- आज भन्दा ९ वर्ष अघि २०७३ साल असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे आफैंले चलाएको गाडी मुग्लिन नजिकै घोप्टेभिर भन्ने ठाउँबाट त्रिशूलीमा खसेको थियो । बंगलादेशबाट गोताखोर ल्याएर खोजी गरियो ।तर त्यतिबेला त्रिशूलीको बहाब देखेपछि नेपाली गोताखोर पुगेको ठाउँसम्म नपुगी उनीहरु फर्केका थिए । घिमिरे र गाडीको अवस्था अझैसम्म अज्ञात छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको दुईवटा बस अझै फेला परेको छैन । दुर्घटनाको एक साता सम्म खोजी कार्य जारी रहे पनि बस र हराइरहेका दर्जनौ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।
गत असार २८ असार गते विहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस बगाएर त्रिशूली नदीमा पु¥याए खको थियो ।
बेपत्ता ६२ मध्ये अझै ४५ यात्रु सम्पर्कविहिन
जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरको विवरण र सम्पर्कमा आएका आफन्तले भने अनुसार एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना रहेको उल्लेख गरेको छ ।
जसमध्ये गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए । दुर्घटना पछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ । जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।
ठुला दुई बसको अवस्था नै अज्ञात
भेटिएका शवहरु दुर्घटनाग्रस्त सोही बसका यात्रु भएको पुष्टि भएको छ । तर पनि ४५ यात्रु र दुबै बसको अवस्था भने अज्ञात छ । बस खसेको सूचना पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्धारमा खटिरहेको छ ।
सुरुका दिनमा सुरक्षाकर्मीले मोटरबोटमार्फत खोजी गरेका थिए । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले खोजी गरिएको थियो । हुक र चुम्बकको सहायताले पनि खोजी गरियो । पानी धमिलो र अत्याधिक बहाब भएकाले गोताखोर टोली पानी मुनि जान सकेनन् । त्यसपछि सोनार क्यामेरा तथा वाटर ड्रोनको सहायताले पनि खोजी गरियो । यही प्रविधिबाट खोजी जारी छ ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा घटनास्थल पुगेर अवलोकन गरिसकेका छन् ।
बस समेत नभेटिनुका तीन कारण
दुर्घटनाग्रस्त त्यति ठुला बसहरु समेत अहिले सम्म फेला नपर्नु या पार्न नसके पछि सरकार र सुरक्षा निकायको आलोचना भइरहेको छ ।
यस्तो घटना अन्य देशहरुमा पनि हुन्छन् । तर त्रिशूलीको जस्तो संरचना र पानीको बहाव नहुने उद्दारकर्ता बताउँछन् । जति तल गयो त्रिशूली त्यति धमिलो हुँदै गएको छ । यसको अर्थ लेदो र गेग्रानहरु बढ्दै गएको छ । ‘यस्तो अवस्थामा ‘डिप डाइभ’ अर्थात् पानीमुनि जाने भन्ने पनि हुँदैन’, उनले भने ।
सशस्त्र प्रहरी बलको खोजी तथा उद्धार विषयमा जानकार डीएसपी लक्ष्मण बस्नेत बस पत्ता नलाग्नुको प्रमुख तीन कारण छन् रहेको बताउँछन् । पहिलो, पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा सोनारले दिएको संकेत अपरेटरले बुझ्न नसक्नु । दोस्रो, बस बगाएर हाल खोजी गरिएको क्षेत्र भन्दा अन्यत्र पु¥याउनु । तेस्रो, कुनै ठूलो चट्टान वा विशाल ढुंगा तथा खोँचमा बस च्यापिएकाले त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुग्नु ।
उनका अनुसार यस्तो किसिमको खोजीमा विशेषगरी क्यानिङ सर्भिलेन्स सोनार सिस्टम प्रयोग गरिन्छ । यो सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन् । तर अहिले त्रिशूलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको उनको बुझाइ छ ।
अहिले त्रिशूलीमा प्रयोग भएको क्यामेराले ३०० मिटर गहिराइसम्म काम गर्ने भनिए पनि त्रिशूलीको अहिलेको पानीका कारण २,३ फिट गहिराइसम्म पनि काम गर्न सकेको छैन । पानीमुनि प्रकाश पनि पुग्दैन । त्यही कारण अन्डर वाटर ड्रोन र क्यामेराहरु प्रभावकारी नभएको उद्धारकर्ता बताउँछन् ।
९ वर्ष अघि त्रिशूली हराएको बस अझै गुमनाम
पूर्वगृहमन्त्री माधव घिमिरे आफैंले चलाएको बा ९ च १५३१ नम्बरको गाडी ९ असोज २०७३ मा मुग्लिन नजिकै घोप्टेभिर भन्ने ठाउँबाट त्रिशूलीमा खसेको थियो । एक सातासम्म नेपाली सुरक्षाकर्मीहरुले खोजी गर्दा पत्ता नलागेपछि बंगलादेशबाट गोताखोर ल्याएर खोजी गरिएको थियो ।
तर त्यतिबेला त्रिशूलीको बहाब देखेपछि नेपाली गोताखोर पुगेको ठाउँसम्म नपुगी उनीहरु फर्केका थिए । घिमिरे र गाडीको अवस्था अझैसम्म अज्ञात छ ।
‘प्रविधि, तरिका एउटै हो । इक्विपमेन्ट उस्तै हो । विदेशी गोताखोर आएका बखत संयोगले पत्ता लाग्यो भने हामीप्रति आम मान्छेको बुझाइ फरक हुने र मनोबल गिर्ने अवस्था आउँछ’, उद्दारमा सक्रिय नेपाली गोताखोर भन्छन् ।
खोज तथा उद्दारको नेपाली शैली कति वैज्ञानिक
त्रिशूली धेरै गहिरो र अहिले अत्यधिक बहाब भएकाले बस कहाँ पुग्यो भन्ने खोज्न कठिन छ । अहिलेसम्म बसको आकृति पनि बिग्रिसकेको हुनसक्छ । गोलो वा चेप्टो आकारको बन्दाखेरि सोनारले डिटेक्ट गरे पनि बसको आकार हो/होइन चिन्न गाह्रो हुने उद्धारकर्ताको भनाइ छ । यस्तो विपद्मा खोजीका लागि हाई रेञ्जिङ भएको सोनार सिस्टम उपयुक्त हुन्छ ।
धेरै देशमा यस्ता नदीहरुमा गरिने खोज तथा उद्दारको शैली नेपालको जस्तै हो । यो अवस्थामा उद्दारका लागि प्रयोग गरिने प्रविधिलाई राडर सिस्टम भनिन्छ ।त्यही राडर सिस्टमभित्र, वाटर ड्रोनदेखि हुकिङ, सोनार क्यामेरा, चुम्बक विधि पर्छन् । राडार डिभाइसहरु पानीभित्र छाडेर त्यसले पानीभित्रको वस्तु क्याप्चर गर्ने र बाहिर डिस्प्ले गर्ने गर्छ । तर उच्च बहाब र पानी धमिलो भएका कारण सोचेजसरी काम हुन सकेको छैन ।
अहिले त्रिशूलीमा ठूलो बाढी आएको र बाढीमा ढुंगा, माटो काठ, रुखजस्ता बस्तुहरु पनि बगाएर ल्याएकाले खोज्न गाह्रो भएको उद्धारमा संलग्नहरुको भनाइ छ ।अर्कोतर्फ सोनार तथा वाटर ड्रोन प्रविधिका अपरेटरहरुलाई यस्तो खोज तथा उद्दारको धेरै अनुभव छैन । यहाँका नदीमा यही प्रविधिको प्रयोगबाट उद्दार कार्यहरु गरिरहने अपरेटर भएको अवस्थामा डिभाइसले गरेका संकेतको अर्थ बुझ्न सहज हुने थियो ।
दुर्घटनाबारे कार्यदल गठन: अबको विकल्प के ?
दुर्घटना र सरकार फेरबदल हुने दिनको संयोग एकै थियो । प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी ओली नेतृत्वमा सरकार बन्यो । नयाँ सरकार बने लगत्तै नवनियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हालेपछिको पहिलो निर्णय नै सिमलताल बस दुर्घटना अध्ययनका लागि सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलले बुधबार घटनास्थल पुगेर अवलोकन गरेको छ ।
तर अहिलेसम्म नदीले किनारमा उतारेका शव बटुलेर सनाखत गर्दै आफन्तको जिम्मा लगाउनुबाहेक यो दुर्घटनामा अन्य प्रगति हुन सकेको छैन । निरन्तर एक हप्तासम्म खोजीमा खटिँदा गोताखोरसमेत शिथिल हुने अवस्था भएको उद्दारमा खटिएकाहरु बताउँछन् ।
चिवतनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेपालका तीनवटै सुरक्षा निकायले एक सातासम्म खोजी गर्दा पनि बस नभेटिएपछि गृह मन्त्रालयले भारतबाट खोजी तथा उद्दारको टोली ल्याउन पहल भइरहेको बताउँछन् । यद्यपि, कहिले सम्म आउने भन्ने टुंगो भने नलागेको उनको भनाई छ ।