- सारङ्गी बजाएर सार्बजनिक रुपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन् ।
पछिल्लो केही साता यता सारङ्गीको चर्चा चुलीमा छ । ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रले नेपाली रंगमञ्चमा ४० करोड बढीको व्यापार सहित नयाँ मानक खडा गरिरहेको छ । गन्धर्व समुदाय र सारङ्गीको कथामा केन्द्रित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले उल्लेख्य कमाइ सहित चलचित्रका सबैजसो रेकर्ड ब्रेक गरेर नयाँ नयाँ इतिहास कायम गरे पनि सारङ्गी बजाउने गन्धर्व समुदायको जीवन र कथामा भने उल्लेख्य बदलाव अझै आउन सकेको छैन । तिनै समुदायका प्रतिनिधि पात्र हुन् टीकामाया गायक ।
परम्परागत मानक भत्काउने साहसिक महिला
महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने परम्परागत मान्यताविरुद्ध विद्रोह गर्ने महिला हुन्, लोकगायिका टीकामाया गायक । उनका पति बलराम पनि चार दशक भन्दा लामो समयदेखि रैथाने सङ्गीत प्रवद्र्धनमा सक्रिय छन् ।
कालिकानगर, पोखरामा बसोबास गर्दै आएका टीकामाया र बलराम दम्पत्ति गन्धर्व समुदायका प्रभावशाली प्रतिभा हुन् । उनीहरू कुशल सारङ्गीवादक मात्र होइनन्, सुमुधुर स्वरका धनी पनि हुन् ।
टीकामाया विद्रोही नारी हुन्, आजभन्दा साँढे चार दशक अघि सारङ्गी बजाएर गाउँघर डुल्दै उनले समाजलाई ठुलो चुनौती दिएकी थिइन् । महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने मान्यताले जरा गाडेको त्यो समयमा सारङ्गी रेटेर घुम्नु चानचुने कुरा थिएन । तर, त्यसबेला नै टीकामायाले चुनौती मोलेर आफुलाई नेपाली समाजमा स्थापित गरेको अनुभव सुनाउँछन् ।
काँचो सुन्तलादेखि नौडाँडामा बस सम्म रेकर्ड
सारङ्गी बजाएर सार्बजनिक रुपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन् । तीसको दशकमा टीकामायोका स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो ।
कालिकानगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँथे। उनको स्वरमा पनि तीन ओटा गीत रेकर्ड भएका छन् । आजका दिनमा पनि यो दम्पत्ति सारङ्गी बजाउँदै गाउँघर डुल्छन् ।
तीसको दशकमा उनको स्वरमा ‘अमिलीको रस, दोभानमा बिजुली दाई साइँला, नौडाँडामा बस’ बोलेको गीत रकेर्ड भएको थियो। लोकगायक बलरामका पनि केही गीत रेकर्ड भएका छन् । रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत हो, ‘काँचो सुन्तला, नटिपे यो चाला, टिपे कुन चाला ?’
विगतमा टीकामाया र उनका श्रीमान बलाराम गन्धर्वले छिमेकी मुलुक भारतको खर्साङ रेडियोमा पनि सारङ्गी बजाएका थिए ।
प्रेम विवाहले पोखरामा
माङदिङ गाउँ, भोजपुरकी टीकामाया र कालिकानगर, कास्कीका बलरामबीच प्रेम विवाह भएको हो । आज ५८ वर्षको उमेरमा आइपुग्दा समेत उनीहरू लोकसङ्गीतमा सक्रिय छन् ।
हिउँदमा गीत गाउँदै गाउँघर डुल्छन् । बलराम टाढा टाढासम्म पुग्छन् भने टीकामाया आफ्नै बस्ती वरपर मात्र डुल्छिन् । केही समय अघि पाठेघरमा समस्या आएपछि उनको उपचार गरिएको थियो । त्यसैले गाउँदै टाढाटाढा जान उनलाई गाह्रो हुन्छ । उनीहरूका ३ छोरी र एक छोरा छन् ।
दुबैजना १३ वर्षको उमेर हुँदा उनीहरूको पृथ्वीराजमार्गको जक्सन मुग्लिनमा भेट भएको थियो । त्यहीँबाट प्रेम अँकुराए पछि उनीहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गरेका थिए । छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही बर्ष सारङ्गी बजाएका थिए ।
पहिलो पटक सारङ्गी साँझमा गुञ्जिए टीकामाया-बलराम
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा ‘टीकामाया-बलराम सारङ्गी साँझ’ आयोजना ग¥यो । कार्यक्रममा गन्धर्व दम्पत्तिले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए । कार्यक्रममा गायक दम्पतीले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’ लगायत केही गीत गाएका थिए । सारङ्गी साँझले गायक दम्पतिको सम्मानका साथै नयाँ पुस्ता माझमा यी प्रतिभालाई चिनाउन मद्धत गरेको आयोजकले जनाएको छ ।
सोही समारोहमा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरियो । उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गरेकी थिइन् । समाजमा योगदान पु¥याएका भुइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक पत्रकार अमृत भादगाउँलेले बताए । ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौं’, उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔ ।’
रैथाने सङ्गीत मार्फत समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेका जोडीलाई सम्मान गरेर कन्सेप्ट नेपालले भुइँमान्छेको पक्षमा उदाहरणीय काम गरेको छ। । कन्सेप्ट नेपालले बेलाबेलामा भुइँमान्छेको सम्मान गर्दै आएको छ । उसले वि.सं २०७५ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो । त्यस्तै वि.सं. २०८० मा पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’लाई ६० वर्षको उमेरमा पहिलो पटक काठमाडौं पु¥याएर ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो ।