पहाडियाले समेत ‘सेलिब्रेट’ गरेको छठ – कथालिका

पहाडियाले समेत ‘सेलिब्रेट’ गरेको छठ

  • केही वर्ष अघि सम्म छठ पर्व नेपालको तराई, मधेश क्षेत्रको चाड मात्रै भनेर चिनिन्थ्यो ।अहिले भने समय मात्रै होइन, सोच र संस्कृतिलाई हेर्ने र बुझ्ने संकुचित दायरा समेत बदलिएको छ ।

केही वर्ष अघि सम्म छठ पर्व नेपालको तराई,मधेश क्षेत्रको चाड मात्रै भनेर चिनिन्थ्यो । हिमाली, पहाडी क्षेत्रका मानिसहरु छठ मनाउने भन्दा नाक खुम्च्याउथे । अहिले भने समय पुरै बदलिएको छ, अनि बदलिएको छ सोच र संस्कृतिलाई हेर्ने र बुझ्ने संकुचित दायरा । हिमाली, पहाडी क्षेत्र र कतिपय शहरबजारमै समेत विभिन्न पेशा–व्यवसाय तथा अन्य कारणले आफ्नो घरमा बस्न नपाएका र व्यस्तताले घर फर्किन नपाएकाले छठ पर्वलाई कर्मथलोबाटै ‘मिस’ गर्थे । खुलेर मनाउन सक्दैनथे । तर, पछिल्लो केही समय यता भने छठ पर्वको रौनकता र दायरा फराकिलो बनेको छ ।

स्थायी र अस्थायी रुपमा देशका विभिन्न शहरमा पुगेका उक्त क्षेत्रमा नागरिक एकजुट हुने क्रम वृद्धि भएसँगै देशका पहाडी भेगमा समेत छठ पर्व पृथक तबरले मनाउन थालिएको छ । यसवर्ष पोखरामा समेत तराई–मधेश सहित भारतबाट व्यवसाय र रोजगारको सिलसिलामा पोखरा आइपुगेका नागरिकले आफ्नो विधि र परम्परा अनुसार छठ पर्व मनाए । नयाँ पुस्ताले आफ्नो रीतिथिति, संस्कार र चालचलन भुल्दै गएको भनिए पनि पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा भने त्यस्तो देखिएन । छठ पर्वको अवरसरमा एकजुट भएकाहरुमा बालकदेखि, वृद्धवृद्धासम्म देखिए ।

जोडिदै नयाँ पुस्ता

वीरगञ्ज घर भएका बिनिता गुप्ता हाल पोखराको गैह्रापाटनमा बस्छिन् । जबदेखि उनले कुराहरु बुझ्न थालेकी थिइन्, तबदेखि उनले छठ पोखरामा मनाउन सुरु गरिन् । यही जन्मिएर हुर्किएकी बिनितालाई वीरगञ्जमा छठ कसरी मनाइन्छ भन्ने विषयमा सुनेको बाहेक आँखाले देखेकी छैनन् । छठ पर्व बिनिताको लागि एउटा पर्व मात्रै होइन, उनको मनका भावना गाँसिएको छ । ‘कति जनाले यो विषयमा बुझ्नुहुन्न, हामीले विद्यालयमा बिदा पाइरहेको हुँदैनौं, केहीले यसलाई पर्व हो, जानु जरुरी छैन भने जस्तो गरिदिन्छन्,’ उनी भन्छिन्, ‘भावनासंग जोडिएकाले म अरु पर्वलाई विभिन्न बाहनामा त्याग्न सकुँला, तर छठलाई त्याग्न सक्दिन ।’ पोखरामा बसेर तराई मनाइने यो पर्वलाई पोखरामा बसेर निरन्तरता दिन पाउँदा उनलाई खुसी लाग्छ । ‘पहिले खासै मनाइएको थाहा थिएन, केही वर्ष यता पोखरामा समेत छठलाई सबैजना एकजुट भएर धुमधामसंग मनाएको देखेको छु, यो विषय हाम्रो लागि निकै हर्षको कुरा हो,’ बिनिताले भनिन् । नयाँ पुस्ताले आफ्नो चालचलन र संस्कारलाई निरन्तरता दिएर आगामी पुस्तालाई हस्तान्तरण गर्न सक्ने हुनुपर्ने उनको बुझाई छ ।

अञ्जली रौनियारको घर जनकपुर भए पनि पोखरामा बस्न थालेको १७ वर्ष पुग्यो । तर अञ्जलीले जनकपुरमा छठ पर्व मनाउने अवसर पाएकी छैनन्, बरु उनले काठमाडौंमा मनाएकी छिन् । काठमाडौंमा छठ पर्व मनाउने स्थान पाउनै अफ्ठ्यारो भएको उनले अनुभव सुनाइन् । ‘मलाई पोखरामा छठ पर्व मनाउन आयोजना हुने यस्ता कार्यक्रमको व्यवस्थापन राम्रो लाग्छ, पर्व हो, सबै जना एकजुट भएर जुन स्थानमा पनि परम्परा अनुसार मनाउन पाए खुसी हुनुपर्छ ।’ उनले भनिन्, ‘तराईतिर पर्वको विधि अनुसार पानीमा जान मिल्छ, यहाँ लगायतका अन्य स्थानमा मिल्दैन, तर यो पर्वलाई निरन्तरता दिन सकिरहेका छौं, यो खुसीको विषय हो ।’ २४ वर्षिया अञ्जलीले बच्चैदेखि परिवारमा हर्षोल्लासका साथ छठ मनाएको देखेकी थिइनन् । कारणवस् तराई भन्दा बाहिर गएका नागरिकले एकजुट भएर छठ मनाएको देख्न पाउनु आफ्नो अहोभाग्य लाग्छ उनलाई । ‘बच्चा हुँदा महत्व बुझ्दिनथेँ, अहिले छठको महत्व बुझ्छु, यो हाम्रो परम्परा हो, पहाडमा आएर निरन्तरता दिन पाउँदा झनै राम्रो लाग्छ,’ उनले भनिन्, ‘अहिले आएर त झन् पहाडले हाम्रो परम्परालाई स्वीकार गरेको छ ।’

पहाडी समुदाय पनि सेलिब्रेट गर्दै छठ

मंगलबारबाट सुरु भएको यो पर्व ४ दिनसम्म मनाइने परम्परा छ । छठ पर्वको अवसरमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएर सकिएको छ । शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन गरिएको छ । कार्तिकको शुक्ल चतुर्थीबाट सुरु हुने छठ सप्तमीसम्म मनाइन्छ । सूर्यलाई अर्घ दिएर मनाइने यो पर्व केही वर्ष अगाडिसम्म तराई तथा विभिन्न पेसा व्यवसायका कारण नेपाल आएका भारतीयले मात्रै मनाउने चलन थियो । पहाडमा जिल्लामा यो पर्वका विषयमा खासै चासो र जानकारी थिएन । तर, पछिल्लो समय भने छठ पर्वलाई कास्कीको पोखरासहित देशका अन्य जिल्लामा समेत मनाउन थालिएको छ । पडाही समुदायका व्यक्ति छठ पूजामा सहभागी हुन थालेका छन् । पछिल्लो समय पेसा–व्यवसाय तथा अन्य कारणले आफ्नो ठाउँलाई छोडेर अन्य जिल्लामा जाने क्रम बढेसंगै यो पर्वले पोखरा सहितका शहरमा स्थान पाउन थालेको हो । तराईका नागरिक जुन जिल्लामा भएपनि एकजुट भएर यो पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

यो पर्व तराईमा खोला र नदी किनार तथा कुवाको छेउछाउमा गएर मनाउने धार्मिक परम्परा छ । पोखरा लगायतका शहरमा खोला, नदी र कुवा सजिलै पाउन गाह्रो छ । त्यसैले पनि खोला नजिक वा कुनै मन्दिरमा छठ पूजा आयोजना गरिन्छ । पोखरामा यो वर्ष फेवाताल किनारमा रहेको केदारेश्वर मन्दिर परिसर, नदीपुरस्थित नारायणथान मन्दिर, कालीखोला त्रिवेणीधाम, सेतीनदी, र कमलपोखरीमा छठ पूजाको व्यवस्था गरिएको थियो । तराई भेगमा नदी र खोलामा उभिएर सूर्यलाई अर्घ दिँदै यो पर्व मनाइने भएपनि अन्य शहरमा यो परम्परा कायम राख्नु सम्भव छैन । त्यसैले नदीको घाट वरपर भएको मन्दिरमा आयोेजना गरिन्छ । हिन्दु स्वयम्सेवक संघको गण्डकी प्रदेशका संवाहक सागर अधिकारी केही वर्ष अगाडिसम्म छठमा पहाडी समुदायका व्यक्तिको सहभागिता कम भए पनि अहिले बढिरहेको बताउँछन् । ‘छठको महत्वका बारेमा अझै धेरैलाई जानकारी छैन, नत्र सबै भेगका नागरिकले मनाउन मिल्ने पर्व हो,’ उनले भने । सबै जना एकै स्थानमा भेला भएर छठ मनाउन सुरु गर्न आफूहरुले पहल गरे पनि त्यो सम्भव हुन नसकेको उनले बताए । पोखराकै विभिन्न स्थानमा मनाइरहँदा र पहाडी समुदायका नागरिकको छठ पूजामा सहभागिता देख्दा भने अब यो पर्व कुनै एक स्थान र समुदायको मात्रै रहेन भन्ने बुझेको उनको भनाई छ । ‘सबैलाई भेला गराएर एकै स्थानमा छठ पूजाको आयोजना गरौं भन्ने नसोचेको होइन तर, कोहीलाई कुनै त कसैलाई कुनै स्थान टाढा हुँदा योजना सफल भएन,’ उनी भन्छन्, ‘तर प्रयास जारी छ, हेरौं, आगामी दिनमा यो प्रयास सफल हुन्छ कि भन्ने आशा छ ।’

निशा कुमारी गुप्ता १९ वर्ष पुगिन् । वीरगञ्ज घर भए पनि हाल निशाको बसोबास पोखराकै सिद्धार्थचोकमा छ । छठ ४ दिन मनाइने चाड छठ आफूहरुको लागि निकै महत्वपूर्ण रहेको उनको बुझाई छ । सुरुको दिनमा नुहाईधुवाई गरेर लसुन–प्याज नहालेको खानुपर्ने उनले बताइन् । निशाका अनुसार दास्रो दिन छठ गर्ने व्यक्ति दिनभरी वर्त बसेर राति खीर पकाएर, भगवानलाई भोग लगाएर खानुपर्छ । खीरका साथ अन्य फलफूल समेत खान सकिने उनले बताइन् । ‘तेस्रो दिन बिहानबाटै व्रत बसेर ठेकुवा लगायतका अन्य प्रसाद बनाएर सूर्य अस्ताउने बेला खोला, नदीको किनारमा ल्याएर भगवानलाई अर्घ दिनुपर्छ, सूर्यलाई अर्घ दिइसकेपछि साँझसम्म भगवानको आरधना गर्नुपर्छ ।’ उनले भनिन्, ‘चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर, सिन्दुर लगाउने, भगवानको आशीर्वाद लिने, प्रसाद खाने गरेर यो पर्व सकिन्छ ।’ वीरगञ्जमा समेत उनले छठ मनाएकी छिन् । त्यहाँ र पोखराको छठ पर्व मनाउने विधि एउटै भएपनि उताको जस्तो नहुने उनले अनुभव गर्छिन् । केही न केहीको अभाव हुने भएकाले फरक अनुभव गर्छिन् । ‘खासमा खोलाको पानीमा उभिएर सूर्यलाई अर्घ दिनुपर्छ, पोखरामा त्यस्तो सुविधा छैन, अरु त खासै फरक छैन,’ उनी भन्छिन् ।

संस्कृतिको पुस्तान्तरण

नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कारलाई छोडेर विदेशी परम्परालाई अपनाउने क्रम बढेको छ । सयम र परिस्थितिले गर्दा यसलाई नियन्त्रणमा राख्नु समेत असम्भव प्रायः विषय हो । अबका नयाँ पुस्ताले आफ्नो परम्परालाई कायमै राखेर आगामी पुस्तालाई हस्तान्तरण गर्न सक्छन् भन्ने पोखरामा मनाइएको छठ पर्वमा स्पष्ट उदाहरण देखिएको छ । धेरै जसो नयाँ पुस्ता, अध्ययन, रोजगारी लगायत अन्य कारणले विदेशिने क्रम बढ्दादे छ । त्यसैले पनि विदेशी परम्परा नेपालमा भित्रिने क्रम बढ्दो छ । यसका लागि प्रविधि पनि अर्को महत्वपूर्ण माध्यम हो । तर, विदेशी संस्कृतिले समाजलाई गाँज्दै लगिरहँदा आफ्नो परम्परा जोगाउन नयाँ पुस्ताले समेत जागरुकता देखाउन सक्छन् भन्ने उदाहरण प्रस्ट देखियो पोखरामा । यहाँ छठका लागि सजाइएका स्थानमा बालबालिका, युवापुस्तादेखि, वृद्धवृद्धा समेतको सहभागिता उल्लेख्य रुपमा देखिएको छ । तराई–मधेषका जिल्लामा अपनाइने छठको विधि अनुसार उनीहरुले समेत छठ पर्व मनाएका छन् ।

बारा जिल्ला घर भएका रामाधार परिचित गुप्ता पोखरा बस्न थालेको ४० वर्ष पुगिसक्यो । उनले यहींको विशालबजारमा व्यवसाय गर्छन् । पोखरामा उनले छठ पर्व मनाउन थालेको २५ वर्ष पुग्यो । यो अवधीमा उनले पोखरामा छठ पर्व मनाउनेको संख्या वृद्धि भइरहेको देखेका छन् । छठ पर्वको विधि पूरा गर्ने खासमा खोला र नदीको किनारमा हो । तर, पोखरामा नदीमा पुग्न अफ्ठ्यारो भएकाले मन्दिरमा पूजा आयोजना गरिने उनी बताउँछन् । छठ पर्वका लागि पोखरामा आयोजना हुने कार्यक्रममा बारा, पर्सा, रौतहट, जनकपुर लगायतका जिल्लाका नागरिकको सहभागिता हुने गरेको उनी बताउँछन् । ‘हामी तराई मधेश बाहेक, केही भारतीय नागरिक, जो परिस्थितिले घर जान पाइरहेका हुँदैनन्, उनीहरु पनि सहभागी हुन्छन्,’ उनले भने । आफूहरु जुन जिल्ला र स्थानमा गएर बसेपनि परम्परा र संस्कारलाई भुल्न नसकिने उननले बताए । उनलाई पहिले–पहिले लाग्थ्यो, सायद अबका पुस्ताले छठ पर्वको परम्परालाई निरन्तरता दिन सक्दैनन् । तर पछिल्लो केही वर्ष यता नयाँ पुस्ताको सहभागिता देखेर आफ्नो सोँच गलत प्रमाणित भएको उनले अनुभव गरेका छन् । ‘नयाँ पुस्ताले जुन रुपमा आफ्नो परम्परा सिकिरहेका छन् र छठ पूजामा सहभागिता जनाइरहेका छन्, यो निकै गर्वको विषय हो,’ उनले भने, ‘अब यो परम्परा सदियौंसम्म रहन्छन् भन्ने हामीलाई विश्वास छ ।’

२०८१, २४ कार्तिक शनिबार ०७:३९
कथालिका नयाँ कथा
कथालिका