गिरेकोटमा मगर पुजारीका ४० वर्ष – कथालिका

गिरेकोटमा मगर पुजारीका ४० वर्ष

  • स्याङ्जा हरिनासका थापा मगर यही दैनिकीमा अभ्यस्त भएको ४० वर्ष भन्दा बढी भइसक्यो । यो अवसर र जिम्मेवारी उनले बाबुबाजेदेखिको पुख्र्यौली विरासतमा पाएका हुन् ।

सबेरै उठ्नु, घरको सानातिना काममा परिवारका सदस्यलाई सहयोग गर्नु, अनि नुहाइ धुवाइ गरेर नित्य कर्म, पुजाआजाका लागि आफूलाई तयार पार्नु उनको दैनिकी हो, त्यो पनि करिब ४० वर्षदेखिको अनवरत दैनिकी ।

हरेक विहान १० बजेदेखि उनको दैनिकी सुरु हुन्छ । विहानको १० बजेपछि उनले आफ्नै घर माथि भएको चर्चित थान (मन्दिर) मा समय दिन्छन् । थान भन्दा केही मिनेटको फरकमा उनको घर छ, उनलाई थानबाट ‘बाजे’ भनेर बोलाउने हो भने आफैं हाजिर हुन्छन् । कुनै राम्रो तिथि परेको छ भने त पूजा गर्ने भक्तजनको भिड बढी हुँदा उनलाई आफ्नै ध्यान राख्ने फुर्सद हुँदैन । स्याङ्जाको हरिनास गाउँपालिका वडा–४ स्थित गिरेकोटमा रहेको भैरवथान मन्दिरमा उनको दिन बित्छ । बिहान १० बजे थान (मन्दिर) को ढोका खोल्छन्, थानमा पूजा गर्न आउने व्यक्ति थानभित्र पसेर पूजाआजा गर्नु अघि आफैंले सुरुमा सरसफाई र विधिवत् रुपमा पूजाआजा गर्छन्, अनि मात्रै पूजा गर्न भक्तजनका लागि थान खुल्ला हुन्छ । चक्र बहादुर (सिञ्जाली) थापा मगर यही दैनिकीमा अभ्यस्त भएको ४० वर्ष भन्दा बढी भइसक्यो । यो अवसर र जिम्मेवारी उनले बाबुबाजेदेखिको पुख्र्यौली विरासतमा पाएका हुन् ।

यो थान (मन्दिर) चक्र र उनको परिवारको लागि जीवन बनिसकेको छ । पुस्तान्तरण भएको पूजारीको कामलाई निरन्तरता दिन पाउँदा औधी खुसी लाग्ने थापा बताउँछन् । बैंशालु उमेरदेखि थानको सेवा र पूजारीको रुपमा खटिएकाले होला, थानमा जान उनलाई हालसम्म कुनै दिनमा समेत झर्को लागेको चक्रलाई याद छैन । हरेक दिन आफ्नै घर भन्दा केही मिनेट माथि रहेको थानमा गरेर भगवानको सेवा गर्नु र भक्तजनको मनोकामना पूरा गर्न पुजाआजामा सहयोग गर्नु उनको नियमित कर्म हो । जति धेरै भक्तजन पूजाका लागि पुगे पनि उनीहरुको सेवामा अनवरत लागिरहन्छन् चक्र । भैरवथानमा एकादशी र औंशीमा बाहेक अन्य दिन पूजाआजामा समस्या हुँदैन । तर, केही भक्तजनलाई यो विषयमा जानकारी हुँदैन र थानमा पुगिरहन्छन् । उक्त दिनमा भोग नचल्ने तर मन्दिरमा पुगेका सबै भक्तजनलाई टीका मात्रै भए पनि लगाइदिने गरेको पुजारी चक्र बताउँछन् ।

साउनमा चल्दैन पुजा

यो थानमा साउन महिनामा पूजाआजा चल्दैन । नागको पूजा गरिसकेपछि मात्रै साउनमा पूजाआजाको कार्य चल्ने उनले बताए । यस बाहेक यो मन्दिर बन्द हुँदैन, पूजाआजा नभए पनि कोही जानकारी नभएर मन्दिर आएको खण्डमा टीका लगाएर पठाइन्छ ।’ उनले भने, ‘सबैभन्दा बढी भिड प्रायः ठुलो दसैं, दसैंकै पूर्णे (पूर्णिमा) र अन्य महिनाको पूर्णेमा हुन्छ ।’ यी बाहेक शनिबार भक्तजनहरु बढी मन्दिर पुग्ने गरेको चक्रले बताए ।

उक्त थानमा पुख्र्यौली हुँदै पुजारीको काम उनीसम्म पुस्तान्तरण हुँदै आएको हो । यो भन्दा अगाडि उनका जिजुबाजे हरिश्वर थापा, बाजे लालविर थापा र चक्रका बाबा कुलबहादुर थापाले उक्त मन्दिरमा पुजारीको काम गर्थे । अहिले चक्रले यही पुजारीको कामलाई निरन्तरता दिइरहेका छन् । थानको एउटा भित्तामा उनको जिजुबाजे, बाजे र बाबासहितको नाम देख्दा चक्र आफैंलाई निकै खुसी लाग्छ । ‘भगवानको सेवामा समर्पित हुन पाउनु भनेको भाग्य हो, मेरा त झन् जिजुबाजेदेखिले यही थानको सेवा गरेका छन्, यो भाग्य जो कोहीले प्राप्त गर्दैनन्,’ उनले भने । भविष्यमा उनका सन्तान मध्ये कुनै एक जनाले यही पुजारीको धर्मलाई निर्वाह गर्नु पर्नेछ । अन्य दाजुभाई भए पनि थानमा पूजारीको रुपमा काम गर्ने सौभाग्य आफ्नो पोल्टामा आउनु उनी आफैंलाई भाग्यमानी मान्छन् । ‘मेरो जिजुबाजेदेखिको पुस्ताबाट आएको यो काम मेरो पोल्टामा आउँदा म आफैंलाई भाग्यमानी छु जस्तो लाग्छ,’ खुसी साथ उनले भने, ‘भगवानको सेवामा समर्पित हुन पाउँदा कहिले झर्को लागेन, जीवन रहेसम्म यही काम गर्न पाउँ, मेरो मनोकामना यही मात्रै हो ।’

लाउने खाने उमेरबाट भैरवथानमा पूजारीका रुपमा काम गर्न थालेपछि उनलाई अन्य कुनै कामप्रति चाहना लागेन, विदेश जानु त परको कुरा थियो पूजारी चक्रका लागि । ‘यही कामलाई मेरो धर्म र कर्म बताएँ, यसैमा मेरो उमेर बित्यो । अन्य कामको चाहना कहाँ राख्नु ?’ उनी भन्छन्, ‘विदेशको त कुरै नगरौं, हाम्रो पालामा कहाँ विदेश जाने चलन थियो र ?अहिले केही वर्ष यता मात्रै हो विदेशीने प्रचलन वृद्धि भएको ।’ उनले भर्खर पूजारीको काम सुरु गर्दा उनको परिवारले खेती–किसानीको काम गर्थे । अहिले पनि पूजारीको काम बाहेक घरको खेती–किसानी काममा परिवारलाई सहयोग गर्छन् । आफ्नो सन्तानमध्ये कुनै एक छोराले यही थानको पूजारीका रुपमा बिँडो थाम्नुपर्ने छ । थानमा उनको सन्तानले बाहेक अन्यले पूजारीको निर्वाह गर्न पाउने छैनन् । मगरभित्रको पनि सिञ्जाली थर हुन् चक्रको परिवार । जिजुबाजेदेखिको परम्परालाई अहिले आफैंले धानिरहँदा पक्का छ, उनको २ जना छोराहरु मध्ये कुनै एक जनाले उनको यो भूमिकालाई निरन्तरता दिनुपर्ने छ । परिवार वा सिञ्जाली थर पूजाआजा गर्न नहुने अवस्थामा भने उनीहरु आफैंले मगरभित्रका अन्य थरलाई पूजारीका रुपमा छानेका हुन्छन् । ‘सन्तानमा पूजाआजा गर्न नहुने अवस्था आएको छ भने हामीले पहिले नै अन्य व्यक्तिलाई पूजारीका रुपमा चयन गरिसकेका हुन्छौैं, सो अवधीभर उनीहरुले थानको काम गर्छन्,’ उनले भने ।

चर्चित गिरेकोट भैरवथान

हरिनास गाउँपालिका वडा नम्बर ४ गिरेकोटमा रहको भैरवथान त्यस स्थान वरपर बाहेक अन्य जिल्लामा समेत चर्चित छ । उक्त थानमा पूजाआजाका लागि स्याङ्जा बाहेक कास्की, तनहुँ, नवलपुर लगायत अन्य जिल्लाबाट पुग्छन् । भाकल, पूजाका लागि पुग्ने भक्तजनका लागि थान १० बजेदेखि खुल्छ । भैरवथानमा पूजा वा भाकल गरेको खण्डमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

‘यो थानमा सन्तान नभएकाले सन्तानका लागि बिरामी भएकाले निको हुने आशा, मुद्धा मामिला मिलोस्, लगायत अन्य धेरै मनोकामना सहित भाकल गर्ने भक्तजन आएको थाहा छ,’ उनले भने, ‘भाकल गरेपछि आफ्नो मनोकामना पूरा भए पश्चात पनि खुसी साट्न यहाँ आउँछन् ।’ सोही जनविश्वासका आधारमा पूजाका लागि थानसम्म पुग्ने गरेको चक्रले सुनाए । पहिले थानसम्म पुग्न बाटो सहज थिएन, अहिले विकासका कामले गति लिएसंगै बाटो खुल्यो, अहिले थानसम्म पुग्नका लागि बाटो पूरै पिच भइसकेको छ । यो थानसम्म पुग्नका लागि तनहुँको भिमाद हुँदै मोटरसाइकल र गाडीबाट ३ देखि साढे ३ घण्टा लाग्छ । यता तनहुँकै दुलेगौंडा हुँदै मग्याम चिसापानीको बाटो जाने हो भने लगभग २ घण्टा लाग्छ । ‘हाम्रो जमानामा बाटो दुख थियो, हिँडेर थानसम्म आउन घण्टौं लाग्थ्यो, तर भक्तजन दुःख गरेरै, बाटोको अफ्ठ्यारो सहेरै भए पनि यो थानमा पूजा गर्न आउँथे ।’ उनले भने, ‘अहिले त धेरै सहज भएको छ, ठाउँ–ठाउँमा मोटर बाटो पुग्यो, भौतिक संरचना निर्माण हुनु भन्दा अगाडि र भइसकेपछि धेरै फरक हुने रहेछ ।’

पुख्र्यौली पुजारी

उनले भैरवथानमा वि.सं २०४० सालको पुस महिनादेखि पूजारीको काम सुरु गरेका थिए र यो कार्य अझै सम्म जारी छ, यही कार्यलाई चक्रले निरन्तरता दिएका छन् । उनको बाजे र बाबाले पूजारीको काम गर्दा सम्म यो मन्दिरको स्वरुप अर्कै थियो । उनले पूजा गर्न थालिसके पछि विसं २०५६ सालमा उनले थानको स्वरुप परिर्वतन गरेका हुन् । ‘स्वरुप परिर्वतन गरेको भन्नुको तात्पर्य सबै परिर्वतन गरेको भन्ने होइन, पहिले केही सानो थियो, पछि मैले आफ्नै लगानीमा अहिलेको स्वरुप दिएको हुँ,’ उनी भन्छन्, ‘थान बाहिरको संरचना भने विभिन्न व्यक्ति, समाज, आमा समूह लगायतको सहयोगमा निर्माण भएका हुन् ।’ थानको अवस्थामा पहिले र अहिले उनले धेरै परिर्वतन देखेका छन् । यो अवधीमा उनले भक्तजनको सेवा धेरै गरेका छन्, तर झिजो कहिले मानेनन् । थानमा पूजा गर्ने भनिसकेपछि उनी अहिले पनि उक्तिकै टाठो हुन्छन् अनि आफ्नो कामलाई हरेक दिनको उज्यालोसंगै निरन्तरता दिन्छन् ।

हरेक थान, मन्दिर र अन्य महत्वपूर्ण स्थानको कसरी र कहिले उत्पति भयो भन्ने विषयमा आ–आफ्नै कथा, कहानी, किम्बदन्ती हुन्छन्, गिरेकोटमा अवस्थित यो थानको पनि छुट्टै कहावत छ । यो थानको उत्पति कहिले र कसरी भयो भन्ने चक्रलाई पनि ठ्याक्कै जानकारी छैन । यो थानको विषयमा उनलाई आफ्नो बाबाले केही कथा भने सुनाएका रहेछन् । चक्रले आफ्नो बाबाको मुखबाट यो थानको विषयमा सुने अनुसार धेरै पहिले भैरव उक्त ठाउँमा रहेको घर–घरमा भमराको रुप लिएर डुलिरहन्थे । त्यसरी भैरव भमराका रुपमा गाउँमा डुल्न थालेपछि गाउँले सबै चकित परेका थिए । भमराको रुपमा भैरव आएको मान्दै गाउँलेले चोखोनिस्तो भएर पूजाआजा गरेर धुप बाल्न थाले । पूजाआजा गरेर मात्रै पनि गाउँलेको मनले मानेन, अनि सोही समयमा लामा–झाँक्रीलाई हेराउने निधो गरे । लामा–झाँक्रीको जाँदा हेराउँदा भैरव आफैंले म यो स्थानमा बस्छु, मेरो लागि यहाँ मन्दिर निर्माण गरिदेऊ भनेकोले हालको स्थानमा थान बनाइएको उनले बताए । ‘यो सबै कथा मैले पनि आफ्नो बाबाबाट सुनेको हुँ, सही नै होला,’ उनी भन्छन् ।

भैरव थानमा पूजा गरेर भएको आम्दानी नै उनको जीवन धान्ने बाटो हो । थानमा भक्तजनले चढाएको भेटी उनी आफैंलाई हुन्छ । तर कति कुन महिना र कुन वर्षमा कति भेटी संकलन भयो भन्ने विषयमा उनले हिसाबकिताब राखेका छैनन् अहिलेसम्म । ‘भेटी उठेपछि कहिले हिसाब राखेको छैन, घर खर्चमा सहयोग हुन्छ, कति भयो भेटी भन्ने त हिसाबै छैन ।’ चक्र भन्छन् । भेटी बनेर भक्तजनमार्फत् जति पाउँछन्, धेरै थोरै जे जस्तो भए पनि भैरवको आशिर्वाद सम्झिएर राख्छन् । जति राम्रो तिथिमा पूजा गर्न थानमा पुगेका भक्तजनबाट भाकलका लागि ल्याइएको र भोगको टाउको खुट्टा आधा चक्रले पाउँछन् भने आधा थानको समितिले राख्ने गरेको चक्रले बताए । यी बाहेक अन्य दिनमा थानका आउने भक्तजनबाट प्राप्त हुने भेटीमा उनकै हक लाग्छ । २ छोरा र ३ छोरीमध्ये जेठा छोरा र बुहारी मधेशमा छन् भने कान्छा छोरा उनी आफैंसंग अहिले घरमै छन् । आफ्नो समयमा विदेश जाने चलन नभए पनि आफ्नो छोराहरु भने विदेश आउने जाने गरेको उनले बताए । छोराहरुको सहित यही थानको आम्दानीबाट घरको खर्च चल्न सहयोग मिलेको छ ।

मन्दिरमै जीवन

चक्रको जिजुबाजेको पालादेखि यो थानमा पूजारीको काम गर्न थालेका हुन् र यो थानमा पुस्तान्तरण हुँदै आउँदा पूजारीको काम गर्न पाउँदा उनलाई सौभाग्य मिलेको जस्तो लाग्छ । उनी हाल पूजारीको काम गर्ने चौथो पुस्ता हुन् उनको परिवारबाट । उनलाई पूजारीको काम बाहेक अन्य काम गर्न न कहिले इच्छा लाग्यो, न चाहना भयो । जीवन नै यही थानको सेवामा समर्पित गरेका छन् उनले आफुलाई । ७१ वर्षको उमेरसम्म पूजारीको काम गर्ने मौका पाउँदा उनी खुशी र आनन्दित छन् । उनलाई न धेरै कमाउने रहर लाग्यो, न गाउँ छोडेर जान नै । उनका अन्य दाजुभाइहरु सहर झरेका छन् तर उनी मन्दिर तलको घरमै सुखी छन् । ‘७१ वर्ष पुगियो, लाउने–खाने उमेरबाट यही थानमा पूजारीको काम गरेर होला, यहाँ बाहेक अन्य कुरामा मन लागेन,’ उनले भने, ‘शरीरले साथ दिएसम्म यही जीवन बिताउन पाउँ भन्ने चाह हो ।’ उनी पछि उनको दुई छोरामध्ये एक जनाले यो थानको पूजारी हुने मौका पाउने छन् र पुस्ताको पौरखलाई निरन्तरता दिने छन् । ‘गर्दिन, सक्दिन भनेर भएन, एक जनाले त यो कामलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘यो थानमा पहिलेदेखि नै हामी मगरभित्रको सिञ्जाली थरले पूजारीको कामलाई कायम राखेका छौं ।’

२०८१, १० असार आईतवार ०८:०१
कथालिका नयाँ कथा
कथालिका