- यति छोटो समयकै अन्तरालमा करण एक साधारण संघर्षशील जीवनबाट असाधारण गायकीका साथ देशकै एक ‘सेलिब्रेटी’ बन्न सफल भएका छन् ।
जीवनले कुन क्षण कोल्टे फेर्छ र अभूतपूर्व सफलता मिल्छ ? अक्सर स्वयंम् व्यक्ति पनि बेबखर हुन्छ । यस्तो सफलता आखिर कसरी त ? यसका लागि निरन्तर साधना र मेहेनत नै अचुक अस्त्र हो । आफ्नो उद्देश्य, सपना र गन्तव्यका लागि अविचलित मेहेनत र संघर्षरत रहे एक न एकदिन सफलता हात पर्छ । यसको एक सुन्दर र ताजा उदाहरण हुन् करण परियार ।
गत शनिवार नेपाल आइडल सिजन–५ को बिजेता बनेका करणको पछिल्लो चार महिना स्वर्णिम दिनमा बदलियो । उनी र उनको परिवारका लागि पछिल्लो १ सय २० दिन जीवनकै सर्वाधिक सफलता र उत्सवको समय बन्यो । यति छोटो समयकै अन्तरालमा करण एक साधारण संघर्षशील जीवनबाट असाधाारण गायकीका साथ देशकै एक ‘सेलिब्रेटी’ बन्न सफल भएका छन् । फेसबुक फ्लोर्स नै ८३ हजार बढी पुगिसकेको छ । नेपाल आइडलको उपाधिसँगै उनले नगद २५ लाख लगायतका बिभिन्न उपहार जिते । त्यो भन्दा बढी त आम नेपालीको मन जित्न सफल रहे । यस सिजनमा सलोमी गुरुङ फर्स्ट रनरअप, सचिन विश्वकर्मा सेकेन्ड रनरअप र मोहित भुजेल थर्ड रनरअप भए ।
डेलिभरी ब्वाइदेखि नेपाल आइडल सम्म
गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को देशव्यापी अडिसन चलिरहेको थियो । करण गायक बन्ने सपना बोकेर काठमाडौं पसेका थिए । उनी सपनाका लागी संगीत सिक्थे, बाँच्नका लागि एक कार्पेट फर्निसिङमा डेलिभरी ब्वाइको रुपमा काम गर्थे ।
सातै प्रदेशका प्रमुख सहरको अडिसन पछि संघीय राजधानी काठमाडौंमा अडिसन थियो । जहाँ उपस्थिति थिए बर्दियाको बारबर्दिया नगरपालिकाका करण परियार । निकै साधारण, दुब्लो पातलो कद, गोडामा मजा र चप्पल, शरीरमा सामान्य कपडा, हातमा पञ्जा लगाएर चार महिना अघि पहिलो अडिसन दिएका करणले अहिले उपाधि चुमिसके । डेलिभरी ब्वाइबाट एकाएक सेलिब्रेटी बनिसके । यसबिचको संघर्ष, साधना र सफलताबारे आफुले शब्दमा बर्णन गर्न नसक्ने करण बताउँछन् । ‘गायक बन्ने सपना त थियो, तर यो सबै त म आफैलाई सपना जस्तो लागिरहेको छ, खुशी सँगै काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको अनुभूति भइरहेको छ ।’
त्यो पहिलो अडिसन
करणका लागि पहिलो अडिसन नै स्मरणीय रह्यो । शिव परियारको स्वरमा रहेको फिल्म ‘ब्याच नम्बर १६’ को गीत ‘संगी’ गाए । तिनै जना निर्णायक मन्त्रमुग्ध बने । पहिलो अडिसनमै गोल्डेन माइक जिते । गोल्डेन माइक पाए सँगै सिधै अर्को राउन्डमा प्रवेश पाए । उनले गाएको पहिलो गीत नै सर्वत्र भाइरल भयो । यसले उनलाई नेपाल आइडलका उपाधि अबल दाबेदारका रुपमा उभ्यायो ।
लोकप्रिय संगीतकार तथा निर्णायक न्ह्यू बज्राचार्यले सुरुवाती अडिसनमै भनेका थिए-‘अब तिमीलाई सुनेपछि धेरैले गीत रेकर्डिङको अफर गर्नेछन् ।’ अर्का निर्णायक इन्दिरा जोशीले अभुतपूर्व प्रतिभा भेटेको सुखद अनुभूति सहित भनेकी थिइन्-‘रेडिमेड जस्तो टक्क मिलेको आवाज । अहिलेसम्म कहाँ लुकेर बसेका थियौ करण ?’ अर्का जज कालीप्रसाद बास्कोटाले पनि गोल्डेन माइक सहित कार्ड दिनुअघि म तिमीलाई अँगालो हाल्छु भनेर खुशी र उत्साह साटे ।
गितार किन्नै संघर्ष
जब सपना देखिन्छ, त्यो सपना पुरा गर्न कति सम्मको प्यासन र संघर्ष चाहिन्छ भन्ने उदाहरण करणले देखाएका छन् । उनको सानैदेखि संगीतमा लगाव थियो । चाहे त्यो घरमा होस् विद्यालयमा, उनी गीत गाइरहेका हुन्थे । अलि बुझ्ने भएदेखि त गायक बन्ने उनको एक सुत्रिय सपना बन्यो । त्यसका लागि उनले राजधानी ताके । आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंको दैनिकी, सिकाई केही कष्टप्रद रह्यो । र पनि आफ्नो सपनाका लागि उनले संघर्ष गर्न कुनै कसर बाँकी नराखेको बताए ।
‘म्युजिक सिक्न काठमाडौं त आए तर म सँग पैसा थिएन । सानातिना काम गरेर, गुरुलाई अनुरोध गरेर कम पैसामै म्युजिक सिक्न थालें, यसका लागि गितार किन्ने सोच त बनाए, पैसा नभएर किन्न महिनौ लाग्यो,’ उनले भने । कार्पेट डेलिभरी ब्वाइको काम गर्दै जोगाएको पैसाबाट महिनौ पछि बल्ल गितार किन्न सफल भएको उनले सुनाए ।
गितार किने पछि संगीत साधना गर्न धेरै सहज भएको उनको भनाई छ । ‘त्यही गितार किन्न पनि नसक्दाको दुःखले पनि निकै पिरोलेको थियो, अहिले दुःखजिलो गरेर किनेको गितार साथमा छ, अब संगीतमा अझ धेरै कुरा सिकेर अघि बढ्ने कोसिस गर्छु ।’
‘गड गिफ्टेड’ करण
नेपाल आइडलको भोटिङ र उपाधिको विषयमा विवाद र आलोचना हुँदै आएको थियो । पैसाको खोलो बगाउन सक्नेले मात्रै उपाधि जित्ने जबरजस्त ट्याग आयोजकलाई लाग्थ्यो । यसपटकको नेपाल आइडलको नतिजालाई भने धेरैले स्वागत गरेका छन् । कला प्रतिभा, साधना र क्षमताका हिसाबले अब्बल परियारले जित्दा जित्नुपर्ने प्रतिस्पर्धीले नै उपाधि जितेको भन्दै धेरैले सामाजिक सञ्जालहरुमा खुशी व्यक्त गरेर बधाई साटिरहेका छन् ।
करणको प्रतिभाबारे नेपाल आइडलको पहिलो अडिसनमै निर्णायक मध्येका एक चर्चित संगीतकार न्ह्यू बज्राचार्यले भनेका थिए– ‘तिमी गिफ्टेड मान्छे हौ । यदि भगवान छन् भने तिमीलाई भगवानले नै संगीत हालेर पठाइदिएको हो ।’
हुन पनि उनले नेपाल आइडलको सुरुवातदेखि फाइनल चरण सम्म आइपुग्दा जे जस्ता गीत गाए । सबैजसो प्रस्तुतिले निर्णायकदेखि दर्शकदिर्घा सम्म सर्वत्र वाहवाही पाए । चाहे सुरुवाती अडिसनको शिव परियारको ‘संगी’ होस् या भक्तराज आचार्यको ‘मेरो साधनाको वरदान’, तिलक सिंह पेलाको ‘के लत बस्यो’ जस्तो गजल होस् या नारायण गोपालको कालजयी गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ होस्, उनले दमदार प्रस्तुति गरेर दर्शकको मन र मतबाट उपाधि जिति छाडे ।
उसो त उनले अघिल्लो साता मात्रै संगीतकार तथा नेपाल आइडलका निर्णायक न्यू बज्राचार्यकै संगीत, गोपाल प्याकुरेलको शब्द रचना र गोपाल रसाइलीको एरेञ्जमा पहिलो गीत समेत रेकर्ड गराएका छन् । जसबाट उनले पहिलो रकेर्डिङको अनुभव मात्र होइन, पहिलो पारिश्रबिक समेत पाएको कथालिकालाई सुनाए ।
मन जित्नु पहिलो सफलता, आइडल जित्नु दोस्रो
उसो त आइडलको मञ्चमा निकै इनोसेन्ट देखिएका करणले आफुलाई परिपक्व बनाउँदै लगिरहेका छन् । उनले जित अघि र पछि फेसबुकमा लेखेको स्टाटसले पनि त्यसको प्रतीत हुन्छ ।
उनले जितपछि सबैलाई मिठास भाषा शैलीमा धन्यवाद दिएका छन् । ‘तपाइहरुले मैले जितोस भनेर नै निरन्तर आफ्नो समय र पैसा खर्च गर्नुभयो । यसको लागि म कति आभारी छु भन्ने कुरा सायद यहाँ बयान गर्न सक्दिन । भोट गर्नुहुने र बधाई दिनुहुने सबैको मेसेज रिप्लाई गर्न सकेको छैन । अनि राम्रो संग धन्यवाद भन्न पाएकै छैन । कल उठाउन पाएको छैन । चित्त नदुखाउनु ल ? म तपाइहरुलाई जसरी भए पनि , खोजि खोजि धन्यवाद भन्नेछु । अहिलेलाई सबैलाई एकमुष्ठमा धन्यवाद, धेरै माया,’ उनले लेखेका छन् ।
‘सायद मैले जे जित्नुपर्ने हो, त्यो अगाडि नै जितिसकेको थिए र अहिले त्यहि जितको फलस्वरुप अर्को जित भयो । सायद यो जित मेरो भन्दा बेसी तपाइहरुको हो । मेरो जित त त्यतिबेलै भएको थियो, जतिबेला तपाइहरुको मनमा म बसेको थिए । सपना थियो, हर मान्छेको धड्कनमा, मुखमा मेरो नाम होस्, मेरो स्वर सबैको कानमा गुन्जियोस, मेरो आवाज सबैको मनमा बसोस्, मेरो स्वरले सबैको मन जितोस् । सायद मेरो त्यो सपना पुरा भएको छ जस्तो लागेको छ । अनि मलाई लाग्छ, तपाइहरुको मायाको सिधा प्रमाण आइडलको उपाधि हो । र अब आउने दिनमा पनि अहिलेको जस्तै तपाइहरुको माया र आशिर्वाद निरन्तर हुनेछ भन्नेमा विश्वस्त छु ।
असली परीक्षा र प्रतिस्पर्धा अब
करण परियारको जीवनमा पछिल्लो चार महिनामा आएको चामत्कारिक बदलाव प्रेरणादायक छ । यसबिचको उनको साधना, संघर्ष उदाहरणीय छ । यो खुशी र सफलता साँच्चिकै उत्सवमय छ ।
नेपाल आइडल बनिसकेका करणका लागि असली परीक्षा भने अब सुरु हुनेछ । किनकी यसअघि नेपाल आइडल र अरु रियालिटी सो जितेकाहरु कैयन अहिले गुमनाम अवस्थामा छन् । यसबाट जोगिन उनले आफु र आफ्नो गायकीलाई पृथक राख्न कोसिस गर्नुपर्ने छ नै । निर्णायक कालीप्रसाद बास्कोटाले भने जस्तो सांगीतिक आकाशमा उचाइको उडान भर्दै गर्दा नमात्तिने, नआत्तिने र खराब मान्छेको संगत पर्नबाट जोगिनु पर्नेछ ।
अहिले नेपाल आइडल भित्रको प्रतिस्पर्धीबिचको प्रतिस्पर्धामा थिए करण, अब त्यो सीमित घेराबाट फराकिलो खुल्ला संसारमा प्रतिस्पर्धा अझ तेज बन्ने निश्चित छ । अब गीत, संगीत, संगतहरु छान्दै अघि बढ्नु उनका लागि सबै भन्दा ठुलो चुनौती रहनेछ । यसमा करणले आफुलाई कसरी प्रस्तुत गर्दै र निखार्दै लैजान्छन्, आम श्रोता, दर्शक उनको गीत र सफलता हेर्न र सुन्न आतुर नै हुनेछन् ।