छाउगोठ कि ‘कालकोठरी’ – कथालिका

छाउगोठ कि ‘कालकोठरी’

  • तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डसेको थियो । घर हुँदा-हुँदै परम्पराका नाममा छाउगोठ खोज्दा ज्यान नै गुमाउनु प¥यो ।

महिनावारी भएका बेला छाउगोठमा रहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान गयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको मृत्यु भएको हो । ‘राति खाना खाएर छाउगोठमै सुतेका बेला सर्पले डसेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले भने । उनका अनुसार शुक्रबार राति छाउगोठमा सुतेका बेला सर्पले डसेको थियो । स्थानीयले राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याएका थिए ।

परम्पराले पक्की घर छोडे, छाउगोठमा सुत्दा सर्पले डसेर मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् ।

उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् ।शुक्रबार साँझ कमला आउजीलाई महिनावारी भयो । छाउ बार्ने परम्पराअनुसार उनी महिनावारी भएका बेला छाउगोठमा बस्दै आएकी थिइन् । घर नजिकै कच्ची छाउकोठ पनि बनाइएको थियो ।

तर, शुक्रबार भने उनी आफ्नो घरको आगनमै बनाइएको छाउगोठ पानी परेपछि चुहिने भएकाले बसिनन् । नातामा जेठाजु समेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् । तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डसेको थियो । घर हुँदा-हुँदै परम्पराका नाममा छाउगोठ खोज्दा ज्यान नै गुमाउनु प¥यो ।

गत वर्ष वडा कार्यालयले उक्त क्षेत्रमा छाउगोठ भत्काउने अभियान पनि चलाएको थियो । ६० जति छाउगोठ भत्काएको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए । ‘जति गरे पनि नसकिने भयो, छाउगोठ भत्काएर आयौं, फेरि बनाइ हाल्छन्,’ अध्यक्ष बस्नेतले भने, ‘सम्झाइब ुझाइ गरिरहेका छौं, मान्दै मान्दैनन् ।’ दमाईको पक्की घर छ । पक्की घरभन्दा २०,३० मिटर टाढा उनले छाउगोठ बनाएकी थिइन् । महिनावारी हुँदा उनी त्यही छाउगोठमा सुत्ने गर्थिन् ।

छाउगोठमा बलात्कार

गत असार ४ गते अछामको छाउगोठमा एक किशोरीमाथि बलात्कार भयो । महीनावारी भएको तेस्रो रात सुतेको बेला गाउँकै मामा नाता पर्ने किशोरले बलात्कार गरेका थिए । घटना भएको २० दिनपछि असार २३ गते मात्र जाहेरी दर्ता भएको उनको मुद्दा जिल्ला अदालत, अछाममा विचाराधीन छ । बलात्कार गर्ने किशोर पुर्पक्षका लागि थुनामा छन् ।

पाँच वर्षकी हुँदा आमा गुमाएकी किशोरी मामाघर बस्दै आएकी थिइन् । बुबाले अर्काे विवाह गरेपछि हजुरआमाले उनका भाइ र उनलाई मामाघर ल्याएर पालनपोषण गरिन् । मामामाइजू भारतमा रहेकाले घर यी दिदीभाइको जिम्मामा थियो । खेतीपाती र बस्तुभाउ हेर्दै उनीहरू गाउँकै विद्यालयमा पढ्थे । किशोरी कक्षा ९ मा अध्ययनरत छिन् ।

उनका बुबा रोजगारीको सिलसिलामा भारतमा छन् । यता मामाघरमा पनि दुई वर्षअघि हजुरआमा बितिसकेकी छन् । हजुरआमा बितेपछि किशोरी र उनका भाइ बिचल्लीमा छन् । मामामाइजू पनि भारतमै बस्छन् । कोही नभएको मौका छोप्दै किशोरले पटक पटक बलात्कार गरेको बताइन् ।

बलात्कार मुद्दा प्रहरी सम्म पुगेपछि भने उनका तर्फका कोही पनि साक्षी छैनन् । किशोरीले आफूमाथि बलात्कार भएको बताए पछि उनका बुबा भारतबाट आएर भाइ लिएर भारत नै फर्किसकेका छन् । यस विषयमा बुबा पनि केही नबोलेको बताइन् । उनी विभिन्न संघसंस्थाको सहारामा छिन् । किशोरीको गाउँ पुग्दा सबैले दोष जति किशोरीलाई लगाइरहेका छन् । सानैदेखि पालनपोषण गरे पनि अहिले आएर किशोरीले झूटा मुद्दा लगाएको उनीहरूको दाबी छ ।

यता मुद्दाको किनारा लागेको छैन । सरकारी वकील कार्यालयका अनुसार तिहारपछि मात्रै मुद्दाको अन्तिम टुंगो लाग्नेछ । चार महिनादेखि उनको पढाइ रोकिएको छ । मुद्दाको किनारापछि पनि कता जाने अन्योल छ । बसिरहेको घरमा फेरि बस्न नसक्ने ती किशोरीले बताएकी छन्। “म त्यहाँ बस्न सक्ने अवस्था छैन, यसपछि कहाँ जाने थाहा छैन, बुबा पनि भाइलाई लिएर इन्डिया गइसक्नुभयो,” उनले भनिन् । गाउँबाट विस्थापित उनी आश्रयको खोजीमा छन् ।

छाउगोठले लियो १६ जनाको ज्यान

२०७३ पुस ५ गते अछामको साविक तिमल्सेन गाविस–७ की ४५ वर्षीया डम्मरा उपाध्यायको छाउगोठमा निस्सासिएर निधन भयो । सोही दिन अछामकै गाजरा गाविस–६ की १५ वर्षीया रोशनी तिरुवाको पनि छाउगोठमा निस्सासिएर ज्यान गयो ।

अछामकै तुर्माखाँद गाउँपालिका–३ की २१ वर्षीया गौरी बुढाको २०७४ पुस २७ गते छोउगोठमै निस्सासिएर ज्यान गयो । सोही पालिकामा २०७५ जेठ २७ गते २२ वर्षीया पार्वती बुढाको छाउगोठमा सर्पले डसेर मृत्यु भयो। । यस्तै, २०७५ असार ४ मा बाजुरा बुढीनन्दा नगरपालिका–१ की ३५ वर्षीया अम्बा बोहराको छाउगोठमा आगलागी भएर ज्यान गएको थियो । अम्बासँगै १२ र ९ वर्षका छोराहरू सुरेश र रमित बोहराको पनि ज्यान गयो ।

२०७६ मंसिर १५ मा साँफेबगर नगरपालिका–३, अछाम डिग्रेनीकी २२ वर्षीया पार्वती राउतको छाउगोठमा सर्पले डसेर ज्यान गयो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार छाउगोमा गएको १७ वर्षमा पाँच महिलाको ज्यान गएको छ । तर, बिभिन्न पत्रपत्रिकामा उल्लेख समाचार अनुसार भने यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका छाउगोठमा १६ महिलाको ज्यान गएको छ । जसमा १४ जना अछाम र बाँकी अरू बाजुरा र दैलेखका हुन् । यो तथ्यांक प्रहरीसम्म आइपुगेका घटनाको मात्रै हो । प्रहरीसम्म कति घटना पुग्दैनन् । छाउगोठमा हुने मृत्युलाई सामान्यीकरण गर्ने भएर कुनै पनि निकायमा पुग्दैनन् ।

छाउगोठ भत्कायो, रोकिएन छाउपडी

२०७६ मंसीरमा साँफेबगर-३, डिग्रेनीको छाउगोठमा सर्पले डसेर पार्वती राउतको मृत्यु भएपछि अछाम जिल्लाभर छाउगोठ भत्काउने अभियान नै चल्यो । त्यसबेला सेलपाखाकी तुली साउदले पनि छाउगोठ भत्काइन् । तर, छाउगोठ भत्काएपछि उनलाई झन् समस्या भयो । गोठ नहुँदा पाल हालेर पनि छाउ बस्न थाले ।

महिनावारी भएको बखत कसैले घरभित्र राखे गाउँमा पुरुषहरूले पानी नखाने, घरमै नआउने चलन रहेको उनले बताइन् । तुलीले पुसको कठ्यांग्रिंदो चिसोमा प्लास्टिकको पालमा बस्नै नसकेपछि फेरि छाउगोठ बनाइन् ।सर्वसाधारण मात्र होइन, जनप्रतिनिधि पनि छाउगोठमा बस्छन् । अछाम मध्यपहाडी राजमार्गछेउमै घर भएका खड्ग केसी महीनावारी भएकी महिला घरमा पसे वा कसैलाई छोए अशुभ हुने बताउँछन् ।

अछामका मंगलसेन, साँफेबगर नगरपालिका, पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिका जताततै छाउगोठ छन् । यी पालिकामा कति छाउगोठ छन्, यकीन तथ्यांक छैन । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २०७६÷७७ मा चलेको अभियानमा पाँच हजार ८१३ छाउगोठ भत्काइएका थिए, जुन अभियान अहिले रोकिएको छ ।

छाउगोठ भत्काउने अभियान

२०७६ मंसीर १६ मा साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु पछि माघ ८ मा सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दियो । त्यसपछि यी दुई प्रदेशका १९ मध्ये १० जिल्लामा करीब १० हजार छाउगोठ भत्काइए । कर्णालीमा दुई हजार २३५ र सुदूरपश्चिममा सात हजार ५४५ छाउगोठ भत्काएर करीब १०० स्थानीय तहलाई ‘छाउगोठमुक्त’ घोषणा गरियो ।

अभियानको वेला अछाममा सबैभन्दा बढी पाँच हजार ८१३ वटा छाउगोठ भत्काइएको तथ्यांक छ । कोभिड–१९ महामारी शुरू सँगै यो अभियान रोकियो । अभियान रोकिएसँगै भटाभट छाउगोठ बन्न थालेका छन् ।

उन्मुलन कि व्यवस्थापन ?

सर्वोच्च अदालतले २०६२ सालमै छाउपडी प्रथालाई कुप्रथा घोषित गर्दै उन्मूलनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कुरीतिजन्य प्रथा उन्मूलनका लागि छाउपडी उन्मूलन निर्देशिका, २०६४ जारी ग¥यो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को उपदफा ३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनी उल्लेख छ । यस्तो कसूर गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

मर्यादित महीनावारी अभियन्ता राधा पौडेल कानून बनेको दुई दशक पुग्न लाग्दा पनि नियन्त्रण हुन नसक्नु दुर्भाग्य भएको बताउँछिन् । ‘छाउपडी प्रथा महिलाको आत्मसम्मानसँग जोडिएको छ, यो लैंगिक विभेद र उपेक्षित छ,’ उनले भनिन्, ‘महिनावारीलाई व्यवस्थापनसँग जोडेर सरकारले प्याड बाँड्दैमा यो विभेद हट्दैन ।’

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु छाउपडीलाई उन्मूलन भन्दा अहिले व्यवस्थापन गर्दै जानुपर्ने बताउँछन् । लामो अभ्यासबाट प्रचलनको रुपमा विकास हुँदै आएकाले केही अभियानले मात्र रोक्न असम्भव हुने उनले बताए । छाउगोठ भत्काउने अभियानमा स्थानीय तह र स्थानीयको साथ जरुरी छ ।

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा गत असार ४ गते छाउगोठमा बलात्कारको घटनापछि कठोर नीति अवलम्बनको तयारीमा रहेको बताउँछन् । छाउगोठ हुनेहरूलाई सरकारी सेवासुविधाबाट वञ्चित गरिने नीति अवलम्बन गर्ने योजनामा रहेको उनको भनाई छ ।

 

२०८२, २९ असार आईतवार ०७:५०
कथालिका नयाँ कथा
कथालिका