- राजनीतिक दलहरुको चुनाव केन्द्रित मिसन-२०८४ बारे चर्चा र तयारी छ । यही बेला मिसन-२०८२ तिब्रताका साथ सञ्चालित छ । जुन मिसन नितान्त मानवीयता प्रवद्र्धनमा समर्पित छ ।
मानव सेवा आश्रमका अभियन्तालाई न त सत्ताको चिन्ता छ, न त शक्तिको आशक्ति छ । यद्यपि, उनीहरु पनि यसबेला चिन्ता मुक्त भने छैनन् । त्यो चिन्ता आम युवाहरुको जस्तै आर्थिक मन्दी, आत्मनिर्भरता, धन पैसा आर्जनको भने होइन । उनीहरुको चिन्ता आम रुपमा देखिएको व्यक्ति र समूहगत निहित स्वार्थमा सीमित छैन । चिन्ता छ त सार्वजनिक सरोकार, सेवा र सत्कर्मको । सडकमा बेवारिसे बन्न बाध्य भएका घर परिवारविहिन सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, पालनपोषण र संरक्षणको । र त राजनीतिक दल र नेताहरुले मिसन ०८४ को नारा अलापी रहँदा मानव सेवा आश्रम मिसन ०८२ को दौडधुपमा सक्रिय छ ।
के हो मिसन ०८२ ?
विं.स. २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने मानवसेवा आश्रमको लक्ष्य छ । नेपाललाई मानवीयताको राष्ट्र (The Country Of Humanity) निर्माण गरी विश्व मानचित्रमा नेपाललाई फरक पहिचान दिने तयारीमा मानव सेवा आश्रमका अभियन्ता यतिबेला देशभर सक्रिय र समर्पित छन् । यस अभियानमा सिंगो नेपाल र नेपालीलाई एकताबद्ध गर्न गराउन उद्दार, सेवाका साथै आमा सेमिनर लगायत मानवता प्रवद्र्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नेपालको संविधानले गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । तर पनि हजारौँ मानवहरु यही आधारभुत आवश्यकताबाट बञ्चित भएर नारकीय जीवन विताउन बाध्य छन् ।
संविधान प्रदत्त आधारभुत्त आवश्यकताबाट कोही पनि बञ्चित नरहने अवस्था सिर्जना गर्नु नै ‘मिसन ०८२’ को मूल उद्देश्य रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउँछन् । नेपालका सडक पेटी तथा सार्वजनिक स्थलमा भोकै र नाङ्गै कोही पनि नरहने अवस्थाको सिर्जना गर्नु नै आश्रमको लक्ष्य रहेको उनको भनाइ छ ।
आश्रम मानव जुनी पाएर पनि मानवको रुपमा बाँच्न नपाएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा वि।स २०६९ देखि स्थापित छ । मानवीय सेवा शुभारम्भको करिब ११ वर्ष बित्यो । आश्रमले हालसम्म १० हजार भन्दा बढि मानवहरुको उद्धार, करिब ४ हजारको औषधि उपचार पश्चात परिवार खोजी पारिवारिक पुर्नमिलन र करिब १ हजारको सामाजिक पुर्नस्थापना गराइसकेको छ ।
मिसन–०८२ को आधारः मेची महाकाली अभियान
मानवसेवा आश्रमले नेपालभर सातै प्रदेश, १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्र स्थापना गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको दैनिक रुपमा उद्धार कार्यलाई तिव्रता दिदै आएको छ । जस्तोसुकै मानसिक तथा शारीरिक रुपमा कमजोर भएर परिवार त्यागेका तथा कोही नभएका मानवहरुको अन्तिम सहारा बनेर आश्रम उभिएको छ ।
आश्रमले मिसन–२०८२ पुरा गर्न हरेक वर्ष एक महिने राष्ट्रिय उद्धार अभियान समेत सञ्चालन गर्दै आएको छ । नेपालको मेची देखि महाकाली सम्मको सडक मानवको प्रत्यक्ष अध्ययन, अवलोकन, सडक मानवको उद्धार, यसमा सरकार र सरोकारवाला निकायलाई समेत जिम्मेवार बन्न बनाउने अभिप्रेरित गर्ने हेतुले २०७८ देखि मेची महाकाली राष्ट्रिय उद्धार अभियान सञ्चालन गरिदै आइएको आश्रमकी महासचिव शुशिला केसी बताउँछिन् ।
सडक तथा सार्वजनिक स्थानमा असुरक्षित र पीडादायी जीवन विताउन विवश सहयोगापेक्षी मानवहरुको उद्धार, व्यवस्थापन, र मानवसेवा भावको जागरण अभिबृद्धिका लागि मेची महाकाली यात्राले महत्वपूर्ण भूमिका समेत खेलेको केसीको भनाई छ ।
वि।सं। २०७८ को बृहत मेची–महाकाली राष्ट्रिय उद्धार यात्राबाट ७ सय ५८ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्दार गरेको थियो । २०७९ को उद्धार यात्रा बाट १ सय ६० र २०८० को ३८ दिन सम्म चलेको मेची–महाकाली राष्ट्रिय उद्दार यात्राबाट ३ सय ४ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार भएको थियो ।
गत वर्षको असोज २६ गते देखि मंसिर ४ गते सम्म ‘यसवर्षको चाडपर्वमा कोही पनि बस्नु नपरोस् सडकपेटीमा’ भन्ने पवित्र भावनाका साथ मेची महाकाली उद्दार यात्रा सञ्चालन गरिएको थियो । यस वर्ष पनि घटस्थापना देखि छठ पर्व सम्मलाई लक्षित गरेर राष्ट्रिय उद्दार अभियान सञ्चालन गर्ने योजना तय भइसकेको महासचिव केसी बताउँछिन् ।
मेची महाकाली उद्दार यात्राले स्थानीय, प्रदेश र संघीय सरकारको संविधान बमोजिमको दायित्वबोध गराउदै मेची देखि महाकालीका प्रत्येक नागरिकलाई सामाजिक अभियानमा जोडिन आह्वान गर्दै मानवता प्रवद्र्न अभियानमा जोड्दै आएको छ ।
सरकार पनि अन्ततः अभियानका लागि तयार
कुनै पनि मुलुकमा नागरिक सडकमा बेवारिसे जीवन व्यतित गर्नुपर्ने अवस्था आउनु सिंगो राज्यका लागि लज्जाको विषय हो । नेपाल पनि त्यही नियतिबाट वर्षौदेखि गुज्रिरहेको छ ।
मुलुकमा बिद्यमान सडकमा आश्रित मानवको उद्दार र कल्याणमा राज्य स्तरबाट चरम बेवास्ता भयो । यसका लागि समयमै यथोचित पहलकदमी नभए पछि मानव सेवा आश्रमको परिकल्पना गरियो । जस मार्फत आश्रमले सडक मानवहरुको उद्दार, सेवा र पुर्नस्थापनाको काम निरन्तर स्वयंसेवी भावनाले गरिहेको मात्र छैन, राज्यलाई जिम्मेवारीबोधका लागि घचघच्याउने काम समेत गरेको छ ।
मानव सेवा आश्रमकै नेतृत्वदायक पहल र अग्रसरतामा नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेत विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण, घोषणा र कार्यान्वयन गर्ने विषय समावेश गरेको छ ।
घोषणा पछि के सडकमा बेवारिसे मानव देखिदैनन् ?
मिसन २०८२ त नजिकिँदो छ । सडकमा अझै कति मानव छ्रन् रु सहयोगापेक्षी सडकआश्रित मानवहरुको संख्या यति नै छ भन्ने एकिन तथ्याङ्क छैन । तर, उद्दार कार्यमा सक्रिय रहेको आश्रमको स्थलगत अध्ययन अनुसार विगतको तुलनामा सडक आश्रित मानवहरुको संख्या क्रमशः घट्दै गएको छ ।
‘मिसन २०८२ अर्थात् सडक मानव मुक्त राष्ट्र घोषणा पछि पनि सडकमा मानवहरु नै नहुने भन्ने हुदैँन, सडकमा विभिन्न कारणले त्यसपछि पनि मानवहरु आइपुग्नुहुन्छ,’ आश्रमका अध्यक्ष अधिकारी भन्छन्, ‘तर घोषणा पश्चात सरकारले व्यवस्थित तवरबाट उद्धार र पुर्नस्थापनामा आश्रमको सहयात्री भई सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनमा सहजता प्रदान गर्ने आश्रमको विश्वास छ ।’
यद्यपि, २०८२ पछि पनि मानवसेवा आश्रम सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, पालनपोषण र संरक्षणमा निरन्तर खटिरहनेछ । जब सम्म सडकमा मानवहरु आइपुग्नुहुन्छ तब सम्म मानवसेवा आश्रम सहारा बनेर समर्पित हुनेछ । तर, अहिलेको तुलनामा २०८२ पछि सडकमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको संख्या निकै कम हुने आश्रमको अपेक्षा छ ।
मिसन–०८२ लाई सफल बनाउन आश्रमले एकातिर सडकमा कोही पनि नआउन भन्ने हेतुले विभिन्न स्थानीय स्तरमा सचेतना, सन्तानलाई बुबा आमा प्रतिको दायित्वबोध गराउने लगायतका मानवता प्रवद्र्धनको कार्यक्रमलाई जोड दिदै आएको छ ।
सडक मानवमुक्त राष्ट्रका लागि हातेमालो
हालसम्म कुनै पनि दातृ निकाय तथा संघ संस्थाको शर्त सहितको सहयोग स्विकार नगरेको मानवसेवा आश्रम सञ्चालनको कथा निकै प्रेरक र उदाहरणीय छ । नेपाली परोपकारी उदारमनाको मुठी–मुठीको सहयोगले आश्रम सञ्चालन हँुदै आएको छ । हरेक मानव हृदयमा मानवता जगाई मानवीय कार्यमा तिनै तहका सरकार र प्रत्येक नागरिकलाई प्रत्यक्ष अनुभुति गराएर मुठ्ठी दान, स्वेच्छिक सहयोगबाट मानवसेवा आश्रम सञ्चालन भइरहेको आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिना बताउँछन् ।
नेपालमा मात्र होइन, विदेशिएका नेपालीहरुलाई समेत मानवीय सेवामा सहभागी गराउन मानवसेवा आश्रमले अष्ट्रेलिया, बेलायत, कतार लगायतका विदेशी भूमिमा समेत विभिन्न मानवता प्रवद्र्धन सम्बन्धी रचनात्मक कार्यक्रम गर्ने गरेको छ ।
यसरी मानवसेवा आश्रम लगायत अन्य गैर सरकारी संस्थाहरुको एकल प्रयासले मात्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा र कार्यान्वय असम्भव प्रायः छ । मिसन २०८२ मानवसेवा आश्रमको मात्र नभएर सिँगो राष्ट्रको अभियान हो । मिसन २०८२ लाई सफल बनाउन सरकारी निकाय, गैरसरकारी संघसंस्था र नागरिकको भूमिका महत्वपूर्ण रहन्छ ।
तिनै तहका सरकार, सामाजिक संघ संस्था र आम नागरिक बिच हातेमालो भएमा मात्र सहज र सम्भव हुने आश्रमका कोषाध्यक्ष तिमिल्सिना बताउँछन् । ‘थोपा–थोपाले समुन्द्र बने जस्तै सबै तह तप्काबाट समन्वय भएमा नेपाललाई मानवीयताको राष्ट्र निर्माण गर्न सम्भव छ,’ उनले भने, ‘यस अभियानलाई साकार बनाउन सबै एकजुट बनौ, विश्व मानचित्रमा हाम्रो नेपाल र हामी नेपालीको छुट्टै पहिचान दिलाऔं ।’