कुनै प्रतियोगिता भए पछि पहिलो हुनेले जित्ने, पुरस्कार सम्मान पाउने सामान्य र स्वभाविक नियम हो । तर, कतिपय प्रतियोगिता र प्रतियोगी यस्ता हुन्छन्, जहाँ बिजेता भन्दा अरु चम्किन्छन्, सबैको नजरमा पर्छन् । उसैको हाइहाई हुन्छ । जित्नेहरु ओझेलमा पर्छन् ।
पाल्पा रामपुरका १० वर्षीय गोकुल राना त्यस्तै पात्र हुन्, जो रामपुर युवा क्लबले अघिल्लो साता आयोजना गरेको रामपुर म्याराथुनमा तीन सय जना सहभागी बिच ३९ औं स्थानमा आए । यद्यपि, प्रतियोगिता अवधिभर र अहिले पनि उनै गोकुलको चौतर्फी चर्चा छ । भलै प्रतियोगिताको उपाधि पुरुष तर्फ रामबहादुर सोमै र महिला तर्फ अञ्जना श्रेष्ठले जितेकी थिइन् ।
हारेर पनि किन भयो बालकको चर्चा ?
माया लाग्दो अनुहार । सयौ जनाको भिडमा एक बालक चप्पल लगाएर दौडिरहेका थिए । आफू भन्दा ठुला ठुला मानिसहरुसँग प्रतिस्पर्धाका लागि मैदानमा उत्रिने साहस गर्नु नै महत्वपूर्ण हो । उनको उमेर अनुसार पनि ११ किलोमिटरको दुरीमा अथक दौडिएर अन्तिम समय सम्म प्रतिस्पर्धामा रहनु पनि सामान्य कुरा होइन ।
रामपुरको नगरपालिका–५ स्थित रामतुलसी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत गोकुलले ठुला दाइ दिदीसँग दौडिएर धेरै कुरा सिक्ने अवसर पाएको बताउछन् । ‘मलाई यस्तो दौडिन खेल्न रहर छ, घरमा भएको जुत्ता च्यातिएर लगाउन मिल्ने अवस्था नभएकाले चप्पल लगाएरै दौडेको हुँ,’ उनले भने, ‘चप्पल लगाएर दौडिदा जुत्ता लाए जस्तो नहुने रहेछ, लामो समय दौडिदाँ पसिनाले चिप्लिएर गाह्रो भयो, पछि जुत्ता लगाको भए अझै राम्रो गर्न सक्ने रहेछु भन्ने चाहीँ मनमा लाग्यो ।’
प्रतियोगितामा पराजित तर, पुरस्कार नै पुरस्कार !
५९ औं मिनेटमा निर्धारित दुरी पार गरेका उनी ३ सय जनामा ३९ औं भए । उनले महिलातर्फको विजयी प्रतियोगीभन्दा अगाडि नै दौड पूरा गरे । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई मात्रै पुरस्कारको व्यवस्था थियो । तर, गोकुलले यी केही नभएर पनि पुरस्कार र हौसला धेरै प्राप्त गरे ।
गोकुल जतिबेला ११ किलोमिटरको दुरी पार गर्दै रिवन नजिक आइपुगे । उनको पैतालामा भएको चप्पलले धेरैका ध्यान खिच्यो । अनि खिच्यो उनको अथक मेहेनेत, हिम्मत र साहसले । र त प्रतियोगिता हेरिरहेका आयोजक,अतिथि र दर्शकले पैसा दिन थाले । एकजोर जुत्ता पनि पाए । पछि हेर्दा पाँच हजार रुपैयाँ नगद पुरस्कार जम्मा भएको थियो । कार्यक्रममै रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी घिमिरेले उनलाई स्नातकसम्म किताब कापी आफूले उपलब्ध गराउने घोषणा गरिन् । प्राप्त नगद आफूले घरमा आमालाई बुझाएको बताए ।
पालिका भित्रको म्याराथुन प्रतियोगिता भए पनि बालकको चप्पल सहितको दौड, मेहेनतले देशव्यापी रुपमा सकारात्मक सन्देश प्रवाह भएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले बताए । ‘सानो भाइ चप्पल सहित निरन्तर दौडिएर धेरैको ध्यान ताने, कार्यक्रम स्थलमै केही नगद र जिन्सी पुरस्कार पनि पाए,’ अध्यक्ष दरैले भने, ‘अहिले सामाजिक सञ्जालहरुमा पनि उनको दौड र मेहेनेत भाइरल जस्तै भइरहेको छ, कति सहयोग पनि आइरहेको छ ।’ यसले उनमा मात्रै होइन, उनी जस्तै अरु बालबालिकालाई पनि उत्साह र प्रेरणा मिलिरहेको दरैको भनाइ छ ।
पढाईमा औसत, खेलकुदमा ध्यान
गोकुल रामतुलसी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । उनका बुवाआमा दैनिक मजदुरी गर्छन् । बाआमाले धेरै दुःख गरेर पढाउनु भएकाले बहिनी र आफुले ठुलो भएर राम्रो गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले गोेकुलले लामो दौड गरेर सबैलाई खुसी तुल्याएको बताए । ‘कोरोना भाइरसका भयावह सुरु भए यताका दुई वर्ष विद्यालयमा अतिरिक्त क्रियाकलाप भइरहेको थिएन, यसले धेरै विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनमा बाधा थियो,’ प्रअ लम्सालले भने, ‘गोकुल पढाईमा औसत हुन् तर खेलुकदमा रुचि छ, खुल्ला दौडमा यति सानो बाबुले गरेको कोसिस निकै राम्रो हो, यसबाट अरु भाइ बहिनीहरुलाई ठूलो प्रेरणा मिल्नेछ ।’
गोकुलको ‘लाहुरे सपना’
उनी सँग अहिले नै त्यस्तो निश्चित ठुलो सपना केही छैन । यो सोच्ने र तय गर्ने अहिले नै बेला भएको पनि छैन । तर, खेलकुद क्षेत्रमा उनको रुचि र सपना अधिक देखिन्छ । विहान उठेदेखि सुत्ने बेला सम्म खेलिरहने गाउँ घरको दैनिकी जस्तो भएकाले खेलमा स्वभाविक रुचि बढी देखिएको प्रअ लम्साल बताउँछन् ।
शारीरिक रुपमा तन्दुुरुस्त बनेर पछि लाहुरे बन्ने सपना गोकुलको छ । ‘बिभिन्न खेल कार्यक्रममा भाग लिने इच्छा छ, पुरस्कार जितेर नाम राख्ने विचार छ । १२ कक्षा पास गरे पछि भने लाहुरे बन्ने हो,’ उनले भने, ‘बुबा आमाले पनि तलाइँ लाहुरे बनाउने भन्नुभएको छ, अहिले हामी भाँडाको कोठामा बस्छौ, लाहुरे बनेर पैसा कमाउने, आफ्नै घर बनाउने हो ।’