हिमालमै अस्ताए नेपालका ‘माउन्टेन एम्बेसडर’ – कथालिका

हिमालमै अस्ताए नेपालका ‘माउन्टेन एम्बेसडर’

  • प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तै उनको केवल भौतिक शरीर मात्र हामीबीच हुने छैन, उनका साहसिक र प्रेरणादायी जीवन कथा भने नेपाल र नेपालीमाझ जीवन्त रहिरहनेछ ।

मधेसमा धार्मिक द्धन्द्धको टकरावले देश उसै तनावग्रस्त थियो । त्यहीँ अनुक्रममा पाकिस्तानको उत्तरी ब्रोडपिकबाट शुक्रबार अर्को दुखद खबर आयो–चर्चित आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जना हिमपहिरोमा बेपत्ता । यता मधेसमा धार्मिक सामाजिक सद्भावको आग्रह गरिरहेका नेपालीहरु उता फेरि एउटै प्रार्थना र कामना गरिरहे कि उनीहरुको चामत्कारिक सकुशल जीवन र उद्दार । तर दुर्भाग्य, एकपछि अर्को मृत्युको खबर आइरह्यो । यो क्रम शनिबारसम्म आइपुग्दा बेपत्ता सबैको हिमपहिरोमा ज्यान गएको खबर सार्वजनिक छ ।
यस घटनामा विश्व कीर्तिमानी निर्मल पुर्जा ‘निम्सदाइ’ सहित नेपालका पुरबहादुर गुरूङ ‘युक्ता’, किली पेम्बा शेर्पा ’किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा हिमालमै अस्ताएका छन् । ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस्को पनि निधन भएको छ ।

ब्रोडपिक हिमपहिरोमा परेर ज्यान गुमाएका सबैजसोको भिन्न–भिन्न कीर्तिमान र योगदानहरु छन् । तर, यसमध्ये पनि निर्मल पुर्जा ‘निम्सदाइ’ विश्वमै अनेकन कीर्तिमान कायम गर्न सफल थिए ।

र, सायद उनको यहीँ अन्त्य लेखिएको थियो…

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सुरुवातमा पाकिस्तान हिमाल आरोहणका लागि नजाने सोँचमा रहेको उनका निकटस्थहरु बताउँछन् । उनी स्वयंम्ले पनि सुरूमा ग्यासरब्रुम–२ हिमाल चढ्ने योजना थियो भनेका छन् । पाकिस्तान निस्कनुअघि मैले आफ्ना ८ हजार मिटर अग्ला हिमालहरूको हिसाब–किताब हेरेँ । अनि सोचेँ—यदि मैले यही मौकामा ब्रोड पिक पनि चढेँ भने त मेरो बाँकी ‘चो ओयु’ हिमाल मात्रै रहन्छ,’ निम्सदाइले फेसबुकमा लेखेका छन् । अन्ततः अर्को एक कीर्तिमानीको नजिक पुग्दै गर्दा उनले सोही हिमालमै जीवन सदाका लागि गुमाएका छन् ।

बिना अक्सिजन हिमाल आरोहण सहित अनेक कीर्तिमान

निर्मल पुर्जा ‘निम्सदाइ’ले पर्वतारोहणमा असम्भव मानिएका रेकर्डहरू बनाएका छन् । यसपटक ब्रोड पिकपछि चोयू हिमाल चढेर अक्सिजन बिनै संसारका सबै ८ हजार मिटर माथिका हिमाल दोहो¥याएर चढ्ने रेकर्ड बनाउने तयारीमा थिए ।

बेलायती सेनामा रहँदा उनका सहकर्मीहरूले निर्मल भन्न गाह्रो लागेर ‘निम्स’ भन्ने गर्थे । आरोहण क्षेत्रमा लागेपछि त्यसलाई उनले आफ्नो पहिचान बनाए ।

पर्वतारोहणमा सन् २०१२ पछि आकर्षित भएका थिए निम्स दाइ । त्यतिबेला उनी सगरमाथि आधार शिविरसम्म पुगेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गरे । त्यसपछि सुरु भएको हिमाल आरोहण यात्रा केही वर्षमै विश्व कीर्तिमानतर्फ पुगेको हो ।

‘डेथ जोन’मा समस्यामा परेका आरोहीको उद्धार

सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा ‘डेथ जोन’मा समस्यामा परेका एक आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुले । यही साहसिक उद्धार र उच्च हिमाली पर्वतारोहणमा पु¥याएको योगदानका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितीयले उनलाई सन् २०१८ मा एमबिई (member of the order of the British Empire) सम्मान प्रदान गरेकी थिइन् ।

यसपटक भने उनी आपै डेथजोनमा परे । जहाँबाट कसैले पनि उद्दार गर्न सकेनन् ।

विश्वका १४ हिमाल ६ महिनामा आरोहण

सन् २०१९ मा निम्स दाइले विश्व पर्वतारोहणकै सबैभन्दा कठिन मानिने उपलब्धिमध्ये एक हासिल गरे । उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाए ।

यसअघि दक्षिण कोरियाका पर्वतारोही किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका थिए । उनले यो अभियानलाई ‘प्रोजेक्ट पसिबल’ नाम दिएका थिए, किनभने धेरैले यो लक्ष्य सम्भव नै नभएको बताएका थिए ।

केटुको पहिलोपटक जाडो महिनामा आरोहण

सन् २०२१ को १६ जनवरीमा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल केटुको पहिलोपटक जाडो महिनामा आरोहण गरेर अर्को इतिहास रचे ।

दशकौंदेखि विश्वभरका आरोहीले प्रयास गरे पनि कसैले सफल हुन नसकेको केटु हिउँदमा पहिलो पटक नेपाली टोलीले नै आरोहण गरेको थियो । चुचुरो पुग्नुअघि टोलीले नेपाली राष्ट्रिय गान गाएको दृश्य विश्वभर चर्चित बनेको थियो ।

प्रभावशाली पुर्जाको जीवनीमा नेटफ्लिक्सद्धारा ‘१४ पिक’ सिरिज

उच्च हिमाली पर्वतारोहणमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सन् २०२० मा एसियाली अल्पाइन संघले पियोले डेओर सम्मान पनि प्रदान गरेको थियो ।

म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निम्सदाइ आज नेपाली पर्वतारोहणका मात्र होइन । विश्व पर्वतारोहणकै सबैभन्दा प्रभावशाली आरोहीमध्ये गनिन्छन् ।

उनको संघर्ष र सफलतामा आधारित भएर नेटफ्लिक्सले ‘१४ पिक’ सिरिज समेत बनाएको छ ।

‘भौतिक शरीर रहने छैन, साहसिक र प्रेरणादायी जीवन रहिरहनेछ’

पर्वतारोहणमा नेपाल र नेपालीको माझमा मात्रै होइन, निर्मल पुर्जा उर्फ निम्स दाइको उपनामबाट विश्वलाई कीर्तिमानी सहित नेपालको हिमाल र साहसिक यात्राबारे ‘ब्रान्डिङ’ गरिरहेका थिए । युवा उमेरमै अपत्यारिला रेकर्ड ब्रेक र कायम गरेका पुर्जालाई यही कारण धेरैले नेपालको ‘माउन्टेन एम्बेसडर’को रुपमा काम गरिरहेको टिप्पणी गर्थे । आफ्नो उमेर भन्दा गतिशील र उच्चतम कार्य गरिसकेका पुर्जा अब भने उनी सम्झनामा मात्र सीमित बनेका छन् । तर, यो देशका प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तै उनको केवल भौतिक शरीर मात्र हामीबीच हुने छैन, उनका साहसिक र प्रेरणादायी जीवन कथा भने नेपाल र नेपालीमाझ जीवन्त रहिरहनेछ ।

 

२०८३, १६ श्रावण शनिबार १२:४३
कथालिका नयाँ कथा
कथालिका