पशु माथि प्रतिशोध: गर्भवती भैंसीको कष्टसाध्य मृत्यु – कथालिका

पशु माथि प्रतिशोध: गर्भवती भैंसीको कष्टसाध्य मृत्यु

  • सामाजिक सञ्जालमा बागलुङ ताराखोला १ भुस्काटको एउटा हृदयविदारक भिडियो भाइरल छ, गर्भवती भैंसी ज्युँदै जलेर पनि उभिरहेको । तर, सोचौ त यो अबोध प्राणीलाई असह्य जलनको पीडा कति होला ? त्यसमाथि गर्भावस्था, कसले किन लगायो आगो ? के मान्छेसँगको प्रतिशोध भैसीसँग साँधियो ?

‘तिमीले मेरो लागी दिएको यो बलिदान यसै खेर जान दिने छैन काली । हार्दिक श्रद्धाञ्जली । प्लिज अपराधि नबचाऔ ।’ बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर-१ स्थित भुस्कातका सनम विश्वकर्माले फेसबुकमा लेखेको यो स्टाटस झट्ट हेर्दा र सुन्दा आफ्नै प्रेमिका या कुनै युवतीलाई लक्षित गरेर बियोगान्त अवस्थामा लेखे जस्तो लाग्छ । तर, यो सत्य होइन, सत्य त उनको यो स्टाटस आफ्नी आमाका लागि किनिदिएको भैसीको दर्दनाक कष्टसाध्य मृत्यु पछिको हो ।

केही दिन यता सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको हृदयविदारक भिडियोको दुःखद कथाको हो । आफ्नै गोठमा गर्भवती भैंसी जल्यो । भैंसीको सम्पूर्ण छाला जलेको छ । दुवै आँखा फुटेको छ । मुखबाट फिँज आइरहेको छ । न कराउन सक्छ, न खान न सुस्ताउन । तर, भैसी ठाडै उभिएको छ । पुरै शरीर जल्दा पनि कसरी उभिन सकिरहेको होला ? त्यस बेलाको असह्य जलन, तिर्खा, भोक र पीडा, अहो कति बिघ्न खेप्नु परेको होला ? त्यो अबोध प्राणी, त्यो पनि गर्भावस्थामा कसले र किन गरेको होला ? आखिर केको बदला या प्रतिशोध साँधिएको होला ? तस्बिर र भिडियो हेर्दा पनि यस्तो लाग्छ । सोही दर्दनाक दृश्य सहितको भिडियो पोस्ट गर्दै सनम कहिले आक्रोशित सुनिरहेका छन् त कहिले भावबिह्वल बनिरहेका छन् । सनम भन्छन्, ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु अबश्य लाग्नेछ ।’

घटनाबारे विस्तृत बुझ्दा गत बैशाख १७ गते राति करिब १२ बजेतिरको हो । गोठमा अचानक आगो सल्कियो । गोठमा काली भैंसी र उनकै डेढ वर्षको राँगो थियो । राँगो आगोमा जलेर त्यही बेला म¥यो । गर्भवती भैंसी भने मृत्यु भन्दा कष्ट खेप्दै ४ दिन त उभिएर बाँचिरह्यो । तर, पाँँचौ दिनमा उनको इहलिला समाप्त भयो ।

भैंसीको त्यो हालत हेर्न नसकिने खालको भएकाले स्थानीय भेटेनरी बोलाएर ‘युथोनाईज’ गरियो । त्यो भनेको कुनै पनि प्राणीलाई पीडारहित तरिकाले मृत्यु गराउने प्रक्रिया भएको विक बताउँछन् ।

भैंसीको बिभत्स रुप देखे यता भैसी पालन गरेका सनमकी आमा माया विकको आँखामा आँशु रोकिएको छैन । बलिनधारा झरिरहेको आँशुले उनलाई काली भैसी कति मायाले पालेकी थिइन् भन्ने प्रष्ट झल्काउँछ ।

ज्याला मजदुरी गरेर गुजारा गरिरहेका विकले भैंसीसँगै आयस्रोत पनि गुमाएको बताए । ‘छाकमा पाँच–छ माना दूध दिने सुभानी भैंसी थियो’ सनमले भने, ‘अब ब्याउनका लागि एक महिना बाँकी थियो ।’

आगलागी हुने जोखिम भएको गोठमा कुँडो पकाउने गरिएको थिएन, बिजुली जडान गरिएको थिएन । ‘त्यहाँ आगो सल्कने केही थिएन’ माया कथालिकाकर्मीसँगको टेलिफोन संवादमा भक्कानिँदै भन्छन्, ‘कसैले बहकाउ या केही रिसमा सल्काइदिएको हुनुपर्छ । तर, कसले सल्काएको भनेर अहिले सम्म केही पत्ता लगाउन सकिएको छैन, प्रहरी, वडा, गाउँपालिकामा खबर गरेका छौ ।’ गोठमा आगलागीको कसै प्रति शंका गर्ने अवस्था पनि नदेखेको उनले बताइन् । ‘कसैसँग झगडा वा रिसइवी केही नभएको जस्ता लाग्छ, शंका गर्नुपर्ने कोही देख्दिन, तर कोही न कोहीले त यो अपराध गरेकै छ, सम्बन्धित निकायले अनुसन्धान गरेर पत्ता लगाओस्, त्यो पापी अपराधीलाई छुट दिनु हुँदैन,’ उनले भनिन् ।

भैंसी जलेपछि हेर्नै नसिकने अवस्थामा भएको उनी बताउँछन् । ‘तीन दिनसम्म एकदमै बिजोग अवस्थामा बाँच्यो’ उनले भने, ‘बचाउने सकिने हरेक उपाय सोचियो तर न खाने, न चल्ने अवस्था भएकाले भेट्नरी डाक्टरलाई बोलाएर सहज मरणको बाटो अपनाइदिन भन्यौ ।’

सनमका अनुसार उनकी आमा मायाले पोखरा जान नमानेर गाउँमै कृषि र पशुपालन गर्दै आएकी थिइन् । पोहोर मात्र किनेको भैंसी अझै ऋण तिर्न बाँकी रहेको सनमले बताए । अहिले सामाजिक सञ्जालमा भैसीको बिभत्स अवस्था, सनम र उनकी आमाको भावुक मुद्राको भिडियो पछि घटनाको सबैले निन्दा गरिरहेका छन् भने अर्को भैसी खरिद र तत्काल उनीहरुको घाउमा मल्हम लगाउने भन्दै आर्थिक सहयोग पनि प्रदान गर्ने क्रम शुरु भएको छ ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले घटना दुखद भएको बताए । यसबारे जानकारी आएको र आवश्यक अनुसन्धानका लागि प्रहरी र स्थानीयँसग पहल समन्वय भइरहेको उनको भनाई छ । पीडितलाई पालिकाका तर्फबाट राहत सहयोग दिने विषयमा पनि छलफल भइरहेको रोकाले बताए ।

२०८२, २१ बैशाख आईतवार १४:०३
कथालिका नयाँ कथा
कथालिका