दिलसराको घर–परिवार आर्थिक रुपमा सबल छैन । यद्यपि पढाईमा उत्कृष्ट छिन् । बाबा दिनरात मादक पदार्थ सेवन गरेर पूर्णतः बेवास्ता गर्छन् । र पनि दिलसराकी आमाले जसोतसो घरखर्च र छोरीको पढाईलाई निरन्तरता दिन संघर्षरत छिन् । आर्थिक समस्यामा पनि घर व्यवहार चलाएको र आफ्नो पढाई खर्च समेत पु¥याइरहेकी आमाको अवस्था देखेर जीवनमा केही गर्ने दिलसराको सपना हुन्छ । त्यसैले घरको काम सकेर भए पनि दिलसराले पढाईमा कुनै समस्या आउन दिएकी छैनन् । समस्या र चुनौतीका बिच एकदिन गाउँमा लाहुरे कमानसिङको प्रवेश हुन्छ । सुरुआतको समय र एक नजर देख्नासाथ कमानसिङले दिलसरालाई मन पराउन थाल्छ । कमानसिङ लाहुरे आफ्नै इच्छा, चाहना र रोजाई हुन्छ । मामाकी छोरीमा फुपुको छोराको हक लाग्ने भए पछि कमानसिङकी आमाले भने आफ्नै दाइको छोरीलाई बुहारी बनाउने सपना देखिरहेकी हुन्छिन् । त्यसपछि चलचित्रमा के–कसरी कथा अगाडि बढ्छ भन्ने कुराको जानकारीका लागि भने चलचित्र ‘दिलसरा’ नै हेर्नुपर्ने हुन्छ ।
पोखरामा सोमबार प्रदर्शन गरिएको मगर समुदायसँग आधारित चलचित्र ‘दिलसरा’ मा महिला सशक्तिकरणको विषयलाई महत्वका साथ स्थान दिइएको छ । आदिवासी जनजाति समुदायमा महिला निर्णायक भूमिकामा हुन्छन् । घरका हरेक विषयमा उनीहरुको निर्णय महत्वपूर्ण मानिन्छ । यो समुदायमा मगर समुदाय पनि एक हो । हुन त मगर समुदायमा सबै सकारात्मक विषय मात्रै छन् भन्ने आशय यो चलचित्रको होइन । हरेक समुदायमा कुनै न कुनै कमजोरी, कुरीति हुन्छ र यस्ता कमजोरी तथा कुरीतिलाई समय अनुसार सुधार गर्दै लैजानुपर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा माया, प्रेम, लाहुरे प्रथा, परिवारको महत्व र सफल हुन महिलाले उठाएको चुनौती सहित मनोरञ्जन, समुदायगत परिवेश लगायतका विषयलाई समावेश गरिएको छ । चलचित्रका निर्देशक अशोक आले मगर आफूहरुले मगर समुदायसँग केन्द्रित रहेर चलचित्र भित्र महिला सशक्तिकरणको विषयलाई महत्वका साथ उठान गर्ने प्रयास गरेको बताउँछन् । ‘आदिवासी जनजातिमा महिलाको भूमिका पुरुष भन्दा महत्वपूर्ण हुन्छ, तर पर्दामा त्यति धेरै आएको छैन, झन् यो समुदायमा महिला सशक्तिकरणको कुरा उठ्दैन,’ उनले भने, ‘त्यसैले चलचित्रमा महिला सशक्तिकरणका विषयलाई मूल आधार बनाएर हामीले यो चलचित्र निर्माण गरेका हौं ।’
चलचित्रका मुख्य कलाकार सृष्टि राना मगरले मगर समुदायका महिलामा केन्द्रित रहेर चलचित्र निर्माण भएको बताइन् । महिलालाई समाजमा कुन रुपमा लिइन्छ र अन्धविश्वासले गर्दा उनीहरुको जीवनले कुन हदसम्म मोड लिन सक्छ भन्ने देखाउनु यो चलचित्रको मुख्य उद्देश्य रहेको उनले बताइन् । ‘फिल्मको पूरै कहानी के हो र कसरी कथाले कसरी र कुन नमोड लिन्छ भन्ने सबै विषयमा जानकारी प्राप्त गर्न फिल्म हेर्नुपर्ने हुन्छ,’ उनले हाँस्दै भनिन्, ‘तर केही कुरीतिले गर्दा उनीहरुको जीवन बर्वाद हुन सक्छ भन्ने सन्देश फिल्मले दिन्छ ।’ मगर समुदायका महिलाको शक्ति र आवाजमा केन्द्रित चलचित्र भएकाले यो चलचित्रलाई महिला प्रधान चलचित्र भन्न सकिने उनको भनाई छ । चलचित्रका नायक कल्याण राना मगरले आफूले सोचेको भन्दा धेरै सफलताका साथ चलचित्र पोखरामा प्रदर्शन भएकोमा खुसी व्यक्त गरे । चलचित्रमा कुरीति र पुराना संस्कारले महिलाको जीवन तहसनहस हुन सक्छ भन्ने विषयलाई उठान गरिएको र धेरै हदसम्म समाजलाई सो कुरीतिको विषयमा बुझाउन सफल भएको उनले बताए । ‘हाम्रो समुदायमा केही नकारात्मकता छन्, र यो विषयमा बोल्नुपर्छ, त्यस्ता कुरीतिलाई हटाउनु पर्छ,’ उनी भन्छन्, ‘यही विषयमा चलचित्र केन्द्रित छ, एकपटक हेरेर सुझाव प्रतिक्रिया दिन सबैलाई अुनरोध छ ।’
चलचित्रलाई सोमबार भव्य रुपमा पोखरामा पहिलो पटक प्रदर्शन गरिएको छ । बिहान ११ बजे मात्रै चलचित्र प्रदर्शन गर्ने भनिए पनि अवलोकन गर्ने दर्शकको भीड थामि नसक्नु भएपछि दिउँसो ३ बजे पुनः प्रदर्शन गरिएको थियो । चलचित्रको निर्माता मध्येका एक तथा कथाकार जुना थापामगरले आफूहरुले महिला सशक्तिकरणको विषयलाई समेटेर चलचित्र निर्माण गरेको र आफूहरुको प्रयास धेरै हदसम्म सफल भएको बताइन् । दर्शकको मायाले पुलकित भएको र चलचित्रको टिमलाई हौसला मिलेको उनको भनाई छ । ‘आर्थिक लाभ लिने भन्दा पनि चलचित्र मार्फत् अवसर आएको खण्डमा महिला कम हुँदैनन् र उनीहरु सधैं पुरुषको हैकममा बस्दैनन् भन्ने सन्देश चलचित्रले देखाउन खोजेको हो,’ उनी भन्छिन्, ‘दर्शकको भीड देखेर हामीले जुन उद्देश्यले चलचित्र निर्माण गरेका थियौं, त्यो सफल भयो भन्ने भान भएको छ ।’ चलचित्रको निर्माण टिमका अनुसार यो चलचित्रलाई देश विदेशका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
चलचित्रलाई कास्कीको पोखरा महामनगरपालिका वडा नम्बर २१ स्थित निर्मलपोखरी, चिलाउनेखर्क, पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ । धेरै नेपाली भाषा र कुनै–कुनै स्थानमा मगर भाषालाई स्थान दिइएको छ । मगर भाषा प्रयोग गरिएको भागमा सब टाइटल राखिएको छ । अहिलेका धेरै पुस्ताले मगर भाषा नबुझ्ने भएकाले उनीहरुले चलचित्रको विषयवस्तुलाई सजिलै बुझ्न सकोस् भन्ने हेतुले मगर भाषा प्रयोग भएको ठाउँमा सबटाइटल राखिएको चलचित्रको निर्माता मध्येका एक तथा पटकथा लेखक मीना थापा मगरले बताइन् । आवश्यक परेको चलचित्रको भागमा मात्रै भाषा उल्लेख गरिएको उनको भनाई छ । ‘अहिलेका धेरैले मगर भाषा बुझ्दैनन्, यस्तोमा हामीले केही बुझेनौं भन्ने गुनासो आउन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको छ,’ उनले भनिन्, ‘तर भाषा प्रयोग भएको छैन भन्ने होइन, के कसरी भाषाको प्रयोग भएको छ भन्ने जान्न चलचित्र एकपटक अवलोकन गरेर प्रतिक्रिया दिनुहोला ।’ सकेसम्म मगरको मौलिक पोशाक र यसको महत्वलाई चलचित्रमा समावेश गरिएको छ । २ घण्टा ४५ मिनेटको चलचित्रमा महिलाको सशक्तिकरण बाहेक मगर समुदायमा रहेको भागी विवाह, छेवरको संस्कार लगायत समेट्ने कोसिस गरिएको छ ।
नेपाल मगर संघ कास्कीका सह–सचिव शिव थापा मगरले चलचित्र उत्कृष्ट बनेको बताए । मगर भाषामा मात्रै चलचित्र नबनेकाले समुदायको व्यक्तिले मात्रै चलचित्र हेर्नुपर्छ भन्ने नभएको उनको भनाई छ । यो चलचित्र समग्र नेपाली समुदायका लागि बनेकाले एकपटक जसरी हुन्छ सबैलाई उनले हेरिदिन आग्रह गरिन् । ‘मगर समुदाय भन्दा बाहिरको समुदायले पनि यो चलचित्र हेर्नुपर्ने हुन्छ, भाषाको प्रयोग भएको ठाउँमा सबटाइटल प्रयोग भएका छन्, यसले झन् सहज बनाइदिएको छ,’ उनले भने, ‘महिला सशक्तिकरणका विषयमा यो चलचित्र मार्फत् धेरै ज्ञान पाउन सक्नुहुन्छ भन्ने मेरो पनि विश्वास छ ।’ आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका इन्चार्ज एमबी आस्था मगरले सबै तहबाट चलचित्र उत्कृष्ट बनेको बताए । यो चलचित्र सबैले एकपटक हेर्नैपर्ने विषयमा बनेको उनको भनाई छ । ‘चलचित्रले उठान गरेको कुरीति र यसले पार्ने असरको विषयवस्तुमा कलाकारको सशक्त अभिनयले सुनमा सुगन्ध थपेको छ,’ उनी भन्छन्, ‘मगर समुदाय भन्दा बाहिरकाले पनि यो फिल्म एकपटक अवलोकन गर्नैपर्ने छ ।’
महिलाले घर मात्रै होइन, बाहिरका काम सम्हाल्न सक्छन् र आमाबाबाको सहारा बन्न सक्छन् भन्ने सन्देश समेत दिने यो चलचित्र ‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ मार्फत् निर्माण भएको हो । अशोक आले मगरको निर्देशन रहेको फिल्मलाई जुना थापा मगरले लेखेकी हुन् भने पटकथा मीना थापा मगरको रहेको छ । चलचित्रको कार्यकारी निर्माताका रुपमा मेजर प्रेम थापा रहेका छन् । यी बाहेक हर्क आले मगर, मीना थापा मगर, जुना थापा मगरले चलचित्र निर्माण गरेका हुन् । महिलालाई केन्द्रमा राखेर कुरीति विरुद्ध निर्माण भएको फिल्ममा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु) भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर र ओम श्रीस मगरको अभिनय छ । चलचित्रमा नृत्य निर्देशकका रुपमा केशव आले मगर छन् ।