- नेपालको अर्थतन्त्र “अनुत्पादक चक्र”को दोसाधमा उभिएको छ । तर, यही मोडमा सरकारले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक स्थितिपत्र’ले एउटा नयाँ अध्याय सुरु गर्ने संकेत भने दिएको छ ।
कहिलेकाहीँ राष्ट्रको अर्थतन्त्र एउटा यस्तो चक्रमा फस्छ, जहाँ प्रयासहरू भइरहे पनि परिणामहरू दोहोरिँदैनन्, उत्पादन भन्दा उपभोग बढी, लगानी भन्दा निर्भरता बढी, र सम्भावना भन्दा सीमितता ठूलो । नेपाल यतिबेला त्यही “अनुत्पादक चक्र”को दोसाधमा उभिएको छ । तर, यही मोडमा सरकारले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक स्थितिपत्र’ले एउटा नयाँ अध्याय सुरु गर्ने संकेत पनि दिएको छ–‘पुनर्संरचना र समुन्नतिको ।’
अनुत्पादक चक्रको कथा
नेपालको अर्थतन्त्रको पछिल्लो चित्र विरोधाभासले भरिएको छ । गरिबी घट्दो छ, तर असमानता कायम छ । सेवा क्षेत्र फस्टाएको छ, तर उत्पादनमूलक उद्योग कमजोर छन् । वैदेशिक रोजगारीले घर–घरमा आम्दानी पु¥याएको छ, तर स्वदेशमै अवसरको खडेरी छ ।
यो विरोधाभासको जडमा दुई प्रमुख पक्ष देखिन्छन्-‘नीतिगत कमजोरी र कार्यान्वयनको दुर्बलता ।’ सीमित स्रोतलाई सही प्राथमिकतामा विनियोजन गर्न नसक्नु, योजनाहरू कागजमै सीमित हुनु, र सुशासनको अभावले आर्थिक संरचना क्रमशः उत्पादनबाट टाढिँदै गएको छ ।
अर्थतन्त्र कृषिमा अड्किएको छ, औद्योगिकीकरणको पुल अधुरै छ, र सेवा क्षेत्रको विस्तार पनि पर्याप्त रोजगारी सिर्जना गर्न असफल देखिन् छ। यसले समग्रमा “उत्पादनविहीन वृद्धि”को अवस्थालाई संकेत गर्छ ।
चुनौतीको चाङ
नेपालको अर्थतन्त्रका समस्याहरू सतहमा मात्र छैनन्; तिनको जरा गहिरो छ । जसलाई यहाँ बुँदागत रुपमा उल्लेख गरिएको छ ।
रोजगारी संकटः युवाशक्ति विदेशिने क्रम तीव्र, देशभित्र अवसर सीमित
वित्तीय अनुशासनको अभावः बढ्दो बेरुजु, ऋणमा निर्भर बजेट
कमजोर पुँजी निर्माणः लगानीभन्दा खर्चमा बढी जोड
भ्रष्टाचार र सुशासनको प्रश्नः नीति राम्रो, कार्यान्वयन कमजोर
वैदेशिक असन्तुलनः आयातमुखी व्यापार, साँघुरो निर्यात आधार
त्यसमाथि, अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव, सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्ट, र जलवायु संकटजस्ता बाह्य चुनौतीहरूले नेपालको आर्थिक यात्रा अझ जटिल बनाएका छन् ।
उज्यालो पाटा
तर, अहिले देखिएको स्थिति केवल संकट मात्र होइन। यही स्थितिपत्रले देखाएको अर्को महत्वपूर्ण पक्ष हो-‘अवसरहरूको व्यापक क्षितिज’ ।
नेपालसँग ऊर्जा, प्रकृति, युवा जनशक्ति र डिजिटल सम्भावना छ । जलविद्युत् उत्पादनले नयाँ आयाम लिएको छ । पर्यटन, यदि व्यवस्थित गरियो भने, वर्षभरि आय दिने उद्योग बन्न सक्छ । कृषि आधुनिकीकरणले आत्मनिर्भरता मात्र होइन, निर्यातको ढोका पनि खोल्न सक्छ । त्यस्तै, कृत्रिम बौद्धिकता, डिजिटल सेवा र ज्ञानमा आधारित अर्थतन्त्रतर्फको संक्रमणले नेपाललाई परम्परागत सीमाबाट बाहिर निकाल्ने सम्भावना बोकेको छ ।
रूपान्तरणको बाटो : कागजदेखि कार्यान्वयनसम्म
सरकारले देखाएको ११ बुँदे अवसर सूची वास्तवमा सम्भावनाको नक्सा हो । तर, चुनौती भनेकै यही हो । के यी योजनाहरू व्यवहारमा रूपान्तरण हुन सक्छन् ?
सरकारले यदि रूपान्तरण गर्ने नै हो भने यसका लागि केही आधारभूत सर्तहरू अपरिहार्य छन् ।
सुशासन र पारदर्शिताः नीतिको प्रभाव कार्यान्वयन
उत्पादनमुखी लगानीः उपभोगभन्दा उद्योग र कृषि प्राथमिकतामा
स्रोतको कुशल परिचालनः सीमित स्रोत, अधिकतम प्रभाव
संघीय समन्वयः केन्द्र, प्रदेश र स्थानीय तहबीच कार्यक्षमता सन्तुलन
नवप्रवर्तन र सीप विकासः युवालाई अवसर, विदेश पलायन रोक्ने आधार
अन्यौलग्रस्त मोडबाट सही मार्गको यात्रा
नेपालको अर्थतन्त्र अहिले संक्रमणको बिन्दुमा छ, न त पूर्ण संकटमा, न त स्पष्ट उकालोमा । ‘अनुत्पादक चक्र’को स्वीकारोक्ति आफैंमा एउटा सकारात्मक सुरुआत हो, किनकि समस्या चिन्नु नै समाधानको पहिलो पाइला हो ।
अब के यो स्थिति पत्र केवल दस्तावेजमै सीमित रहनेछ, वा यसले व्यवहारमा रूपान्तरणको यात्रा सुरु गर्नेछ ?
यदि नीतिहरू कागजबाट व्यवहारमा रुपान्तरित भए, स्रोतहरू सही ठाउँमा पुगे, समाधान हुँदै जान थाले र सुशासनले जग बसायो भने, आजको “अनुत्पादक चक्र” भोलिको “उत्पादनशील पुनर्जागरण”मा बदलिन सक्ने अवसर छ । फेरि नेपालका लागि अब यो केवल विकल्प होइन, अपरिहार्य बाटो हो भन्ने सरकारले बिर्सिनु हुँदैन ।