नेपाल पत्रकार महासंघको तत्कालीन धौलागिरी शाखा संयोजक, बागलुङका अग्रज पत्रकार विदुर खड्काको बिहीबार निधन भएको छ । जीवनको उत्तराद्र्ध सम्म पनि अथक अनवरत सक्रिय पत्रकारिता गरेका खड्काको निधनले धौलागिरीको पत्रकारितामा अपुरणिय क्षति पुगेको छ । दिवंगत खड्का प्रति कथालिका परिवार भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछ । र उनले मृगौलाको नियमित डायलासिस चलिरहेकै बेला लेखेको ‘स्मृतिमा पत्रकारिताको ५० वर्ष, ट्रेडल देखी अनलाइन पोर्टल सम्म’ लेख उनको जीवनकै अन्तिम लेख बन्न पुग्यो । जुन लेख नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्धारा प्रकाशित ‘धौलागिरीको पत्रकारिता’ नामक पुस्तकमा प्रकाशित छ ।
-सम्पादक
स्मृतिमा पत्रकारिताको ५० वर्ष, ट्रेडल देखी अनलाइन पोर्टल सम्म
-विदुर खड्का
पत्रकारिता जीवनको ५० वर्षमा धेरै उतार चढावको अनुभव गर्ने अवसर मिल्यो । प्रारम्भिककालमा ट्रेडल मेशिनमा ढिकीच्याँउ ढिकीच्याउँ गरेर ५ सय प्रति पत्रिका छाप्दाको अनुभूति अहिले विकसित विद्युतीय प्रविधिको तुलनामा अति नै परिश्रमपूर्ण थियो ।
२०२४ सालमा पाटन कलेजमा बिए अध्ययन गरी रहँदा कलेजका श्रद्धेय गुरु प्रिन्सिपल मंगलराज जोशीले कलेजको बार्षिक मुखपत्र ‘ललिता’ को विद्यार्थीहरुबाट मलाई संपादकमा मनोनयन गर्नु भएर संपादकको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नु भएको थियो ।
२०२१ सालमा त्रिचन्द्र कलेजमा आईएस्सी पढिरहँदा बागलुङतिरबाट उपचार वा झैझगडाका कारण काठमाडौ पुग्ने चिनजानका ईष्टमित्रहरुसंग सोधसाध गरी यतातिरको समाचार टिपेर गोरखापत्रमा दिने गर्थे । गोरखापत्रमा श्रद्धेय दाजुहरु रामचन्द्र न्यौपाने, भैरव अर्याल, भैरव रिसाल, पुरु रिसालसंग मेरो चिनजान थियो । यसै सिलसिलामा २०२७ सालमा म गोरखापत्रको विधिवत सम्वाददाता बनेँ । तस्कालीन सम्पादक गोपाल प्रसाद भट्टराईले मलाई नियुत्ति दिनु भएको थियो । त्यसको एक वर्ष पछी २०२८ साल असार १७ गते आफ्नै संपादन र प्रकाशनमा बागलुङ सदरमुकामबाट धौलाश्री साप्ताहिक पत्रिका प्रकाशनमा ल्याउने जमर्को गरेको हुँ । यसमा तत्कालीन गृहमन्त्री रुद्रप्रसाद गिरी र धौलागिरी अन्चलाधीश जयाप्रसाद शर्माको विशेष सद्भाव रहेको थियो । र अन्ततः उहाँहरुकै प्रेरणाबाट पत्रकारिता नै जीवनको अभिन्न अंग बन्न पुग्यो ।
त्यसबेला प्रेस (छापाखाना) न्यूज पेपर (पत्रिका छाप्ने कागज) मसी, बिभिन्न साईजका अक्षर (टाइृप) तथा अन्य प्रेस सम्वन्धि सामाग्री (औजार) लिन या राजधानी काठमाडौँ या छिमेकी मुलुक भारतको सीमा क्षेत्र गोरखपुर सम्म पुगेर ढुवानी गरेर ल्याउनु पर्ने बाध्यता थियो । त्यतिमात्रपनि कहाँ हो र, अक्षर कम्पोज गर्ने कम्पोजिटर भेट्टाउन पनि हम्मे हम्मे । धौलागिरी अन्चल समितिको धौलागिरी छापाखाना (प्रिन्टिङ मेशिन) थियो । त्यसमा धवलागिरी साप्ताहिक छापिन्थ्यो र धौलाश्री साप्ताहिक पनि सोहि छापाखानाबाट छाप्न सुरु गरिएको हो । मेरा श्रद्धेय दाजु स्वामी रमेशानन्द केसरीको अथक सहयोग प्रशंसनीय छ । धौलाश्री साप्ताहिकको प्रकाशनको प्रारम्भिक कालमा दाजु डा भूपेन्द्र खड्का, दाजु स्व. देवेन्द्रराज अधिकारी, देवबहादुर श्रेष्ठ, मित्रहरु लालचन्द्र राजभण्डारी, काजी रोशन, कल्याण श्रेष्ठ (पूर्व प्रधानन्यायाधीश) ध्रुबप्रसाद श्रेष्ठ, स्व.कृष्णप्रसाद दुखी, स्व.राजकुमार श्रेष्ठ, महेश कुमार श्रेष्ठ, दिपेन्द्र केसी, महेन्द्र पन्त, अशोक गोविन्द राजभण्डारी लगायत थुप्रै समकालीन मित्रहरुको अपार सहयोग प्राप्त भएको यहाँ स्मरण गर्नु अन्यथा नहोला ।
समाचार श्रोतकै कुरा गरौँ, टेलिफोन, मोबाईलको सुविधा थिएन । काठमाडौबाट बागलुङ चिठी पत्रपत्रिका आइ पुग्न ५ देखी ७ दिन सम्म लाग्थ्यो । तत्कालीन अवस्थामा जिल्ला र यसका आसपासका समाचार प्राप्त गर्न पनि निकै सास्ती थियो । आपसी चिनजान, विश्वास र सम्पर्कका आधारमा समाजमा भएका केही असामाजिक घटनाहरुका बारेमा जानकारी लिनु पथ्र्यो ताकि यो सूचना पत्रिकामा कसरी पुग्यो भन्ने सरोकारवालालाई थाहा नहुने विश्वासका साथ साथीहरुले सम्पे्रषण गर्नु हुन्थ्यो । यस्ता सुचना या समाचारमा सरकारी कार्यालयमा हुने गरेका गलत क्रियाकलाप (भ्रष्टाचार अनियमितता) पन्चभलाद्मीहरुका अनैतिक कार्यहरु पाठकहरुको रोजाईमा पर्ने हुनाले यस प्रकारका खोजमुलक सत्य तथ्यमा आधारित समाचार प्रकाशित गर्ने तर्फ विशेष चासो बढ्यो । जसका कारण केही प्रशासकहरुको कोपभाजनको शिकार पनि हुन पुगियो ।
प्रायःजसो ढिलो गरी प्राप्त समाचार अनुसार भनेर समाचारको सुरुवात गरिन्थ्यो । किनकि म्याग्दी, मुस्ताङ, डोल्पा र पर्वत आसपासका खबरहरु एक महिना सम्ममा पत्रिकाको कार्यालयमा आइपुग्थे । बरु राजधानी काठमाडौंका समाचारहरु भने रेडियो नेपाल सुनेर त्यसलाई टेप गरेर प्रकाशित गर्ने गरिन्थ्यो ।
परिश्रम र प्रतिक्षाको फल मिठो हुन्छ । कुनै कुरामा हतार गर्नु आफैमा प्रत्युत्पादक हुन सक्छ । जीवनमा धैर्यको महत्वपूर्ण भूमिका रहन्छ । धैर्यलाई आत्मसाथ गर्न सके अवश्य फल मिल्छ । धौलाश्री साप्ताहिक प्रकाशित गरेको १० वर्ष पछि २०३८ साल माघमा श्री ५ वीरेन्द्र तथा श्री ५ ऐश्वर्यको ईजिप्टको राजकीय भ्रमण तथा बहराइनको अनौपचारिक भ्रमण दलको सदस्यको रुपमा सरिक हुन पाउनु मेरो अहोभाग्य थियो भने संयुक्त राज्य अमेरिकी सरकारको निमन्त्रणामा इन्टरनेशनल भिजिटर्स प्रोग्राम अन्तर्गत विक्रम सम्वत २०३९ साल कात्तिक महिनामा एक महिना अमेरिका भ्रमणको शुभ अवसर मिल्यो । यो पनि धौलाश्रीको योगदान थियो । त्यसैले म भन्छु, अर्काको कुभलो नचिताउँ, आफ्नो कर्तव्य प्रति दत्तचित्त रहुँँ । आफुले पनि गरौँ, अरुलाई पनि गरिखान दिउँ, कसैमाथी नाकाबन्दी गर्ने कुचेष्टा नगरौँ । पत्रकार मित्रहरुमा मेरो सादर आग्रह छ ।
अहिले भने त्यस्तो छैन । अफसेट प्रिन्टिङ मेशिनको प्रवेश पछि बागलुङमा पत्रिका छपाईले ठुलो फड्को मा–यो । साप्ताहिक पत्रिकाहरु दैनिक रुपमा रुपान्तरित हुन थाले । टेलिफोन, मोबाइल, ईमेल, फ्याक्स आदि सञ्चार सम्पर्कका माध्यमहरुले समाचार संकलन र प्रकाशनमा निकै छरितोपन ल्यायो । डिजिटल फोटोग्राफीको विकास सँगै पत्रपत्रिकामा आवश्यकता अनुसार तस्बिरहरु छापिन थाल्यो । पछिल्लो समय त अनलाइन पत्रिकाको बाढीले गर्दा सेकेण्ड सेकेण्डमा समाचार अपडेट गरी पाठकहरुलाई सुसूचित गर्ने होडबाजी नै चलेको छ । सामाजिक सञ्जाल फेसबुक पनि सूचनामुलक जानकारी दिन पछि छैन ।
२०२८ साल असार देखी २०५८ साल सम्म साप्ताहिक र त्यसपछि २०६३ सालको बैशाख महिना सम्म धौलाश्री पत्रिका दैनिक रुपमा प्रकाशित गरेपछि दुई वर्ष प्रकाशन बन्द रहेर २०६५ साल साउन देखी धौलाश्री डट कम अनलाइन र पछिल्लो समय सुगंगा सन्चार प्रालिबाट ईबागलुङ डटकम (सूचना विभाग काठमाडौँमा दर्ता नं ४९५, २०७४/२०७५) नियमितरुपमा अपडेट गरि प्रकाशित हुँदै आएको छ । केहि समय धौलाश्री अनलाईन ‘कानेखुसी’ डटकम र ‘तजवीज’ डटकम अनलाईनमा पनि प्रकाशित भएको थियो ।
अनलाइन पत्रकारिता सुरु गरे पछि पुराना र नयाँ मित्रहरुबाट निकै राम्रो सहयोग प्राप्त भइरह्यो । सूचनाहरु तत्कालै फोनबाट टिपाउने र मेल मार्फत पठाउने सहकर्मी साथीहरुको स्वतःस्फूर्त सहयोगले ईबागलुङ डटकम (धौलाश्री डटकमं) पाठकहरुवीच निकै विश्वसनीय एवं लोकप्रिय बनेकामा आत्म सन्तोषको अनुभूति मिलेको छ । सदैव असामाजिक गतिविधीप्रति सशक्त कमल चलाउने पछिल्लो समयका युवा, जुझारु पत्रकार मित्रहरुको निरन्तर सहयोग र शुभेच्छाले ईबागलुङ (धौलाश्री) लोकप्रिय अनलाइनको रुपमा स्थापित हुन पुगेको बास्तविकतालाई कहिल्यै विर्सन सक्दिन ।