अन्टार्कटिका-मानव सभ्यताका लागि अझै पनि रहस्यले ढाकिएको, चरम चुनौतीले भरिएको पृथ्वीको अन्तिम सीमा। जहाँ प्रकृतिले आफ्नै नियम बनाएको छ-६ महिना उज्यालो, ६ महिना अन्धकार। जहाँ हरेक पाइला साहसको परीक्षा हो, र हरेक सास अस्तित्वसँगको सम्झौता।
त्यही कठोर, चिसो र सुनसान भूभागमा एक दिन एउटा नेपाली पाइला टेक्छ। त्यो पाइला केवल एक व्यक्तिको होइन, एउटा देशको प्रतिनिधित्व थियो। त्यो नाम हो भूवनसिंह विश्वकर्मा।बागलुङ नारायणस्थानको सामान्य परिवेशबाट उठेर विश्वको सातौँ महादेशसम्म पुग्ने उनको यात्रा कुनै साधारण कथा होइन। यो सपना, संघर्ष र दृढताले लेखिएको एउटा असाधारण अध्याय र कीर्तिमानी इतिहास हो। अन्टार्कटिकाको कठोर हावामा उभिएर उनले नेपालको माटो छरे, मानौँ आफ्नो जन्मभूमिको आत्मा त्यहाँ रोपिरहेका थिए। अनि राष्ट्रिय झण्डा फहराए, त्यो क्षण केवल व्यक्तिगत उपलब्धि थिएन, समग्र नेपाली अस्मिताको गर्विलो उचाइ थियो।
त्यो क्षण सम्झँदा आज पनि उनी भावुक हुन्छन्। किनकि त्यो केवल एउटा उपलब्धि होइन, वर्षौँको मेहनत, अनगिन्ती चुनौती र अटुट विश्वासको प्रतिफल थियो। संसारका शक्तिशाली राष्ट्रहरूको वैज्ञानिक र अनुसन्धान यात्रामा सीमित जस्तो लाग्ने त्यो भूभागमा, एक नेपालीले आफ्नो उपस्थिति दर्ज गराउनु आफैँमा एउटा ऐतिहासिक घटना हो।
भूवनसिंह विश्वकर्मा केवल अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली मात्र होइनन्, उनी सम्भावनाको जिउँदो उदाहरण हुन्। उनले देखाएका छन् कि सपना सानो ठाउँबाट सुरु हुन सक्छ, तर त्यसको गन्तव्य संसारको सबैभन्दा टाढा कुनासम्म पुग्न सक्छ। विज्ञानप्रतिको रुचि, साहसप्रतिको भरोसा र लक्ष्यप्रतिको दृढताले उनलाई असम्भव देखिने यात्राको नायक बनाएको छ।
कथालिका (नलेखिएका कथा)को पडकास्ट श्रृंखला “संवाद सम्भावनाको : देश कि विदेश ?” मा उनै भुवनसिंह विश्वकर्मासँग जन्मभूमि बागलुङमा गरिएको अन्टार्कटिका संवादको विस्तृत भिडियो संवादमा यिनै अनुभव, संघर्ष र भावनाहरूको गहिरो यात्रा प्रस्तुत गरिएको छ।