गोवरी थरुनीः जसले चितुवाको मुखबाट नाति खोसिन् – कथालिका

गोवरी थरुनीः जसले चितुवाको मुखबाट नाति खोसिन्

बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन गइन् । खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे उहाँका सात वर्षका नाति सिर्जन चौधरी आफ्नो साथी अर्पण थारूसँग खेततर्फ हिँडे। केराबारीमा लगाइएको मासमा पानी सिँचाइ गर्दै गरेकी आफ्नी हजुरआमा भन्दा करिब ३० मिटर जतिको दुरीमा रसीको खटिया (चारपाई) राखिएको थियो ।गोवरी गोब्री खेतमा उम्रेको साग टिपेर केलाउँदै थिइन् । नजिकै खटियामा दुई नाति ९ वर्षीय अर्पण र ७ वर्षीय सिर्जन खेलिरहेका थिए ।

खटियामा खेल्दै गर्दा जब बालकलाई चितुवाले लग्यो

खटियामा सिर्जन खेलिरहँदा यत्तिकैमा सिर्जन चिच्याएको आवाज आयो ।एक्कासि चितुवाले बालक सिर्जनलाई झम्टियो र बोकेर मकैबारीतिर लग्यो । गोब्री चिच्याउँदै, हारगुहार गर्दै चितुवाको पछिपछि दौडिइन् । ‘बुदी’ (हजुरआमा) भनेर चिच्याएका सिर्जनको चित्कार अरू बेलाको भन्दा फरक थियो । त्यत्तिकैमा ३० मिटर पर मात्र रहेकी हजुरआमा नाति भएको स्थानमा पुग्दा नाति नदेखिने पछि । उनी झसङ्ग मात्र भइनन्, होश हवास उडे जस्तो भयो। यद्यपि, त्यसबेला उनी रोकिएनन् । जति बेला चितुवाले त्यस स्थानबाट करिब ५० मिटर पर मकैबारीमा नातिलाई पुर्‍याइसकेको थियो । नाति नदेखेपछि हजुरआमा नातिलाई खोज्दै मकैबारीतर्फ दौडिइन् ।

त्यहाँ मकैको रुख ढलेर बाटो बनेको देखेपछि त्यतै दौडिएकी हजुरआमाले आफ्नो नाति सिर्जनलाई चितुवाले गर्धन समातेको देखिन् र आफूले सबै बिर्सिएर चितुवाले समातेको नातिलाई खुट्टातर्फ समातेर तान्न थालिन् । करिब एक मिनेट जति सिर्जनलाई एकातर्फबाट चितुवाले तान्यो, अर्कोतर्फबाट हजुरआमा गोवरीले तानिरहिन् । हजुरआमाले नछाडेपछि सिर्जनलाई चितुवाले छाडेर हजुरआमा गोवरीमाथि आक्रमण गर्न खोज्दा आफू तर्किएपछि चितुवा त्यहाँबाट भागेको सिर्जनकी हजुरआमा गोवरी थरुनीले बताइन्।

मृत्युको मुखबाट जोगाएका बालक बेहोस

चितुवाबाट बचाएको नातिलाई काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन् । मुखमा परेको ‘सिकार’ उम्किएकाले नजिकै चितुवा जोडजोडले कराइरहेको थियो । स्थिति त्रासपूर्ण थियो । अब के गर्ने रु बालखा नातिहरू, बेहोस पति र स्वयं आफूलाई चितुवाबाट जोगाउनुपर्ने अवस्था थियो ।

उनले भनिन्, “नातिलाई चितुवाले आक्रमण गरिरहेकै बेला मकैबारीमा भेटाएँ, मेरो दिमाग नै शून्य जस्तै भयो, म के गरुँ, कसो गरुँ भन्ने सोचमा गएँ, तर जे हुन्छ हुन्छ कि नाति बचाउँछु कि मलाई पनि चितुवाले मार्छ भन्ने सोचेर मैले नातिको खुट्टा समातेर तानेँ । त्यस समयमा चितुवाले नातिको घाँटी समातिरहेको थियो ।” गोब्रीले फेरि आँट जुटाइन् । घाइते नातिलाई बेहोस पतिसँगै छाडिन् र चिच्याउँदै हारगुहार माग्दै करिब दुई किलोमिटर पर रहेको घरमा पुगिन् । त्यस घरका मानिसलाई बोलाएर ल्याइन् । आफूसहित सबैलाई जोगाइन् ।

घाइते बालकको शिक्षण अस्पतालमा उपचार

घाइते बालकको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रासपूर्ण परिस्थितिको सामना गर्नुपरेकाले, कराएकाले र दौडिएकाले गोब्रीलाई ज्वरो आएको छ । भन्छिन्, ‘साहस जुटाएर नातिलाई चितुवाबाट छुटाएँ ।’

दुई वर्षअघि साँझमा गोठबाट चितुवाले लाग्दै गरेको पाठोलाई पनि उनले यसैगरी बचाएकी थिइन् । ‘त्यही आँटले चितुवाको मुखबाट नातिलाई पनि छुटाउन बल मिल्यो,’ उनी भन्छिन्, ‘राति सुत्दासमेत घटनाले झस्काइरहन्छ ।’ चिकित्सकका अनुसार घाइते बालकको घाँटीमा चोट लागेको छ ।

बिहीबार शल्यक्रिया गरिएको नातिले शुक्रबार बिहानदेखि खान थालेको भरतमणिले बताए । ‘श्रीमतीको आँटले चितुवाको मुखबाट नाति बचाउन सक्यौं, म दमको रोगी सँगै भएर पनि बुढीलाई साथ दिन सकिनँ,’ उनी भन्छन्, ‘खेतीको कमाइबाट जम्मा गरी राखेको ६० हजार नातिको उपचार नसकिँदै सकियो, अब कुनै जुगाड छैन, सहयोगका लागि वडा कार्यालयमा जाँदा पनि सुनुवाइ भएन ।’

बालकको उपचारका लागि तत्काल ३५ हजार रुपैयाँ दिएको डिभिजन वन कार्यालय प्रमुख विजयराज सुवेदी बताउँछन् । ‘बिल ल्याएपछि ५ लाखसम्म उपचार खर्च दिन मिल्ने प्रावधान छ,’ उनी भन्छन् ।

चितुवाको आक्रमण बढ्दै, त्रासमा स्थानीय

चितुवाको आक्रमण बढ्दै गएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीय लालबहादुर थारूका अनुसार सिर्जनलाई आक्रमण गरेको चितुवाले त्यसै साँझ गाउँको एउटा कुकुर मारेको थियो । चितुवाको आक्रमण बढ्दै गएकाले हिँडडुल गर्नै डर भएको उनले सुनाए । ‘वन्यजन्तुलाई मान्छेले केही गर्‍यो भने कडा कारबाही हुन्छ तर वन्यजन्तुले मानवीय क्षति गरे सहेर बस्नुपर्छ,’ उनको गुनासो छ ।

नातिको उपचार, हजुरआमा सम्मानित

चितुवाको मुखबाट बचाइएका घटना सार्वजनिक भएपछि गुलरिया नगरपालिका–५ ले गोवरीलाई सम्मान गरेको छ । मृत्युको मुखमा पुगेको नातिलाई मृत्युको मुखबाट बचाउने साहसिक काम गरेका कारण उहाँलाई पाँच हजार रुपियाँसहित सम्मान गरिएको गुलरिया नगरपालिका–५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताइन्।

२०८१, २३ चैत्र आईतवार ०४:५२
कथालिका नयाँ कथा
कथालिका