्थामा यहाँको विषयमा अझै धेरै जान्न बुझ्न सकिने डफी बताउँछन् ।
पारिवारिक माया र आफ्नोपनको आभाष
डफीलाई नेपालको सबै भन्दा मन पर्ने भनेको पारिवारिक संरचना पनि हो । एउटै परिवारमा धेरै सदस्य बस्नु, एउटै भान्सामा खाना खानु र परिवारका सदस्य बिच एकअर्कालाई सम्मान देख्दा उनलाई अचम्म लाग्छ । एकल परिवारका ढाँचा विश्वभरी फैलिरहँदा यसरी मिलेर बस्नु नेपालीको पहिचान हो जस्तो डफीलाई लाग्छ । डफीले नेपालीमा परिवारमा समर्पण समेत देखेका छन्, जसले एकअर्काको लागि दिलोज्यान दिएर सहयोग गर्छन् र परिवारकै लागि बाँच्छन् । अमेरिकामा यहाँ जस्तो पारिवारिक माया आफ्नोपन पाउन नसकिने उनी बताउँछन् । अमेरिकाको जीवन दैनिकी व्यस्त छ, सबैको आ–आफ्नै दैनिकी हुन्छ । त्यसैले होला परिवार तथा बालबच्चालाई समय दिन उनीहरु भ्याउँदैनन् ।
नेपालमा भने अमेरिकामा जस्तो नहुने र परिवार नै महत्वपूर्ण हुने गरेको उनले अनुभव गरेका छन् । डफी नेपालको यही विषयबाट अत्यन्तै प्रभावित छन् । ‘नेपालमा एउटा परिवारमा बच्चा जन्मिए पछि उसलाई हुर्काउने, बढाउने, शिक्षा दिने काम सबै परिवार मिलेर गर्छन्, एउटै परिवारमा १० तथा त्यो भन्दा बढी समेत एकै घरमा बस्छन्, तर अमेरिकामा त्यस्तो हुँदैन, त्यसैले मलाई नेपाल असाध्यै मन पर्छ,’ उनी भन्छन्, ‘कामले गर्दा अमेरिकामा आफ्नै आमाबाबा तथा परिवारका अन्य सदस्यलाई भेट्न अपोइन्टमेण्ट लिनुपर्ने अवस्था आइसकेको छ, त्यहाँ कसैका लागि कुनै समय हुँदैन ।’ नेपालका कयौं ठाउँमा घुम्न जाँदा उनले परिवारका सदस्यले एकअर्काको लागि मरिमेटेर काम र हेरचाह गरेको देख्दा प्रविधिको दुनियाँमा अझै पनि माया र विश्वास अटुट रहेको प्रत्यक्ष अनुभुत गरेको उनले बताए ।
यसले उनलाई कहिलेकाही भावुक बनाउँछ र सोच्छन् सायद अमेरिकामा पनि यस्तै भावना सबैमा भइदिएको भए त्यहाँको विकसित संसार अझै अर्कै हुने थियो ।
अप्ठ्यारोमा सहयोग र सेवा भावले नतमस्तक
नेपाललाई उनी माया गर्छन्, दोस्रो घरका रुपमा स्वीकार गरेर यहाँ आउँदा नेपालीले आफुलाई मनैबाट स्वीकार गरेको जस्तो उनलाई लाग्छ । जति हेरे पनि यहाँको प्राकृतिक सुन्दरताबाट अघाउँदैनन् । अमेरिका फर्किए नेपाल कहिले जाने होला जस्तो लागिहाल्ने उनी बताउँछन् । फरक वातावरणमा हुर्किए, आफू जन्मिएको देशको हावापानी र नेपालको हावापानी मिल्दैन । फरक–फरक हावापानीले गर्दा कहिलेकाहीं उनको स्वास्थ्यमा समस्या पनि आउँछ । स्वास्थ्यमा समस्या आउँदा नेपालीले आफ्नै मानेर डफीको सेवा गरेका छन् । आफू बाहेक अन्य मुलुकबाट आएका कुनै पर्यटक बिरामी भएमा वा उनीहरुलाई यहाँको वातावरणमा घुलमिल हुन समस्या भएमा नेपालीले गर्ने सहयोगी व्यवहारबाट डफी नतमस्तक हुन्छन् । ‘यस्तो सेवाको भाव मैले अन्य मुलुकमा देखेको छैन, यहाँसम्म कि अमेरिकामा पनि छैन,’ उनले भने, ‘अमेरिकामा आफ्नै छिमेकीलाई समस्या पर्दा उद्धार गरेर हेरचाह गर्ने भन्ने अलि कम हुन्छ, अपनत्व भन्ने थोरै हुन्छ, तर नेपालीको सेवा भाव देखेर म लोभिएको छु ।’

‘नेपालीको आफ्नै बाध्यता र परिस्थिति होला, जसले उनीहरुलाई अमेरिकाको मोहले तानेको छ,’ उनले भने, ‘तर म त्यही हुर्किएकाले होला, त्यहाँको र नेपालको अवस्थामा आकाश जमिनको फरक देखे भोगेको छु, आफ्नोपन, परिवारको माया र सहयोगका लागि नेपाल भन्दा उपर्युक्त अन्य मुलुक छैन ।’ 

डफीलाई लाग्छ, नेपालीको आफ्नै बाध्यता र परिस्थिति छन् र होलान् । त्यसैले पनि होला उनले देखेका छन्, अहिलेको अवस्थामा धेरै नेपालीहरु अमेरिकाको मोहमा छन्, त्यो देशमा पुग्ने भएमा जेसुकै गुमाउन समेत तयार हुन्छन् नेपालीहरु । अवसर र रोजगारीको खोजीमा उनीहरु अमेरिका जान्छन् । तर त्यहाँ नेपालीले सोचेको जस्तो सजिलो छैन, यहाँको जस्तो आत्मियता त्यहाँ पाउन सकिदैन । अवसर त आफैं बनाउने हो जस्तो लाग्छ डफीलाई । ‘नेपालको विषयमा मैले जति बुझेको छु, जानेको छु, अवसर यही बनाउन सकिने सम्भावना थुप्रै देख्छु,’ उनी भन्छन्, ‘सोचेको जस्तो सजिलो अमेरिकाको जीवन छैन, धेरै त्याग गर्नुपर्छ ।’ अमेरिकाको जीवन भनेको सधैं व्यस्तकर हुन्छ जस्तो उनलाई लाग्छ । परिवार, समाज, साथीभाइसंग रमाउने मौका कमै पाइने डफी बताउँछन् । अमेरिकाको जीवनशैली भन्दा नेपाल डफीलाई राम्रो लाग्छ । ‘नेपालीको आफ्नै बाध्यता र परिस्थिति होला, जसले उनीहरुलाई अमेरिकाको मोहले तानेको छ ।’ उनले भने, ‘तर म त्यही हुर्किएकाले होला, त्यहाँको र नेपालको अवस्थामा आकाश जमिनको फरक देखेको र भोगेको छु, आफ्नोपन, परिवारको माया र सहयोगका लागि नेपाल भन्दा उपर्युक्त अन्य मुलुक छैन ।’
पूर्वीय तथा पश्चिमी संस्कृतिलाई जोड्ने प्रयास
डफी संगीतको क्षेत्रमा लिल बर्डको रुपमा चिनिन्छन् । यही संगीतको माध्यमबाट पूर्वीय तथा पश्चिमी संस्कृतिलाई जोड्ने उद्देश्य सहित उनले पोखरामा गीत समेत सार्वजनिक गरेका छन् । अंग्रेजीमा गाइएको गीत भए पनि भिडियोमा नेपाली बालबालिकाले अभिनय गरेका छन् । लिलको आफ्नै शब्द, लय तथा स्वर रहेको गीत जीवन, प्रेम तथा सद्भावसंग सम्बन्धित छ । ‘विवेक थापाको मुख्य तथा अमृत सुनारको सह–कोरियोग्राफी रहेको गीतमा जीवनका विभिन्न रंग, खुसी, उर्जा माया र सद्भावलाई भिडियो मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु,’ डफी भन्छन् । गीतको सर्जकका रुपमा सजना गोदार छिन् भने निर्देशन तथा सम्पादन अमन तामाङले गरेका हुन् । बीटुबीको प्रस्तुति रहेको यो गीतमा विवेक थापा, साजन खड्का, सुमन परियार, सुनिल किसन, अर्जुृन शेरचन तथा राजकुमार नेपालीको अभिनय छ । यो गीतको भिडियोको छायांकन भने सौरभ तामाङले गरेका हुन् । यी बाहेक लिल (डफी) को करिब ६० वटा गीतहरु सार्वजनिक भइसकेका छन् ।
उनी नेपाली संस्कृति तथा यहाँको प्राकृतिक सुन्दरताबाट यति धेरै प्रभावित छन् कि नेपाललाई आफ्नै घर मानिसकेका छन् । यहाँको आत्मियता र सेवाको भाव अर्को सुन्दर पक्ष भएको उनले अनुभव गरेका छन् । ‘यो देशले मोहनी लगाइसकेको छ, थाहा छैन अब भविष्यमा के हुन्छ, नेपाललाई भुल्ने र यहाँको सुन्दरतालाई बेवास्ता गर्ने कमै छन्, त्यसमध्ये म पनि एक हुँ,’ उनी भन्छन् । उनी नेपालको संस्कृतिलाई संगीतको माध्यमबाट विश्वमाझ पु¥याउन चाहन्छन् । पोखरा त उनलाई आफ्नै घर जस्तो लाग्छ । त्यसैले पनि पोखरा र यहाँका स्थानीयका विषयलाई संगीतमा समेट्नु उनको ध्येय हो । ‘यो मेरो दोस्रो घर भएकाले बिर्सिन त कुनै हालतमा सक्दिन’ उनले भने, ‘यहाँको सुन्दरताले सबैलाई लोभ्याउँछ ।’ उनलाई नेपालका अन्य जिल्ला जहाँ पुगेका छैनन्, त्यस्ता जिल्लाको भ्रमण गरेर प्रकृतिसँग विचरण गरेर आनन्द लिने चाह अझै बाँकी छ । रमणीय दृश्यसँग स्थानीयको आत्मियताको अनुभव लिएर पुगेकै छैन डफीलाई । त्यसैले त बारम्बार नेपालको याद आउँछ अमेरिका फर्किए पनि । ‘गीतको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता र आम नेपालीका विषयमा अझै उजागर गरेर विश्वमाझ चिनाउँछु भन्ने योजना छ, हेरौं पुरा हुन कति समय लाग्छ,’ उनले कथालिकासँग भने ।
२०८१, १४ जेष्ठ सोमबार ०५:२४
कथालिका नयाँ कथा
कथालिका