- आधुनिक प्रविधिको पहुँचले कटुवाल प्रथा धेरै गाउँमा हराउँदै गएको गुमानसिङले पनि नसुनेका होइनन् । तर, मट्टिखानका स्थानीयले गाउँको सूचना सञ्चार गर्न अझै पनि कटुवाल आवश्यक भएको ठान्छन् ।
सुन है गाउँले हो,
आज साउन १ गतेका दिन दिउँसो १ बजे गाउँ भेला भएकाले बिच डाँडामा सबै आउनुहोला है । प्रत्येक घरधुरीबाट एक जना अनिवार्य छ । पछि कसैले सुनेन, थाहा पाएन भन्न पाइने छैन है….।
प्रविधि र इन्टरनेटको जमानामा आजभोलि गाउँघरमा यस्तो ठूलो आवाज बिरलै सुन्न पाइन्छ । धेरै गाउँघरमा यस्तो चलन एकादेशको कथा भइसक्यो । अहिले विश्वभरीका सूचना गाउँको कुनै डाँडाकाडाँ, कटुवालबाट होइन, इन्टरनेट र मोवाइलमार्फत् क्षणभरमै थाहा पाउन सकिन्छ । केही वर्ष अगाडिसम्म गाउँका केही प¥यो कि गाउँलेलाई सूचना जानकारी दिन गाउँको कुनै अग्लो स्थानमा गएर चर्को आवाजमा घोक हाल्नु अनिवार्य हुन्थ्यो । यसरी नियमित सूचना प्रवाहका लागि गाउँमा एक जना व्यक्ति खटाइएको हुन्थ्यो । त्यस बेलाको समयमा सूचनाका लागि अन्य माध्यम नहुँदा गाउँलेका लागि यही आवाज नै महत्वपूर्ण अस्त्र थियो । सोही आवाजबाट प्राप्त जानकारीका आधारमा गाउँले बिभिन्न बैठक, भेला, कार्यक्रममा सहभागी हुन्थे । यो प्रथालाई गाउँमा घोक हाल्ने (कटुवाल) प्रथा भनिन्थ्यो । अहिले धेरै गाउँमा यो प्रथा हराइसकेको छ, केही गाउँहरुमा भने अझै यो प्रचलन कायमै छ ।
गामको सूचना गाउँलेलाई दिन अझै कटुवाल
पहिले त अहिले जस्तो टेलिफोन र इन्टरनेटको सुविधा थिएन । विदेश गएका व्यक्तिको विषयमा जानकारी पाउन समेत हुलाकमा आउने चिठ्ठी एक मात्रै माध्यम थियो । एउटा चिठ्ठी आउन र विदेशिएकालाई पठाउन महिनौं लाग्थ्यो । गाउँमा हुने हर गतिविधिको सूचना प्रवाह गर्ने एक मात्र विकल्प उही घोक हाल्ने (कटुवाल) हुन्थे । साविकका गाविसका गाउँमा हुने विभिन्न किसिमका सभा, कचहरी (बैठक) का विषयमा जानकारी दिने व्यक्ति हरेक गाउँमा हुन्थे । आफूहरुले कटुवालका रुपमा चयन गरेको व्यक्तिको आवाज सुन्न साथ गाउँले ध्यान दिएर सुन्थे, ताकि सूचना के का लागि हो ? जुन नसुनेर या नबुझेर पछि नपरियोस् भन्नेमा गाउँले सतर्क हुन्थे ।
अहिले यो चलन हराउँदै गएको छ, बाहिरी देश विदेशका सूचना समाचार र संवादका लागि त डिजिटल दुनियाँ छ । इन्टरनेटको सुविधा भए पछि अहिले हामीले हातैमा भएको मोवाइलबाट कहाँ के भइरहेको छ भन्ने विश्वभरका सूचना केही मिनेटमै पाउने सुविधा छ । यद्यपि गाउँको सूचना गाउँलेलाई दिन कटुवाल अझै पनि आवश्यक रहेको गाउँले ठान्छन् । आधुनिक प्रविधिको पहुँचले कटुवाल प्रथा धेरै गाउँमा हराउँदै गएको गुमानसिङले पनि नसुनेका होइनन् । मट्टिखानका गाउँलेले भने आफ्नो भूमिकालाई अझै पनि आवश्यक ठानिरहेकोमा उनी औधी खुसी छन् ।
६० वर्षदेखि घोक हालिरहेका गुमानसिङ
हालको अवस्थामा सूचनाका लागि प्रविधिका बिभिन्न माध्यम आइपुगे पनि यो प्रचलन कैयन गाउँमा कायम छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका ७३ वर्षीय गुमानसिङ दर्जी हरेक समय तयारी अवस्थामा बस्छन् कटुवालको जिम्मेवारी निर्वाह गर्न । ठ्याक्कै उनलाई याद छैन तर, गुमानसिङले घोक हाल्ने (कटुवाल) को काम गर्न सुरु गर्दा उनको उमेर २०,२२ वर्षको थियो । अहिले ७३ वर्ष पुग्दासम्म कटुवालको कामलाई उनले छोड्न सकेका छैनन् । दशकौं यही काम गरेका उनलाई अहिले पनि चिच्याएर मट्टिखान सहित वरपरका गाउँमा कटुवालको भूमिका निर्वाह गर्न पाउँदा औधी खुसी लाग्छ । यो बाहेक उनले अन्य कुनै काम गरेनन् । कटुवालको काम गर्दा-गर्दै जीवनको उर्जाशील समय बिताएका उनलाई अन्य कामको रहर लागेन । ‘बैंश छँदै सुरु गरेका कटुवालको काम अहिले पनि छोड्न मन लाग्दैन,’ कथालिकासँगको कुराकानीमा उनले भने, ‘बुढेसकालमा अहिले रमाउने बाहना बनेको छ ।’ यो भन्दा अगाडि उनका बाबाले घोक हाल्ने (कटुवाल) को काम गर्थे । बुबाको सेखपछि यही कामलाई निरन्तरता दिएको गुमानसिङ बताउँछन् । मोबाइल र इन्टरनेटको जमानामा समेत आफ्नो गाउँमा अझै सम्म कटुवाल बनेर आफैले सूचना पु¥याउन पाउँदा सबै भन्दा खुसी महुशुस हुन्छ । डाडाँमा गएर चिच्याउँदै घोक हाल्ने काम गरिरहँदा कुनै असमञ्जस नभएको उनको भनाई छ ।
गाउँलेकै बचनले पुख्र्यौली पथमा
गुमानसिङलाई याद छ, उनले घोक हाल्ने (कटुवाल) को काम गर्नु भन्दा धेरै समय अगाडि अन्य समुदायका व्यक्तिले समेत गाउँमा कटुवालको कामलाई निरन्तरता दिएका थिए । तर, दर्जीले गर्ने काम उनीहरुले गर्नुपर्छ भन्ने गाउँलेको भनाई अनुसार उनले पालो पाएका हुन् । उनका बुबाले समेत कटुवालको काम गरेर गाउँलेलाई सूचना प्रवाह गर्थे । ‘त्यस भन्दा अगाडि ब्राम्हण, विश्वकर्मा लगायतले यो काम गर्थे रे,’ उनले भने, ‘आखिरमा बाउको काम तिनैका सन्ततीले गर्ने भन्ने गाउँलेको भनाई पछि मैले बुबाको पथ पछ्याएको हुँ ।’ कटुवालको काम गर्दा उनलाई कहिले दुःख लागेन, यसैमा रमाउन सिके, पैसाको लोभ उनलाई त्यो बेलामा पनि भएन र अहिले त झन् छँदै छैन । उमेरले नेटो काट्न लाग्दै गर्दा यही पेशाबाट उनी सन्तुष्ट छन् । गुनासो गरेर जीवन नबित्ने र सकेसम्म जे छ त्यसैमा रमाउन सक्नुपर्नेमा उनको जोड छ । ‘म त अस्ताउन लागेको घाम हुँ, आज हो कि भोलि के थाहा ? जीवनका जति दिन बाँकी छन्, त्यो अवधीभर कटुवाल गरेर गाउँलेलाई सूचना दिन्छु, यो बाहेक अन्य काममा मेरो मन अब रमाउँदैन ।’
घोक बापत् खाद्यान्न र केही नगद पाउँछन् गुमानसिङ
उहिलेको जमानामा कटुवालको काम गरे बापत् गाउँबाट त्यस्तो काम गर्ने व्यक्तिले केही खाद्यान्न पाउँथे, त्यो पनि चाडबाडमा मात्रै । अहिलेसम्म पनि घोक हाले बापत् खाद्यान्न पाउने प्रचलन हटेको छैन । यो प्रचलन अनुसार काम गरेका गुमानसिङले पनि नगद पाउँदैनन्, खाद्यान्न पाउँछन् । गुमानसिङले पनि जे गाउँलेले दिन्छन्, त्यही खुसी साथ लिन्छन् । ‘आम्दानी हरेक वर्ष प्रत्येक घरबाट १ पाथी कोदो पाउँछु, कोदो लगाउन छोडेको घर छन् भने उनीहरुले केही पैसा दिन्छन्,’ उनले भने, ‘साउनमा मकै र दशैंको भाग भनेर छुट्टै दिन्छन् गाउँलेले ।’ मट्टिखान बाहेक वरपरका गाउँमा समेत उनले कटुवालको काम गरेर सूचना प्रवाह गर्छन् । यसरी हरेक गाउँबाट आफ्नो काम बापत् उनले पाउने खाद्यान्न मात्रै हो । यी सबैको बाबजुद गुमानसिङलाई कुनै गुनासो छैन, जे छ र आफ्नो जस्तो काम छ, त्यसैमा रमाइरहेका छन् ।
लाहुरे सपनाः छाती फुल्लाउ भन्दा पेट फुल्लाए पछि…
ऊ बेलामा लाहुरे हुने चलन थियो, लाहुरे बनाउन गाउँ–गाउँमा गल्ला आफैं पुग्ने गर्थे । अलि खाइलाग्दो र हट्टाकट्टा ज्यान भएका युवालाई लाहुरे बनाउन उनीहरु मध्येबाट केही युवालाई चयन गरेर लाहुरे बनाउन लिएर जान्थे । मट्टिखानमा पनि लाहुरे लिएर जान गल्ला पुगेको थियो । सबै जना गल्लाको नजरमा परेर लाहुरे भइहालिन्छ कि भन्ने हेतुले जम्मा भए । त्यही समयमा गुमानसिङलाई पनि लाहुरे हुने रहर लाग्यो, त्यही टोलीमा उनी मिस्सिए । भाग्य र कर्ममा नलेखिएकाले लाहुरे हुन सकिएन भन्ने गुमानसिङलाई लाग्छ । ‘कति सालमा भन्ने त भुलेछु, तर तीजको दिन थियो जस्तो लाग्छ, हाम्रो गाउँमा गल्ला आएका थिए, गल्लाको नजरमा सबै चीजमा पास भएँ तर एउटा कुरामा मैले गल्ती गरेछु,’ उनले हाँस्दै भने, ‘मैले छाती फुल्लाउन जानिन, गल्लाले छाती फुल्लाउ भन्दो रहेछ, मैले पेटै फुल्लाउँदो रहेछु, अनि लाहुरेमा लिएन ।’ त्यो बेलामा लाहुरेको इज्जत, मान प्रतिष्ठा छुट्टै थियो, अहिले पनि छ । नाम सम्झिन सक्दैनन्, तर लाहुरे बन्न गल्लाको अगाडि टन्नै युवा भएको उनलाई याद छ । धेरैजसो युवा लाहुरेका लागि छनौट पनि भएछन् । ‘मैले कोसिस त गरेकै हो, तर कर्मले साथ दिएन, यस्तै रहेछ भनेर चित्त बुझाए आज,’ उनले भने ।
दमाह बजाएर कोट मन्दिर खोल्ने जिम्मेवारी पनि
मट्टिखानमा एउटा कोट (मन्दिर) छ, जुन ठूलो दसैं र चैते दसैंमा मात्रै खुल्छ । पहिलेको जमानामा यो कोटलाई करिब ७ सय घरधुरीले पुज्थे । गाउँलेका अनुसार यो कोट कालिकालाई पुज्ने घरधुरीको संख्या बृद्धि भएको छ । दसैंको नवदुर्गामा गुमानसिङको काम हुन्छ, दमाह बजाएर कोट कालिका मन्दिर खोल्ने । यो काम बापत् उनले त्यस्तो केही पाउँदैनन्, पाउँछु भन्ने आशा उनलाई लाग्दैन । ‘नवदुर्गामा ९ दिन दमाह बजाउँछु, त्यस बापत् ३ हजार र रागाँको टाउको पाउँछु, त्यो पनि वर्षको एक दिन,’ उनले भने । आफैंले दमाह बजाए पछि मात्रै मन्दिर खुल्ने भए पनि उनी आफैं उक्त मन्दिर भित्र छिरेका छैनन् । उनी आफैंलाई अहिलेसम्म कसैले कोटमा छिर्न पाउँदैनौ भनेका होइनन्, आफैं नगएका हुन् । कोटको भगवानलाई उनले मनले पुज्छन्, कोटको ढोका बाहिरबाटै फूलपाती चढाएर फर्किन्छन् । ‘कोट (मन्दिर) मा कसैले जान हुँदैन भनेको होइन, गए पाउँछु, तर मनले मान्दैन ।’ उनी भन्छन्, ‘मनले नमाने पछि म आफैं जान्न, मन खुसी हुँदैन भने त्यो काम नगर्नु नै उचित हो जस्तो लाग्छ ।’
बदलिँदै बिभेदका दिन
उनी युवा हुँदा उनले धेरै विभेद भोगे । तर, अहिले समय परिर्वतन हुँदै गइरहेको गुमानसिङले अनुभव गरेका छन् । ‘ऊ जमानामा हामीले खाने भाँडा छुट्टै हुने गथ्र्यो, हामीले खाइसके पछि सुनपानीले पखालेर आगोले झोसेर मात्रै भाँडा शुद्ध हुन्थ्यो ।’ उनले भने, ‘तर अहिले समय, व्यवहारहरुमा पनि धेरै परिर्वतन आएको छ, विभेद क्रमशः घट्दै गएको छ ।’ माथिल्लो भनि चिनिएका व्यक्तिसंग हिँड्न पनि गाह्रो हुने त्यो समय र आज हेर्दा त देशमा ठुलै परिवर्तन भएकै उनलाई लाग्छ । कानुनमा लेखिएको कुरा समाजमा लागू हुन अझै केही समय लाग्ने उनको भनाई छ । केही तितो त केही मिठो अनुभव गर्दै जीवनका दिनहरु बिताएका गुमानसिङलाई जीवन र आफ्नो भाग्यप्रति कहिले गुनासो नभएको बताउँछन् । प्राप्त भएका साना–साना खुसीमा रमाउने प्रयत्न गरेको उनको भनाई छ । अहिले पनि उनलाई खुसी हुन कुनै ठूलो बाहना आवश्यक हुँदैन, सानो कुरामा हाँसिदिन्छन्, रमाइदिन्छन् । उनको पुस्ताले जुन विभेद र छुवाछुत भोग्यो, त्यो अबको पुस्ताले भोग्नु नपरोस् भन्ने उनलाई लाग्छ । परिर्वतन चाहँदैमा एकै पटक नहुने उनले बुझेका छन् । ‘हामीले चाहँदैमा समाज उत्तिखेरै परिर्वतन हुन सक्दैन, अहिले त धेरै परिर्वतन आइसकेको छ, विभेद र छुवाछुत अहिलेका पुस्ताले हामीले जस्तो भोग्नु परेको छैन ।’ उनी भन्छन्, ‘समय क्रमसंगै सबै कुरा परिर्वतन होला, विभेद र छुवाछुत प्रथा पूर्ण रुपमा हट्ला भन्ने हामीले आशा गर्नुपर्छ ।’
‘अन्तिम श्वास नै घोक हाल्दा हाल्दै जाओस्’
समय र समाज विस्तारै परिर्वतन हुँदैछ । गाउँका मान्छेले सुखसयल तथा विभिन्न सुविधाका लागि भन्दै सहर रोज्ने क्रम बढ्दो छ । गाउँ रित्तिएर भएका घर खण्डहरमा परिणत भइरहेको छ । सहर झरेर संघर्ष गरेका धेरैले प्रगति पनि गरेका छन्, उनीहरुको जीवन गाउँमा बस्दा भन्दा सहरमा बस्दा उकासिएको उनले आफ्नै आँखाले देखेका छन् । तर, लामो समय कटुवालको काम गरेका गुमानसिङलाई सहर पसेर संघर्ष गरौं भन्ने कहिले लागेन । उनका लागि गाउँ सधैं प्रिय थियो र अहिले पनि छ । उनको गाउँबाट सहर झर्न एकाध घण्टा बाहेक लाग्दैन । फेरी पनि गाउँ छोडेर सहर झर्न उनको मनले मान्दै मानेन । जीवन गाउँ र गाउँलेको लागि सूचना प्रवाह गर्ने माध्यम कटुवाल बनेर घोक हाल्ने काममै बिताए । ‘गाउँ जस्तो सहर कहाँ हुनु ? यहाँको स्वच्छ हावा, पानी, खानपान, रमाइलो सहरमा पाइदैन,’ उनी भन्छन्, ‘अहिले त सहरका मान्छे पनि गाउँमा फर्किन थालिसके ।’
कटुवालको काम गर्दा गर्दै उनको बैंश बित्यो, अब बुढेशकाल पनि यही पेसामा समर्पित भएर लाग्ने सोच उनको छ । यो बाहेक उनी सहित परिवारको अर्को पेसा भनेको कृषि हो । उनले कटुवालको काम गरेर गाउँलेलाई सूचना प्रवाह गरिरहँदा परिवारले अलिअलि भएको जायजेथामा कृषि काम गर्छन्, यही पेसाबाट हालसम्म उनको परिवार धानिएको छ । गुमानसिङलाई कटुवाल बनेर घोक हाल्ने काम नगरौं भन्ने कहिल्यै लागेन ।
अरुलाई यसरी चिच्याएर गाउँलेलाई सूचना दिँदा कस्तो लाग्छ, गुमानसिङलाई त आफु झन् जवान पो भएछु कि भन्ने भान हुन्छ । भविष्यमा घोक हालेर गाउँलेलाई सूचना दिने प्रचलन कायम रहन्छ या रहँदैन, यो पनि उनलाई थाहा छैन । तर, जीवन र एकमुठ्ठी श्वास रहेसम्म डाँडामा गएर चिच्याउँदै यही काम गर्ने उनको धोको छ । ‘७३ वर्ष पुगिसकियो, अब एक मुठ्ठी सासले कहिलेसम्म साथ दिन्छ, त्यतिञ्जेल यही काम गर्ने हो’ उनी भन्छन्, ‘म पछिका मेरा सन्तानले यो पेसा गर्लान् नगर्लान्, मेरो भने अन्तिम सास नै घोक हाल्दा हाल्दै जाओस् भन्ने इच्छा छ । खै पुरा हुन्छ, हुँदैन, हेर्दै जाउँ ।’