हप्तौँदेखिको विद्यार्थी नेतृत्वको आन्दोलन घातक र राष्ट्रव्यापी अशान्तिमा परिणत भएपछि अन्ततः बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद राजीनामा दिएर देश छाड्न बाध्य भइन् । राजधानी ढाकामा रहेको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकोप्टरमार्फत भारततर्फ भागेकी थिइन् । भारतबाट उनी निर्वासनमा बेलायत जाने तयारी छ ।
यससँगै बंगलादेशको सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको शासनकालको अप्रत्याशित अन्त्य भएको छ । हसिनाले समग्रमा २० वर्षभन्दा बढी देशमा शासन गरिन् । दक्षिण एसियाली देशको आर्थिक प्रगतिको रेखदेख गर्ने श्रेय पाएकी उनले प्रजातन्त्रको प्रतीकका रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरिन् ।
यद्यपि, हालैका वर्षमा निरंकुश बन्दै गएको र विरोधीमाथि दमन गरेको उनीमाथि आरोप लगाइएको छ । उनले जनवरीको चुनावमा प्रधानमन्त्रीको रूपमा अभूतपूर्व चौथो कार्यकाल जितिन्, जसलाई आलोचकले फर्जी भन्दै व्यापक रूपमा निन्दा गरे ।
कसरी पुगिन् सत्तामा ?
सन् १९४७ मा पूर्वी बंगालको एक मुस्लिम परिवारमा जन्मिएकी हसिनाको रगत–रगतमा राजनीति बगेको थियो । उनका बुबा तथा राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । बंगलादेशका ‘राष्ट्रपिता’समेत भनिने रहमानले सन् १९७१ मा पाकिस्तानबाट देशको स्वतन्त्रताको नेतृत्व गरे र यसको पहिलो राष्ट्रपति बने ।
त्यतिवेला हसिनाले ढाका विश्वविद्यालयमा विद्यार्थी नेताको रूपमा प्रतिष्ठा कमाइसकेकी थिइन् । सन् १९७५ मा सैनिक विद्रोहमा उनका परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यतिवेला विदेश भ्रमणमा रहेका कारण हसिना र उनकी कान्छी बहिनी मात्र बाँचे । भारतमा निर्वासन जीवन बिताएपछि हसिना १९८१ मा बंगलादेश फर्किइन् र उनको बुबाको राजनीतिक दल अबामी लिगको नेता भइन् ।
उनले जनरल हुसेन मोहम्मद एर्सादको सैन्य शासनकालमा प्रजातन्त्रको समर्थकको रूपमा सडकमा विरोध प्रदर्शन गर्न अन्य राजनीतिक दलसँग हातेमालो गरिन् । लोकप्रिय विद्रोहबाट प्रेरित हसिना चाँडै ‘नेसनल आइकन’ बनिन् । उनी पहिलोपटक सन् १९९६ मा सत्तामा निर्वाचित भएकी थिइन् । उनले भारतसँग पानी बाँडफाँड गर्ने सम्झौता र देशको दक्षिणपूर्वमा आदिवासी विद्रोहीसँग शान्ति सम्झौता गर्ने श्रेय कमाइन् ।
तर, सोही वेला उनको सरकार कथित भ्रष्ट व्यापार सम्झौता र भारतको अधीनस्थ भएको भन्दै आलोचित भयो । पछि उनी सन् २००१ मा बंगलादेश नेसनलिस्ट पार्टी ९बिएनपी०की पूर्वसहयोगी बेगम खालिदा जियासँग पराजित भएकी थिइन् ।
राजनीतिक वंशका उत्तराधिकारीका रूपमा दुवै महिलाले तीन दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका छन् र उनीहरू ‘लडाइँ गर्ने बेगमहरू’ भनेर चिनिन्छन् । बेगमले उच्च पदको मुस्लिम महिलालाई बुझाउँछ । पर्यवेक्षकहरू भन्छन् कि तिनीहरूको तितो प्रतिद्वन्द्विताले देशमा बसमा बम हमलादेखि बेपत्ता र गैरन्यायिक हत्या नियमित भइरहेका छन् ।
हसिना अन्ततः २००९ मा कामचलाउ सरकारअन्तर्गत भएको चुनावमार्फत सत्तामा फर्किइन् । विपक्षमा हुँदा उनको पटक–पटक गिरफ्तारी र धेरै हत्या प्रयास भएका थिए । सन् २००४ मा उनीमाथि भएको हत्या प्रयासले उनको सुनुवाइलाई असर गरेको थियो । उनी निर्वासित हुन बाध्य पार्ने प्रयास र भ्रष्टाचारको आरोप लागेका थुप्रै अदालती मुद्दाबाट पनि बच्न सफल भएकी छिन् ।
के हासिल गरिन् ?
हसिनाको नेतृत्वमा रहेको बंगलादेशले विपरीत चित्र प्रस्तुत गर्छ । मुस्लिमबहुल राष्ट्र बंगलादेश कुनै समय विश्वको गरिबमध्ये एक थियो । सन् २००९ देखि उनको नेतृत्वमा बंगलादेशले अविश्वसनीय आर्थिक सफलता हासिल गरेको छ । यो अहिले आफ्नो निकट र विशाल छिमेकी भारतलाई पनि उछिनेर यस क्षेत्रको सबभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रमध्ये एक हो ।
पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणा बढेको छ । विगत २० वर्षमा साढे दुई करोडभन्दा बढी मानिस गरिबीबाट माथि उठेका छन् । आर्थिक वृद्धिमा धेरैजसो बंगलादेशबाट हुने कुल निर्यातको ठूलो हिस्सा रहेको कपडा उद्योगले टेवा दिएको छ । पछिल्ला दशकमा युरोप, उत्तरी अमेरिका र एसियाका बजारमा आपूर्ति द्रुत रूपमा विस्तार भएको छ । देशको आफ्नै कोष, ऋण र विकास सहायताको प्रयोग गरेर हसिनाको सरकारले गंगापारिको २।९ अर्ब डलरको प्रमुख पद्मा पुलसहित ठूला पूर्वाधार परियोजना निर्माण गरेको छ ।
के–कस्ता विवादमा तानिइन् ?
पछिल्लो विरोध प्रदर्शन हसिनाले पदभार ग्रहण गरेपछि सामना गरेको सबैभन्दा गम्भीर चुनौती थियो । विवादास्पद चुनावपछि उनको पार्टी लगातार चौथो कार्यकालका लागि पुनः निर्वाचित भएको थियो । उनको राजीनामाका लागि बढ्दो आवाजलाई उनले बेवास्ता गरिरहेकी थिइन् । उनले आन्दोलनकारीलाई ‘आतंकवादी’ भनी निन्दा गरिन् । ‘आतंककारीलाई दृढ रूपमा दबाउन’ समर्थनका लागि अपिल गरिन् ।
ढाका र अन्य क्षेत्रको हालैको आन्दोलन निजामती सेवाको जागिरमा कोटा खारेज गर्ने मागको साथ सुरु भयो । तर, सरकारविरोधी व्यापक आन्दोलनमा परिणत भयो । महामारीका कारण बंगलादेशले जीवनयापनको बढ्दो लागतसँग संघर्ष गरिरहेको छ । मुद्रास्फीति आकासिएको छ भने विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेको छ । यसको विदेशी ऋण सन् २०१६ देखि दोब्बर भएको छ । बंगलादेशको अघिल्लो आर्थिक सफलताले स्थानीय भ्रष्टाचारको कारण हसिनाको अबामी लिगसँग निकट रहेका व्यक्तिलाई मात्र मद्दत गरेको आलोचकहरू बताउँछन् ।
– बिबिसीबाट