रुघाचौर: ‘भर्जिन’ गन्तब्य – कथालिका

रुघाचौर: ‘भर्जिन’ गन्तब्य

  • रुघाचौर ‘भर्जिन’ गन्तब्य हो । यसको यथोचित प्रचार प्रसार, पूर्वाधार तयार गर्न सकेमा यो गण्डकी प्रदेशकै एक आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ ।

रुघाचौर एक आकर्षक पर्यटकीय गन्तव्य । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा पर्ने रुघाचौरबाट देखिने सुन्दर दृश्यले जो कोही कायल बन्छ । यद्यपी, यस क्षेत्र पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।

म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो। समुन्द्रि सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य नाका हो।

दर्जनौ हिमाल सहित सुर्योदय र सुर्यास्त अवलोकन

यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सुर्यास्तको दृष्य अवलोकन गर्न सकिने धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

विशाल फाँट रहेको रुघाचौरको खर्कमा बर्खा याममा धवलागिरि गाउँपालिकाको मुना, दर, लुलाङ, लमसुङ र खोरीयाका बासिन्दाले गाईभैसी र भेडाबाख्राको गोठ लैजान्छन् । अन्य समय रुघाचौर सुनसान हुन्छ।

‘परापुर्वकालमा गोठालाहरुले ढोरपाटन–रुघाचौर–गुर्जा आउजाउ गर्न प्रयोग गरेको बाटो पहिचान गरेर गुर्जादेखि रुघाचौरसम्म पदमार्ग पनि बनाएका छौं,’ उनले भने, ‘ढोरपाटन आउने पर्यटकलाई रुघाचौरको बाटो भएर गुर्जा ल्याउन र गुर्जा आउने पर्यटकलाई ढोरपाटन लैजाने योजनाका लागि पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ खोजेका छौ ।’

प्राकृतिक सौन्दर्यको खानी

रुघाचौर क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान पनि भएको वडा अध्यक्ष छन्त्यालले बताए । गुर्जा देखि चार घण्टा पैदलयात्रा गरेपछि रुघाचौर पुगिन्छ । रुघाचौरमा होटल र रेष्टुरेन्ट छैन्। खानेपानीको अभाव छ ।

गुर्जा देखि रुघाचौर गुर्जाघाट हुदै ढोरपाटन घुमेर फर्किएका धवलागिरी गाउँपालिका–७ धारापानीका आस्विन खत्रीले रुघाचौर प्राकृतिक सौन्दर्यको खानी भएको बताए । आखै अगाडी देखिने हिमाल, खर्कहरुमा भेटिने वन्यजन्तु, पंक्षीहरु अवलोकन गर्न पाउँदा दंग परेको उनले बताए ।

रुघाचौरमा अस्थायी भएपनि खानेबस्ने सुविधा र पदमार्गमा चिन्ह बनाउनुपर्ने खत्रीले बताए ।

ढोरपाटनको सहायक गन्तब्य

रुघाचौरलाई ‘भर्जिन’ गन्तब्य बनाउन सकिने सम्भावना छ । रुघाचौरलाई ढोरपाटनको सहायक गन्तब्यको रुपमा विकास गर्नुपर्ने वडा अध्यक्ष छन्त्यालले बताए ।

गुर्जाको दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा रु.१५ लाख बजेटबाट तीन किलोमिटर छ सय मिटर पदमार्ग निर्माण गरिएको पनि उनले बताए । यो पदमार्ग भएर गुर्जा र ढोरपाटनको गुर्जाघाट एकै दिनमा पुग्न सकिन्छ। हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र बन्यजन्तु यो पदमार्गको आकर्षण हो ।

भीर र जंगलमा नयाँ बाटो निर्माणका साथै पुरानो पदमार्गको मर्मत गरिएको हो । गुर्जाका ५० मजदुरले दुई महिनासम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका थिए भने स्थानीय उपभोक्ताले एक लाख ६० हजार बराबरको श्रमदान गरेका थिए ।थप दुई किलोमिटर पदमार्ग निर्माण तथा सुधार गरेमा गुर्जादेखि रुघाचौर तथा गुर्जाघाट हुँदै ढोरपाटन घोडा खच्चरसमेत आवतजावत गर्न सकिने वडाअध्यक्ष छन्त्यालले बताए ।

गुर्जा र ढोरपाटन आवतजावतका लागि गोठालाले प्रयोग गर्दै आएको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो । पदमार्ग निर्माण पछि ढोरपाटन हुँदै गुर्जामा पर्यटक भित्र्याउन सकिने र स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ । गुर्जादेखि एक दिनमा ढोरपाटन पुग्न सकिन्छ ।

यो क्षेत्र हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र बन्यजन्तु यो पदमार्गको आकर्षण हो । यो पदमार्ग भएर अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जा गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने वडाअध्यक्ष छन्त्याको भनाइ थियो ।

२०८१, ३० माघ बुधबार ०९:०९
कथालिका नयाँ कथा
कथालिका