लडाइँ भइरहेको देशमा नजानुस् इन्दिराले भनेकै हुन् । तर, जोखिमपूर्ण हुँदा-हुँदै परिवारको आधार आवश्यकता परिपुर्ति गर्ने लालसाले ज्ञानबहादुरलाई युद्धको कुनै भय रहेन । बस् रुस पुगेर धन आर्जन गर्नु नै एक मात्र उद्देश्य रह्यो ।
पोखरा-१६ बाटुलेचौरको केही भित्री भाग, जहाँ नेपालको एक पुरानो डिजाइनको टिनको घर छ । घरको आँगनमा विभिन्न रंगिचंगी फूल । हेर्दा चिटिक्क, मौसमी फूलैफूलले सजिएको अनि मनै लोभ्याउने यो घर जति सुन्दर र शान्त देखिन्छ, यहाँ बस्ने परिवारको मन भने अशान्त छ ।
हुन त यो घरमा उनीहरु भाडामा बसेका हुन् । घर भाडामै भएपनि आफ्नो सोचेर बसे आफ्नै हुन्छ बसुन्जेलुम्म । अनेकौं सपना सजाएर परिवार मिलेर खुसीसंगै बस्ने यो परिवारको योजना यतिबेला भताभुंग भएको छ, सपनाहरु एकएक गरी टुटिरहेका छन्, अनि धैर्यताको बाँध पनि । केही दिनमा नेपालीको घरआगँनमा दसै भित्रिदैँ छ । तर यो परिवारलाई बितेका १० महिनाबाट न कुनै चाडपर्व, न त कुनै खुसीले छुन सकेको छ । कारण परिवारका लागि कमाएर केही दिने मनसाय सहित परदेशीएका घरमूली यतिबेला सम्पर्कविहीन छन् ।
परदेश सपना र बाध्यता
बर्दियाको बासगढी नगरपालिका–७ मा हो ज्ञानबहादुर थापा मगरको घर । घरको आर्थिक अवस्था सामान्य थियो । नेपालमा यसै पनि रोजगारी पाउनु भनेको ठूलै कुरा हुन्छ । आफ्नो क्षमता अनुसार रोजगारी नपाउनु र पाइहालेको अवस्थामा परिवार धान्न मुस्किल हुन्छ । त्यसैले रोजगारी तथा उच्च शिक्षा अध्ययनका लागि भन्दै दिनमा हजारौं नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै विदेशिन्छन् । ज्ञानबहादुर पनि उही हजारौं नेपालीको भीडमा हराए । उनी रुस जाने भन्दै उडान भरेको गत वर्षको असोज ३० गतेको दिन थियो । त्यसदिन ज्ञानबहादुरकी श्रीमतीसहित इन्दिरा थापासहित उनीहरुको सन्तानलाई लागेकै थिएन, यसरी उनी लामो समयसम्म बेपत्ता हुने छन् भन्ने । सबैको आशा हुन्छ, परिवारको कुनै एकजना धन कमाउनु विदेशीएपछि घरको आर्थिक अवस्थामा सुधार होला, अनि परिवार बसेर रमाउला भन्ने । तर, जीवन सोचेको जस्तो कहाँ हुन्छ र ? निधारमा लेखिएको कसैले देख्दैन, जे नसोचेको हो त्यही भइदिन्छ ।
३९ वर्षीय ज्ञानबहादुर आमा बबाबाको ४ छोरा मध्येको कान्छा सन्तान, आर्थिक अवस्था सामान्य थियो । तर, विवाह पछि श्रीमतीको जिम्मेवारी थपियो, परिवारको लागि कमाउनु पर्ने भयो । नेपालमै काम गरे पनि महंगी र घर धान्न सकस हुने उनलाई अनुभव थियो । त्यसमाथि विस्तारै सन्तान भए, अनि उनीहरुको भविष्यका लागि विदेशीनु पर्ने बाध्यता भयो । रुस जानु भन्दा अगाडि पनि उनी साउदी अरब २ वर्ष, कुवेत १ वर्ष र कतारमा २ वर्ष रोजगारीका लागि पुगेर घर फर्किएका थिए । अन्य नेपाली युवाको जस्तै उनको धेरैजसो वर्ष विदेशमा पसिना बगाएर बित्यो । परिवार खुसी थियो, सन्तानले राम्रो शिक्षा लिइरहेका थिए । हरेक सपना पूरा हुँदैनन्, र जीवन सोचेको जस्तो कहिले हुँदैन भन्ने भनाई यतिबेला इन्दिराको जीवनमा चरितार्थ भएको छ । किनकि ३९ वर्षीय ज्ञानबहादुर रुस गएको केही महिनापछि सम्पर्कविहीन छन्, परिवारको यता विचल्ली भइरहेको छ, सबै चिन्तामा छन् । कताबाट कसरी र कुन माध्यमबाट श्रीमानको विषयमा जानकारी पाउन सकिन्छ भन्ने इन्दिरालाई त्यति राम्ररी जानकारी समेत छैन ।
युद्धमा जाने खबर गरेर गुमनाम
घरमा दाजुभाई छुट्टाभिन्न भइसकेको अवस्था थियो । परिवारका २ छोरा र १ छोरीसहित ३ सन्तान र श्रीमतीको समेत हेरचाह गर्नुपर्ने भएपछि ज्ञानबहादुर गत वर्षको असोजमा रुसका लागि उडान भरेका थिए । साथीको कुरा सुनेर आफ्नै श्रीमान यसरी रुस जालान् भन्ने इन्दिराले सोचेकी थिइनन् । केहीबेर खतरा हुन्छ, लडाईं भइरहेको देशमा नजानुस् इन्दिराले भनेकै हुन् । ‘सबै कागजपत्र मिलाएर रुस जान १ हप्ता पनि नलाग्ने रहेछ, केही कमाई होला भन्ने आशले उहाँ साथीभाईको लहैलहैमा जानुभयो,’ निरास र केही हतास हुँदै इन्दिराले भनिन् । रुस पुगेर त्यहाँको आर्मीमा भर्ती भइसकेपछि पहिलो क्याम्पमा राख्दा सम्म सबै राम्रो छ केही चिन्ता मान्नुपर्दैन भनिरहन्थे उनी । आफूलाई केही राम्रो भएकाले होला सालोहरुलाई पनि रुस नै तान्नुपर्छ भनेको इन्दिरालाई याद छ । दोस्रो स्थानमा स्थान्तरण गरेपछि भने ज्ञानबहादुरलाई गाह्रो भएको आफूले अनुभव गरेको इन्दिरा बताउँछिन् । ‘दोस्रो स्थानमा भएको आर्मी क्याम्पमा स्थान्तरण गरेपछि खानाको लागि गाह्रो भयो भन्नुभएको थियो,’ उनी भन्छिन्, ‘गाह्रो भएपछि अमाजु दिदीले यतैबाट पैसा पठाइदिनुभएको हो,’ पैसा पठाइसकेपछि ज्ञानबहादुरले घरमा फोन गरेर इन्दिरालाई अब आफू वारमा जान लागेकाले पाँच वा सात दिनमा मात्रै सम्पर्कमा आउने उनले जानकारी गराएका थिए । ‘वारमा गइसकेपछि उहाँको कुनै खबर छैन, अत्तोपत्तो केही भएन,’ उनले भनिन् । केही दिन सम्पर्कमा आउन सक्दिन होला भन्ने कुरा उताबाट आइसकेपछि परिवारले पनि १५÷१६ दिनसम्म खोजीनीति गरेनन्, त्यसपछि भने सबै आत्तिन थाले । मात्रै इन्दिरा आफ्नो श्रीमानको केही खबर प्राप्त गर्न सकिन्छ कि भन्ने आशले भौतारिन थालेकी हुन् ।
रुस जानका लागि ज्ञानबहादुरले दलाललाई ८ लाख तिरेका थिए । दलाल को र कस्ता थिए, श्रीमानले कसको माध्यमबाट उसंग सम्पर्क गरे भन्ने इन्दिरालाई कुनै जानकारी छैन सिवाय दलाल धादिङका हुन् भन्ने बाहेक । सबै कुरा श्रीमान आफैले मिलाएर गएका हुन् । इन्दिराको माइत कास्कीकै आर्वा हो, उनी यतै माइती आएको बेलामा श्रीमानले उता घरमा रुस जाने व्यवस्था गरिसकेका रहेछन् । ‘मैले पनि पछि बर्दिया फर्किसके पछि बल्ल सबै कुराको जानकारी पाएँ, आर्थिक अभाव र परिवारको जिम्मेवारीले थिचेपछि उहाँले त रसिया जाने सबै व्यवस्था मिलाइसक्नु भएको रहेछ,’ निन्याउरो हुँदै इन्दिराले भनिन्, ‘घरको आर्थिक अवस्था र व्यवहारले गर्दा उहाँलाई त्यो बेला धेरै बेरसम्म नजानुस् भन्न सकिन, यस्तो हुन्छ भनेर त कसले पो सोचेको हुन्छ र ?’ त्यसमाथि बर्दियामा घर बनाउँदा र सानो छोराको मुटुको पहिलो पटक अप्रेसन गर्दा ऋण थपिएको थियो । इन्दिरालाई लाग्छ, रुस पठाउने दलालले ज्ञानबहादुरलाई महिनामा लाखौं कमाई गर्न सकिने आर्थिक प्रलोभन, भविष्य सजिलै बन्ने र खासै अफ्ठ्यारो हुँदैन भन्ने आश्वासन दिए होलान् भन्न लाग्छ । अनि एक मनले सोच्छिन्, श्रीमान् सजिलै लोभिने किसिमका त होइनन् । इन्दिराको एक मनले फेरी भन्छ, परिवार र छोराछोरीको अवस्थामा सुधार गर्न सकिन्छ कि भन्ने सोचे होलान् सायद । आजभोलि इन्दिराको मन सायदै सायद भन्दै बितिरहेको छ ।
हराएका श्रीमान् सँगै सन्ताको पिर
बाचुन्जेल संगै बसौंला, हरेक दुःख, चुनौतीलाई मिलेर सामना गरौंला, अनि सुख एकअर्कासंगै साटेर बाँचौला भन्ने व्यक्ति, जीवन साथी १० महिनासम्म सम्पर्कविहीन हुँदा सबै भन्दा बढी सन्ताप इन्दिरालाई छ । उनी न खुलेर हाँस्न सक्छिन्, न रोएर आफ्नो पीडा हल्का गर्ने कुनै ठाउँ भेटेकी छिन् । सन्तानको भविष्यको पिर छुट्टै छ उनलाई । २ छोरा र १ छोरी मध्ये कान्छा छोरालाई मुटुको रोग छ । उनको केही समय पहिले अपरेसन गरिएको थियो । डाक्टरले अझै एकपटक फेरी अपरेसन गर्नुपर्छ भनेका छन् । अहिले त झन् आर्थिक अभावले छोरालाई आवश्यक पर्ने औषधी किन्न समेत धौ–धौ भइरहेको छ । राम्रो कमाई हुने आशमा ज्यानलाई जोखिममा राखेर रुस हानिएका ज्ञानबहादुरको परिवारलाई यतिबेला के गरौं र कसो गरेर अगाडि बढौं भन्ने चिन्ताले सताइरहन्छ । कान्छा छोराको अपरेसन कहिले र कसरी गर्ने उनलाई थाहा छैन, डाँडामा गएर आफ्ना मनका पीडा भक्कानिएर सुनाउन मन लाग्छ, धक फुकाएर रुन मन लाग्छ इन्दिरालाई । ‘तर आफैं दुखमा सम्हालिन सकिन भने छोराछोरीलाई कसरी सम्हाल्ने सोच आउँछ, अनि सम्हालिन्छु,’ आँखाभरी आसुँ लिदै उनले भनिन् ।
धन कमाउने आशामा ज्यानको बाजी लगाएर कतै कुनै सम्बन्धै नभएको देशमा पुगेका ज्ञानबहादुरले सम्पर्कमा भएसम्म पनि रकम नेपाल पठाएनन् । इन्दिरालाई बर्दियामा बस्न गाह्रो भयो, दाजुभाई सबैले आ–आफ्नो व्यवस्था गरिसकेका थिए । अनि यही वैशाखमा उनी पोखरा आइन् छोराछोरी र बुहारीलाई संगै लिएर । ‘माइती यही आर्वा हो, यता केही नभएपनि माइतीले दुख पर्दा साथ देलान् भन्ने सोचेर यहाँ आएँ ।’ उनी भन्छिन् । दाजुभाई छुट्टिदा ज्ञानबहादुर र इन्दिराको भागमा ५ कठ्ठा जग्गा परेको थियो । आफूहरुको भागमा परेको जग्गा बेचेर उनीहरुले कान्छा छोराको अपरेसन गरेका थिए । उनलाई अहिले यो दुख र पीडाको समयमा साथ दिने भनेको आमाजु दिदी र माइतीले मात्रै हो । ‘सबैले बलेको आगो ताप्छन् भनेको सुनेको थिएँ, अहिले म आफैले भोगिरहेको छु ।’ उनले भनिन्, ‘सानो छोराको अपरेसन अब कसरी गर्ने भन्ने सोच्छु, मन त्यसै आत्तिन्छ ।’
श्रीमान सम्पर्कविहीन भइसकेपछि उनले खोजीको लागि पहल नगरेकी होइनन् । रुसमा बेपत्ता भएका अन्य व्यक्तिको परिवारका सदस्यले उनलाई विवाह दर्तालाई अँग्रेजी अनुवाद गरेमा पनि बेपत्ताको खोजीका लागि सहज हुने जानकारी गराएपछि बर्दिया गएकी थिइन् । सोही समयमा उनले जिल्ला प्रशासनमा सोधखोज गरेकी थिइन् । तर, उनले सोचेको जस्तो जवाफ पाउन सकिनन्, निराश र निरिह हुँदै फर्कनुप¥यो । घरको काम र छोराछोरीलाईृ समय दिनुपर्ने भएपछि उनी जान भ्याइनन्, तर परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले ज्ञानबहादुरको विषयमा बुझ्ने कोसिस नगरेका होइनन् । ‘त्यहाँ पनि अमाजु दिदीले सोचेको जस्तो जवाफ पाउनु भएनछ,’ उनी भन्छिन्, ‘त्यस्तो ठाउँमा जानीजानी जानेलाई के भन्नु, सरकारले स्वीकृति दिएको देशमा गएको भए पो केही उपाए हुने थियो र लुकेर आफैं गएकाले केही गर्न सकिन्न भन्ने जवाफ आएछ ।’ ज्ञानबहादुरले आफू रुसको आर्मीमा छु भन्ने प्रमाण केही पठाइदिएनन्, पछि उनी आफैं सम्पर्कविहीन भए । केही प्रमाण पठाइदिएको भए श्रीमानको खोजी गर्न सहज हुने थियो भन्ने आजभोलि इन्दिरा सोच्छिन् ।
सानो छोरा मुटुको रोगी भएकाले उसको हेरचाहका लागि भए पनि इन्दिराले घर छोड्न मिल्दैन । काम गर्न सकिरहेकी छैनन् । ठूलो छोराले जागिर खोजेको पनि पाएनन्, मजदुरीको काम गर्छन् । अहिले विदेश जानेकी भन्ने सोचमा छन् । बुहारीले केही सानोतिनो काम गर्छिन् । छोराबुहारीको थोरै आम्दानीबाट कोठाभाडा, खाना खर्च धान्नुपर्ने अवस्था इन्दिरा र उनको परिवारको छ । सानो छोरालाई इन्दिराले निशुल्क पढाउन पाइने पोशाक पनि किन्नु नपर्ने गरेर आफू बसेको भन्दा केही टाढा विद्यालय भर्ना गरिदिएकी छिन् ।
विद्यालयमा अन्य साथीको बाबा पुगिरहन्छन्, इन्दिराका ७ वर्षीय सानो छोरालाई लाग्दो हो, मेरो बाबा मलाई विद्यालयमा लिन आउनु भए कस्तो हुने थियो ? यही प्रश्न लिएर कहिलेकाहीँ इन्दिराको अगाडि आएर उभिइदिन्छन् । तर इन्दिरासंग यो प्रश्नको जवाफ हुँदैन, चुपचाप बसिदिन्छिन् । ठूलो छोरा त बुझ्ने भइसकेका छन् । छोरी बाबाको कुरा सुन्ने र गर्ने बित्तिकै डाँको छोडेर रोइदिन्छिन् । त्यसैले जति पीर र पीडा भएपनि मनमनै दबाउन सक्ने भइसकेकी छिन् इन्दिरा । ‘चुनौती, दुख, पीडालाई संगै लिएर भएपनि जीवन जिउनै पर्ने रहेछ,’ निराश हुँदै उनले भनिन् ।
श्रीमान् छैनन् भन्ने न विश्वास, न अविश्वास
एकदिन खोज्दै र आफ्नो जस्तै परिवारका सदस्य रुसमा बेपत्ता भएकासंग सम्पर्क बढाउँदै जाँदा इन्दिराले पर्वतबाट रुसको आर्मीमा भर्ती भएका तर नेपाल फर्किसकेका व्यक्तिको नम्बर प्राप्त गरिन् । उक्त फोन नम्बरमा उनको कुराकानी भयो । ज्ञानबहादुरको फोटो पठाएर यो व्यक्तिलाई तपाईं चिन्नुहुन्छ भनेर प्रश्न गर्दा उताबाट राम्रोसंग चिन्ने भन्ने जवाफ आयो । पर्वतका उक्त व्यक्तिले इन्दिरालाई फोनमा लडाईंमा जाँदै गर्दा ज्ञानबहादुर लगायत चढेको २ वटा गाडीमा विस्फोट भएको आफैले देखेको बताएका थिए । ‘उसले मसंग हामी एउटै गाडीमा थियौं, लडाईमा जाँदै गर्दा गाडीमा बिस्फोट भएपछि उहाँ घाइते हुनुभयो, त्यो बेला ज्ञानबहादुर दाइले पीडा सहनु भन्दा मलाई मारिदेऊ, तड्पाएर नराख भन्नुभएको हो, उहाँ अब यो संसारमा हुनुहुन्न भन्ने जवाफ दिन्छन् ।’ आँखामा आँसु टिलपिल–टिलपिल गर्दै उनले भनिन् । इन्दिराका अनुसार ज्ञानबहादुरकै आफन्त पर्ने आफ्नै गाउँका एकजना एक÷दुई दिनको फरक पारेर रुस गएका छन् । उसको भने राम्रै भइरहेको इन्दिराको भनाई छ । गाउँकै सालो पर्ने भएकाले उसंग इन्दिराले श्रीमानको विषयमा जानकारी लिने कोसिस गरेकी थिइन् । ‘यहाँ बसेर हामीले बुझ्न खोज्नु र त्यहाँ प्रत्यक्ष रुपमा बुझ्नु फरक हुन्छ, बुझिदिनुस् भनेको थिएँ, तर उसले त्यस्तो थाहा हुँदैन, समूह छुट्टयाएर लगे पछि थाहा हुन्न भन्ने जवाफ दिन्छ ।’
जब मान्छे पीडा छट्पटाहटमा हुन्छ, उसले आफ्नो सपनामा समेत भर गर्न थाल्छ । इन्दिराले अहिलेसम्म कुनै त्यस्तो नराम्रो सपना देखेकी छैनन् । धेरैले जनाले सोध्छन्, कहिलेकाहीँ सपना साँचो हुन्छ, कस्तो सपना देखेकी छौ भनेर ? ‘तर मैले अहिलेसम्म त्यस्तो नराम्रो सपना देखेको छैन,’ उनी भन्छिन्, ‘कुनै दिन म यस्तो ठाउँमा छु, नआत्तिनु भन्ने खबर हामीलाई आउँछ भन्ने लागिरहन्छ ।’ जसले जे भने पनि उताबाट आधिकारिक रुपमा कुनै जानकारी नआएसम्म आफूले श्रीमान छैनन् भन्ने विश्वास नगर्ने उनी बताउँछिन् । पैसा भन्ने कुरा कमाउँदै गरौंला मान्छे कम्तीमा सम्पर्कमा आइदिए हुन्थ्यो भन्ने उनलाई आजभोलि लाग्छ ।
भनिन्छ, जबसम्म जीवन रहन्छ, तबसम्म आशाको त्यान्द्रो रहिरहन्छ, इन्दिरा आधिकारिक रुपमा कुनै जानकारी नआएसम्म हार खाने पक्षमा छैनन् । रोजगारीको अभाव र परिवारको जिम्मेवारी थपिएपछि राम्रो कमाई हुने लोभमा रुस आर्मीमा भर्ती भएर सम्पर्कविहीन भएकाको खोजीका लागि सरकार तथा सम्बन्धित निकायले वास्ता नगरेकोमा भने उनलाई दुख लाग्छ । ‘अहिले केहीले आफैं लुकेर अवैधानिक रुपमा गएको हो, हामी केही सहयोग गर्न सक्दैनौं भन्छन्, सरकारी पक्षबाट समेत म जस्ता पीडितलाई कुनै सहयोग छैन ।’ दुखेसो पोख्दै उनले भनिन्, ‘देशमै राजगारीको अवसर प्राप्त गर्ने भए किन त्यसरी जानुपथ्र्यो र ? परिवार छोडेर अर्काको देशका लागि लडाईं लड्न जानु रहर होइन, बाध्यता हो, सबैले बुझिदिए हुन्थ्यो ।’