- मोबाइलको सानो स्क्रिनमा देखिएको त्यो अनुहारले परिवारलाई एकछिन त स्तब्ध बनायो । “भगवानले नै आएर खबर सुनाएजस्तो भयो,” दीपकका बुबा डम्बरबहादुर नेगी भन्छन्, यो विश्वासको पुनर्जन्म हो । समयले टाढा पारे पनि सम्बन्ध कहिल्यै हराउँदैनन् भन्ने एउटा जिउँदो प्रमाण हो ।
१८ वर्ष, एक परिवारका लागि त्यो केवल समयको अन्तराल होइन, पीडा, प्रतीक्षा र अधुरो विश्वासको लामो यात्राजस्तै थियो । तर, यही लामो अन्धकारबीच अचानक उज्यालोको झिल्को बन्यो-एक भिडियो, एक अनुहार, र एउटा नाम दीपक नेगी ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा बस्ने डम्बरबहादुर नेगीको परिवारले सायदै कल्पना पनि गरेको थिए कि हराएको छोरा एकदिन सामाजिक सञ्जाल फेसबुक मार्फत फर्किएर आउनेछ ।
रोजगारीले भारत लग्यो, यसरी भए बेखबर
१८ वर्षअघि, घरको कमजोर आर्थिक अवस्थाले थिचेर १८ वर्षिय दीपक रोजगारीको खोजीमा भारत हिँडेका थिए । गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका उनी काम गर्दै गर्दा बिरामी परे । “अस्पताल जान्छु” भनेर हिँडेका दीपक त्यसपछि कहिल्यै फर्किएनन् । अनि परिवारसँग न कुनै खबर, न सन्देश । समय बित्दै जाँदा परिवारले सबै ढोका ढक्ढक्यायो, आफन्त–नातेदार सबैसँग खोजी ग¥यो, तर परिणाम शून्य रह्यो । अन्ततः उनी जीवित छन् कि छैनन् भन्ने आशा पनि हराउँदै गयो ।
अनि यसरी भेट सम्भव भयो
नियतिले कहिलेकाहीँ अप्रत्याशित मोड लिन्छ । भारतको लेह–लद्दाखको कठोर भूगोलमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपकसँग भेट गरे । कुराकानीको क्रममा उनले आफ्नो नाम, घर ठेगाना सबै बताए–“म कञ्चनपुरको दीपक (दीपु) नेगी हुँ ।” यही भेटले एउटा कथा मोडियो । ती नेपालीले दीपकको भिडियो खिचेर फेसबुकमा अपलोड गरे, र जुन भिडियो बन्यो वर्षौदेखि हराएको सम्बन्ध जोड्ने सेतु ।
सामाजिक सञ्जालमा फैलिएको त्यो भिडियो अन्ततः नेगी परिवारसम्म पुग्यो । प्रहरी र वडा कार्यालयको समन्वयपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भयो । त्यसपछि फोन र भिडियो कलमार्फत परिवारका सदस्यको दीपकसँग संवाद सुरु भयो १८ वर्षपछि । जुन अविश्वसनीय, अकल्पनीय जस्तै भइसकेको थियो परिवारका लागि ।
भगवानले नै आएर खबर सुनाए जस्तो…
मोबाइलको सानो स्क्रिनमा देखिएको त्यो अनुहारले परिवारलाई एकछिन त स्तब्ध बनायो । विश्वास गर्न गाह्रो तर, उनीहरुले तुरुन्त चिने । “भगवानले नै आएर खबर सुनाएजस्तो भयो,” दीपकका बुबा डम्बरबहादुर नेगी भन्छन्, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाए जस्तै हो ।”
आमा मानमती नेगीका आँखामा त्यो क्षण अश्रुधारा बगिरह्यो । तर, त्यो आँसु शोक र सन्तापको थिएन, खुसीको थियो । “पहिले त विश्वास नै लागेन, राम्रोसँग हेरेपछि आफ्नै छोरा हो भन्ने थाहा पाएँ । बोल्न सकिनँ, आँसु मात्रै आयो… अब छिट्टै भेट्ने आशामा छु ।”
भेट अझै बाँकी छ…
परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् । उनी कार्यरत स्थानका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । सीमित स्रोतसाधनबीच गरिएको सहयोगप्रति परिवार कृतज्ञ छ ।
अहिले फेसबुक भिडियो कलमार्फत नियमित कुराकानी भइरहेको छ, तर मन अझै पूर्ण रूपमा ढुक्क छैन, किनकि भेट अझै बाँकी छ । “फोनमा आवाज सुन्दा मन भरिन्छ,” बुबा भन्छन्, “अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सिन्छौँ ।”
३६ वर्षीय दीपकलाई घर फर्काउने तयारी सुरु भइसकेको छ । दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च दुवै चुनौती बनेका छन्, तर परिवार हिम्मत हारेको छैन । आफन्तसँग सहयोग मागेर भए पनि उनलाई घर ल्याउने परिवारको संकल्प छ । दिल्लीमा कार्यरत उनका दाजु भाउजू यही महिनाको २० तारिखतिर लद्दाख पुग्ने तयारीमा छन् । अब यो प्रतीक्षा लामो नहोस् भन्ने कामना मात्रै बाँकी छ ।
प्रविधिको सकारात्मक प्रयोग, विश्वासको पुनर्जन्म
वडाध्यक्ष नवलसिंह राना भन्छन्, “फेसबुककै कारण वर्षौँदेखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक प्रयोग हो ।” गाउँमा पनि यो खबरले उत्साह र भावनाको लहर ल्याएको छ । दीपकका छिमेकी जयसिंह भण्डारी भन्छन्, “हामी सबैलाई लाग्थ्यो, अब कहिल्यै भेटिन्न । तर, भिडियोले चमत्कार ग¥यो, गाउँमा नै खुसी र उत्साह छाइरहेको छ ।”
नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन् । जेठो र कान्छो भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा काम गर्छन् ।
यो कथा केवल एक परिवारको पुनर्मिलनको प्रतीक्षा मात्र होइन, यो विश्वासको पुनर्जन्म हो । समयले टाढा पारे पनि सम्बन्ध कहिल्यै हराउँदैनन् भन्ने एउटा जिउँदो प्रमाण हो ।