एक प्रश्नले जन्माएको ‘मानव सेवा आश्रम’ - कथालिका

एक प्रश्नले जन्माएको ‘मानव सेवा आश्रम’

  • यदि यस्तो प्रश्न नगरेको भए ? अधिकारी भन्छन्, ‘सडकमा बेवारिसे जीवन व्यतित गरेका उनीहरुले यति संवेदनशील प्रश्न नगरेको भए सायद नेपालमा मानव सेवा आश्रम जन्मिदैन थियो होला ।’

न बस्नका लागि घर छ, न अपनत्वका लागि आफन्त । न त आँखामा सपना छ, न त मनमा जीवन बाँच्नु र मर्नुको भय । बिक्षिप्त छन्, बेवारिसे छन्, सडकका छेउकुनामा अलपत्र छन् तर, सरकार र यसका संयन्त्र न देख्छ, कतै देखे पनि नदेखेको अभिनय गर्छ । उसो त सहयोगापेक्षी मानिसहरुलाई खुल्ला आकाश मुनि अन्धकार रातमा निदाउन न सन्त्रास छ, न त छ सुविधा सम्पन्न जीवनको आशक्ति नै । न त उदासिन सरकार र यसका संयन्त्र प्रति कुनै गुनासो नै ।

दुर्भाग्य भन्नुपर्छ, ‘उनीहरुको कोही छैन, उनीहरुसँग केही छैन ।’ छैन विगतका मिठा नमिठा सम्झनाहरु पनि । छैन उनीहरु सँग भविष्यको सुर्ता पनि । छ त केवल उनीहरुसँग वर्तमान छ । यस्तो लाग्छ, सायद उनीहरुसँग निस्फिक्री बाँच्नु बाहेक अर्को कुनै सपना छैन ।

विकसित देशमा ‘सडक मानव’हरुको साथमा राज्यको दरिलो साथ र अपनत्व हुन्छ । नेपालमा भने राज्य आफै बेवारिसे जस्तो देखिने गरेको नागरिकको गुनासो छ । राज्य जिम्मेवार बन्न नसकेकोमा तीब्र गुनासो गर्ने अधिक भए पनि ‘सडक मानव’को उद्धार, व्यवस्थापन, मानवता प्रवद्र्धन गर्ने अभियानमा आफै अग्रसर हुने संख्या भने दुर्लभ छ ।

यसरी जन्मियो मानव सेवा आश्रम
धेरैका लागि चासो, कौतुहल र जिज्ञासाको विषय हुनुपर्छ कसरी सुरुवात गरियो मानव सेवा आश्रम ? मानव सेवा आश्रमका मुख्य अभियन्ता रामजी अधिकारी भन्छन्, ‘यस्तो पवित्र कार्य सुरुवातको सोच सडकबाटै आएको हो, अहिले सम्झिदा हामीले तत्कालीन समयमा गरेको कार्यक्रम, चलाएको अभियान सही समयमा सुरुवात गरेकोमा आत्मसन्तोष मिल्ने गर्छ ।’

२०६६ सालदेखि नै अधिकार लागायतका युवा समाज रुपान्तरण र सकारात्मक सोचका विभिन्न अभियान चलाउथे । त्यही क्रममा वि.स २०६७ सालमा मानवसेवा आश्रमको मातृ संस्था सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तनको माध्यमबाट कार्यक्रम सञ्चालन गरेको १ बर्ष पुगेको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गर्ने योजना बन्यो । त्यसमा एकदिन सडकका आमाबुवाहरुसँग सहभोज गर्ने कार्यक्रम तय गरियो ।

कार्यक्रमको लागि हेटौंडा नगरपालिका (हाल उपमहानगरपालिका) को सहयोगमा सडकमा रहनुभएका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई कार्यक्रम स्थलमा ल्याएर सरसफाई र नुवाइ धुवाई पछि कार्यक्रम राम्रैसँग सम्पन्न हुँदै थियो । त्यो बेला एक्कासी ठुलो पानी प¥यो । पानी परेपछि उनीहरुलाई पहिले हिँड्ने बस्ने गरेकै सडकमा ल्याएर छोड्ने अवस्था पनि बनेन । आफूसँगै राख्न पनि सकिने अवस्था नरहेको आश्रमका केन्द्रीय अध्यक्ष अधिकारी बताउछन् । ‘अब के गर्ने भन्ने द्धिविधा र जटिलतामा सोच्दै छलफल गर्दै थियौ, त्यही क्रममा उहाँहरुले अघिसम्म हामी फोहोर थियौ, माग्थ्यौ, खान्थ्यौ तर, नुवाइ धुवाई र सरसफाई गरिदिनु भयो । अब हामीलाई मागेर कसले दिन्छ भन्ने प्रतिप्रश्न गर्नुभयो,’ अधिकारी त्यसबेलाको क्षण सम्झिदै थप्छन्, ‘हामी निशब्द भयौँ । पानी केही कम भएपछि सडकमा नै पहिलेको स्थानमा लगेर छोड्यौँ तर रातभरि उनीहरुको त्यो प्रश्नले मनमा पीडाबोध भइरह्यो ।
हामी कसका लागि बाँचेका छौँ भन्ने कुरा मनमा खेलिरह्यो । अनि सडकमा भएका व्यक्तिहरुको लागि हामी परिवार बन्नुपर्छ भन्ने सोचले मानव सेवा आश्रमको अवधारणा सोच्यौ ।’

यदि यस्तो प्रश्न नगरेको भए ? अधिकारी भन्छन्, ‘सडकमा बेवारिसे जीवन व्यतित गरेका उनीहरुले यति संवेदनशील प्रश्न नगरेको भए सायद नेपालमा मानव सेवा आश्रम जन्मिदैन थियो होला । आज हामी कुनै सकारात्मक सोच, चिन्तनको मात्रै अभियान लिएर हिँडिरहेका हुन्थ्यौ होला ।’

१७ जिल्लामा आश्रम, ६ हजारको उद्वार, २४ सयको पुर्नमिलन
हेटौडामा मानव सेवा आश्रम आरम्भ भएको एक दशकका बिच देशका १७ जिाल्लामा आश्रम सञ्चालनमा छन् भने २४ वटा आश्रमका केन्द्रहरु छन् । आश्रमको सेवा सुरु भए यता ६ हजार ३ सय ६० जना सहयोगापेक्षी मानिसहरुको सडकबाट उद्वार गरी सेवा प्रदान गरिएको आश्रमले जनाएको छ ।
आश्रममा ल्याइएका मध्ये २ हजार ४ सय ५६ जनाको सुधार पश्चात् पारिवारिक पुनर्मिलन समेत गराइएको छ । आश्रमका बिभिन्न शाखाहरुमा हाल १५ सय ६९ जना सेवा लिइरहेका व्यक्तिहरु छन् । उपचार पश्चात स्वेच्छाले १७ सय ७ जना आश्रमबाट विदा भएका छन् ।

केही व्यक्तिहरुको पुनर्मिलन वा उपचार पश्चात बिदा भएपछि पुनः उद्धार गरिएको अवस्था पनि छ । हरेक दिन उद्वार, पुनर्मिलन भइरहने भएकाले विवरणमा परिवर्तन भइरहने अभियन्ता अधिकारी बताउछन् । ‘हामीले त सके सम्म आश्रममा कोही बस्न नपरोस् भन्छौ, यहाँ आए पनि जतिसक्दो चाँडो सुधार भएर पुर्नमिलन गर्न गराउन पाए हुन्थ्यो भन्ने सोँच्छौ,’ मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामा भन्छिन्, ‘हाम्रो मुख्य प्राथमिकता स्वास्थ्यमा सुधार ल्याउने र पारिवारिक पुर्नमिलन मार्फत हराएको खुसी फर्काउने कोसिस गर्छौ । यसमा हामी धेरै हद सम्म सफल भएका पनि छौ ।’

देशभर मुठ्ठी दानबाटै चलिरहेछ आश्रम
मानव सेवा आश्रम स्थापनादेखि हाल सम्म निरन्तर मुठ्ठीदानबाटै सञ्चालन भइरहेको छ ।
आश्रमको स्थापनाको समयदेखी नै परोपकारी मन भएका व्यक्ति र दातृ निकायहरुको सर्त रहितको सहयोगबाट आश्रम चलिरहेको लामा बताउँछिन् । आश्रमको सेवालाई सहज बनाउन मानवताप्रेमी मनहरुले आश्रमलाई खुसीयाली मनाउने र पितृ स्मरण गर्ने थलो बनाएकाले सहज भइरहेको उनको भनाई छ ।

सहयोगदाताले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरुमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न आउनेबाटै संस्था सञ्चालनमा छ । पछिल्लो २ वर्ष यता भने तीनै तहको सरकारले पनि सेवामा केही योगदान गरेको उनको भनाई छ ।

आश्रमको सेवामा रहने अभियन्ता, साधकसाधिका भने स्वयंसेवकको रुपमा २४ घण्टा नै समर्पित छन् । केही प्राविधिक कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरु भने आवश्यकताको आधारमा केही पारिश्रमिक लिएर २४ घण्टा नै आश्रमको सेवामा खटिने गरेका छन् ।

सेवा गर्न कठिन छ तर, आत्मसन्तोष छ
आजको समयमा युवाहरुबाट मानव सेवा आश्रममा स्वयम्सेवी हिसाबले गरिएको सेवा अभुतपुर्व छ । यो कार्य अत्यन्तै कठिन छ । तर, सँगसँगै आनन्ददायी पनि भएको सेवारत साधकसाधिका बताउँछन् । आफ्ना परिवारका सदस्यहरुबाट अपहेलित भई सडकमा पुगेका आमाबुवाहरुको छोराछोरी बन्ने शौभाग्य प्राप्त गर्नु आफैमा उत्कृष्ट कार्य भएको महशुस हुने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारी बताउँछन् । साना साना बाबुनानीहरुले बाबा, आमा भनेर बोलाउँदा आत्मियताको अनुभव हुने उनको भनाई छ ।

‘सायद मानवसेवा आश्रमको अवधारणा नआएको भए हामी अहिले पनि मेरो छोरा, छोरी, बुवा, आमा भनेर बसिरहेका हुन्थ्यौँ होला, ४ जनाको परिवारमा रमाएका हुन्थ्यौँ होला,’ उनले भने, ‘आज १६०० जनाको परिवारमा रमाउन पाएका छौ, यो भन्दा ठुलो सेवा, आनन्द र अर्को कार्य के होला र ?
आफ्नै आमाबुवाको दिशा पिसाब गनाउने हामीलाई कोही न कोही नाता नै नभएका व्यक्तिहरुको दिशा पिसाब सोहोर्न सुरुवाती दिनहरु केही असजिलो भए पनि अहिले यसमै सन्तोषको अनुभूति गर्न थालिएको अधिकारीको भनाई छ ।

आश्रममा पकाउनका लागि केही नहुने, सहयोगका लागि बोरा लिएर माग्न जाँदा कसैले कुकुर फुकाएर लगाइदिने, कसैले फोहोर पानीले छ्याप्ने अवस्था थियो । अहिले विस्तारै त्यो अवस्था परिवर्तन भएर सहयोग गर्नका लागि ठाउँ खोजेर आउने संख्यामा उल्लेख्य वृद्धि भइरहेको अध्यक्ष अधिकारीले बताए ।
चार वर्षमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ देश
मानव सेवा आश्रमले २०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्य सहित अभियान चलाइरहेको छ ।

आश्रमले संस्था स्थापनाको समयमै वि.स.२०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गरि सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको थियो ।

२०६९ सालदेखि सुरुवात गरेको १० बर्षको अन्तरालमा करिब ६५ सय जनाको उद्धार गरेको तथ्याङ्क छ । ‘सुरुवातको ७ बर्षमा जतिको सेवा ग¥यौँ, पछिल्ला ३ बर्षको अवधीमा त्यो संख्या बराबर नै सेवा प्रवाह गर्न सफल भएका छौँ । अघिल्लो बर्ष मात्र हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ४५ दिने यात्रा ग¥यौँ । त्यो बीचमा ७५८ जनाको उद्धार ग¥यौँ,’ उनले भने ।

सुरुवाती समयमा हामीले जसरी सहयोगका लागि अनुरोध गर्दा सहयोग प्राप्त गर्न कठिनाई हुन्थ्यो, त्यो अवस्था अहिले नरहेको उनको भनाई छ । मनका धनी नेपालीहरुलाई एउटा खुसीयाली मनाउने र आफ्ना पितृहरुको स्मरण गर्ने थलोका रुपमा मानवसेवा आश्रम विकास हुँदै गइरहेकोले पनि हामी हाम्रो लक्ष्यको नजिक पुगेको उनको दावी छ ।

अझै सडकमा कति मानिस छन् ?
यसको एकिन तथ्याङ्क कुनै निकायसँग पनि छैन । सरकार त यसको जिम्मेवारी र दायित्वबाट पन्छिरहेको देखिन्छ ।

संस्थाको सुरुवात गर्दा सडक मानवहरु पनि छन् । यिनीहरुको पनि मानवअधिकार हुन्छ भन्ने कुरा समेत कसैले महसुस नगरेको अवस्थामा कम्तीमा सबैजनालाई सडकआश्रित मानवहरुको जीवनरक्षा हाम्रो पनि दायित्व हो है भन्ने कुराको बोध गराउन सकेको अध्यक्ष अधिकारी बताउछन् । ‘हामीले अभियान सुरु गर्दा र २०८२ सम्म सडक मानव मुक्तको लक्ष्य राख्दा हामीसँग आर्थिक रुपमा केही पनि थिएन । थियो त केबल भावना मात्र । त्यही भावनामा विश्वास गर्दै र राम्रो कामको लागि सबैको साथ र सहयोग अवश्य रहने छ भन्ने कुरामा आशावादी हुँदै आयौँ । आजको दिनमा करिब देशलाई घोषणा गर्ने तयारीमा छौँ,’उनले थपे, ‘घोषणा गर्नु ठुलो कुरा होइन तर त्यस पछिको कार्यन्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हो । त्यसको कार्यन्वयनका लागि आश्रमको आफ्नै सहयोगापेक्षीमैत्री भवन निर्माणको कार्यलाई तिब्रता दिएका छौँ ।’

२०८० को अन्त्य सम्म आश्रमको शाखा सञ्चालनमा रहेका स्थानमा सहयोगापेक्षीमैत्री भवन निर्माण गरि सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनमा जोड दिइरहेका छौँ । अहिले देशको १३ स्थामा आश्रमको भवन एकसाथ निर्माण भइरहेको छ भने मुख्य कार्यालय मकवानपुर, हेटौंडामा भवन निर्माण सम्पन्न भइसकेको छ ।

साथै हाल मानवसेवा आश्रमले सरकारी निकायको र सहयोगी दाताहरुको साथ र सहयोगमा कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरि कार्यन्वयनको चरणमा छ ।

स्वयंसेवी अभियन्ता/साधकहरुको भविष्यको चिन्ता
कहिलेकाहीँ आश्रममा अनवरत समर्पित भएका अभियन्ता, साधक साधिकाको पारिवारिक दायित्व, जीविका लगायका कुराले आश्रम परिवारलाई पिरोल्छ । ‘हामी आफ्नो लागि भन्दा पनि हामीसँग जोडिनुभएका परिवारका सदस्यहरुको बारेमा सोच्दा कहिलेकाहीँ कसरी गर्ने होला भन्ने विचार मनमा आउँछ । पैसा सबैकुरा होइन, तर पैसा बिना धेरै कार्यहरु असम्भव हुन्छन् भन्ने कुरालाई पनि महसुस गरेका छौँ,’ अधिकारी भन्छन्, ‘हामी अभियन्ताहरुको लागि सोँचीदिने धेरै अभिभावकहरु पाएका छौँ । अभिभावकहरुले अभियन्ताहरु बिरामी पर्दा र कठिन अवस्था आउँदा सहजीकरण होस् भन्ने उद्देश्यले अभियन्ता कल्याणकारी कोष स्थापना गरिदिनुभएको छ । हामीले धन सम्पती कमाउन नसकौँला, तर समस्यामा साथ दिने अभिभावक पाएका छौँ । यही सकारात्मक सोचका साथ सेवामा समर्पित छौँ ।’

स्वयंम्सेवी अभियन्ता भन्छन्-‘हामी जति खुसी को होला…’
समाज यस्तो भइसकेको छ कि मानिस धन सम्पतिका लागि आफ्नै परिवारका सदस्यहरुको हत्या गर्न समेत पछि पर्दैन, आफ्नै आमा बुवालाई समेत सडकमा ल्याएर छोड्न पछि पर्दैन । शिक्षा, धन, सम्पतिको लालसाको नाममा जसरी हामीले बालबालिकालाई टाढा बनाइराखेका छौँ । त्यसले उनीहरुमा आमाबाबा र परिवार प्रतिको आत्मीयता कम गरिराखेको छ । यसमा पनि अभिभावकले ध्यान पु¥याउन नसकिरहेको अभियन्ताहरु बताउछन् । जो सँग घर, सम्पति छ, लाखौको बैंक ब्यालेन्स छ, उनीहरुमा मानवता देखिन्न । जन्मदिने आमा, बुवाहरु आश्रममा छोड्छन्, छोराछोरीहरु बेवारिसे अवस्थामा छोड्छन्, या मानवीय परोपकारी कार्यहरु पूर्णतः बेवास्ता गर्छन् तर, पनि उनीहरु दुःखी, चिन्तित र तनावग्रस्त छन् ।

आश्रमले त मानवता प्रवद्र्धन महाअभियानको माध्यमबाट आमा बाबा भनेका जीवित देवीदेवता हुन् भन्ने सन्देश फैलाउँदै आएको छ । उनीहरुलाई खुसी बनाउन सकिएन भने मठमन्दिरमा गएर पूजापाठ गर्नुको कुनै अर्थ नरहेको केन्द्रीय अभियन्ता अधिकारी बताउछन्।

पैसा र बैंक ब्यालेन्स मात्र भएर हुने भए संसारका धनाढ्य व्यक्तिहरु जति खुसी यो संसारमा अरु कोहि हुने थिएनन् तर विभिन्न आधुनिक संयन्त्रहरुको प्रयोग गरेर मापन गरेको खुसी मापन सुचकाङ्कले समेत सबै धन दौलत छोडेर हिमालमा गएर बसेको मानिसलाई सबैभन्दा खुसीयाली मानिस बताइरहेको छ । अभियानका माध्यमबाट उनीहरुले भन्ने पनि गरेका छन्:-
“कोही जान्छन् कावा, कासी-कोही चारै धाम
अलोक निरन्जन घर भित्रै छन्-बाहिर के को काम ?”

२०७८, २३ फाल्गुन सोमबार ०१:५७
कथालिका नयाँ कथा
  •  देशमै सुदृढ एक सामुदायिक विद्यालय

    देशमै सुदृढ एक सामुदायिक विद्यालय

    • काठमाडौँ
    सरकारले शिक्षा क्षेत्रमा ठूलो रकम खर्च गरे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन ।…
  •  कथालिका पडकास्ट-004

    कथालिका पडकास्ट-004

    • काठमाडौं
    कथालिका पडकास्टको चौथो श्रृंखलामा मान्छे प्रतिको सम्मान र आलोचनाका बारेमा सञ्चारकर्मी दिल शिरीषले केही मन्थन…
कथालिका